भारत विज्ञानमा अगाडि थियो
धार्मिक तथा सामाजिक क्रान्ति र राजनीतिक चेतनाका साथै वैज्ञानिक विकास पनि हुनाले संसारको प्रगतिमा आज चारचाँद लागिरहेछन् । त्यसो त मानवसभ्यताको प्रारम्भदेखि नै वैज्ञानिक विकास हुँदै आएको छ । ढुङ्गे युगदेखि नै विज्ञान चल्मलाइरहेको थियो । फलामे युगमा पुग्दापुग्दै विज्ञानको क्षेत्रमा प्रशस्त उन्नति भइसकेको थियो । इतिहासबाट के पत्ता लाग्छ भने विज्ञानलाई अगाडि बढाउनमा भारतको हात सबैभन्दा अगाडि थियो । भारतबाटै यस क्षेत्रको विकासको प्रारम्भ भएको थियो । वैदिक युगसम्म पुग्दापुग्दै भारतले विज्ञानको क्षेत्रमा प्रशस्त उन्नति गरिसकेको थियो । रामायणबाट के ज्ञान हुन्छ भने त्यस समयमा भारत विमाननिर्माणमा दक्ष भइसकेको थियो र उसले बनाएको विमान भारतीय आकाशमा उडिसकेको थियो । पानीजहाज बनाउनमा त भारत सबैभन्दा अगाडि थियो र विदेशबाट त्यसको माग हुन्थ्यो । १९ औँ शताब्दीको प्रारम्भसम्म अर्थात् नेपोलियनको समयसम्म भारत पानीजहाज निर्माण गर्दथ्यो । अस्त्रशस्त्रको निर्माणमा त भारत बेजोड थियो । अग्निबाण, पर्जन्यबाण, ब्रह्मास्त्र, पाशुपतास्त्र आदि आजका अणुबम–उद्जनबमसरहका शक्तिशाली शस्त्रास्त्र हुन् । विज्ञानको प्रगतिका सम्बन्धमा सङ्क्षेपमा भन्ने हो भने संसारका अरू राष्ट्र जब घुँडाको बलमा हिँड्दै थिए तब भारत हवाइदौडमा दगुरिसकेको थियो भन्नु अत्युक्ति हुनेछैन ।
तर दु:खको कुरो के छ भने वैज्ञानिक क्षेत्रमा अग्रगण्य भारत आज अरू देशले बनाएका वस्तुहरू देखेर आश्चर्यचकित हुँदै पछि परिरहेको छ अथवा अरूका निर्माण र आविष्कारहरूलाई श्रेय तथा महŒव नदिएर; यस्तो त हाम्रो भारतमा पहिले नै थियो, हाम्रा पूर्वजहरूले यस्ता चीज त शताब्दियौँ पहिले आविष्कार गरिसकेका थिए इत्यादि भन्दै खालि कुरौटे बनी अकर्मण्य बनिरहेको छ ।
भारतको वैज्ञानिक शिथिलताको कारण
जहाँसम्म म सोच्छु र सम्झन्छु, वैज्ञानिक क्षेत्रबाट एक्कासि मुख फर्काएर यसरी हामी पछि पर्नुको एकमात्र कारण हाम्रो अध्यात्मवादको बोलबाला हो, भौतिकवादको निन्दा गरिरहेको हाम्रो अध्यात्मवादको धुआँधार प्रचार हो । अध्यात्मवादको प्रचार, सिद्धान्त तथा परलोकको विश्वासबाट हाम्रो वैज्ञानिक दक्षता, अभिरुचि, उत्सुकता र प्रेरणा सबै शिथिल भए र हुँदाहुँदा आज हामी प्रवीणपुत्र भएर पनि शून्यमा विलुप्त भइरहेका छौँ । काल्पनिक तŒवको प्रलोभनमा फँसेर हामी वास्तविक तŒवको सुखबाट सर्वथा वञ्चित भइरहेका छौँ । धरतीमा रहेर पनि