मैले जीवनमा सबभन्दा बढी बेहोर्न परेका दुई कुरा हुन् – ‘भ्रम’ र ‘धोका’ । एक थोक होला भनेर अर्कै थोक हुने मिथ्या ज्ञान भ्रम हो भने अरूलाई झुक्याउने कपट व्यवहार धोका हो । यी नेपाली समाजका दुई यस्ता अस्त्र हुन् जुन कुनै एकलव्यले पनि परास्त गर्न सक्दैनन् । यिनै दुई अस्त्रले सामाजिक संरचना नै छित्र–भित्र र अस्तव्यस्त भएको छ । डोरी देखेर सर्प हो कि भन्ने भ्रम अनि ढोका खुल्ला–खुल्ला भनेर आशाको पङ्क्तिमा बसी लामै प्रतीक्षा गरेर पनि खुल्दै नखुली बराबर पाएको धोकाले दिग्भ्रमित बनेर म पनि दुखित र व्यथित रहें । समाजमा बाँचेपछि एकथरि होइन दश थरिका भ्रम बेहोर्न पर्दोरहेछ । राजनैतिक, सामाजिक, धार्मिक भ्रम मात्र होइन पारिवारिक भ्रम र धोकाले म विचलितसम्म नभए पनि आफैभित्र निकै थिलथिलिएको छु ।
म अहंवादी होइन तर जब समाजका हरकुनै क्षेत्रमा स्वाभिमानपूर्वक उठ्ने प्रयत्न गर्छु तब ममाथि आरोपका वाणहरू वर्षिने गर्छन् । म आफैलाई बडा पढेलेखेको र जात्रे–बुझ्ने सम्झन्छु, नसम्झुँ पनि किन विश्वविद्यालयले नै मलाई उच्चतम तहको उपाधि प्रदान गरेको छु । त्यसको गरिमा कायम गर्नु पनि मेरो कर्तव्य हो । निरन्तरको सामाजिक अध्ययन, चिन्तन, मनन र अनुभवले पनि भ्रम र धोकाबाट निवृत्त हुन सकेको छैन । हुन त भ्रममा बाँच्नेहरू आनन्दित हुन्छन् भनिन्छ । तर त्यो केही समयको खुसी र आनन्दले धोका खाएपछिको क्षति कदापि पूर्ति हुन सक्दैन । भ्रममा बाँचेर रमाइलो मान्नु भन्दा यथार्थमा बाँचेर गम्भीर बन्नु म उचित ठान्दछु । जीवन र परिस्थितिप्रति गहिरिएर बुझ्दै जाँदा म कति भ्रममा अल्झेको रहेछु, धोका खाएपछि मात्र चेत आउँछ । त्यस्तै विश्वास गर्दागर्दै अनेकौं पटक धोका खाएपछि थाहा भो भ्रम र धोकाले जीवनका महŒवपूर्ण घडी र योजना कसरी विनष्ट भएका रहेछन् ।
नागरिक हुनुको दायित्व र कर्तव्यप्रति पनि म निकै सचेत छु, त्यसैले म झण्डा बोकेर कैयौं पटक सडकमा कुदेको पनि छु र उकाली–ओरालीहरू पनि गरेको छु । जुलूसमा सहभागी बनेर चर्काचर्का राजनीतिक नाराहरू पनि फलाकेको छु । सभा, सम्मेलन र गोष्ठीहरूमा सहभागी बनेर समर्थन र विरोधमा कैयौं पटक तालीहरू पनि पिटेको छु; संवादमा चर्काचर्की पर्दा सत्यप्रतिको अटल निष्ठाले टेबलहरू पनि ठटाएको छु । त्यसरी दुई–चार वर्ष होइन चार–पाँच दशक बिते तर विकासको केही अंश पनि मेरो भागमा परेको छैन । कहीँ कुनै उपलब्धिको बिलो पनि मैले बेहोरेको छैन । बरु ऋणका ऋण थपिएर छोरा–नातिको टाउकोमा समेत बोझा परेको छ, यति हुँदाहुँदै यो भ्रम होइन यथार्थ सत्य हो भनूँ भने बौलाहा र ममा के फरक होला ? देशमा अराजकता बढिरहेको बेला बुझेर पनि बुझपचाए जस्तो गरी हुस्सू भएर रहन कसैको आत्माले मान्दैन ।
म अहिले जीवनको उत्तराद्र्धतिर अघि बढिरहेको छु । विगतका कैयौं भ्रम र धोका बेहोरेर पनि म भन्न सक्दिन, म कुनै भ्रम र धोकामा छैन । कहाँ गएर भ्रमको जालोमा पर्छु एकाएक कालले पनि कुन दिन धोका दिन्छ भन्न सकिन्न । प्रकृतिले पनि कहाँ सधैं सबैलाई साथ दिएको छ र ! कहिले एकाएक बाढी आउँछ गाउँ–बस्तीलाई उजाड बनाउँछ; हराभर खेतलाई बगर तुल्याउँछ, कहिले ठूलो खडेरी पर्छ, पानीसम्म पाउन पनि हाहाकार पर्छ । यो प्रकृतिको भ्रम र धोका जे भए नि सहनै पर्यो तर सामाजिक परिपाटी र व्यवहारमै भ्रम र धोका जे भए नि सह्य हुँदैन । यसैले त आन्दोलन, विद्रोह र क्रान्ति बराबर उठ्ने गर्छन् ।
