उत्तर र दक्षिणका विशाल राज्यका बीचमा रहेको बेवकूफ नगर नामक राज्यका जनता आफूलाई चलाख, बुद्धिमान र वीर जाति ठान्दथे । त्यहाँका जनता गरिव तर नेता धनी थिए । विकाश निर्माण शुन्य थियो । छिमेकी राज्यले विज्ञान र प्रविधिमा प्रगति गरेर चन्द्रमा पाइला टेकिसक्दा पनि उनीहरु चन्द्रमाको पूजाआजा गरिरहेका थिए ।
त्यस राज्यको गरिवी र पछौटेपनको मुख्य कारण बेवकूफतन्त्र हो भन्ने छिमेकी राज्यले ठानेका थिए । तिनीहरु विकाश निमार्ण भन्दा विध्वंस र तोडफोड मन पराउँदथे । काम भन्दा बढी आराम खोज्दथे । जलस्रोतमा विश्वमा धनी राज्यका जनता प्यासी थिए । सिंचाईका लागि इन्द्र देवको आराधाना गर्दथे ।
राज्यले बलिया युवाहरुलाई अरब, मलेसिया, कोरिया आदि देशमा निर्यात गरेर रेमिट्यान्स भित्र्याउँदथ्यो । अलि हुनेखानेका पढेलेखेका छोराछोरीहरु पढ्ने बहानामा युरोप, अमेरिका, अष्ट्रेलिया आदि देशमा आफैं भासिन्थे । बुढाबुढी, अशक्त, केही गर्न नजान्ने र नचाहानेहरु मात्र त्यस राज्यमा बाँकी थिए ।
महंगाईले आकाश छोएको थियो । बेरोजगारहरु सिमा नाघिरहेका थिए । स्वास्थ र शिक्षाको अभाव थियो । अन्याय, अत्याचार, शोषण, विभेद आदि त्यस राज्यका गहना सरह थिए । राज्यका ढुकुटी नेता, मन्त्री र भ्रष्ट कर्मचारीहरु मिलेर लुट्दथे । बर्सेनी करको भार बढाएर नेता र सांसद पोस्ने कार्यक्रम ल्याउँदथे । तर पनि सबका सब चूपचाप हुन्थे । अझ, चुनावमा पटक पटक तिनै भ्रष्टहरुलाई नै भोट हालेर जिताउँदथे । तिनीहरु सबैको बेवकूफी देखेर विदेशीहरु छक्क परे ।
भ्रष्टदेखि शोषित, पीडितसम्म खुशी हुने त्यस राज्यको शासन व्यवस्थामा के जादू छ ? विदेशीहरुका लागि त्यो खोजको विषय भयो । उनीहरुले निकै लामो अध्ययन पश्चात त्यसको कारण पत्ता लगाएरै छाडे । त्यस राज्यमा ‘बेवकूफहरुका लागि बेवकूफहरुले चलाएको बेवकूफतन्त्र संचालनमा रहेछ ।’