धरतीको उपेक्षा गरेर हामी कसरी सुखी हुन सक्छौँ ? धरतीको संयोग र धारणले नै आज हामी ‘अस्तित्ववान् हामी’ भएर विचरण गर्दै छौँ । हाम्रो पालनपोषण धरतीले नै गर्दै छ । हाम्रो जीवनमा प्राण यसैले भर्दै छ, यसैले हाम्रो नसामा रगत भरेर अनुहारमा मुस्कान छाएको छ । सुख र सौन्दर्यको एकमात्र साधन धरती नै हो । यसको पूजाअर्चना गरी यसलाई प्रसन्न पार्न सक्यौँ भने यसको वरदान दिने हात शिरमाथि पाएर हामी संसारको सम्पूर्ण सुखका भागीदार बन्न सक्छौँ; तर दु:खको कुरा, धरतीमाताको उपेक्षा र उपहास गरी विमातारूपी काल्पनिक स्वर्गको पछाडि दगुरिरहेका छौँ र त्यसैको उपासनामा टाउको फुटाइरहेका छौँ, जुन सत्य नभएर खालि काल्पनिक चित्रमात्र हो ।
हामी के ठानिरहेका थियौँ भने आध्यात्मिक भावना र परलोकको चिन्तनले हाम्रो अन्तर्जगत् तथा अन्तर्गति दिनदिनै सुध्रेर हामी पवित्र बन्दै गइरहेका छौँ, अध्यात्मवादको उन्नति तथा परलोकको विश्वासले हाम्रो शान्ति बढिरहेको छ र हामी संसारमा शान्तिस्थापना गर्दै छौँ, भौतिकवादबाट मुख फेर्नाले हाम्रो हृदय सद्वृत्तितर्पm झुकिरहेछ र जीवनमा हामी अगाडि बढ्दै छौँ तर इतिहासले हामीलाई के बताउँदै छ भने आध्यात्मिक भावना र परलोकको चिन्तनले हामी अलिकति पनि पवित्र हुन सकेका छैनौँ । वास्तविकताले के स्पष्ट पार्दै छ भने हामी राम्रो हुनुको साटो खाराब भइरहेछौँ । व्यवहारले पनि के स्पष्ट पार्छ भने सद्वृत्तिको साटो असद्वृत्तितर्पm बढेर दिनप्रतिदिन हामी अन्यायी, अत्याचारी र आततायी बन्दै छौँ । कहाँसम्म भने हामीलाई आफ्नै दाजुभाइको रगत चुस्न पनि सङ्कोच छैन, साधारण बेकुफी र बदमासी गर्नमा त हामी अगाडिसम्म हेर्दैनौँ ।
अध्यात्मवादको प्रभाव र शक्तिले हाम्रा पूर्वजहरूमध्ये एकदुई ऋषिमुनि सद्भावनापूर्ण बन्न गए त के भो खै ! उनकै सन्तान हामी आध्यात्मिक भावना र चिन्तनमा डुबिरहेर पनि अन्यायी र अत्याचारी भइरहेका छौँ र आफ्नो स्वार्थका लागि रक्तपात मच्चाउनसमेत हिच्किचाउँदैनौँ । हरहमेसा अध्यात्म घोकेर पनि हामी आध्यात्मिक धरातलबाट उत्तरोत्तर खस्किरहेका छौँ; आध्यात्मिक चिन्तनमा लागिरहँदा पनि हाम्रो आध्यात्मिक पृष्ठभूमि दिनदिनै गिर्दो छ । यसको एकमात्र कारण हो— अध्यात्मको आधारमा ब्रह्मलोक, स्वर्गलोक इत्यादि काल्पनिक लोकको कामनामा हामी डुबिरह्यौँ । वास्तवमा हामी पृथ्वीलोकका मानिस हौँ, संसारी हौँ, समाज तथा व्यवहारमा नै हामीले रहनुपर्नेछ, तिनको निर्वाहको सशक्त आवश्यकता