भ्रमको खेती जहाँ पनि मौलाउँदो रहेछ । धर्म, साहित्य, संस्कृति, राजनीति कहीँ पनि त्यो अछूतो छैन । मौका पाए मानिसहरू मठ–मन्दिरदेखि मसानघाटसम्म भ्रम र धोकाको व्यापार गर्दारहेछन् । यो कलियुग भएरै होला, पापीहरूलाई झन्झन् फलिफाप हुँदोरहेछ । धर्माधिकारीहरूले अन्धविश्वास बाँड्दा रहेछन् त्यस्तै नेताहरूले आश्वासन र सपना । त्यस्तै साहित्यकारहरू आदर्श भावना र कल्पना अनि संस्कृतिविद्हरूले सुरक्षा र सान्त्वना । प्रेमचन्दको भनाइ छ – “जब मनमा एक भ्रम प्रवेश गर्छ तब उसलाई बाहिर निस्कन कठिन पर्छ ।” हामी यस्ता धार्मिक, सांस्कृतिक र राजनैतिक भ्रमबाट कहिले मुक्त हुने ? चेतनाको यात्रा नै यी सबै समस्याको समाधान हो । यात्राको परिणाम बुझेपछि थाहा हुन्छ – अहिलेसम्म कहीँ–कसैको मिठो फल खाएर शान्ति, सन्तोष र आनन्द मिल्न सकेको छैन ।
दासहरूको मुख्य चरित्र नै मालिकहरूको हित गर्नु हो । दासहरू पहिले आफै लास हुने स्थिति आए पनि मालिककै इच्छा र नीति अनुसार चल्दछन् त्यसैले त ती दास हुन् । मालिकले पनि दासलाई आफ्नै वशमा राख्न अरूलाईभन्दा विशेष स्वाद चखाइरहेका हुन्छन् । आफ्नै छिमेकी समकक्षी घनिष्ट मित्रलाई मित्रताको स्वाङ देखाएर भरिया बनाउन अहोरात्र खटिरहेको छ तर यहाँ दासका पनि दास अर्थात् दासानुदासका कुरामा विश्वास गरेर कसैको समर्थनमा मानिसहरू जुटिरहेका छन् । कोही कहीँ लुटिरहेको मौका छोपी आफ्ना शाखा–सन्तानको निम्ति भित्रभित्रै साझा खजाना लुटिरहेका छन् । यी सबै भ्रम र धोकाकै प्रत्यक्ष दृष्टान्त नै त हुन् नि । गुलामी गर्न परे बरु खुलेरै गरेको राम्रो भित्रभित्रै गुलामी गरेर बाहिर–बाहिरै सत्ताको सलामी खाने यहाँ खतरनाक व्याँसा चरित्रका व्यक्तिहरू रहेछन् । अबको भ्रम र भोलिको धोकालाई कसले बुझ्ने, कसले बुझाउने, मानिसको यही भ्रम प्रवृत्तिदेखि स्वामी विवेकानन्दले भनेका पनि छन् – “हामी देहमात्र छ भन्ने सोच्छौं सारा अशुभताको जड यसैमा छ । यदि कुनै मूलभूत वा आदिपाप छ भने त्यो यही हो ।”
विगतको राजनैतिक गतिविधि स्मरण गरौं र विचार केलाऔं । नेपालीले सातसालबाटै सङ्घर्ष गरे अधिकार प्राप्तिका निम्ति रगतकै पनि होली खेले । आज साठी–पैंसठ्ठी वर्ष बितिसक्यो तर एकको दुई भएर अर्थात् लोकतान्त्रिक अधिकारको बढोत्तरी भएर सर्वसाधारण जनताको जीवनस्तर उठेको खोई ? यथार्थमा भ्रम र धोकाले नै नेपालीहरू विश्वका सामु पछि परिरहेका छन् । शिक्षामा आज कोही राम्ररी पढ्छ उत्तम श्रेणीमा पास पनि हुन्छ उसको विद्या व्यावसायिक र व्यावहारिक पनि छ शिक्षाविदहरू बहानाबाजी देखाउँछन् तर ऊ भोलि बेरोजगार हुन्छ । जो आजसम्म राम्ररी आर्जन गर्छ । परिस्थितिले पल्टा खाँदा भोलिभोलि उही कङ्गाल बन्दछ । कृषि क्षेत्रका दूध बेच्नेहरू झोपडीमा छन्, मांस–मदिरा बेच्ने महलमा विराजमान भैसके । धर्म, संस्कृति मान्दै र नैतिक अनुशासनको पालना गर्दै जो टीका लगाउँदै हिँडे अहिले उनै नराम्ररी हारेका छन् । जिन्दगीभर खोज अनुसन्धान गर्नेको बुढेसकालमा ओत लाग्ने राम्रो छानो बन्न मुश्किल पर्छ । जग्गा दलाली गर्ने र राजनीति दलाली गर्नेहरू पजेरोमा शयर गर्छन् । यो पनि भ्रम र धोकाकै रूपरेखा होइन र ! यसै सन्दर्भमा युवा गजलकारको एक शेर याद आयो –
