प्रेममान ‘पुं’ अर्थात् चित्रकार । चित्र लेख्नु उनको पुख्र्यौली अधिकार । तर उनका बुबालाई छोराले चित्रकारिता सिक्ला भन्ने ठूलो डर रहेछ । त्यसैले प्रेममान लुकी–लुकी, बुबाको आँखा छली–छली चित्रकारिता सिक्ने गर्छन् । किनभने उनलाई चित्रकला सिकेर प्रख्यात चित्रकार बन्ने धुन थियो । परम्परागत चित्रकारितामा अझ त्यसमा पनि पौभा: चित्रकारितामा धेरै परिश्रम गरेर यिनले ख्यातीनामा कमाएको देखिन्छ । परम्परा, संस्कारसँग सम्बन्धित चित्रकला बनाएर आफ्नो संस्कृति र पहिचान देखाउन तल्लीन यिनले सानै छँदादेखि नै ठूलो बाका चित्रहरु हेरेर प्रेरणा प्राप्त गरेका हुन् । जातीगत पहिचान देखाउनु भनेको नै चित्रकारिता गर्नु हो यिनको ठम्याइ छ – ‘चित्रकारिता कोर्नु भनेको पनि तप बस्नु भनेजस्तो भएकोले मैले चित्रकारितामा निपुण हुन आफै तपस्या गरेँ । तप गरेपछि फल त अवश्य प्राप्त हुन्छ – हो म चित्रकार (पुं) बनेँ । मलाई गौरव छ – म चित्रकार भएँ ।’ उनी गौरवसाथ उपरोक्त भनाइ व्यक्त गर्छन् ।
भीमसेनस्थान, काठमाडौंमा २००१ मङ्सिर २४ मा पिता पृथ्वीमान र माता चन्द्रमाया चित्रकारका छोरा भई जन्मेका यिनी आफूलाई सङ्घर्षमा खार्न लगाएर एकजना सफल तथा सिद्धहस्त कलाकारका रुपमा चिनाएका छन् । यिनीद्वारा सिर्जित ऋबिककष्अब िब्चतपौभा: चित्रकला विश्वको कुनाकुनामा पुगेका छन् । हाल यिनी आफ्नो गिरेको स्वास्थ्य हेरेर, सक्दो औषधोपचार गरेर जीवनसँगिनी ‘विद्या’ को प्रेमपूर्ण सेवामा आफूलाई ‘फेसबुक’ मा समर्पित तुल्याउँदै बाँचेका छन् । सक्दोबेलामा सक्ने कार्यहरु गर्ने हो; मोजमस्ती, दौडादौड, लेखन, समाजसेवा सबै आफूले सक्ने बेलामा त गर्ने हो । यिनले पनि जीवनमा सबैथोक भ्याए । दुर्गालाल ‘ख्वबिलु’ कविसँग ठाउँ–ठाउँमा जमेर, मदनकृष्ण श्रेष्ठसँग हाँसठट्टा गर्दै मधुशालामा पुगेर, गायक द्वारिकालाल जोशीसँग गीत/गायनमा मस्त भएर धेरै समय मोजमस्ती, दौडादौडमा पनि यिनले बिताए ।
नेपाल परम्परागत कलाकार सङ्घका अध्यक्ष भएर कलाकारिता गर्दै आएका यिनी नेपालभाषा अकादेमीका सदस्य भएर, नेपाल राष्ट्र बैंक अन्तर्गतका ‘सिका डिजाइनर कमिटी’ मा रहेर, आर्टिस सर्कल कलाकार समाजका संस्थापक सल्लाहकार रहेर, भीमसेनस्थान भोजघर निर्माण गर्न सहयोग पुर्याएर आफ्नो कर्म र मर्म पौख्दै आएका व्यक्तित्व हुन् । यिनी कविता र गीत लेख्न पाउँदा दङ्गदास हुन्छन्, लेख–रचना लेख्न पाउँदा खुसी हुन्छन् । कवि–मर्म बोकेर चित्रकारिता गर्दै आएका यिनी कलाकार अहिले आफैले आफूलाई खोज्दैछन् र जीवनका मर्ममा आफूलाई डुबाउँदैछन् ।
उकाली–ओराली, घुम्टीहरुमा जीवनका क्षणहरु बिताएर धेरै खालका अनुभूतिहरु साँचेर कलालाई जीवन्त तुल्याउन जानेका एकजना सफल कलाकार हुन् – प्रेममान पुं (चित्रकार) । परम्परागत शैलीलाई आधुनिक शैलीमा ढालेर नयाँ स्फूर्ति भर्न सिपालु कलाकार हुन् – प्रेममान पुं(चित्रकार) । २०५१ सालमा नै यिनले इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार नेराप्रप्रबाट पाएको कारणले पनि भन्न सकिन्छ यिनी उच्चकोटीका कलाकार हुन् । यसैगरी २०५६ मा यिनी रु. ५०,०००।