तस्बिर : विकल थापा
ललितपुरमा हरेक पाँच वर्षमा सम्यक् महादान पर्व मनाइन्छ। यसलाई ‘इतिल्हने सम्यक्’ पनि भनिन्छ। यो पर्व विशेषतः दान र दीपंकर बुद्धसँग सम्बन्धित छ। दीपंकर बुद्धलाई श्रद्धा व्यक्त गरेर प्रदान गरिने दान नै सम्यक् महादान पर्व हो।
फागुन शुक्ल तृतीयाको दिन आयोजना हुने यो पर्व ‘दिपंकर पर्व’ नामले समेत प्रचलित छ। दुई दिन लामो शताब्दी पुरानो परम्परा ललितपुरको नागबहालको ठूलो खुला मैदानमा आयोजित हुने गर्छ, जहाँ ललितपुरको नागबहालमा उपत्यकाका ३२ महाविहारका १ सय २५ देवीदेवतामूर्तिहरू पूजाका लागि भेला भएको थियो। ।
यस पटकको सम्यक महादान पर्वको अघिल्लो दिन अर्थात फागुण ३० गते बुधबार राति हजारौं भक्तजनहरुको घुईंचो थियो । राति ९ बजेदेखि १ बजेसम्ममा विभिन्न स्थानबाट भक्तजनहरुको लावालस्कर, परम्परागत धा बाजाका साथ देवीदेवताहरुलाई खटमा राखेर, बोकेर नागबहाल पुर्याएका थिए । । दिउँसो १ बजेसम्म देवीदेवताको दर्शन तथा पुजाआजा गराउने कार्यक्रम थियो ।
सोही दिन बज्रयानी बौद्ध परम्परा अनुसार मौलिक पोशाकमा सज्जिएका हिरण्यवर्ण महाविहारका बीस स्थविर आजुलाई दान दिंदै सम्यक दानमा सहभागी भएका गृहस्थ भिक्षुहरू बज्राचार्य तथा शाक्यहरूलाई समेत दान दिइन्छ । यस दान कार्यमा सम्यक दानका दाताका परिवारका सदस्य, आफन्तलगायतले आ–आफ्नो गच्छेअनुसार दान दिने प्रचलन रहँदै आएको छ र यसरी दान प्रदान गर्दा पुण्य प्राप्त हुने जनविश्वास रहेको छ ।
नागबहालमा देवी देवता पु¥याउनु अघि विभिन्न स्थानबाट ल्याइएका देवीदेवतालाई मंगलबजारस्थित पाटन दरबार क्षेत्रमा राखिन्छ । त्यसपछि ललितपुरको टंगलस्थित जेष्ठवर्ण महाविहार टंगःबहाः गएर बसुन्धरादेवीलाई रथमा राखेर जात्रा गरिसकेपछि पाटन दरबार क्षेत्रमा राखिएको देवीदेवतालाई नागबहालमा क्रमबद्ध रुपमा देवीदेवताको विराजमान गराइने परम्परा रहेको छ । त्यस्तै सम्यक दान प्रदान गर्नका लागि राखिने देवताको लर्कोमा अतीत बुद्धका रुपमा गौतम बुद्ध भन्दा अघिका दिपंकर बुद्ध र वर्तमान बुद्धका रुपमा गौतम बुद्ध र भविष्यको बुद्धका रुपमा मैत्री बुद्धको भव्य सुर्वणमय मूर्ति पनि राखिन्छ।सम्यक दानमा खीर,लाखामरी गरी मीठाईका विविध परिकार सामग्री,रोटी फलफूल दान दिने गरिन्छ ।
ललितपुरमा ७ सय ७३ वर्षअघि ठकुरीवंशका राजा भाष्करदेवको पालादेखि सम्यक महादान पर्व निरन्तर सञ्चालन भइरहेको समितिले जनाएको छ । वि।सं १८६१ सम्म वर्षेनी भइरहेको सम्यक महादान पर्व त्यसपछि पाँच वर्षमा एकचोटी सञ्चालन हुँदै आएको छ।अब हुन लागिएको ५४ औं सम्यक महादान पर्व हो।
महादानसंग जोडिएको किवदन्ती
सम्यक महादान पर्व भगवान गौतम बुद्धको उपदेश दानपारमिता र त्यसको महत्वसंग सम्बन्धित रहेको छ । यसपर्वको शुरुआतसंग एउटा किवदन्ती चर्चामा रहेको छ । ठकुरी वंशका राजा भाष्करदेवका एक जना सन्तान समयक्रममा निकै गरिब बन्दै गएको थियो । भरिभारो नाम गरेका ती व्यक्तिले आफ्नो गरिबी लुकाउन गोबर जम्मा गर्न थाले । भलिभारो गरिब भएपनि बुद्ध धर्मप्रति निकै आस्था र समर्पित थिए । धर्मप्रति आस्थाले गर्दा उनले जम्मा गर्न थालेको सम्पूर्ण गोबर पछि सुनमा परिणत भएको थियो ।
त्यस पछि दान दिन दीपंकर बुद्धका प्रतिमाहरु, आर्यतारा आदि देवदेवीहरु र चैलक, श्रामणेर, ब्रम्हचर्य भिक्षु, शाक्य भिक्षु, वज्राचार्य इत्यादिहरुलाई आमन्त्रण गरी सम्यक महादान पर्व आयोजना गरेको थियो । धर्मकै कारणले सम्पति प्राप्त भएको विश्वास गर्दै सम्यक महादान पर्व आयोजना गरिएको जनविश्वास रहेको छ।