जिन्दगी भ्रममा अल्झेको पत्तै भएन
मृत्यु कुर्दा–कुर्दै बाँचेको पत्तै भएन ।।
जिन्दगी भ्रममा अल्झेको र सो पत्तै नभएको कुरा पक्का हो तर उनले मृत्यु कुर्दाकुर्दै भ्रममा अल्झेको र सो पत्तै नभएको जुन कुरा गरेका छन् त्यो दृष्टिकोण व्यावहारिक पक्षबाट अलि भिन्न लाग्दछ । जिन्दगी दु:खमा भन्दा सुखमा बितेको पत्तै हुँदैन तर दु:ख बेहोर्न पर्यो भने त्यो निकै लामो लाग्दछ । मृत्यु कुर्नु भनेको निकै कष्टप्रद कुरा हो । वास्तवमा त्यो महादु:खको प्रतीक्षा हो । मृत्यु नजीक छ वा सामु छ भन्ने भएपछि हरकसैका हात–पाखुरा फतक्क गल्छन्, मनले नै लत्तो छोड्न थाल्छ । मृत्यु त धेरै पर छ, त्यो आउने त कहिले हो–कहिले हो भन्ने बोध भयो भने मनमा पनि उत्साह आउँछ, शरीरले पनि पूmर्ति र जाँगर देखाउँछ । त्यसैले त यहाँ गजलकारले भन्न पर्ने “आसैआसमा बा“चेको पत्तै भएन” किनभने आशाले जीवनप्रति र निराशाले मृत्युप्रति घचेट्छन् । समय उही हो तर दिनरातले कति फरक पर्छ, भोगेपछि अनुभव हुन्छ । हाम्रा सामु स्वच्छ र निर्मल दिन छ, साथमा साथ दिने आत्मीयजन छन् भने त्यो दिन काट्न गाह्रो हुँदैन, त्यो बोल्दा–बोल्दै र हाँस्दा–हाँस्दै सुलुत्तै गइहाल्छ तर चिसो कठाङ्ग्रिने रात छ न्यानो कहीँ कतैबाट पाइन्न र साथ दिने पनि कोही जुट्दैनन् भने त्यस्तो रात काट्न धेरै गाह्रो पर्छ । एउटै रात कति बेला बित्ला भनेर बडो छट्पटी र बेचैनी रहन्छ ।
भ्रम र धोका अनुभव गर्ने ममात्रै हुँ कि यस्तै अरू कवि–लेखकले पनि अनुभव गरेका छन् ? भन्नेमा यसो घोरिएर खोज गर्दा मुक्तककार मोहन दुवाललाई पनि भ्रमले स्पर्श गरेको रहेछ । उनी आफ्ना मुक्तकमा भन्छन् –
आँखा भएर पनि नदेख्नु भुल हुन सक्छ
मन भएर पनि नहेर्नु भ्रम बन्न सक्छ
के जीवनलाई आशङ्कमा मात्र बिताइरहने
जिन्दगी भोग्नु पनि त सङ्घर्ष नै हुन सक्छ ।
(जीवन–१७, मनका स्पर्शहरू, २०७३)
हामी भुल र भ्रममा पर्न सक्छौं, तर हामीसँग आँखा र मन भएपछि हेर्न, बुझ्न पछि पर्नु हुँदैन । जिन्दगीलाई आशङ्कामा बिताउने होइन, सत्यको निम्ति सङ्घर्ष गर्नुपर्छ । कविको यो प्रगतिशील दृष्टि हो । तर यथार्थमा कसले, कहाँ, के, कति सङ्घर्ष गरेको छ ? त्यस्तै अर्का कवि आर.आर. चौलागाईंले भ्रममा आफ्नो भ्रमित अनुभूति व्यक्त गरेका छन् । उनी मूर्खलाई विद्वान् सम्झने, दुश्मनलाई सहयात्री सम्झने जस्ता सामान्य कुरामा पनि भ्रम देख्छन् । आडम्बरलाई योगी सम्झेर, स्वार्थीलाई नेता सम्झेर समाजलाई ठूलो क्षति पुगेको तथ्य भ्रमकै भीषण परिणाम हो । ईश्वर छ भन्ने भ्रमले मान्छेलाई नैतिकतातर्फ अभिप्रेरित गरे पनि शैतानलाई नै गुरु मानेर सर्वश्व सुम्पनेहरूले समाजलाई नै ठूलो हानी पुर्याइरहेको तथ्य बिर्र्सन सकिन्न ।