हामीलाई छ । त्यसैले सांसारिक सुखसुविधा र व्यवहारवैभवका लागि हामीले सोच्नै पर्नेछ र ती सबैका लागि व्यवस्था वा सुप्रबन्ध मिलेमा मात्रै हामी जीवनमा सफलता पाउन सक्नेछौँ । नत्र कोरा आध्यात्मिकताचाहिँ एकाङ्गी भएर त्यसलाई मान्नेहरू समाज र संसारमा सुन्दर र सफल व्यक्ति भएर बाँच्न सक्नेछैनन् । जीवनमा तिनीहरूलाई सदैव अँध्यारो नै मिल्नेछ र सुखस्वादका लागि उनीहरू अरूको कलेजोमा छुरा घोप्नसम्म तयार हुनेछन् ।
आध्यात्मिक भावना र चेतनाको उन्नतिले अन्तर्जगत् उज्ज्वल तथा शुद्ध हुन्छ भन्ने जुन धारणा छ, यद्यपि त्यो सर्वथा असत्य होइन तर त्यो सामूहिक वा व्यापकरूपमा त कदापि समर्थ छैन, त्यो व्यक्तिगत भएर सहसा एकाङ्गी छ । अध्यात्मभावनाद्वारा प्राप्त शक्ति एक्लैमा त पूरा बलिष्ठ हुन्छ, जस्तोसुकै गति र स्थितिमा सिंह–हात्ती आएर सामना गरे भने पनि मुकाबला गर्नका लागि दम भर्दछ तर साँच्चै भिड्नुपर्ने स्थिति आइपर्यो भने सुरुमा केहीबेर जुधे पनि आखिरमा पुच्छर लुकाएर भाग्दछ । यो कुरा म एकदुई सफल अध्यात्मवादीहरूको सफलतालाई मान्यता नदिएर भन्दै छु किनभने जब म सामूहिक, व्यापक वा असङ्ख्य रूपमा अध्यात्मवादीहरूको धरातल गिर्दै गएको देखिरहेछु, जब म अध्यात्मवादमाथि विश्वास राखेर त्यसको पालन गर्नेहरू जीवनवृत्तिको पूर्ति गर्नमा असमर्थ भएर पाप गर्न बाध्य भएको देखिरहेछु र कतिसम्म भने आफ्नै दाजुभाइको छातीमा छुरा घोप्नसमेत तयार भएको देखिरहेछु तब अध्यात्मवादलाई सर्वथा र सर्वदा उपयुक्त साधन कसरी मान्न सक्दछु ? कुनै पनि साधन सफल वा विफल र सम्पूर्णत: ग्राह्य वा अग्राह्य मान्ने मापदण्ड त्यसकै प्रतिशतको तथ्य हो । प्रतिशतको तथ्यलाई हेर्दा के सिद्ध हुन्छ भने मान्छेको अन्तर्जगत् उज्ज्वल र शुद्ध गर्नमा अध्यात्मवाद सम्पूर्णत: समर्थ छैन । हो के भन्न सकिन्छ भने यो आंशिक रूपमा सिद्धिको एउटा साधनमात्र हो ।
मान्छे सामाजिक प्राणी हो । ऊ समाजबाट अलग्गिएर एक्लै बाँच्न सक्दैन । ऊ एक्लै रहेर जिउने प्रयास गर्छ भने केही हदसम्म उसको प्रयास सफल पनि होला तर समाजको आँखामा ऊ मर्नेछ । त्यसैले कसैको उन्नति पनि व्यक्तिगत लाभमा सीमित नभएर उसकोे लाभ समाजमा बाँडिनुपर्छ, अनिमात्र ऊ मान्छेको परिभाषामा मान्छे कहलिनेछ । कुनै मानिस यदि आफ्नो उन्नतिमा मात्र सीमित हुन्छ भने ऊक्त सामाजिक प्राणी हुनुको नाताले, उसको जीवन र विकास समाजकै रगत र पसिनामा आधारित भएको नाताले ऊ स्वार्थी कहलिनेछ र घोर अपराधी पनि । त्यसैले कुनै व्यक्तिको सिद्धान्त, दर्शन पनि वैयक्तिक वा अल्पनिर्वाह नभएर सामाजिक तथा सामूहिक र व्यापक भएर समाज–कल्याणकारी हुनुपर्दछ र कसैको कुनै तŒव, पदार्थ वा व्यक्तिप्रति उन्मुख आकर्षण पनि समाजपरक हुनुपर्दछ ।
