‘एआई रोबट’ ले बनाएको एउटा चित्र १० लाख ८० हजार डलर (करिब १४ करोड ८ लाख रुपैयाँ) मा बिक्री भएपछि यसले अहिले ठूलो तरंग ल्याएको छ । एई–डा नाम गरेकी रोबटले कोरेको चित्र अमेरिकामा हालै आयोजित डिजिटल आर्ट मेलामा लिलाम बढाबढबाट बिक्री भएको हो ।
छोटो बब कट कपालसहित जिन्सको पहिरनमा उक्त अवसरमा उपस्थित एई–डाले आफ्नो चित्रकला लिलाम बढाबढमा समावेश भएकोमा खुसी लागेको प्रतिक्रिया दिएकी थिइन् ।
एई–डाले बनाएको बेलायती कम्प्युटर वैज्ञानिक एवं गणितज्ञ आलेन ट्युरिङको पोट्रेट (मुहार चित्र) आकर्षक मूल्यमा बिक्री भएको हो । रोबटले बनाएको सबैभन्दा उच्च मूल्यसहितको चित्रका रूपमा यसको चर्चा भइरहेको छ । लिलाम बढाबढपूर्व उक्त चित्रको मूल्य १ लाख २० हजारदेखि १ लाख ८० हजार डलर अनुमान गरिएकोमा यो झन्डै ११ लाख डलरमा बिक्री भयो । न्युयोर्कको प्रख्यात अक्सन हाउस सोदबीजमा भएको डिजिटल आर्ट सेलमा एई–डाको चित्रमा २७ जनाले बोली लगाएका थिए । खरिदकर्ताको पहिचान भने उनकै चाहनाअनुसार सार्वजनिक गरिएको छैन ।
बेलायती ग्यालरिस्ट एइडन मेलरले निर्माण गरेको एई–डा रोबटले बनाएको चित्रलाई ‘एआई गड ः पोट्रेट अफ एलन ट्युरिङ’ नाम दिइएको छ । यो रोबटको आँखामा क्यामेरा जडान छ भने रोबटिक पाखुरासहितको यस रोबटले लार्ज ल्यांग्वेज मोडल (एलएलएम) मार्फत दोहोरो संवाद गर्न सक्छ । एई–डाले बनाएको एलन ट्युरिङको चित्र गत मेमा पहिलो पटक जेनेभामा आयोजित राष्ट्र संघीय कार्यक्रम ‘एआई फर गुड ग्लोबल समिट’ मा प्रदर्शन गरिएको थियो ।
ग्यालरिस्ट मेलरका अनुसार एई–डा स्वयंले पोट्रेट बनाउन ट्युरिङलाई आफ्नो विषयवस्तुका रूपमा छानेकी थिइन् । ‘उसलाई केको चित्र बनाउन मनपर्छ भनेर हामीले एआई ल्यांग्वेज मोडलमा सोधेका थियौं,’ मेलरले भनेका छन्, ‘राष्ट्र संघको एआई फर गुड कार्यक्रमका लागि केको चित्र बनाउने भन्ने विषयमा छलफल गर्दा एई–डाले एलन ट्युरिङको पोट्रेट बनाउने इच्छा भएको बताएकी थिइन् ।’ विषयवस्तुमा ट्युरिङ तय भएपछि एई–डासँग आफूहरूले चित्रकलाको शैली, बनावट, भाव, रङ संयोजनलगायत विशेषताबारे छलफल गरेको र अध्ययनका लागि ट्युरिङको एउटा तस्बिर देखाएको मेलरले बताए ।
‘एई–डाले आफ्नो आँखामा भएको क्यामेरा प्रयोग गरेर ट्युरिङको तस्बिर नियालिन् र आफ्नो एआई ड्रइङ र पेन्टिङ अल्गोरिदमसँगै रोबोटिक हातको सहाराले स्केच बनाइन्,’ मेलर भन्छन्, ‘उनले एलन ट्युरिङका धेरैवटा चित्रहरू बनाएकी थिइन् ।’ सीएनएनका अनुसार उनले बनाएको चित्र जुन राशिमा बिक्री भएको छ, यसले आगामी दिनमा एआई–चित्रकलाप्रतिको दृष्टिकोण फेरिदिनेछ । एआई–चित्रकलाले कला क्षेत्रलाई नै नामेट बनाउन सक्ने जुन भय छ, यस्तै संशय क्यामेराको विकास हुँदा पनि देखिएको मेलर बताउँछन् । एई–डाले बनाएको चित्रलाई ‘चित्र’ मान्ने कि नमान्ने भन्ने विषय चित्रकला पारखीलाई छोडिदिएको उनले प्रतिक्रिया दिएका छन् ।
बेलायतको कर्नवालस्थित एक रोबोटिक्स कम्पनीसँगको सहकार्यमा सन् २०१९ मा एई–डा सार्वजनिक भएको थियो । यसलाई विश्वकै पहिलो अल्ट्रा–रियालिस्टिक एआईमा आधारित रोबोटिक कलाकार भन्ने गरिएको छ । कला, प्रविधि र एआईको संयोजन उजागर गर्न यो ह्युमनोड रोबट विकास गरिएको मेलर बताउँछन् । एई–डाले यसअघि सेल्फ–पोट्रेट अर्थात् आफ्नै चित्रहरू कोर्ने गरेकी थिइन् । कुनै मेसिनले आफूलाई कसरी लिन्छन् र कस्ता तस्बिर सिर्जना गर्छन् भन्नेमा एई–डाका सेल्फ–पोट्रेटले पहिचान र प्रतिनिधित्वको सांकेतिक अर्थ दिने विश्लेषण हुँदै आएको छ ।
एई–डाले बनाएको ‘लिपिङ इनटु द मेटाभर्स’ शीर्षकको चित्रकलामा मेटाभर्स र डिजिटल रियालिटिको अवधारणा उतार्न खोजिएको छ । निकै रंगीन र अमूर्त उक्त चित्रकलामार्फत डिजिटल अन्तरक्रिया, भर्चुअल वर्ड र मानव–एआई सम्बन्ध वर्णन गर्न खोजिएको बताइन्छ । त्यस्तै, ‘द आइज अफ एआई’ शृंखलामा एई–डाले मानिस र मेसिनको दृष्टिकोणबीचको भिन्नता देखिने गरी चित्रहरू बनाएको एई–डारोबट डटकममा उल्लेख छ । यस वेबसाइटमा उनले बनाएका चित्रहरू राखिएका छन् ।
मिडजर्नी, डाल–ई, जेमिनाई, स्टेबल डिफ्युजनजस्ता प्लाटफर्मको विकासपछि एआई–जेनेरेटेड आर्ट लोकप्रिय विधाका रूपमा उदाएको छ । यसले मिथ्या सूचनादेखि ऐतिहासिक विवरणमा त्रुटिदेखि प्रतिलिपि अधिकार उल्लंघन र रोजगारी गुम्ने वातावरण सिर्जना गरेको भन्दै आलोचना र विवाद पनि सिर्जना गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पहिलो एआई–जेनेरेटेड आर्टचाहिँ सन् १९७० कै दशकमा बनेको थियो तर पछिल्लो दशक एआई आर्टिस्टमा मानिसहरूको रुचि अधिक बढेको छ ।
-एजेन्सीको सहयोगमा