जनमत वाङ्मय प्रतिष्ठान नेपालले हरेक वर्ष प्रदान गर्दै आएको विभिन्न सम्मानअन्तर्गत यस वर्षको दोस्रो चरणमा सम्मानित हुने प्रतिभाहरूको नाम घोषणा गरेको छ । प्रतिष्ठानका अनुसार घोषित सम्मानहरू आगामी चैत्र २६ गते बनेपामा आयोजना हुने विशेष कार्यक्रममा प्रदान गरिनेछ ।
यस वर्ष ‘हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान’ बाट प्रा.डा. चूडामणि वन्धु (पाल्पा) सम्मानित हुने भएका छन् । यस्तै, ‘कमलराज–जनमत दर्शन साहित्य सम्मान’ बाट मोहनविक्रम सिंह (प्युठान) लाई प्रदान गरिने भएको छ ।
‘जनमत–सिचि धर्म/संस्कृति सम्मान’ बाट प्रा.डा. वीणा पौड्याल (ललितपुर), ‘विश्वशान्ति–जनमत प्रवासी नेपाली लेखक सम्मान’ बाट डा. कविता लामा (दार्जीलिङ) तथा ‘जनमत–जनक सेवा सम्मान’ बाट नन्दकृष्ण जोशी (बझाङ) सम्मानित हुने निर्णय भएको छ ।
यसैगरी, ‘जनमत–दीपक कायस्थ स्वास्थ्य सम्मान’ बाट प्रा.डा. सविना श्रेष्ठ (ललितपुर), ‘जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान’ बाट डा. बलराम अधिकारी (गोरखा), ‘जनमत–ज्ञानरत्न/मंगलतारा राष्ट्रिय सम्मान’ बाट जगदीश ओझा (वैतडी) तथा ‘जनमत–पूर्णमाया/लुचि समाजसेवा सम्मान’ बाट राजभाई प्रधान (काभ्रे) लाई सम्मान प्रदान गरिने भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानले साहित्य, दर्शन, धर्म–संस्कृति, स्वास्थ्य, अनुवाद, समाजसेवा तथा सेवामूलक योगदानमार्फत नेपाली समाजमा उल्लेखनीय भूमिका खेलेका व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ ।