अध्यात्मदर्शन त्यति समाजपरक, समाजव्यापक र सामूहिक रूपमा घुलमिल हुन नसक्ने कारणले तथा व्यापक वा व्यावहारिक रूपमा समाजको स्थिति तथा सर्वसाधारणको मनस्थिति सुधार्नमा समर्थ र योग्य नहुने कारणले मनुष्यको अन्तर्जगत्लाई उज्ज्वल तथा पवित्र गर्ने चीज हुँदा पनि त्यो अधूरो, अपूर्ण र एकाङ्गी चीज हो । अध्यात्मवाद र त्यसको उन्नति तथा प्रचारमात्रले सुखशान्तिमय समाज र कल्याणकारिणी स्थिति बन्नु असम्भव छ । वास्तवमा अध्यात्मवाद व्यक्ति वा समाजलाई स्वस्थ बनाउने वा सुन्दर बनाउने परमतŒव होइन, बरु रोगी मनका लागि एक औषधीमात्र हो । हामीले सम्झनुपर्छ, पथ्य खुराक ठीक हुँदा औषधीको आवश्यकता पर्दैन । अतएव रोगी भएर औषधीको चक्करमा पर्नुभन्दा पहिले नै पथ्य या खुराकको सावधानी वा व्यवस्थापनमा धेरै ध्यान दिनुपर्दछ ।
हाम्रा आ“खा खुल्दै छन्
तर शताब्दियौँदेखिका ठक्करहरूले आज हाम्रा आँखा खुल्दै छन् । हामी चनाखा भएर के हेरिरहेका छौँ भने अध्यात्मवादको मीठो भूलभुलैयामा परेर, परलोकवादको विश्वासमा फँसेर हामीले प्रगति गुमाइसकेका छौँ, अवनतिको पराकाष्ठा दु:ख–दारिद्र्यको चक्करमा परिसकेका छौँ, पवित्र र पावन हुनुको साटो झुट्टा, बेइमान र अन्यायी भइरहेका छौँ, स्वर्गको बदला नर्कमा पर्दै छौँ । आज हामीले राम्ररी जानिसकेका छौँ— अध्यात्मवाद एउटा मीठो कल्पनामात्र हो; सुखद चिन्तनमात्र हो । यसमा वास्तविकताको केही अंश हुँदाहुँदै पनि मानिसलाई बनाउनमा यो एकदमै असमर्थ छ । यसले व्यक्तिसम्मलाई त बनाउन सक्ला तर समाजलाई बनाउन र समष्टिमा सुन्दर तुल्याउनमा यो अशक्त सिद्ध भएको छ ।
हाम्रो जीवनदर्शन कोरा अध्यात्मवादमा टाक्सिएर भौतिकवाद वा विज्ञानको निन्दा गर्नमा बितिरहेको थियो, फलस्वरूप हामीले हजारौँ वर्ष दु:ख भोगिसकेका छौँ । हामीलाई संसारसामु सोभैm खडा हुनसमेत कठिन भएको छ । अध्यात्मवादद्वारा शुद्ध–पवित्र भइने मोहमा जकडिएर हामी त्यसबाट झनै पापी, दरिद्र र अगतिशील हुँदै गएको देखेर आज हामी अघिपछि र दायाँबायाँ देख्नमा पनि अभ्यस्त हुँदै छौँ र विज्ञानलाई राम्ररी चिन्दै छौँ एवं भौतिकवादको महŒव जान्दै छौँ । आज हाम्रा मस्तिष्कतन्तुहरूबाट अध्यात्मवाद उदासीन हुँदै गइरहेको छ किनभने हाम्रो वंशपरम्परादेखि चल्दै आइरहेको शताब्दियौँदेखिको त्यस भावनाबाट हामी केही बन्न सकेनौँ । कहाँसम्म भने साधारण आचरण र चरित्रसम्ममा पनि हामी गर्वी हुने लायक वा गौरव गर्ने लायक भएका छैनौँ ।
