वेदना साहित्यिक पत्रिकाका सम्पादक तथा प्रकाशक, समाजसेवी, सक्षम उद्यमी तथा जनमत साहित्यिक आन्दोलनका विशेष सहयोगी/सल्लाहकार दिल सुन्दर श्रेष्ठलाई जनमत वाङ्मय प्रतिष्ठान नेपालको विशेष बैठकमा भएको सङ्गोष्ठीमा सम्मान गरिएको छ ।
सामाजिक अभियन्ता तथा जनमतका विशेष सहयोगीका रूपमा दिल सुन्दर श्रेष्ठले विशेष सहयोग र योगदान पुर्याउँदै आउनुभएकोले उहाँलाई ‘जनमत–राजभाई सहयात्री सम्मान’ प्रदान गरिएको हो । बनेपामा भएको उक्त कार्यक्रममा जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवाल, वरिष्ठ मानार्थ संरक्षक राजभाई प्रधान र जनमतका विशेष सहयोगी तथा भाषा आयोगका सदस्य डा. पुष्करराज भट्टले सम्मान–पत्र, दोसल्ला, जनमत पदक र नगद खाम सहित प्रदान गर्दै सम्मान गरिएको हो ।
उक्त अवसरमा आफ्नो मन्तव्य राख्दै दिल सुन्दर श्रेष्ठले जनमतप्रति आभार व्यक्त गर्दै “भाषा–साहित्यमा अग्रिम ढङ्गले राष्ट्रमा नै आफ्नो ख्याति कमाउन सफल मोहन दुवालजी मेरा पुराना मित्र हुन् र उहाँले गरिराखेको साहित्यिक अभियानहरू मैले नजिकले नियालिराखेको छु । र जनमतलाई सक्दो सहयोग गर्ने वचन समेत पनि व्यक्त गर्न चाहन्छु ।” यसै गरी उक्त कार्यक्रममा आफ्नो विचार राख्दै “जनमतका अध्यक्ष मोहन दुवालले दिल सुन्दर श्रेष्ठले जनमतलाई गर्दै आएको सहयोग उदाहरणीय रहेको र उहाँले जनमतप्रति व्यक्त गर्नुभएको भावनाले हामीलाई हौसला थपिदिएको छ” भन्नुभयो ।