‘ए कान्छा ! तेरी आमा नछुने भएकी छे ! छोलास् नि लाडिंदै गएर’– दलानबाट गोठतिर फर्किंदै कान्छाकी बज्यै चिच्याइन् । कान्छो एसइइ परीक्षाको तयारीमा थियो । आमा बबिता मनभरि कुरा खेलाएर वस्तुभाउलाई घाँस हुत्याउँदै थिइन् । लोकले रजवती महिलालाई नछुने भनी गरेको सम्बोधन बबितालाई पटक्कै मन पर्दैनथ्यो । साथीहरु छाउगोठमा जान्थे । उनले घरको एउटा कुनामा थुप्रिन पाएकी थिइन् । ससुरा र श्रीमान् पनि हजुरआमाकै कुरामा सही थाप्थे । आँखा छलेर आमाछोरा भने अन्धविश्वास हटाउन सरसल्लाह गर्थे ।
अचानक नेपालमा कोरोना छिर्यो । चीन, इटाली, स्पेन, इराक, अमेरिका जस्ता मुलुकको बेहाल सम्झिएर मान्छे तर्सिए । सरकारले लकडाउनको घोषणा गर्यो । महामारीबाट जोगिने उपाय बतायो । घरभित्रै बस्नुपर्ने, हिँड्नै पर्दा दूरी कायम गरेर हिँड्ने, मान्छेले मान्छेलाई नछुने, आचारविचार र आहारमा ध्यान पुर्याउने, रुघाखोकी लागेका व्यक्तिबाट सजग रहने मास्क लगाएर मात्र कुराकानी गर्ने, साबुनपानीले हात धोइ रहने कुरा समाचार बने । टिभी, रेडियो, पत्रपत्रिकाहरु कोरोनामय भए । कोरोना लागेका मान्छेले छोएका सामान नछुनेमा परे । महामारी कोरोनाको पहिलो नम्बरमा मान्छेलाई मान्छेले नछुने भन्ने थियो । कान्छो कोरोनाकै कारण एसइइको परीक्षा सरेकाले बेलाबखत टिभी हेर्ने, विद्युतीय माध्यमबाट पढाएका विषय सिक्ने, कोभिड–१९ बारे जानकारी लिने साहित्य पढ्ने, गीत, कविता, कथा लगायत चित्र कोर्ने, घरको रेखदेख र खाजा बनाउने प्रयासतिर मोडिन्थ्यो । कोरोनाको क्षतिले उसको दिमाग हल्लियो । उसले हजुरआमा र आमाको नछुने सम्झियो । आमाले हामीलाई किन नछुने ! के आमा कोरोना हो र ? भन्दै मनमनै जङ्गियो । ऊ जुरुक्क उठेर चुलो छेउ पुग्यो । ‘ए हजुरआमा ! संसारमा नछुने को हो ? बुढी भएर अझै थाहा छैन ? लौ हेर्नुहोस् मेरो मोबाइलमा !’
इटालीमा राख्ने र गाड्ने ठाउँ नभएर सोत्तर लडाइएका लासले के भन्दा हुन् । होस् नपुर्याई कोरोनाजस्ता महामारी लागेका मान्छेले छोयो भने हजारौँहजार बिरामी हुन्छन् । संयोग परे बाँच्छन् नत्र मर्छन् । के मेरी आमालाई महामारी भएको छ ?’ उसले आत्तिंदै भन्यो – आमाहरु रजस्वला भएकैले म जस्ता जन्मिएका हुन् ।’ म यही विषय पढेर डाक्टर बन्छु । आइन्दा बुझनसुझ कसैलाई प्याच्च भन्ने होइन । मेरी आमा नर्स हुन् । उनलाई नछुनेबारे जानकारी छ । तपाईंहरु जस्ताले गर्दा… । यस पटक हजुरआमा ट्वाँ परिन् ।