विज्ञान वा भौतिकवादको क्षेत्रमा हामी विश्वका आदिगुरु थियौँ तर अपसोचको कुरो के छ भने आज हामी कसैको चेलो बन्नयोग्य पनि छैनौँ । यति सबै हुँदा पनि हामीलाई हिजो पश्चात्ताप भएको थिएन, तर आज हामी आफ्नो खस्किँदो स्थिति देखेर सहसा घबराएका छौँ । अब हामी राम्ररी जान्दै छौँ— विज्ञान नै सबैभन्दा ठूलो र महŒवपूर्ण दर्शन हो । यसलाई महŒव नदिनाले हामी संसारमा कहिल्यै खडा हुन सक्नेछैनौँ । यसको पूजा र श्रद्धाले नै हामी जीवनमा सफलता पाउन सक्नेछौँ । त्यसैले वैज्ञानिक विकास हाम्रा लागि सास लिनका लागि हावा, पिउनका लागि पानी, जिउनका लागि खाना र काम गर्नका लागि प्रकाशजस्तै नितान्त आवश्यक छ ।
विज्ञानको करामत
हामी खालि प्रकृतिमा निर्भर भएर जान सक्दैनौँ । प्रकृतिले हाम्रा सारा आवश्यकताहरू पूरा गर्न सक्दैन किनभने हाम्रो जीवन, हाम्रो आकाङ्क्षा पशुपन्छीहरूको जीवन र आकाङ्क्षाभन्दा धेरै माथि छ र कहिलेकाहीँ प्रकृति हाम्रा लागि शत्रु पनि बन्दछ । प्रकृतिको प्रकोपले हाम्रो जीवन अस्तव्यस्त बन्दछ । त्यसैले प्राप्त प्रकृतिका अतिरिक्त आवश्यकताअनुसार कृत्रिम प्रकृतिको निर्माण गर्नु र कहिलेकहिले प्रकृतिलाई वशमा राख्ने आवश्यकता पनि हामीलाई पर्छ । यो काम विज्ञानबाट मात्र सम्भव छ; अध्यात्म वा अरू कुनै तŒवद्वारा सम्भव छैन ।
विज्ञान आकाश, पृथ्वी, जल, वायु, प्रकाश सबै तŒव र पदार्थहरूलाई वशमा राखेर र कृत्रिम प्रकृतिको सृष्टि गरेर दुनियाँबाट भोक मेटाउन र महँगी हटाउन जीउज्यानले प्रयास गरिरहेछ । यावत् आवश्यकताहरू तथा अभावको पूर्ति गरेर सुखसुविधाको वृद्धि गर्नका लागि विज्ञानले भगीरथ प्रयत्न गर्दै छ । आश्चर्यजनक आविष्कारद्वारा विज्ञानले दिनप्रतिदिन उत्पादन बढाएपछि मानिसहरूलाई कुकर्मी बनाउने अभावग्रस्तता मर्नेछ र पर्याप्त प्राप्तिले मानवमन चम्कन थाल्नेछ जसबाट संसारमा प्रेम र स्नेहमात्रको स्रोत बग्न थाल्नेछ । उत्पादनवृद्धिद्वारा विज्ञानले मान्छेका आवश्यकताहरूको पूर्ति गर्ने कामका अतिरिक्त अनेक अकल्पित तथा कल्पनातीत सुविधाहरू प्रदान गर्दै छ जसबाट मान्छेहरूलाई यति धेरै सुखसुविधा–आनन्दको अनुभव हुन्छ जुन सुख र आनन्दका अगाडिमा तथाकथित स्वर्गीय सुख पनि अत्यन्त फिक्का हुन जानेछ ।
