गंकी धुस्वाँ -बसुन्धरा प्रतिष्ठानले साहित्यकार नीलम कार्की निहारिका र ललितकलाकर्मी गोविन्दलाल सिं डंगोललाई पुरस्कृत गरेको छ ।
प्रतिष्ठानले उपन्यासकार निहारिकालाई उनको उपन्यासकृति ‘द्रौपदी अवशेष’का निमित्त ‘गंगी -धुस्वाँ बसुन्धरा पुरस्कार’ प्रदान गरेको हो । यस्तै प्रतिष्ठानले ललितकलाकर्मी डंगोललाई उनको कलासाधनाका लागि ‘धुस्वाँ सायमि सिर्जना पुरस्कार’ प्रदान गरेको हो । यी दुवै पुरस्कारको राशि ५० -५० हजार रहेको छ ।
कार्यक्रममा पज्ञा प्रतिष्ठानका कुलपति गंगााप्रसाद उप्रेतीले पुरस्कृत स्रष्टाद्वय निहारिका र डंगोललाई यी पुरुस्कार प्रदान गरेका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उप्रेतीले नेपाली उपन्यास र ललितकलाका क्षेत्रमा महत्वपूर्ण योगदान गरेका स्रष्टालाई पुरस्कृत गरेर उपन्यास र ललितकला क्षेत्रलाई नै सम्मान गरेको बताए ।
गंकी धुस्वाँ – बसुन्धरा प्रतिष्ठानका अध्यक्ष साहित्यकार डा.अरुण सायमिले पिता धुस्वाँ सायमिको साहित्यिक योगदानको चर्चा गर्दै साहित्य सेवा र स्रष्टाहरुको सम्मान गर्न पाएँदा आनन्द लाग्ने बताए ।
कार्यक्रममा साहित्यकार विमल भौकाजीले पुरस्कृत साहित्यकारद्वयको सिर्जनाप्रवृत्तिको चर्चा गरेका थिए । उनले नेपाली उपन्यास लेखनमा निहारिकाले भिन्न स्थान बनाएको बताए ।भौकाजीले ललितकलाकर्मी डंगोलले ललितकलाका क्षेत्रमा ठूलो योगदान गरेको बताए । कार्यक्रमको संचालन कवि प्रतिसरा सायमिले गरेकी थिइन ।