मेरा पिता स्व. भीमनिधि तिवारी (हामी छोरा–छोरीहरू दाइदाइ भन्ने गथ्र्यौं) सँग सम्बद्ध केही मधुर स्मृतिहरू मेरो मानसपटलमात्र पत्रपत्र भएर रहेका छन् । ती केही स्मृतिहरू जो ताजा रूपमा मेरा आँखाका वरिपरि आइरहन्छन्, तिनीहरूको चर्चा म गर्न लागिरहेछु ।पहिलेका सन्तानहरू नबाँचेका र छोराछोरीको रहर पनि दाइदाइको मनका हुर्किसकेको बेला म जन्मिएकोले मलाई उहाँ अत्यन्त माया गर्नुहुन्थ्यो । म उहाँको बुईमा झुण्डिरहन्थेँ । उहाँ अफिसबाट फर्किएर आएपछि मलाई बोकी डुलाइरहनुहुन्थ्यो र म उहाँकै काखमा निदाउथेँ – प्रत्येक दिनजसो (साँझै घर फर्किएको दिनमा) ।
एकदिन घरमा कसले हो मलाई गाली गर्यो र म मटानको भुइँमा लडिबुडी खेली रोइरहेकी थिएँ । त्यसै बेला अफिसबाट दाइदाइ फर्कनु भयो र मेरो यो अवस्था देखी भुइँबाट उठाएर धूलो झारेर उहाँले मलाई बोक्नु भयो र कवितात्मक भाषामा मलाई फुलाउँदै भन्न थाल्नुभयो –“तिमी रोयौ भने आकाशमा बादल लाग्छ, गड्याङगुडुङ हुन्छ, चट्याङ पर्छ, पानी बर्सन्छ, तिमीले यसरी लडिबुडी गर्यौ भने भूकम्प जान्छ, पृथ्वी फाट्छ, कोलाहल हुन्छ, सारा डरले त्राही त्राही हुन्छन् । मेरी छोरी तिमी नरोऊ …..” आदि आदि भनेर फुल्याएको र परिवारहरूलाई नरुवाउनु भनेर हप्काएको (हप्काएजस्तो गरेको हुनुपर्छ, मेरो बालमानसमा हप्काएको लागेको हुनुपर्छ) र म गमक्क फुलेर, दङ्ग परेर रुन छाडेको, अनि उहाँको काखमा निदाएको मलाई ताजा सम्झना छ । उहाँका शब्दहरूबाट, मैले यस्तो गर्दा साँच्चै सारा पृथ्वी नै कम्पायमान र थर्कमान भएको म अनुभव गर्थें । त्यस बखत मेरो उमेर २–३ वर्षको हुनुपर्छ ।
त्यो दिनको घटनापछि म एक दुई दिन बिराएर दाइदाइ अफिसबाट आउने समय पारी निहुँ खोजेर रोएर भुइँमा लडिबुडी गर्न थालेँ । फेरि उहाँ अफिसबाट फर्किएर त्यस्तै गरेर तिनै शब्दहरू व्यक्त गरेर मेरो टाउको सुम्सुम्याउँदै मलाई मुसार्दै घरमा परिवारलाई गाली गर्नु हुन्थ्यो र म दङ्ग परेर फुलेर दाइदाइको काखमै निदाउँथेँ । तर कहिलेकाहीँ दाइदाइ अफिसबाट आउने समयको ठीक अड्कल गर्न नसक्दा घण्टौं भुइँमै सुत्नु परेको पनि सम्झना छ । भावु (आमा) र अरू परिवारले उठाउन, फकाउन जति कोशिस गरे पनि भुइँमा लिप्सिएर बसेको र बोकेर कोठामा लैजाँदा फेरि मटानमै आएर सुतेको सम्झना छ । कहिलेकाहीँ त समयको निक्कै नै फरक पर्दा म भुइँमा रोई लडिबुडी गर्दा गर्दा आजित भएर आफ्नै कोठामा गएर बसेको पनि सम्झना ताजै छ ।
