सुदूरपश्चिमको काली र कर्णाली क्षेत्रको लोकसाहित्य र संस्कृतिको खोज-अनुसन्धान गरी लेखिएको विशद ग्रन्थ ‘काली–कर्णालीको लोकसाहित्य र संस्कृति’सोमबार लोकार्पण गरिएको छ । ‘राई झुमा’लगायत प्रसिद्ध डेउडा गीतका गायक यज्ञराज उपाध्यायको पुस्तक मौलिक सांस्कृतिक झाँकी तथा मंगलाचरणका साथ नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा लोकार्पण गरिएको हो।
करिब २५ वर्ष लगाएर उपाध्यायले तयार गरेको पुस्तकलाई संस्कृतिविद् जगमान गुरुङ र वीणा पौड्याल, लेखक सुभाषचन्द्र भण्डारी र नवराज लम्सालले लोकार्पण गरेका हुन्। ९८४ पृष्ठको उक्त पुस्तकलाई वक्ताहरूले विश्वकोशको संज्ञा दिए।
पुस्तकमा सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित लोकसाहित्यका विभिन्न विधा–उपविधाहरूलाई केलाएर मौलिक स्वरूपमै संकलन गरी पुस्तकमा समावेश गरिएको छ। यस्तै संस्कार र संस्कृतिको वर्णन पनि गरिएको छ। संस्कृतिविद् गुरुङले अहिलेसम्म राज्यले गर्न नसकेको काम उपाध्यायले निजी पहलमा सम्पन्न गरेकोमा बधाई दिए। ‘नेपाली भाषा संस्कृतिको उद्गमस्थलबाट यति ठूलो र उच्च कोटिको ग्रन्थ आउनु सम्पूर्ण नेपाल र नेपालीका लागि गौरवको विषय हो,’ उनले भने ।
संस्कृतिविद् वीणा पौड्यालले सामाजिक र सांस्कृतिक लोकजीवनका अप्राप्य विषयहरू उखान, टुक्का, लोककथा, गाथा, डेउडा, दोहोरीसमेत यसमा समावेश भएकोले यो पुस्तक सङ्ग्रणीय रहेको उनले बताइन् ।
प्रज्ञा प्रतिष्ठानको डबलीमा यस खालको कार्यक्रम अहिलेसम्मकै नौलो र भव्य रहेको भनेर टिप्पणी वक्ताहरूले गरे । लेखक एवं सञ्चारकर्मी लम्सालले उपाध्यायको यस कृतिलाई हाम्रो समाज र संस्कृति बुझाउने अनि भावी पुस्तालाई हस्तान्तरण गर्न सकिने गीताको उपमा दिए। ‘गीताको अर्थ र महत्त्व भनेको पढ्ने र पढ्न जान्नेलाई मात्रै भएजस्तै यो पुस्तक पनि त्यही कोटिको हो । यो पुस्तकमा देशको सांस्कृतिक र सामाजिक जीवनको आत्मा छ,’ उनले भने ।
लोकार्पण समारोहमा लेखक उपाध्यायले आफ्नो चर्चित गीत राईझुमा प्रस्तुत गरेका थिए भने सुदूर-पश्चिमका विभिन्न सांस्कृतिक समूहहरूले देउडा, छलो, होरीलगायतका सांस्कृतिक झाँकी तथा गायन र नृत्य प्रस्तुत गरेका थिए ।