आफ्नै मूल्य मान्यता
विश्वास र अधिकारको परिचयले
कहिल्यै नमेटिने जिउँदो इतिहास भएर बाँच्न चाहने
यो सग्लो स्वाभिमानी नारी मनलाई
तिमी मेरी छोरी होइनौ छोरा हौ !
तिमीले छोराजस्तै भएर देखाउनु पर्छ !
भनेर बारबार मेरो नारी अस्तित्वलाई
किन विखण्डित पार्न खोज्छ्यौ आमा ?
आमा ! सन्देहको भुमरीमा
तिमी आफैँ मडारिएर
मेरा पौरखी हातहरूलाई
किन सधैँ कमजोर देख्छ्यौ
मेरा साहसी पाइलाहरूलाई
किन सधैँ धरमराएको भेट्छ्यौ
मेरो स्वाभिमानी नारी अभिमानलाई
किन पुरुष शक्तिको तराजुमा जोखिराख्छ्यौ
र मेरो वर्चस्वलाई हलुको बनाउँछ्यौ ।
सायद तिमीले नचाहेरै भोगेको
बोझिलो समयको पहाडले थिचिँदा थिचिँदा
त्यो मन कहिल्यै दर्बिलो भएर उठ्नै सकेन
र त हावाले हल्लाइरहने पातजस्तै
तिम्रो विश्वास मेरो अस्तित्वमाथि लरखराइरहन्छ ।
आामा ! कुहिरो लागेको बिहानीजस्तो
निरस र अँध्यारो भ्रम पन्छाएर
मेरो मनोबलको दियोमा
विश्वासको तेल थपेर हेर
तिमीले मेरो सग्लो प्रतिबिम्ब भेट्छ्यौ
र गर्ववान्वित हुन्छ्यौ आफ्नै सृष्टिसँग !
अनि तुलना गर्न चाहिदिनौ यो छोरीलाई
कुनै छोरा प्रवृत्तिसँग !
जसरी जगतमा रहेका हरेक अस्तित्वको
आफ्नै गुण,महत्व र वैशिष्टय्य हुन्छ
त्यसरी नै म हुनुको पनि विशिष्ट सत्ता छ
जसरी आकाशलाई आकाश भनेर चिनिन्छ
धर्तीलाई धर्ती भनेर चिनिन्छ भने
हो म नारी ! नारी भएर चिनन चाहन्छु ।
म छोरी अर्थात् नारी भएरै
गर्व गर्नु छ नारीत्वमा
सहअस्तित्वमा रमाउनु छ संसारमा
सृष्टि अङ्कुराउनु छ गर्भमा
जीवन बिताउनु छ वात्सल्यमा
आफ्नै पौरखमा बाँच्नु छ जीवनभर
आफू मरेर पनि सृष्टिलाई बचाउने
यो नारीको आत्मसम्मानमा ठेस पुर्याउने
काम कहीँकतैबाट नहोस् ।
इतिहासको जुनसुकै कालखण्डमा
आफ्नो ओजस्वी गाथा रचेकी
नारी अस्तित्व म !
धर्तीमा जस्तोसुकै युग रचियोस्
त्यहाँ स्वर्ण अक्षरमा
म नारी हुनुको विशिष्ट अलग पहिचान लेखाउनु छ !
त्यसैले आमा !
कृपया नभन्नू है !
तिमी मेरी छोरी होइनौ छोरा हौ !
तिमीले छोराजस्तै भएर देखाउनु पर्छ !
सृष्टिको आधारशिला म !
र यसको शक्तिकेन्द्र मेरो अस्तित्वलाई
सन्देहको तराजुमा कहिल्यै नजोख्नू है ! !