कविताहरू जलिरहेका छन् अगेनामा
आमाका हातहरू व्यस्त छन् कविता लेख्न
म निर्निमेष हेरिरहेछु
जलिरहेका कविता र मेरी आमाका हातहरू
आगो बनेर
हुर्हुराइरहेछन् अक्षरहरू किताबका पन्नापन्नाबाट
कुनै दिन कविले लेखेको हुनपर्छ
आमाका कविताहरू
आगोका कविताहरू
क्रान्तिका कविताहरू
नत्र किन यसरी लप्काइरहेछ यो आगो कविता जल्दा ?
आमाको क्रान्तिः म जन्मिएको हुँ
आगोका कविताः आमा हुनुको शक्तिमा छ
आमाका कविताः आमाका हातले जे कर्म गरेका छन्
जति तेजिलो हुन्छ आगो
त्यति उज्याली हुन्छिन् आमा
जति उज्यालो छाउँछ जीवनमा
त्यति तेजिली हुन्छिन् आमा
जति कविता बन्छन् मानिसहरू
त्यति आगो ओकल्छिन् आमा
जति आगो हुन्छन् मानिसहरू
त्यति कविता लेख्छिन् आमा
आमा
आफ्नै पौरखले जीवन लेख्छिन्
आमाका हातहरूले लेखेका कविता
स्वादिला
तिख्खरिला
आमाको मनले बुझेको सत्य
पारदर्शी
प्रेमिल
आमा संसारकै सर्वोत्कृष्ट प्रेम कविता हुन् ।