अब जाऔँ अलिकति ऐतिहासिक जगत् तिर तथा आधुनिक संसारतिर पनि दृष्टि हालौँ । आध्यात्मिक स्रोतले सिञ्चित भारतभूमिका राजा विक्रमादित्य, हर्षवर्धन आदिले के अरूमाथि आक्रमण गरेनन् ? के विनाआक्रमण नै सबै राजाहरूले आफ्नो सत्ता र राज्य तिनका चरणारविन्दमा समर्पण गरेका थिए ? र तिनीहरू सम्राट भनिन थालेका थिए ? पटक्कै होइन, हज्जारौँ–लाखौँ मानिसको रगतमा होली खेलेर मात्रै उनीहरू शहंशाह बनेका थिए । जगद्गुरु भनिने दिग्विजयी शङ्कराचार्यको आध्यात्मिक ज्ञानगङ्गामा स्नान गर्ने राजा वा शासकहरूलाई नै लिनुहोस्, के कसैलाई शान्तिपूर्ण सहअस्तित्वका समर्थक भन्न सकिन्छ ? सुकरात, अफलातून, अरस्तु आदि अध्यात्मगुरु तथा नेताहरूबाट प्रभावित पश्चिमी तथा युनानी जगत्का इतिहासनायक तथा विश्वविजयी सिकन्दर, नेपोलियन आदिलाई अरूको सत्ता हडप्नका लागि नभई अध्यात्मप्रचारका लागि संसारका कुनाकुनामा भ्रमण गर्नेवाला भन्न सकिन्छ ? के तिनीहरूका तरबारहरू कहिल्यै दापभित्र शान्तिका साथ सुतेका छन् ? छैनन्; कहिल्यै छैनन् । इतिहास भन्छ— तिनीहरूका तरबार अरूको घाँटी गिँड्नका लागि सदैव जागिरहन्छन् ।
भनिन्छ— अध्यात्मज्ञानको केन्द्र हुनुको नाताले भारतले कहिल्यै कुनै मुलुकमाथि आजसम्म हमला गरेको छैन । कसैमाथि हमला नगर्ने भारतको व्यवहार अवश्य नै अति प्रशंसनीय कुरा हो, यसका निम्ति भारत बधाईको पात्र छ तर म विश्वास गर्छु, भावक र भावुक हुनुभन्दा पनि धेरै भारतले अरू देशमाथि हमला किन गरेन भने ऊ भारतलाई छाडेर दुनियाँँका अरू तमाम मुलुकहरूमा बस्नेहरूलाई अछुत सम्झन्छ । ऊ अरू कसैलाई छुनसम्म चाहन्न र अरू देशहरूलाई अपवित्र सम्झन्छ । त्यसैले अन्य मुलुकहरूमा बस्न र पुग्न मन पराउँदैन, राम्रो ठान्दैन ।
यद्यपि केही हिन्दू व्यापारी र धर्मप्रचारकहरू धनको लोभ तथा प्रचारकका दृष्टिले २,४ ठाउँमा पुगेका हुन् तर तिनीहरू धेरै संयमका साथ रहन्थे र फर्केपछि शुद्धीकरणको संस्कार पूरा गर्थे । आज पनि यस्ता मानिसको कमी छैन जो युरोप वा अन्य विदेशबाट फर्केपछि शुद्धीकरणको संस्कार पूरा गर्छन् । भारत दोस्रो दुनियाँँमा बस्ने मानिसहरूलाई मात्र अछुत ठान्दैन, साथमा त्यहाँका सामानहरूलाई पनि छुन चाहन्न । त्यसैले त आध्यात्मिक भाव राख्ने पुराना बुजर्गहरू अहिले पनि काउली, टमाटर, मसुराको दाल आदिलाई अखाद्य, अभक्ष र अपवित्र सम्झन्छन् किनभने ती भारतका वस्तु होइनन्; दोस्रो देशका वस्तु हुन् । दोस्रो देश वा यवन, म्लेच्छहरूद्वारा आविष्कृत हुनाले शरीर, वस्त्र, भाँडा इत्यादिको मैला सफा गर्ने सरसफाइको सर्वश्रेष्ठ साधनलाई कट्टर हिन्दूहरू आज पनि अपवित्र र अशुद्ध ठानी नुहाइधुवाइ र विशेषत: सांस्कारिक स्नान र शुद्धीकरणका कामहरूमा बहिष्कार गर्छन् तथा चुल्हाचौकामा लैजाने कुरामा पनि विरोध गर्छन् ।
हिन्दूहरू अन्य धर्म, जाति, देश र अन्य मुलुकहरूका वस्तुहरूप्रति कति धेरै घृणा गर्छन् र तिनीहरूलाई कति धेरै अपवित्र ठान्छन् भन्ने कुराको एउटा उदाहरण हेरौँ— ब्रिटिस राज्यको समयढ सन् १८३५ मा कलकत्ताको बन्दरगाहमा एउटा जहाज बेलायती सामान लिएर आयो । त्यो जहाज अनेकप्रकारका लोभलाग्दा वस्तुहरूले पूर्ण थियो । त्यसमा औषधीदेखि सियोसम्मका अनेक व्यवहारयोग्य वस्तुहरू विक्री गर्नका लागि भारतमा पठाइएका थिए । तर आश्चर्यको कुरा के भयो भने एउटा पनि सामान यहाँ बिकेन । त्यस समयमा पनि हिन्दू जनता म्लेच्छ देशद्वारा तयार पारिएका वस्तुहरू हिन्दूहरूका लागि अछुत हुन् भन्ठान्थे । यो संस्कार कति धेरै बलियो थियो भने हटाउन प्रयत्न गर्दा पनि हट्न सकेन र त्यो जहाज जसरी आएको थियो त्यसरी नै फर्कनुपर्यो ।
यस्ता हिन्दूहरूको भारत अरू मुलुकहरूमा आक्रमण गर्न किन मन पराउँथ्यो र ? अरू देशमाथि हमला त के, तिनको नाम लिनमा समेत उसलाई घृणा लाग्थ्यो होला ! कुन मूर्खले म्लेच्छ भूमिमाथि पाउ राखेर दुर्लभ मनुष्ययोनीलाई बर्बाद गरोस् !