अर्को सम्झना म अलि ठूलो भइसकेपछि शायद ४–६ वर्षको हुनुपर्छ । हाम्रो डिल्लीबजारको घर सडकबाट अलि छेडोभित्र पर्छ । हाम्रो घरबाट अन्तिम घर सडकसँगैको सानो पसल थियो । त्यो पसलमा दिउँसो म केही किन्न जाने गर्थें । कहिले घरका परिवारले सलाई जस्ता सानातिना कुरा तुरुन्त आवश्यक पर्दा किन्न पठाउँथे । यो कुरा दाइदाइले थाहा पाउनु भएपछि मलाई पसल नजाने अठोट गराउनुभयो । तर पनि जाने गर्थें । अनि उहाँले –“मैले मेरो आँखा यही घरमा छोडेर जाने गरेको छु, मलाई छलेर गएमा मलाई थाहा हुन्छ त्यसैले पसल नजानू” भन्नुभयो । पसलसँगै सडक भएकोले कुनै दुर्घटनाको आशंकाले यसो भन्नुभएको हुन सक्छ । मलाई अलिअलि विश्वास र अलिअलि अविश्वास लाग्यो । दिउँसो पसल जान लाग्दा आँखाले हेरिरहेको छ भन्ने लाग्यो र म डराएँ र जान सकिनँ । फेरि यो कुरामा अविश्वास पैदा भयो र दुई विचारको द्वन्द्वमा परें । एकदिन अविश्वास प्रवल हुँदा पसल गएँ । अफिसबाट फर्किएपछि उहाँले मलाई ‘पसल नजानू भनेको किन गएको ?’ भनेर सोध्दा म चोर पक्रिएजस्तै भएँ । मैले ‘कसरी थाहा पाउनु भयो ?’ भनेर प्रश्न गर्दा उहाँले घरमा आँखा छोडेर गएको कुरा बताउनु भयो । मलाई उत्सुकता लाग्यो त्यो आँखा कहाँ राख्ने गरेको होला ? दिउँसो उहाँ अफिस जानु भएपछि मैले त्यो आँखा घरभरि खोजें । बाहिर गएको देख्ने भनेपछि त्यो आँखा कोठाभित्र नभएर घर बाहिरको भित्तातिर कतै टाँसिएको हुनुपर्छ, घरवरिपरि घुमेर खोजें कहीं फेला पारिनँ । फेरि अविश्वास पैदा भयो र पसल गएँ । फेरि पनि उहाँले थाहा पाउनु भयो । त्यसपछि उत्सुकतापूर्वक ‘आँखा कहाँ छ ?’ भनेर धेरै जोड गरेर सोधें । घर फर्किएपछि त्यो आँखा फेरि आफ्नो अनुहारमा जड्ने गरेको र बाहिर जाँदा कसैले पनि नदेख्ने ठाउँमा टाँसी जाने कुरा बताउनु भयो । त्यसपछि आँखाले चाहिँ मलाई देख्ने तर लुकाएर राखेकोले मैले नदेख्ने रहेछु भन्ने कुरा बुझें । अनि पसल जान लाग्यो कि ती दुई आँखाहरूले हेरिरहेको डरले मैले पसल जान शायद छोडि नै दिए जस्तो लाग्छ ।
अर्को एउटा सम्झना एशियाली लेखक सम्मेलन हो कि वा अरू कुनै भ्रमण हो, उहाँ – भारतको भ्रमणमा जानुभएको थियो । मैले पुतली र पुतलीका भाँडाकुँडा किनेर ल्याइदिन अनुरोध गरें । उहाँले आफ्नो साथमा मेरो छोरा पुतलीलाई पनि टूरमा लिएर जाने कुरा गर्नु भयो । भारतबाट मेरो पुतलीको विवाह गरी बुहारीसहित दाइजो पनि ल्याइदिने कुरा गर्दा म साह्रै खुशी भएँ । मसँग भारतमा विवाह गर्न पठाउन लायकका राम्रा पुतली थिएनन् । फेरि छोरी पुतली नछुने छोरा नै चाहिने, माटाको सानो छोरा पुतली थियो, मन नलागी नलागी त्यो देखाएँ । उहाँले यही नै