धूलो धूवाँले
हदै मैलिएको आकाश मेरो
कोठाको झूल र भीतझैं पोको पारी –
चितवन ! तिम्रो फराकिलो नदीमा म
मेरो आकाश धुन आइरहेछु
मेरो मैलो पर्यावरण पखाल्न आइरहेछु
आज फुर्सतले दुई दिन मिलाई
सडक बजारको,
कानको जाली नै फटाउने कोलाहल
र भीडको माझबाट
शहरी सभ्यताको असंवेदित जीवनको
यान्त्रिकता र कृत्रिमताले
पत्र–पत्र जमेको मैल र दुर्गन्धबाट
वाक्क म !
स्वच्छ प्रकृतिको शीतल हरियालीमा
नुहाउन आइरहेछु बल्ल आज
घर–अफिस
अफिस–घरको घडीको लंगुरझैं
उही ओहरदोहर साँझ–बिहानको
यान्त्रिक जीवन–पिँजडाबाट
मुक्त पन्छीझैं
चितवन ! तिमीकहाँ उडिरहेछु म मुक्त भावले
तिम्रो स्नेहमयी आमन्त्रणले तानेर
प्रकृतिमै समाहित हुनेजस्तो यो यात्रा
तिमी भने ठट्टैठट्टामा झुक्याइरहने
कहिले फराकिलो आकाश बनेर
मलाई छुन सक्छ्यौ भनिरहेझैं
झन्–झन् माथि उडिरहेछौ गहिरिंदै
भुसुक्कै निदाइछु म !
जब आँखा खोलेँ
मैले पाउँ तिम्रै हरियो काखमा सुतेकी रहिछु म !
हरिया पातहरूको हम्काइसँगै
शीतल स्मित हँसाइसँगै
उभिएका रहेछौ मेरो सन्मुख ।
अहो ! यति फराकिलो !
यति शीतल हरियो !
हृदय रहेछ तिम्रो !
सृजक र साधकहरूको प्रेरणा भूमिझैं तिमी
अलिकति सापट देऊ न
हृदय तिम्रो आज मलाई
बीउझैं
तिम्रो हरियाली र विशालता
म पनि रोपूँ अलिकति हरियाली आफूभित्र
जहाँ मरूभूमि छोपिंदै आइरहेछ
देख्दादेख्दै
मभित्र कतै ।