यदि भारतवासी अध्यात्मभावले प्रभावित भएर अरूदेशमाथि हमला गर्न पाप सम्झन्छन् भने तिनीहरू आफ्नै देशभित्र बस्ने अन्य स्वजाति–स्वधर्मी सत्ता र राज्यमाथि आक्रमण गर्ने आक्रमणकारी पनि बन्नु हुँदैनथ्यो । तर यस्तो नभएर यिनीहरू आफ्नै सम्बन्धमा रहेका कमजोर सत्तामाथि सदैव आक्रमण गरिरहन्छन् । यसबाट के स्पष्ट हुन्छ भने भारतमा बस्नेहरू अध्यात्मप्रभावका कारण सदा शान्तिप्रिय नै छन्, आक्रमणकारी होइनन् भन्ने कुरा सत्य होइन, हुँदै होइन ।
वैज्ञानिक र भौतिक उन्नति तथा शस्त्रअस्त्रको आविष्कारले बीसौँ शताब्दीको प्रारम्भबाट नै जोड पक्रँदै आएको छ । अर्थात् यी कुरा के करिब ५० वर्षदेखिमात्र अथवा भौतिक तथा वैज्ञानिक प्रगतिको प्रारम्भदेखि नै हुन थालेका हुन् अथवा हुन गइरहेका छन् ? के लडाइँझगडा र दङ्गाफसाद विज्ञान अथवा भौतिक तŒवकै उपज वा देन हो ? होइन, कदापि होइन । लडाइँझगडा, आक्रमण यी सबै अनिष्ट कुराहरू सृष्टिको प्रारम्भदेखि अध्यात्मयुगको प्रखरकालमा पनि प्रशस्त मात्रामा भएका थिए र त्यो सिलसिला आजसम्म चल्दै आइरहेको छ । जब संसारमा एउटाको पछि अर्को बन्यो, एक्लैको पछि दुईको सम्बन्ध रह्यो, त्यति वेलैदेखि झगडाको पनि श्रीगणेश भयो । त्यस्तै दुईभन्दा बढी र बढीभन्दा अझ बढी भएर जनघनत्व बढ्दै गयो, सम्बन्ध बढ्दै गयो र आवश्यकता बढ्दै गयो । त्यसै अनुपातमा सुस्तसुस्त झगडा पनि बढ्दै गयो । मान्छेहरू बढिरहे । निजी स्वार्थ तथा बढी सुखप्राप्तिका निम्ति झगडा सुरु भयो । बुद्धि र वृद्धि बढे तर विभिन्न बुद्धि एकअर्कासँग ठोक्किन थाले । फेरि पनि झगडा नै बढ्यो । तरबार थिएन, बन्दुक थिएन र आजका जस्ता अणु र उद्जन बम तथा रकेटहरू थिएनन् । त के त्यस समयमा पनि लडाइँझगडा गर्नमा कोही कुनैभन्दा कम थियो ? जब मान्छे जन्म्यो, एकपछि अर्को गर्दै धेरैधेरै जन्मे र शब्दशक्ति प्रस्फुटित भयो अर्थात् भित्रका भाव प्रकट गर्नका लागि माध्यमस्वरूप भाषाको आविर्भाव हुन थाल्यो, त्यस समयदेखि नै संसारमा लडाइँझगडाका अखाडाहरू बन्न थालेका थिए । सुरुसुरुमा केही थिएन त तँतँ–ममकै शब्दप्रहार गर्न थाले, गाली दिन थाले र हुँदाहुँदा धूलो उडाउन थाले, हिलो उछाल्न थाले तथा ढुङ्गाहरू फाल्न थाले । कहाँसम्म भने अरूमाथि विजय पाउन आफुलाई अजेय राख्नका लागि भाला, गडासी, त्रिशूल आदि अस्त्रशस्त्र बनाउँदाबनाउँदै अग्निबाण, पर्जन्यबाण, ब्रह्मास्त्र, पाशुपतास्त्र आदि बाणहरूको आविष्कार गर्न थाले । के यी सबै शस्त्रास्त्र शोभा बढाउनका लागि बनेका थिए ? होइन, लड्नकै निम्ति बनेका थिए; आक्रमण गर्नकै लागि बनेका थिए । भन्नका लागि त भनिन्छ— यी सबै शस्त्रास्त्र आततायीहरू र दुष्टहरूको दमनका लागि बनेका हुन् । यस्तो त अचेल पनि भन्ने गरिन्छ— दुष्टहरूको दमन गर्न अर्थात् देशमा शान्ति र सुरक्षाको नाममा शक्तिशाली तथा अस्त्रशस्त्रले सम्पन्न प्रगतिशील मुलुक रूस र अमेरिकाले कुनै आक्रमणका लागि हतियार आविष्कार गरेका छौँ भनेर के कहिल्यै भनेका छन् ? अध्यात्मबाट प्रभावित युगमा त अझ बढी बाणहरूको उन्नति भएको थियो । कहाँसम्म भने अध्यात्मयुगलाई अर्को शब्दमा ‘बाणयुग’ पनि भन्न सकिन्छ ।