(१)
पराइको इसारामा चल्नुहुन्न देश अब
सधैं गृह कलहमा जल्नुहुन्न देश अब
हामी बीर नेपाली हौ वीरतामै हाम्रो शान
कसैको डर धम्कीमा गल्नुहुन्न देश अब
धेरै भए आत्मघाती सन्धीहरु पहिले यहाँ
स्वार्थ खेती बनी सधैं फल्नु हुन्न देश अब
काँधमा काँघ मिलाएर उठाउनु पर्छ माथि
कुनै पनि हालतमा ढल्नु हुन्न देश अब ।
(२)
अझ पनि कति गर्नुु सुशासनको आस यहाँ
अड्डा अफिस धाउँदा जान्छ पीडितको सास यहाँ
भोलि भोलि भनि टार्छन् भ्रष्ट कर्मचारीहरु
घुस पाए क्षणमै हुन्छ फायलहरु पास यहाँ
बढ्दै गयो बेरोजगारी बन्द भए उद्योगहरु
हुनेभयो गरिवको अब उठीबास यहाँ
फस्टाइराछ काला बजारीका धन्दाहरु
अनुगमन भएको देखिदैन खास यहाँ
सरकार पनि छकि छैन यो देशमा खै कुन्नी
यस्तै रहे पराईले बनाउनेछन् दास यहाँ ।
(३)
हरपल तिम्रो सम्झना आइरन्छ आँधीखोला
आँखाभरी तिम्रो तस्वीर छाइरन्छ आँधीखोला
लक्ष्मी र समुन्द्रको जस्तो तिम्रो मेरो नाता
जति टाढा उति माया लाइरन्छ आँधीखोला
अमृत जस्तो निर्मल जल हिरा मोतीको बगरमा
आकासबाट भुइँकुहिरो धाइरन्छ आँधीखोला
श्रवणको तपो भूमि स्रष्टाको जन्मभूमि
सुसाएर देशको गीत गाइरन्छ आँधीखोला
हाँसीरन्छ उत्तरमा माछापुच्छ्रे अन्नपूर्णा
सिर्जनशील सपुतहरु जन्माइरन्छ आँधीखोला ।
(४)
स्वार्थी हुन्छन् मान्छेहरु आफै मात्रै खाउँ भन्छन्
अरु भोकै नाङ्गेै मरुन् आफै मात्र लाउँ भन्छन्
सक्तैन ऊ देख्न कत्ति आफ्नो अघि अरु मान्छे
खुट्टा तानी पछारेर आफै अघि जाउँ भन्छन्
मानिसलाई भर्याङ् बनाई उक्लिएर माथि चढी
पद पैसा आउनेतिर आफैमात्र धाउँ भन्छन्
इमान, जमान, नैतिकता बन्धकमा पारेर नि
नगद् नारान्को जपगान आफै मात्र गाउँ भन्छन्
आफ्नो स्वार्थ पुरा गर्न राष्ट्रलाई नै दाउमा राखी
पाए घरको छानो पनि सुनले नै छाउँ भन्छन् ।