नब्बेवटा हिउँद बर्खाले उनलाई गलाउन सकेन । नब्बेवटा मनसुनी बाढीले उनको जाँगरलाई लछारपछार पार्न सकेन । नब्बेवटा शिशिर कटाए, तर चिसोले खाएन । नब्बेवटा ग्रीष्मलाई हात हल्लाए, तर कुनै ज्वरो खरोले आँट्न सकेन । वसन्त पनि नब्बेवटै आए गए, तर उनी कतै बहकिएनन् । उमेरको उकालोमा उनलाई कुनै पनि परिस्थितिले थकित पार्ने हिम्मत गरेन । जीवनले अहिले चारबीसे दसको सिँढीमा खुट्टो राखेको छ, तर उनको खुट्टो पटक्क काँपेको छैन । उनको दिमागमा कुनै द्विविधाले बास गरेको छैन । हृदयमा कतै निराशा र हतासका लागि ठाउँ छैन । अझै दरिला खुट्टा र सिर्जनशील दिमागसहित उनी सक्रिय छन् । काठमाडौंका सडकहरूमा अहिले पनि उनी लखर–लखर हिँडिरहेका भेटिन सक्छन्, कीर्तिपुरको उकालो उक्लिरहेका देखिन सक्छन्, पाटनको दरबार स्क्वायरतिर हँसिलो मुद्रामा डुलिरहेका हुन सक्छन् ।
उनी हुन् जोशिला पाका मान्छे सत्यमोहन जोशी । पचास वर्षअघि नै उनले संस्कृतिविद्को नाम कमाएका थिए । त्यो नाम हाम्रोे लोकसंस्कृति पुस्तकका लागि प्राप्त २०१४ सालको मदन पुरस्कारसँग जोडिएको थियो । तर मदन पुरस्कार एकपटक मात्रै जोडिएन, यसले त उनलाई पछिसम्म पछ्याइरह्यो । जोशीलाई न्यानो पार्न पुरस्कारको दोसल्ला तीन तीनपटकसम्म आयो । उनी पनि दोसल्लाको रङ्ग नउडोस् भनेर संस्कृति अन्वेषण र साहित्यकर्ममा एकोहोरिए । पाटन बखुंबहालको कोठामा बसेर अहिले पनि उनी नाटक लेख्दै छन् मझिपाल लाखे । गुरुकुलको मञ्चनका लागि मागिरहेको छ, लेखिँदै गरेको नाटकबारे जोशी भन्छन् – लेखिसकेँ, अब दोहो¥याएर हेर्छु । यो मझिपाल टोलको लाखेनाचको संस्कृतिसँग सम्बन्धित छ ।
आफ्नो दिन–उमेरमा जो पनि सक्रिय हुन्छ । बैंसमा सबैले कविता लेख्छन् भनेजस्तो जवानीमा सबैले जोश देखाउँछन् । नेपालमा संस्कृतिबारे सरकारसमेत रनभुल्ल रहेको बेला सत्यमोहनले नेपाली लोकसंस्कृति पुस्तक तयार पारे । उनकै पुस्तकको प्रेरणाबाट २०१५ सालमा स्थापित पुरातत्व र संस्कृति विभागमा उनी प्रथम निर्देशक भए । त्यहीबेला नाचघरका लागि जग्गा खरिदे, भक्तपुर कलासंग्रह स्थाापना गरे, पाटन पुरातत्व बगैंचा स्थापना गरे । ०२६ सालमा एकेडेमी छिरेपछि नाटक विधामा तनमनले सक्रिय भए, आखिर नाटकलाई लोकप्रिय बनाइछाडे । फेरि मदन पुरस्कार जित्ने योग्यताका नेपाली राष्ट्रिय मुद्रा (२०१७) र कर्णालीको लोकसंस्कृति (२०२८) तयार पार्न खटिए । मातृभाषा नेपालमा दर्जनजति कृति (नाटक, कविता, महाकाव्य) लेखे । संस्कृतितर्फ दर्जनभन्दा बेसी ग्रन्थ लेखे । नेपाली भाषामै आधा दर्जन नाटक लेखे । अध्ययन, अनुसन्धानमा देशविदेश घुमे । नेपाली भाषा पढाउन चीन पनि पुगे । तथ्यांक शिक्षाको तालिम लिन पहिलो नेपाली बनेर न्यूजील्याण्ड पुगे । राजतन्त्रविरोधी आन्दोलनपछिको राष्ट्रियगान छनौट समितिको संयोजक बने । अनेकांै गोष्ठी, अन्तक्र्रिया छलफलमा संस्कृति र साहित्यबारे अगुवाई गरे । उनको उत्साह नेपालभाषा एकेडेमी गठन, अरनिको आर्ट ग्यालरी स्थापना हुँदै नेपाल भाषाको एफएम रेडियो स्थापनासम्म उत्तिकै उत्साहजनक छ । हाम्रो भाषाको आफ्नै रेडियो थिएन – जोशी भर्खरै स्थापित रेडियोबारे जोसिलै पारामा भन्छन् – लामो प्रयासपछि सुरु गरेका छौं, अहिले परीक्षण प्रसारण भइरहेछ ।
०००
उमेरले मान्छेलाई मृत्युतिर धकेल्दै गरेको हुन्छ । भनिन्छ, उमेरले नै मान्छेको क्रियाशीलता कमजोर पार्छ । तर सत्यमोहनको जीवन दिन–उमेरमा मात्रै सक्रिय थिएन । अहिले पनि जीवनकै दिशातिर उन्मुख छ उनको यात्रा । मृत्युलाई चुनौती दिने सामथ्र्य राख्छ उनको फूर्ति । युवा जाँगरलाई व्यङ्ग्य गर्ने हैसियत राख्छ उनको क्रियाशीलता । साँच्चै, सत्यमोहनसँग त्यस्तो के छ, जसले निरन्तर जाँगरिलो, स्वस्थ, फूर्तिलो र सक्रिय राखिरहेको छ ?