हुन्छ, राम्रो छ भनेर आफ्नो लुगा राखेको सुटकेशभित्र राख्नु भयो । मलाई भने त्यो पुतली लगेको चित्त अलि बुझेको थिएन । आफ्नो टूरको सिलसिलामा पत्राचार गर्न त्यो पुतलीको लागि बुहारी हेर्दै गरेको कुरा पनि लेख्नु हुन्थ्यो । मलाई कहिले बुहारी भिœयाउँला भन्ने उत्सुकताले घरका परिवारसँग उहाँ फर्कने मिति सोधिरहन्थें । त्यो भ्रमण लामो नै थियो जस्तो लाग्छ किनकि ठाउँ ठाउँमा पुगेको र केटी हेरेको कुरा पत्रमा आइरहन्थ्यो । पछिल्लो पत्रमा विवाह भएको कुरा लेख्नु भएकोमा छिट्टै फर्कने कुराले मलाई अत्यन्त हर्षित पारेको थियो । उहाँ आफ्नो भ्रमण सिध्याएर आउनु हुँदा त नभन्दै, मेरो पुतलीभन्दा ५–६ गुना ठूली प्लास्टिककी फ्रक लगाएकी बुहारी र त्यसको साथमा पहेंला पित्तलका भाँडाकुँडाहरूको प्याकेट पनि ल्याइदिनु भएको रहेछ । सानो चुल्होमा कसौडी बसालेर सनासोले खाना झिकेर खेल्दा म साह्रै खुशी भएकी थिएँ ।
यसरी बाल मनोविज्ञानसँग राम्रो परिचित हुनु हुन्थ्यो भन्ने अहिले लाग्छ । के बोल्दा बालकको मनमा कस्तो प्रभाव पर्छ यसमा उहाँ सधैं सर्तक हुनु हुन्थ्यो । त्यसैले छोरा–छोरीसँग बोल्दा, कुरा गर्दा यी कुरालाई सधैं ध्यान राख्नु हुन्थ्यो ।
जति हामीले उहाँबाट माया पाएका थियौं त्यति नै अनुशासन पनि कडा थियो । बिहान सबेरै उठेर पढ्नु, राती बत्ती बल्नासाथ किताब लिएर बस्नु आदि सबै रुटिनबद्ध जीवन थियो । बिहान आफ्नो लेखन पठनको समयपछि र आफिस जानुभन्दा अघि हामीलाई पढाउने समय हुन्थ्यो जुन नियमित थियो । सो समय, उहाँले दिएको पाठ बुझाउने समय हुन्थ्यो । उहाँ घोकन्ती विद्या मन नपराउने हुनाले, अंग्रेजी हामी घोकेर होइन वाक्य पढेर अर्थ लगाउथ्यौं, केवल शब्दहरू मात्र घोक्थ्यौं । नेपाली लेखेर देखाउनु पथ्र्यो, ह्रस्व दीर्घमा हामीलाई सतर्कतासाथ ज्ञान दिनु हुन्थ्यो । व्याकरणका नियमहरू चाहिँ हामी घोक्ने नै गथ्र्यौं । गोपाल पाँडेको ह्रस्व दीर्घको सवाई हामीले कण्ठ घोकेका थियौं । त्यस्तै अंग्रेजीको ग्रामर पनि ।
अनुशासनको कुरा गर्दा मैले पिटाइचाहिँ कहिल्यै पनि खाइनँ केवल कान निमोठाइसम्म मात्र । अफिसबाट उहाँ घर आउँदा हामी घरमै हुनुपथ्र्यो, बाहिर खेल्न जाने अनुमति थिएन । घरकै आँगनमा मात्र खेल्ने अनुमति पाएका थियौं । साथीहरूकहाँ जाने अनुमति पनि मैले कहिल्यै पाइनँ । साथीहरू नै मकहाँ आउथें । यसरी मैले उहाँबाट माया जति पाएकी थिएँ; अनुशासन पनि त्यतिकै कडाइका साथ पालना गरेकी थिएँ ।
