नेपाली कला जगतमा ६० वर्ष भन्दा माथिका ३३ कलाकारहरु जो कला साधनाको क्षेत्रमा आफ्नो जीवन अनि सर्वस्व खर्चिसकेका छन्, उहाँहरु सबैलाई सम्मान तथा कला प्रदर्शनीको आयोजना यहि जेठ १७ गतेदेखि नेपाल आर्ट काउन्सिल बबरमहलमा थालिएको छ ।
प्यागोडा ग्रुप तथा सुशील कोइराला मेमोरियल फाउण्डेसनको संयुक्त आयोजनामा गरिएको यस कला प्रदर्शनीमा ३३ अग्रज कलाकारहरु अनि उहाँहरुको मूर्त तथा अमूर्त चित्रकला तथा मूर्तिकलाहरुलाई समेटिएको यस प्रदर्शनीमा नेपालमा कलाको अध्ययन गरिरहेका विद्यार्थीहरुको लागि फलदायी हुनेछन् ।
यस प्रदर्शनीमा समावेश गरिएका कलाकारहरुः तेज बहादुर चित्रकार, लैन सिंह बाङ्ग्देल, मनुज बाबु मिश्र, शंकर राज सिंह सुवाल, गोविन्द डंगोल, बत्स गोपाल वैद्य, विरेन्द्र प्रताप सिंह, गौतम रत्न तुलाधर, गोपाल कला प्रेमी श्रेष्ठ, प्रा. गोविन्द नारायण ‘ज्यापु’, जीवन राजोपाध्यय, के.के कर्माचार्य, किरण मानन्धर, कृष्ण मानन्धर, प्रा.डा.लय मैनाली, लोक चित्रकार, मदन चित्रकार, मुकेश मल्ल, मुक्ति सिंह थापा, नविन्द्र मान राजभण्डारी, नुनेम राज शाक्य, पुरन खड्का, राधेश्याम मुल्मि, रमेशनाथ खनाल, शशी विक्रम शाह, शशी कला तिवारी, डा. सिमा शर्मा शाह, श्याम लाल श्रेष्ठ, ठाकुर प्रसाद मैनाली, उदय चरण श्रेष्ठ, उमा शंकर शाह, उत्तम नेपाली, विजय थापा रहेका छन् । यसै प्रदर्शनीमा प्यागोडा ग्रुपका कालकारहरु रोशन प्रधान, प्रद्युम्न श्रेष्ठ, पासाङ्ग विक्रम लामा, माला श्रेष्ठ, किशोर नकर्मी र रुद्र बहादुर पुनका कलाकृतिलाई पनि समावेश गरिएको छ ।
कलाकार लैन सिंह बाङ्ग्देलको विन्टर शीर्षक दिइएको अमूर्त चित्रकलामा रंगहरुको सम्मिश्रण तथा आकृतिहरु आफैंमा विशेष देखिन्छन् । कलाकार गोविन्द डंगोलको गणेश शीर्षकको कला एक्रेलिक रंगले तयार पारिएको चित्र हो ।
अर्की कलाकार शशी कला तिवारीले मिराको चित्र कोर्नु भएको छ । कृष्णलाई असिमित प्रेम गर्ने मिरालाई जव विष दिइएको थियो, त्यो विषलाई मयुरले आइ खाएको बिम्बलाई चित्रकलामा हेर्न सकिन्छ । आफ्नै मौलिक शैलीमा चित्रकला बनाउने शशी कलाका चित्रहरु उत्कृष्ट देखिन्छ ।
अग्रज चित्रकार शशी विक्रम शाह घोडाहरु क्यानभासमा उतार्नु भएको छ । सेता घोडाहरुले जहिले पनि सकारात्मकताको प्रतिकलाई जनाउँदछ । त्यही चित्रको मुनिपट्टि दुःख पाएका मानिसहरुलाई राखिएको छ । उनका चित्रकलामा प्राय सात घोडाहरु हुने गर्दछन् ।
चित्रकार मदन चित्रकार आफ्नो चित्रकलामा अप्रत्यासित जम्काभेट एन अनएक्सपेक्टेड इन्काउन्टर शीर्षक दिइएको चित्रहरु राखिएका छन् ।
स्व. कलाकार मनुज बाबु मिश्रको चित्रकला सफरिङ्ग नाम दिइएको चित्रकलामा मानिसहरुले पाइरहेको दुःखलाई देखाइएको छ । त्यस्तै, कलाकार के के कर्माचार्य मोसन १३८ शीर्षक दिइएको अमूर्त चित्रकलालाई प्रदर्शनीमा समावेश गरिएको छ ।
कलाकार श्यामलाल श्रेष्ठले ग्रामिण भूभागका महिलाहरु अनि त्यहाँको रहनसहनलाई क्यानभासमा उतार्नुभएको छ । ग्रामिण परिवेशको सिर्जना अनि रंगमा थोरै प्राचिनता रंगकै माध्यबाट उतार्न सक्नु उहाँको कलाको विशेषता हो । ठाकुर प्रसाद मैनालीको मूर्तिकला कम्पोजिसन शीर्षकमा बनाइएको छ । उहाँका कम्पोजिसनहरु शैली अनि बनावटका आधारमा भिन्न देखिन्छन् । त्यसैगरी कलाकार डा. लय मैनालीका मूर्तिहरुमा पनि आफ्नै किसिमका विशेषताहरु रहेका छन् ।
अर्का कलाकार मुक्ति सिंह थापाले आमा शीर्षकको एक चित्रकला प्रस्तुत गरेका छन् । जसमा मानिसको जन्मको प्रक्रिया देखि उसका जीवनको विभिन्न पक्षहरुलाई देखाएर अन्त्यमा पृथ्वीकै गर्भमा जाने विषयलाई समावेश गरी बनाएको चित्रकला प्रदर्शनीको अर्को आकर्षण हो । त्यसैगरी कलाकार गोपाल कलाप्रेमी श्रेष्ठको हरस्कोप नाम दिइएका मूर्तिहरुलाई राखिएको छ । उहाँका नौ वटा मूर्तिहरुमा एक घोडसवार महिलाका भावहरुलाई दर्शाइएको छ ।