अध्यात्मवादको मीठो मोहबाट मोडिएर भौतिक उन्नतिमा मानवसुख पाइन्छ भनी विश्वास गर्नेहरू आज कति धेरै भौतिक प्रगति गर्दै छन् भने उनीहरूले चन्द्रमामाथि अधिकार जमाएपछि अब शुक्र, सूर्य, मङ्गल आदि ग्रहहरूमाथि अधिकार जमाएरै छाड्नेछन् । तब दुनियाँका मानिसलाई, पृथ्वीका मानिसलाई दु:ख र अभाव कुन चराको नाम हो, थाहा नै हुनेछैन । यी सबै कुराको श्रेय लिनका लागि आज संसारका ठूलाठूला वैज्ञानिकहरूमा होडबाजी चलिरहेको छ । आश्चर्यको कुरा के छ भने हामी अध्यात्मवादीहरू आध्यात्मिक तथा पारलौकिक सुखमा समेत भरोसा गर्दै भौतिकवादी विज्ञानविद्हरूसित सुखको लागि आशा गरिरहेका छौँ । वास्तविक सुख भौतिकवादबाट मात्र मिल्न सक्नेछ; बिस्तारै–बिस्तारै हामी अध्यात्मवादीहरूलाई यो विश्वास भएरै छाड्नेछ । तबमात्र हामीलाई सच्चा सुख भोग्ने अधिकार पनि हुनेछ ।
भौतिकवादको प्रगतिले संसारका मानिसहरूमा काम गर्ने प्रेरणा बढ्नेछ, परिश्रम गर्ने जोस बढ्नेछ, मानिसले आफ्नो पसिनाद्वारा विश्वमा प्रशस्त उत्पादन बढाउनेछ र सबै आवश्यकताहरूको पूर्ति भएर अभावग्रस्तता र असुविधा मेटिनेछन् । जब संसारबाट भोक मेटिनेछ, बस्नका लागि सबै मनुष्यहरूलाई घर मिल्नेछ, व्यवहारमा सुविधा मिल्नेछ, आवश्यकताहरूको पूर्ति हुनेछ र कल्पनातीत सुखसुविधा जीवनको खेल खेल्न थाल्नेछन् तब कुन पागल होला जो चोरी गर्ने इच्छा गर्ला ? कसले डाँकू बनेर दु:ख र आपत्ति मोल्ला ? र कसले ज्यानमारा बनेर आफ्नो प्यारो ज्यान गुमाउने मूर्खता गर्ला ? सबै आवश्यकताहरू र पदार्थहरूको प्रभाव र पूर्णताले मान्छेको मन र प्रकृति स्वत: पवित्र र सुन्दर हुन जानेछ । चोर, डाँकू, लुटेरा, झगडालु आदि दुर्जन तथा दुष्ट बन्ने अवसर नै मान्छेले प्राप्त गर्नेछैन । तब मानवमन मात्र प्रेम र स्नेहले भरिनेछन् र विश्वमा केवल बन्धुत्व र मानवता छाउनेछ । अन्त्यमा भौतिकवाद तथा विज्ञानले सामूहिक रूपमा संसारका मानिसहरूलाई सही सुखसुविधा प्रदान गरेरै छाड्नेछन् । अध्यात्मवादले जस्तो भौतिकवादले दुनियाँका झगडा र झन्झट तथा चीत्कार र कोलाहल आदिबाट अलग भई खालि आफ्नोमात्र सुखशान्तिका लागि एकान्तसाधना कहिल्यै गर्दैन, बरु दुनियाँका झगडा र झन्झट तथा चीत्कार र कोलाहल आदिमा रमेर नै एवं तिनलाई राम्ररी चिनेर तिनलाई जड दुनियाँबाट उखेलेर फाल्नका लागि प्रयत्न गर्दछ । त्यसैले यो दिनप्रतिदिन दुनियाँका अगाडि सफल हुँदै आइरहेको छ र यसको साधन कुनै एउटाको व्यक्तिगत नभएर व्यापक तथा सामूहिक रूपमा