जब मेरो अक्षरारम्भ (तीन वर्षको उमेरमा) भयो केही पढ्न र लेख्न जान्ने भएपछि नै मैले कविता लेख्न शुरु गरें । यी कविता म दाइदाइलाई देखाउँथें, उहाँ त्यो पढेर प्रशंसा गर्नु हुन्थ्यो र नमिलेको केही मिलाइ दिनु हुन्थ्यो । जुन कविता टोलमा हुने सरस्वती पूजाको कवि सम्मेलनमा म सुनाउने गर्थें । यस सम्मेलनका आयोजक प्राध्यापक गोपालनिधि तिवारी प्राय: हुनुहुने गर्नु हुन्थ्यो । २००७ सालपछिका कवि सम्मेलनमा पनि हामीलाई लगिन्थ्यो । यो सम्मेलन सरस्वती सदनमा भएको मलाई याद छ । मञ्जुलाई लगिन्थ्यो कि लगिन्नथ्यो त्यति याद छैन । म पनि सानै भएकीले कविता केही बुझ्दैन थिएँ तर भावु (आमा) पनि जाने भएकीले म पनि पुच्छर लागिहाल्थें । ती सम्मेलनहरू पट्यार लागेको, बाहिर खेल्न निस्केको, फेरि मलाई भित्र ल्याएर राखेको सम्झना छ । म त्यो सम्मेलनमा निदाउँथें । नाटककार बालकृष्ण समका परिवार पनि ती सम्मेलनमा हुने गर्थे, उनीहरूले मलाई काखमा राखेको, मसला, पिपी दिएको र फर्कंदा साथै फर्किएको याद छ । त्यसताकाका कविहरूका कविता म बुझ्दैन थिएँ तर श्री नीरविक्रम प्यासी (हाल रा.प्र.प्र. का सदस्य) ले कविता पाठ गर्न लागेपछि मेरो निद्रा टुट्थ्यो र उहाँको कविता पाठ गर्ने हावभाव पाराले मलाई साह्रै आकर्षित गथ्र्यो ।
यसरी सानै उमेरदेखि सम्मेलनहरूमा जाँदा र घरको वातावरण आदिले गर्दा मैले शुरुमा प्रकृतिसम्बन्धी कविता लेख्न थालें । म दाइदाइका नाटक र कहानीहरू खूव चाख मानेर दिन दिनभर पढेर बस्थें ।श्री बदरीनाथ भट्टराईज्यूका पौराणिक कहानीका किताबहरू दाइदाइले दिनु हुन्थ्यो र यी पनि पढ्थें । ठूलै भइसकेपछि मैले एकांकी नाटकहरू पनि लेख्न शुरु गरें । कति प्रकाशित भए तर कति भने रेडियो नेपालबाट प्रसारित मात्र भए । हाल ती टेपहरू पनि रेडियो नेपालमा सुरक्षित छैनन्, ती त्यसै हावामा उडे, गए । तर त्यसको प्रभाव भने जनमानसमा निकै परेको थियो । एक दिनभरिमा दुई तीन सभामा ती नाटकहरू प्रसारित हुन्थे, धेरै श्रोताहरूको फर्माइसमा । कतिमा मैले आफैंले भाग पनि लिएकी थिएँ र निर्देशन पनि दिएकी थिएँ । केही एकांकी रङ्गमञ्चमा मञ्चन थिए ।
ती सबै नै रचनाहरू म लेखिसकेपछि दाइदाइलाई देखाउँथें । उहाँले ठीक बेठीक हेरी साधारण परिवर्तन गर्नु पर्नेमा सुझाव दिनु हुन्थ्यो र फेरि म त्यही सुझाव अनुरूप बनाउँथें । रचना मन परेमा, समाप्तीको तल आफ्नो ऋयmmभलत अर्थात् ‘राम्रो’ ‘निकै राम्रो’ आदि पनि लेखिदिनु हुन्थ्यो जसले गर्दा अरू लेख्नमा मलाई हौसला मिल्थ्यो । साहित्यिक सम्मेलनहरूमा हामी कहिलेकाहीं जान नचाहे पनि जोड गरी लिएर जानु हुन्थ्यो अर्थात् साहित्यिक भेलाहरूमा हामीले भाग लिँदा उहाँ खुशी हुनु हुन्थ्यो । साहित्यिक क्षेत्रमा लाग्नको लागि उहाँ सधैं हामीलाई हौसला र प्रोत्साहन दिने गर्नु हुन्थ्यो ।
