श्रीलक्ष्मीको बास होस्
दायित्वको ह्रास होस्।
प्रिय सधैँ पास होस्
प्रत्येक पल खास होस्।।१
बत्ती कात्न कपास होस्
गाईबस्तुलाई घाँस होस्।
दाल खान मास होस्
मिष्ठान्न भोजन गास होस्।।२
अज्ञानरूपी अँध्यारो नहोस्
सबैतिर प्रकाश होस्।
के गर्ने के नगर्ने
सबमा होस हवास होस्।।३
भ्रष्टाचारी निराश होस्
कुकर्मी सधैँ हताश होस्।
जनतालाई धोका दिने
सबको गलामा पाश होस्।।४
हिमाल देखिने आकाश होस्
इर्ष्या द्वैष नाश होस्।
गल्ती गर्दा त्रास होस्
रुपान्तरणको आस होस्।।५
के शहर के गाउँ
जताततै विकास होस्।
सम्पन्नताले भरिपूर्ण
यही धर्ती अकास होस्।।६