– नगदसहित ‘नरोत्तमदास–इन्दिरा श्रेष्ठ गुठी’बाट पुरस्कृत भएको देखिन्छ । यसैगरी थुप्रै ठाउँबाट सम्मानित र पुरस्कृत भइसकेका यिनी नेपालभाषामा कविता, गीत र कथा लेख्छन् ।नसला १०० वटा गीत भएको पुस्तक २०५७ मा नै प्रकाशित भएको देखिन्छ । यिनले बाखंदबूमा कथाहरु प्रकाशित गराएका छन् । कवितामा पनि मर्म भर्न जानेकै कारणले कवि प्रेममानका कविताहरु सुनौं–सुनौं, पढौं–पढौं लाग्ने खालका हुन्छन् । यतिमात्र नभई यिनले गीतहरु पनि गाएका छन् । २०१८ सालतिर नै रेडियो नेपालको ‘जीवन–दबू’ कार्यक्रममा यिनका गीतहरु बजेका हुन् ।
वि.सं. २०२० सालमा यिनले विद्यासँग प्रेम गरे र आफूलाई मन परेकोले विवाह बन्धनमा बाँधे । धेरै हण्डर खाए यिनले, धेरै खालका कामहरु गरे । कहिले फ्रेमका पसल, कहिले रेष्टुरेन्ट, कहिले ट्याक्सी ड्राइभर, कहिले मिस्त्री भएर काम गर्दा पनि यिनले चित्र र कविता कोर्न छोडेनन् । सङ्घर्षको एउटा नाम बनेका छन् कलाकार प्रेममान । तर्क गर्न सिपालु, निर्भिकता देखाउन सफल निरन्तर आफ्नो कलालाई सम्प्रेषण गर्न खोजिरहने एकजना सफल कलाकार प्रेममानले आफ्ना गीत–कविताहरुमा समसामयिक दृष्टि पोख्न सफल छन् ।
१३ वर्षको उमेरमा आफ्नी आमाले पनि छोडेर गएपछि यिनी बाबुकै संरक्षणमा नै हुर्के र बढे । दिदी–बहिनी, दाजुभाइ कोही छैनन्, यिनीमात्र एक्लो छोरो तर पनि बाबुको इच्छाविरुद्ध यिनी लुकी–लुकी आफूलाई सफल कलाकार बनाई छाडे । बाटोमा, भित्तामा, जहाँ पायो त्यहाँ चित्र कोर्दै, अरुहरुको चित्र हेर्दै चित्रकारितालाई यिनले माया गरे र आफ्नो इच्छामा चित्रकार बनाई छाडे । निरन्तर लागिरहँदा, सधैं खोजिरहँदा आफूले चाहना गरेका फलहरु प्राप्ति हुँदा रहेछन्, यही प्राप्तिकै सफल नाम बने – प्रेममान चित्रकार । परम्परागत चित्रकारितामा एउटा अग्रिम नाम बनाउन सफल कलाकार प्रेममानले परम्परा च्वज्या विधि (परम्परामा लेखन कार्य) नामक पुस्तक पनि प्रकाशित गराएका छन् । उक्त पुस्तकमा अभिव्यक्त भएका कलासम्बन्धी धारणाहरु र परिचयका अंशहरुले प्रेममानका कलाशैलीका मर्महरु छाम्न सकिन्छ । आधिकारिक उक्त पुस्तकमा प्रेममानले आफूलाई सक्षम कलाकारका रुपमा चिनाएका छन् ।
प्रेममान चित्रकारको २०७७ श्रावण ३२आइतबार दिउँसो निधन भएको थियो । नेपालभाषासेवी एवं साहित्यकार चित्रकार लामो समयदेखि दम रोगबाट ग्रसित थिए । उनको कलंकीस्थित नेशनल हस्पिटलमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको हो । ७५ वर्षका चित्रकारका एकजना छोरा र तीनजना छोरी रहेका छन् । कला क्षेत्र, विशेष गरी पौभा चित्रकारितामा उनको विशेष योगदान रहेको छ । चित्रकारद्वारा दीक्षित युवा चित्रकारहरु समुद्रमान श्रेष्ठ, प्रकाशराज तुलाधर लोकप्रिय कलाकारको रुपमा चिनिन्छन् । नेपालभाषा क्षेत्रका सक्रिय व्यक्तित्व दिवंगत चित्रकारको नेपालभाषाका गीति पुस्तक र संगीत संग्रहहरु निस्किएका छन् । चित्रकारद्वारा लिखित नेपालभाषाका गीतहरु लोकप्रिय रहेका छन् ।