सिद्ध भइरहेको छ । भौतिकवाद वा विज्ञान अध्यात्मवादजस्तो कन्जुस छैन जो खालि साधना गर्नेलाई मात्र बक्सिस दिन्छ, यो त उदारमना छ— साधकका साथमा अन्य मानिसहरूलाई पनि व्यापकरूपमा पुरस्कार दिन्छ । अतएव भौतिकवाद वा विज्ञानका साधक अध्यात्मवादका साधकजस्तै खालि आफ्ना लागिमात्र पुरुषार्थ गर्ने अथवा उपदेश दिएर गुरु बन्ने नभएर आफ्नोभन्दा परका परिवार, जाति, देशभन्दा पनि पर समस्त विश्वलाई नै सुख बाँड्ने किसिमको हुन्छ । यही नै भौतिकवाद वा विज्ञानको महŒव हो र यही नै उसको बडप्पन पनि हो ।
अब त विज्ञानका आश्चर्यजनक कामहरू देखेर अध्यात्मवादका थोत्रा आदर्शबाट साधारण अध्यात्मवादी र तिनका समर्थकहरू पनि वाक्क हुन थालेका छन् । उनीहरूलाई बिस्तारैबिस्तारै भौतिकवाद र विज्ञान नै असलमा जिन्दगीका ज्यान र शान हुन् भन्ने कुरामा विश्वास हुँदै आएको छ र यिनै कु्राबाट नै हामी अभावमाथि विजय गरी प्रभावयुक्त हुन्छौँ र विज्ञान नै विकास तथा प्रगतिको जीवन हो, विज्ञानको अवहेलना गर्नु भनेको उन्नतिको प्रत्यक्ष मृत्यु हो भन्ने कुरामा पनि उनीहरूको विश्वास बढ्दै छ । यस कुराको आज साधारण अध्यात्मवादी मात्र होइन, कट्टर अध्यात्मवादीहरू पनि मौन रूपमा केही न केही अनुभव गर्दै छन् । यद्यपि कट्टर अध्यात्मवादीहरू अहिले पनि अध्यात्मवादको बखान गरेरै थाक्दैनन् तर फेरि पनि विज्ञानको चमत्कार, दायित्व र देनलाई देखेर त्यसका अगाडि शिर झुकाउन बाध्य हुँदै छन् । उनीहरू विज्ञानलाई खुल्लमखुल्ला प्रणाम गर्दैनन् त के भो ? यसबारे कुशलमङ्गल सोधेर शुभकामना त अवश्य प्रकट गरिसकेका छन् । यो अशुभ कुुराचैँ होइन, बरु सुन्दर शुभको उज्ज्वल सङ्केत हो ।
भारतमा पनि रकेट र उपग्रहको परीक्षण
भौतिकवादको महŒव र विज्ञानको पूजा गर्न जान्ने भएपछि हजारौँ वर्षदेखि अध्यात्मवादको नशामा सुतिरहेर पछि परेको भारत पनि आज जाग्दै छ । वैज्ञानिक उन्नतिका कारण लामालामा पाइलाहरूमा प्रगति आइरहेको छ र भारतभूमिमा जताततै प्रसन्नता छाइरहेको छ । आज भारतीय आकाशमा आपैmबाट बनाइएका वायुयानहरू उड्दै छन् । रेलका पटरीहरूमा आफ्नै इन्जिन अर्थात् रेलगाडीहरू कुद्दै छन् । विशाल तथा विस्तीर्ण सडकहरूमा आफ्नै कार, बस, लारी आदि गाडीहरू कुद्दै छन् । विभिन्न प्रकारका मेसिनहरू भारतमा नै तयार हुँदै छन् । रेडियो बन्दै छन्, घडीहरू बन्दै छन् । फलाम, सिमेन्ट, बिजुली, दबाई आदिका विभिन्न औद्योगिक कारखानाहरू खुल्दै छन् । कहाँसम्म भने यस युगको सबैभन्दा