हामीले सम्मेलनमा भाग लिएको देख्दा हाम्रा परिवारका कति सदस्यले ‘बाबुले लेखिदिएर पढेका’ भन्ने पनि गर्थे । तर यो सत्य थिएन, हाम्रा लेखनमा उहाँले पूरै हेरफेर कहिल्यै गर्नु भएन, केवल एक दुई शब्द बदल्ने, नमिलेको फेरि मिलाएर लेख्ने सुझाव मात्र दिनु हुन्थ्यो । आज हाम्रा सामु उहाँ हुनुहुन्न, अझै हामी लेख्दै छौं । यी निराधार आरोपहरू आफैं अन्त्य भएका छन् ।
। लिएका विषयहरू पनि बदली सजिलो विषय लिन बाध्य हुनुपरेको थियो । एक सेट किताब घरमा भएर पनि माइतीमा पनि एक सेट राख्नु परेको थियो । धेरै नै अवरोध हुँदा माइती आएर पढ्न बस्थें । दाइदाइले सबै विषयहरू एक एक गरी पढाउनु हुन्थ्यो । कलेज कहिले जान पाइने र कहिले जान नपाउनेले गर्दा लेक्चर छुट्नु र सिलसिलाबद्ध नहुनुको कारणले गर्दा दाइदाइले सबै नै पढाउनु भयो । वर्डस्वर्थ, शेली, वाइरन, व्राउनिङ्ग, ड्राइडन, पोप आदिका कविताहरू उहाँ निक्कै चाखलाग्दो पाराले पढाउनु हुन्थ्यो ।क्ष् यियप ष्लतय mथ नबिकक कविता पढाइसकेपछि उहाँले आफ्नो अनुहार कोठाको भित्ते ऐनामा हेर्नु भयो र यो कविता आफैं मिलेको छ भन्ने भाव व्यक्त गर्नु भएको सम्झना अझै ताजा छ । यसरी सबै विषयहरू पढाइसकेपछि उहाँलाई पनि जाँच दिऊँ भन्ने लागेछ । पढाउँदा सबै विषयहरू तयार भइसकेका थिए । उहाँ पनि जाँच दिन तयार हुनु भयो । उहाँ जाँचमा कुन कुन आउँछ इम्पोर्टेंन्ट छान्न असाध्यै सफल; मैले अनुभव गरेकी छु । जाँचको हलभित्र पस्नुभन्दा अघि ढोकासम्म पनि यो आउँछ यसरी लेख्नु सिकाउँदै मलाई हलमा पसाएर उहाँ आफ्नो हलतिर लाग्नु हुन्थ्यो । नभन्दै जाँचमा तिनै कुराहरू नै सोधिएका हुन्थे । एक दिन त उहाँ र म एउटै हलमा परेका थियौं – त्रिचन्द्र क्याम्पसको विज्ञान भवनको कोठामा । परीक्षामा जाँदा उहाँको पहिरन र चश्मा अलग हुन्थ्यो – विद्यार्थीले नचिनून् भनेर होला । नेपाली विषयको जाँचमा हामी एउटै कोठामा पर्यौं, उहाँ मभन्दा केही बेञ्च अघि हुनु हुन्थ्यो । प्रश्नहरू उहाँसम्बन्धी नै तीनवटा जस्तो लाग्छ सोधिएका थिए – पूरा प्रश्न र सप्रसङ्ग व्याख्या गरेर । तर जाँचको रिजल्ट हुँदा नेपालीमा मैले उहाँलाई बढी नम्बर ल्याएर जितेकी रहेछु । यो कस्तो जाँच हो र कस्ता परीक्षक हुन् ? मलाई अचम्म लाग्यो ।
