दुबै हातका दसै औँला जोडी गरेँ है सबैलाई नमस्कार !
हात जोड्या छ कि छैन, त्यतिकै मुखले मात्रै नमस्कार भन्या हो कि भन्ठान्नु भ’को छ भने नभन्ठान्नुस् । मेरा हातका औँलाले आङ कन्याए पनि, कान कन्याए पनि, नाक कोट्याए पनि, जहाँसुकै भएर जेसुकै गरिराखेका भए पनि त्यसको मतलब नगरी मैले भनेका शब्द र कुरालाई पत्याउनुस्, सिर्फ शब्द र कुरालाई ! किनभने शब्दमा जस्तो ठुलो तागत काममा छैन क्यारे ! यदि भैदिएको भए देश बनाउने जिम्मा लिएकाहरूले मिठा शब्दका हराभरा आकाशे खेतीमा जनतालाई झुलाउँदैनथे । माछो ! माछो ! लौ खा भ्यागुतो ! भने झैँ व्यवहार गर्दैनथे । काम गरेर देखाइहाल्थे नि ! त्यसैले जबसम्म अरूलाई मिठा र चिप्ला शब्दका लालिपप देखाउँदै लोभ्याउन सकिन्छ तबसम्म काम गर्ने दु:ख किन गर्नुपर्यो र ! फेरि काम गरेर देखाउनलाई त काम गर्नुपर्यो अनि आफुले गरेअनुसारको काम र त्यसको परिणाम प्राप्त नहुन पनि सक्छ । बोलेर, भनेर त सपेराले बिन बजाएर सर्पलाई लठ्याए जस्तै गरेर तुरुन्तै शब्दको मुखे मोहनीले सबैलाई लठ्ठ पारेर लठ्याउन सकिन्छ । साँच्ची हाम्रा नेताजस्ता शब्दका सुनौला जाल बुन्न सिपालु नेता अरू देशमा हुँदैनन् होला हगि ! नेपालीको पहिचान पनि त कामभन्दा चाम प्यारो हो नि, हैन त ? त्यसैले त हामी जसले जे भन्यो त्यही पत्याउँछौँ । कान छाम्न छोडेर कागको पछिपछि दौडिन्छौँ । आफ्नोे विवेकलाई सात ताल्चा मारी सन्दुकमा थन्क्याई महान् नेताका चिप्ला कुरामा चिप्लेर डङ्रङ हुँदा पनि दङ्ङ परेर ङिच्च हाँस्छौँ र थाङ्नामा लपेटिन्छौँ । उहाँहरू नेपाललाई फलानो, तिलानो, ढिस्कानो देश, स्वीजरल्यान्ड अथवा सिङ्गापुरजस्तै बनाइदिन्छु भन्दै आफ्ना आसेपासेको डप्फा लिएर विदेशको अवलोकन भ्रमणमा सवारी हुन्छ । हामी भोको पेट रित्तो खल्ती लिएर ऋणको भार सकिनसकी थाप्लोमा बोक्दै झिँगापुरमा बसेर झिँगा हम्किदै शाब्दिक सिङ्गापुरको सपनामा मस्त हुन्छौँ । तपैँलाई कस्तो लाग्छ कुन्नि ? मलाई त उहाँहरूको भाषण सुन्दा आजैबाट हाम्रा सारा दु:खकष्ट, अभाव आदि समाप्त भएर चारैतिर सुख, शान्ति छाएको अनि हाम्रो देश विकासको चरमचुलिमा पुगे जस्तो लाग्छ । आहा ! कति मिठा सुनिरहूँ जस्ता चमत्कारिक शब्दहरू– धारामा धरर मेलम्ची आउने, घुस, भ्रष्टाचारको जरै मासिने, बन्द हड्ताल सदाका लागि बन्द, चाहिएका सामान सही मूल्यमा किन्न पाइने, नक्कली समानको नाकमुखै नदेखिने, चारैतिर शान्ति सुरक्षा, अमनचैन, सबै कुरा सिस्टममा चलेको, स्वच्छ, सफा वातावरण … आदि इत्यादि । आहा ! क्या मिठा सुन्दर शब्दहरु !
आउनुस् मित्र ! तपैँ हामी सबैजना यस्तै महजस्ता मिठा कुराहरूमा माखोझैँ मक्ख परेर लठ्ठियौँ । प्लिज, कामको कुरो गरेर डिस्टर्भ नगर्नुस् न भन्या ! काम त कहिल्यै नआउने भोलि पो गर्ने हो । अहिले त मिठा र ठुला कुरा गर्ने हो, बुझ्नुभो त ! काम हैन बोलीलाई महत्त्व दिनुस् र पत्याउनुस् अनि हेर्नुस्, यो मन्त्रमुग्ध पार्ने मुखे मोहनी जालमा कति सिकार अल्झिने हुन् । त्यसैले आउनुस् सुनबुट्टे शब्दको मोहनी जाल थापौँ ।