आँसुको समुद्रमा
सारङ्गी बजेको सुनेपछि
ब्युँझेर आइपुगेको छु म
कविताको ठूलो चोकमा,
के थिएन र मेरो देशसँग
मन्दिर, मस्जित, चर्च, गुम्बा
र स–साना नानीहरुका आँखाको गीत,
के थिएन र मेरो देशसँग
कला, साहित्य, सङ्गीत, संस्कृति
र जीवन बुन्ने जागृति धुनहरु,
के थिएन र मेरो देशसँग
कानून, कर्तव्य, कसम, कर्मठता
र विकास पर्खिरहेको निधारको पसिना,
के थिएन र मेरो देशसँग
हिमाल, वन जङ्गल, खोलानाला, सुनौला फाँट
र आमाको सपना,
किन डराउनु हुन्थ्यो बा रातसँग !
किन हराउँथिन् बहिनी उमेर नपुग्दै !
किन भाग्थे भाई झिसमिसे मै !
किन रुनु हुन्थ्यो आमा
साँझको घामजस्तै पहेँलिएर !
मालिक तर्साउनेहरु नै मालिक भई गएपछि
सपना बाँड्नेहरुले नै सपना खाई दिएपछि
आफ्नाहरुले नै पराईलाई आफ्नो ठानी दिएपछि
जीवनको मध्यान्हमा
मौनता छाउँदो रहेछ,
अक्षरका आँखाहरु समुद्र रोएझैं हुँदो रहेछ,
करोडौं आँसुका वाफहरुले
साँझ धमिलो भएको रङ्गमा
चराहरु उड्न रोकिएपछि
देश मर्न सक्ने सम्भावित भयले
अगाडि नै मौनधारण गरिरहेका
अनेकौं तस्वीरहरु देखेपछि ।
स्तब्ध ढुङ्गो जस्तो भएँ म,
प्रिय देश !
ब्यूँझेर आइपुगेको छु म
कविताको ठूलो चोकमा
आँसुको समुद्रमा
सारङ्गी बजेको सुनेपछि ।