मसँग त्यस्तो केही छैन, जोशी भरिलो स्वरमा बोल्छन्, यो गर्ने, त्या नगर्ने भनेर मैले कुनै जीवन तालिका बनाइनँ । खानपिनमा पनि मेरो यो खाने, त्यो नखाने भन्ने केही छैन । जे जे रुच्छ, त्यही खान्छु । आहारविहारमा जोशीको नियमित तालिका रहेनछ । कतिबेला खाने, कसरी खाने भन्ने पनि उनको व्यवस्थित नियम छैन । तर आश्चर्यको कुरा त्यही छ – उनी अहिलेसम्म विमारले थलिएर अस्पताल भर्ना भएका छैनन्, अस्वस्थ भएर ओखती खानुपर्ने अवस्था आएको छैन । भन्छन् – जीवन ठीक तरिकाले चलिरहेको छ, केही बढी पनि छैन, केही कम पनि छैन । सामान्य हो, सामान्य मात्रै । उनले नियमित केही गरेका छन् भने त्यो हो हिँडडुल । हिँडडुल भने गरिरहन्छु – जोशीको जोड यसैमा रहेछ – अहिले त त्यति भ्याइँदैन, तैपनि यताउति हिँडिनैरहन्छु । लामो बाटोमा गाढी चडे पनि यो चोकबाट त्यो चोक र त्यो घुम्तीबाट यो घुम्ती पुग्दापुग्दै उनी दिनमा चार पाँच घन्टा त पैदल हिँडिसकेका हुन्छन् । यो युगमा कुनचाहिँ सहरी युवा दैनिक चारपाँच घन्टा पैदल हिँड्दो होला ?
पहिले त बिहानै उठेर बारीको शिताम्मे दुवोमा नाङ्गो खुट्टाले हिँड्थेँ – हिँडडुलबारे उनको यस्तो विश्वास छ, बिहानै त्यसरी हिँड्दा आँखा तेजिला हुन्छन् । अहिले नि ? अहिले दुबोमाथि हिँड्न पाएको छैन, बारी नगोडेको पनि धेरै भयो । तर हिँडडुल गर्न भने छोडेको छैन । तर मर्निङवाक भनेर बिहानबिहानै हिँड्ने उनको रुटिन छैन । अभ्यास, योग वा ध्यान पनि छैन । बढी केही पनि छैन, कम केही पनि छैन, ठीक तरिकाले चल्छु – उनले त्यही दर्शन दोहो¥याए, जो उनको जीवनसूत्र हो ।
कुनै रुटिन नबनाउने र ठीक तरिकाले चल्ने सत्यमोहनको अहिलेको सूत्र होइन । उनी स्कुले उमेरमा पनि यसरी नै चले, बैंशालु दिनमा पनि यसरी नै बाँचे, सक्रिय जीवन अवधिमा पनि त्यसरी नै काम गरे । कहिल्यै घडीमा अर्लाम लगाएर सुतिएन – जोशी पुरानो–जीवन सम्झन्छन्, निद्रा लाग्यो सुत्यो, नलागे बस्यो । कुरो यति मात्रै हो, उनले अल्छी कहिल्यै मानेनन् । सय वर्ष ताकेको यो वयमा पनि उनी शरीरमा जाँगर भरेर कुदिरहेका छन् ।
०००
क्याम्पस पढुञ्जेल सत्यमोहन जोशी संस्कृतिविद् थिएनन् । न संस्कृतिको गहिरो ज्ञान थियो, न रुचि नै । केटाकेटीमा नेवारी भजनका कार्यक्रममा सहभागी हुन्थे, जात्रा पर्व हेर्थे । त्योभन्दा बेसी केही चासो थिएन । सैद्धान्तिक ज्ञान त मैले पछि पनि लिइनँ – जोशी भन्छन् – जे सिकेँ, त्यो सबै व्यावहारिक अनुभव नै हो । नेपाली संस्कृतिको क्षेत्रमा जिउँदै मिथक बनेका जोशी कसरी इतिहास–संस्कृतिको अन्वेषणमा लागे त ?