दाइदाइको जीवनबाट र उहाँको भनाइबाट मैले के बुझेको छु भने उहाँ भाग्यमा विश्वास नगर्ने र कर्ममा विश्वास गर्ने मध्येको हुनुहुन्थ्यो । उहाँलाई खाली बसेको मैले कहिल्यै देखिनँ । बिहान चरासँगै उठेर लेख्न पढ्नमा बस्नु हुन्थ्यो । साढे दुई वा ३ घण्टापछि बगैंचाको काममा लाग्नु हुन्थ्यो । फेरि लेखनपढन, हामीलाई पढाउने काम र अफिस जाने तयारी गर्नु हुन्थ्यो । बगैंचाको साह्रै शौखिन हुनु भएकोले, नमुना नमुनाका फलफूलका बोटहरूदेखि लिएर, अति रङ्गबिरङ्गका वास्नादार फूलहरू बगैंचामा थिए । अहिले सम्झँदा त्यो बगैंचा स्वर्गको बगैंचा जस्तो याद आउँछ । सरदार रुद्रराज पाण्डे त्यो बगैंचा घुम्न आइरहनु हुन्थ्यो ।श्री शंकरदेव पन्त पनि आइरहनु हुन्थ्यो र बगैंचामा त बस्नु हुन्थ्यो तर पाण्डेज्यूको उत्तिको चाख बगैंचाप्रति थिएन कि जस्तो लाग्छ मलाई ।
आज उहाँले लेखेर, छोडेर गएका किताबहरू हेर्दा उहाँमा कुन धैर्य थियो जसले उहाँलाई लेखाइरह्यो भन्ने मलाई लाग्छ । मान, पद र धनको प्रलोभनविना नै उहाँले लेखिरहनु भयो ‘वर्तमान नभए पनि मेरो भविष्य छ’ भन्ने विश्वास थियो र नै उहाँले पारिवारिक, सामाजिक, आर्थिक प्रताडनाहरू सहेर पनि लेखिरहनु भयो । उहाँको समयमा यो समाज जति भ्रष्ट थियो आज त्यो झन् बढ्दै छ । यहाँ दासताको पूजा हुन्छ । उहाँको साहित्यको कदर हुन यहाँको मनोवृत्तिमा परिवर्तन हुनुपर्छ । उहाँले सधैं दासताको विरोध गर्नु भयो । लेखनमा एउटा र व्यवहारमा अर्को छद्मवेशी रूप उहाँमा थिएन । कुनै पद प्राप्त गर्न साहित्यलाई चाकरीको रूपमा उहाँले कहिल्यै प्रयोग गर्नु भएन । यस्ता चाकरी गर्ने संकेतहरू उहाँ पाउनु हुन्थ्यो तर उहाँको लागि सबभन्दा मन नपर्ने कुरा नै यही हुन्थ्यो र हामी परिवारसँग आफ्नो कलम यतातिर नझुक्ने कुरा व्यक्त गर्नु हुन्थ्यो । तर त्यस समयका समकालीन लेखकहरू यस्तो लेख्न र चाकरी पुर्याउनु पर्ने ठाउँमा आफ्नो लेखनलाई प्रयोग गर्न पछि पर्दैनथे । तर त्यस्तो साहित्यलाई केवल उनीहरूले शिक्षा यात्रामा मात्र प्रयोग गर्थे र पाइसकेपछि त्यो पात्र कतै लुक्थ्यो । यस्तो छद्मवेशी कार्य उहाँबाट कहिल्यै भएन ।
कामचोरलाई, चाकडी र चाप्लुसीलाई, सधैं तिरस्कार गर्ने मेरा दाइदाइलाई मैले सधैं कर्मठ, सक्रिय कर्मयोगीको रूपमा पाएकी छु । उहाँमा आलस्य, थकाइ मैले कहिल्यै देखिनँ । लेखनकार्य, सामाजिक कार्य र पारिवारिक कार्य सबैमा उहाँले आफ्नो समयलाई बाँड्न सक्नुको कारण पनि यही नै हो । उहाँको यस्तो अनुकरणीय व्यक्तित्वबाट मलाई सधैं प्रभावित पारेको कुरा यो छोटो समयको, छोटो लेखबाट कति नै व्यक्त गर्न सकिन्छ र !