हाे ,मित्रहरूकाे ठम्याइमा सत्य छ । सामाजिक सञ्जाल (फेसबुक)ले साहित्य स्रष्टा धेरै जन्मायाे । कति नयाँ शैली जन्मे प्रयाेग भए । यसरी लहडमा जन्मेका लेखक कतिले साधना गरे, गर्दै छन् र आफूलाई साँच्चै लेखक बनाई छाड्ने ध्याउन्नमा छन् । याे सञ्जालमार्फत भित्रिएको सकारात्मक पाटाे हाे ।
एक सिक्काका दुइपाटा भनेझैं यसकाे कमसल पक्ष झन् बढी छ । सञ्जालकाे भन्दा पनि यसलाई खराब प्रयाेजनमा प्रयाेग गर्ने कमसल मनले उमारेकाे तुच्छ प्रवृत्तिकाे असरकाे महामारी भन्न सकिन्छ यसलाई । व्यक्तिगत कुरा बढी गर्ने राेग सल्काइदिएको छ । असामाजिक गतिविधि पाेस्ट गर्ने निर्लज्ज चरित्र निर्माण भएको छ । यसाे गरियो उसाे गरियो याे खाइयाे त्याे लाइयाे भनेर अहङ्कारी पर्खाल उभ्याउने अभ्यास बढी भएकाे छ । जुन अमानवीय प्रस्तुति हाे । यस्ता अमानवीय ढङ्गका अस्वाभाविक प्रस्तुति नगरी विवेकजन्य प्रस्तुति दिएर नैतिक मूल्यमा अडिन नजान्दा मान्छे हाँडीबाट उछिट्टिएका मकैझैं छरपस्ट छरिएर लथालिङ्ग भएको छ ! मान्छेले विवेक प्रयाेग नगरिदिँदा यस्तो बेथिति बढाउने काममा सञ्जालले सघाउन पाएको छ ।
हाे नि ! शरीर सबैसँग छ । आ-आफ्नो शरीर सबैले देखेजानेकै छन् । अङ्ग प्रदर्शन गरेर अश्लील परिचय दिने दुस्साहस नगरे सञ्जालले अरू महत्त्व पाउने थियाे । विवेकशील मानिएको मान्छे साँच्चै इमानदार विवेकी भइदिने हाे भने याे प्रविधिको गुणगानले धर्ती आकाश सबै ,सबैतिरकाे गुञ्जनले मानवीय संवेदना एकैसाथ मुस्कुराउने अवसरबाट वञ्चित हुने थिएन ।
जनहितका लागि काम नलाग्ने कुनै पनि परिदृश्य र कुराकानी सञ्जालमा नराख्ने अभ्यासले मानवीय मूल्यबाेध गराउँछ । परिवारजन , मान्यवर, भाइबहिनीहरू सँगसँगै साझा गर्न नमिल्ने नसकिने नैतिकताले नदिने विषय प्रसङ्ग पाेस्ट नगरे कति जाती हुँदाे हाे सधैं सबैलाई ! आफूले अधिकार प्रयाेग गर्दा अरूलाई कष्ट हुनुहुँदैन भनेर जान्दाजान्दै पनि बुझपचाउने बानी कसै गरी राम्रो हाेइन ।
सचेत प्राणीले व्यवहारबाटै सचेतता देखाउन सक्नुपर्ने हाे । यसाे हुन सकिरहेको छैन । सरकारी कानुनले बाँधेर तह लाउने र व्यवस्थित गर्ने कुरा त छँदैछ । याे भन्दा पनि मान्छे स्वानुशासित भइदिँदा धेरै कुरामा सुधार हुने र समग्र जीवन सहज हुने थियाे । कानुनले घाेक्रेठ्याक लाएपछि मात्र अनुशासन सम्झने नत्र निर्वस्त्र नृत्य गर्ने निकृष्ट विचार व्यवहार र शैलीले मान्छे बचाउँदैन । यस्तो तुच्छ साेच सधैं सबैले परित्याग गर्नु जरुरी छ । फाेहाेर सबैका लागि फाेहाेर नै हाे । कतै हाम्रो आफ्नै खराब प्रस्तुतिकाे सिकार सहाेदर भाइभतिज तथा दिदी बहिनी त भइरहेका छैनन् ? प्रत्यक्ष अप्रत्यक्ष रूपले ! समयमा विचार पुर्याएर सज्जन काेटिमा उभिन ढिला नगरे जाती हैन त…..!!