ठूलो चीज परमाणुहरूका भट्टी बन्दै छन् र मैसूर र पटनाका अनुसन्धानशालाहरूमा रकेट र उपग्रहसमेत प्रस्तुत भएर तिनको परीक्षण आकाशमा भइरहेछ । विज्ञानको पूजा गर्न सिकेकाले भारतले १० वर्षभित्र प्रशस्त मात्रामा देशको प्रगति र विकास गरेको छ र दिनदिनै विकास बढ्दै गइरहेको छ । यसै बाटोमा भारत वैज्ञानिक क्षेत्रमा बढिरह्यो भने केही वर्षहरूमा भारत आफ्नै खुट्टामा उभिन सक्नेछ र केही दशकभित्रै यो विश्वका सबैभन्दा ठूला राष्ट्रहरूका साथ प्रतिस्पर्धामा आउनेछ ।
सबैभन्दा ठूलो कुरा अध्यात्मवादको आकाशकुसुमी कुराहरू र मोहमा नफँसेर यसरी नै भौतिकवादको प्रत्यक्ष परिणाम अर्थात् विज्ञानलाई उचित फल ठानेर र यसैलाई अपनाएर हिँड्यो भने थोरै वर्षहरूमा भारतले आफ्नो भूमिबाट चोर, डाँकू, अन्याय, घूसखोरी, भ्रष्टाचार, भोक र बेरोजगारी आदि अनिष्टहरूलाई जरैदेखि हटाउनेछ र तबमात्र भारतले बुद्ध र गान्धीको अहिंसा र शान्तिनीतिलाई घरघरमा स्थापना गर्ने आफ्नो कामना पूरा गर्न सक्नेछ । सदियौँदेखि अध्यात्मवादका स्वप्निल कुराहरूले हात बाँधिएका मानिसहरू र अभाव, अवनति र दरिद्रताको दलदलमा फँसेको भारतका लागि योबाहेक अर्को कुनै विकल्प छैन ।
विज्ञानले विनाश होइन, निर्माण गर्नेछ
म सोच्छु; दुनियाँ राम्रो बाटोमा चल्दै छ । अब दुनियाँमा शान्ति र सुख छाउने र शान्तिस्थापना हुनेवाला छ किनभने दुनियाँमा प्रगति ल्याउने विज्ञानलाई अब संसारका कुनाकुनाका मानिसहरू चिन्दै छन् र विज्ञानलाई अझ अगाडि बढाउनका लागि जीउज्यानले प्रयास गर्दै छन् । यद्यपि कट्टर अध्यात्मवादी मानिसहरू के भन्दै चिच्याउन छाडेका छैनन् भने विज्ञान विश्वलाई सर्वनाश गर्न सक्रिय छ र यसले संसारलाई नर्कमा लैजाँदै छ । उनीहरूले यस्तो सोच्नुको कारण के हो भने उनीहरू विज्ञान विध्वंसकारी शक्तिको मात्र सर्वेक्षण गरेर यसलाई बुझ्दछन्; यसको निर्माणशक्तिलाई देख्दैनन् । के कुरा निश्चय नै साँचो हो भने विज्ञानले विनाश पनि गर्न सक्छ र यसको प्रयोग गर्ने व्यक्ति खराब वा दुष्ट छ भने उसले संसारलाई क्षणभरमा ध्वस्त पार्न वा धूलो बनाउन सक्दछ । यस्तो स्थितिमा विज्ञान एकदमै मृत्युको कारण हुन जान्छ । तर हामीले पुरानो जमानालाई हेरेर, इतिहासलाई बुझेर, आजका गतिविधिलाई चिनेर एवं आज संसार कता जाँदै छ, के गर्ने ताकमा छ, यी सबै कुरा देखेर, बुझेर सोच्नुपर्दछ— विनाश गर्ने क्षमता राखेर पनि विज्ञान निर्माण र शान्तिको पक्षमा नै अगाडि बढिरहेको छ र बढ्नेछ ।