वि.सं. २००० मा त्रिचन्द्र क्याम्पसबाट कलेज अध्ययन सकेपछि जोशीले सरकारी जागीर सुरु गरेका थिए । औद्योगिक र व्यापारिक समाचार संग्रह अड्डामा जागिरे भएपछि उनको सरकारी काम कार्यालयमा मात्रै सीमित रहेन । जागीरले उनलाई अन्नबाली, नगदेबाली, घरेलु उद्योग, खानी र अन्य कृषि उत्पादनको सम्भाव्यता खोजी गर्न गाउँठाउँमा पठायो । पश्चिम तीन नम्बर (कास्की, तनहुँ, लम्जुङ जिल्ला) मा त्यही काममा पुगेका बेला उनको साक्षात्कार नेपालको मौलिक लोकसंस्कृतिसँग भयो । घाँसदाउरा, मेलापात गर्ने गाउँलेहरूले रनवन रन्काउने गरी गाएका लोकगीतले सत्यमोहनको आँत छोयो ः
नकरा वनका न्याउली
तिमीभन्दा म छु नि वैरागी !
०००
नदेख्यो कहाँ देखौं हुने
देख्यो माया बोलचालै नहुने !
गण्डकी क्षेत्रमा रहँदा–बस्दा उनले चुड्का, ख्याली, रोइला, झ्याउरे भाका, ठाडो भाका, सोरठी, घाटुजस्ता गीतिसंस्कृतिबारे बुझ्न पाए । उखानटुक्काको प्रयोग, रोदी संस्कृति, दोहोरी संस्कृति आदिले पनि उनको मन एकोहोरियो । अनि त सत्यमोहन हाम्रो लोकसंस्कृतिको मौलिक परम्परा थाहा पाएर चकित परे । त्यसअघि मलाई संस्कृतिको क्षेत्रमा हामी यति धनी छौं भन्ने ज्ञानै थिएन – उनी अतीत उधिन्छन्, झ्याउरे गीतलाई सहर बजारमा हेला गरिन्थ्यो, अशिक्षितले गाउने, अलिखित गीत भनेर उपेक्षा गरिन्थ्यो । छिः त्यो त गाउँले र आइमाइले गाउँले पो हो भनेर हेला गरिन्थ्यो । तर त्यै झ्याउरेमा हाम्रो जीवनशैली र समाज रहेछ । जीवनको मोड झ्याउरेले बदलिदियो, मैले तयार पारेको हाम्रो लोकसंस्कृति पुस्तक पुरस्कृत भएपछि सबै ध्यान संस्कृतितिर दिएँ ।
सात दिन, सात रातसम्म सवाल जवाफ गरिने दोहोरी संस्कृति र पढेलेखेका नभए पनि जीवन्त सिर्जना गर्न सक्ने गाउँलेको क्षमता देखेर सत्यमोहन दङ्ग परे । अहिलेका गायक–गायिकाहरू पाँच मिनेटको गीत गाउनुप¥यो भने पनि कागजको टुक्रा दसफेरि हेर्छन् – जोशी अहिलेको युगसँग लोकसंस्कृतिको तुलना गर्छन् – त्यो लोेकजीवनको प्रतिभा र संस्कृतिको खोजी गर्नैपर्छ भनेर म लागेँ ।
०००
सत्यमोहनले जीवनमा हन्डर–ठक्कर पनि खाए होलान्, दुःख र समस्या पनि त आए होलान् । शारीरिक फूर्तिले मात्रै मान्छे कसरी फूर्तिलो हुन्थ्यो र ? सत्यमोहनलाई ऊ युगदेखि यो युगसम्म जाँगरिलो राख्न सघाउने अरु नै पो केही थियो कि ? दर्शन नै मुख्य कुरा रहेछ – जोशी भन्छन् – मलाई आशावादी बनाइराख्ने त तिनै लोकगीत हुन् । उनले एउटा गीत सुनाए ः
के खायो, के लायो होला
वनको जुनेली चरीले !
हेर्नुस् त यो गीतमा कस्तो दर्शन छ – हँसिलो मुद्रामा उनी गीति दर्शनको व्याख्या गर्छन्, वनचरीको न कुनै आफ्नै घर छ, न लाउने खाने बन्दोबस्तको ग्यारेन्टी । तर ती निराश छैनन् । मेरो जीवन त त्यै दर्शनले चलेको हो । जुरेलीको के खाने, के लाउने भन्ने पूर्वयोजना र पूर्वतयारी कहाँ हुन्छ र ? तर ऊ कुनै काम नगरी झोक्राएर पनि त बस्दैन । ती लोकगीत कुनै एकजनाले बनाएका होइनन्, त्यसमा हाम्रो नेपाली जीवनसंस्कृति छ, नेपालीको दर्शन छ । र यही जुरेली चरीको दर्शनले आफ्नो जीवनयात्रा चलेको बताउँछन् उनी । सन्तुष्टि सबैभन्दा ठूलो कुरा हो । चिन्ता भएन भने सबै कुरा ठीकठाक हुन्छ – यस्तै छ जोशीको जीवन दर्शन ।
कहिलेकाहीँ सत्यमोहनलाई अवश्यम्भावी मृत्युको भयले लखेट्दैन ? जाने दिन नजिक आएको पो हो कि भन्ने पनि लाग्दो हो कि ? तपाईंसँग बाँच्ने दर्शन हुनुपर्छ, त्यसैले बचाउँछ – उनी सांस्कृतिक होइन, दार्शनिक तर्क गर्छन्, मृत्यु त सबैको जीवनसँग टाँसिएको हुन्छ । अजर अमर त को छ र ? कस्ता कस्ता त बितेर गए ? यसो भनिरहँदा पनि उनको मुहारमा मृत्युको पूर्वानुभूति देखिएन । बरु अझ उत्तेजित हुँदै भने – मुख्य कुरो आफैलाई चिन्नुपर्छ । नो दाइसेल्फ, हु आर यु ?
०००
जीवन र जाँगरबारे बोल्दाबोल्दै उनी संस्कृतिको परिभाषातिर फर्कन्छन्, संस्कृति भनेको नाचगान मात्रै होइन, खानपिन र पहिरन, चाडवाड र पर्व जात्रा मात्रै होइन । यो त मान्छेको आचारविचार, स्वभाव, कल्पना र सम्पूर्ण जीवन रहेछ । ऐतिहासिक तथ्यले र सामाजिक अवस्थाले मान्छेको संस्कृति निर्माण हुँदोरहेछ । यही मौकामा उनले आफूले कर्णालीको सिन्जाखोलाको संस्कृतिको खोजी गर्दाको दिन सम्झन्छन् – सिन्जाको इतिहास, भूगोल, हावापानी आदिले त्यहाँको संस्कृति निर्माण गरेको थियो । जोशी आफ्नो परिभाषाको पुष्टि गर्न थप्छन् – त्यहाँको संस्कृति थाहा पाउन हामीले त्यहाँको इतिहास, भाषा, भूगोल, बसाईसराईको पनि खोजी गरेका थियौं ।
डेढ वर्षअघि सम्पन्न राष्ट्रिय साहित्यिक संगोष्ठीमा बोल्दै यी संस्कृतिविद्ले भनेका थिए – अब राज्यले आफ्नो मौलिक सांस्कृतिक नीति बनाउनुपर्छ । अहिले पनि उनी त्यही माग दोहो¥याउँछन्, हामीसित हाम्रो मौलिक संस्कृति छ, त्यो जोगाउने भनेको राज्यले नै हो । व्यक्तिगत र संस्थागत रूपमा जोशीजस्तै नेपाली संस्कृतिको खोज अनुसन्धानमा खटिइरहने थुप्रै विद्वान्हरू छन् । राजतन्त्र अन्त्यपछिको नयाँ नेपालको सांस्कृतिक नीति कस्तो हुने भनेर कहिलेकाहीँ छलफल पनि भइरहेका छन् । तर वरपीपल सार्नेहरू धेरै भए पनि चौतारीचाहिँ राज्यले नै हाल्नुपर्ने ठहर छ जोशीको । जीवनका नब्बेऔं बर्खामासमा पनि उनी त्यही चिन्ताको भाका हालिरहेछन् ः
वर र पीपल रोपेको ठाउँमा कसले हाल्ला चौतारी ?
यो दुःखी जिउको मन बुझाइदिने को होला दौंतरी ?
–
जनमत मासिकको १५२ अंक वि.सं २०६६ चैत्रमा सत्यमोहन जोशी विशेषमा प्रकाशित रचना ।