एक दिन मैले प्रभुसंग सोधें ,
तन मन बचनले ,
सब निदाए प्रभु ,
न धन त्यागेर त्यागी हुन्छ,
दुर्गे देउ भक्ति मलाइ ,
रहेन छ केही जस्ता अजरअमर भजनहरु
तथा
हजार सपनाहरुको ,
हजार आँखा हेर्ने मेरी मायालाई ,
जती चोट दिन्छौ, देउ मायालु ,
मुटु जलि रहेछ ,
जीवन भन्नु त भूल
यस्तै यस्तै कालजयी गीतका गायक तथा संगीतकार भक्तराज आचार्य अब हामीमाझ रहेनन् ।
भजन शिरोमणि आचार्य अब भौतिक रूपमा हामीमाझ छैनन् । उनको सोमबार अपराह्न ८२ वर्षको उमेरमा निधन भएको छ । ३० वर्षदेखि क्यान्सरबाट पीडित वरिष्ठ गायक तथा संगीतकार आचार्यको अक्सिजन लेभल कम भएर अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भयो ।
आचार्यको निधनसँगै नेपाली संगीत क्षेत्रले अग्रज पुस्ताका एक दरिलो धरोहरलाई गुमाएको छ ।
आचार्यको पार्थिव शरीरलाई मंगलबार संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ।
सुगम संगीतको स्वर्णिम युग
नारायण गोपाल, भक्तराज आचार्य, तारादेवी, शान्ति ठटाल, फत्तेमान राजभण्डारी, नातीकाजी, गोपाल योञ्जन, बच्चु कैलाश, प्रेमध्वज प्रधान अनि भक्तराज आचार्यको आवाजको युग।
त्यो समय नेपाली संगीतकै गोल्डेन युग थियो। गीतका पारखीहरु पनि उस्तै। निकै आदरभाव थियो स्रोतामाझ संगीतकर्मीहरुको। त्यो बेलाका सेलिब्रिटी यी नै त थिए।
अहिलेका पुस्ताले सुनिरहेका कालजयी गीत त्यही समयको सिर्जना त हुन्। सेतो पाटो मात्र भए जीवन कति रमाइलो हुन्थ्यो होला। तर उज्यालोसँगै अध्यारो पनि जीवनको अभिन्न पाटो नै हो। त्यही समयमा नेपाली सांगीतिक क्षेत्रमा कालो पक्ष हामी भयो। भजन शिरोमणि भक्तराज आचार्य जस्ता गवैयाको आवाज गुम्यो।
गाउन नै जन्मेका आचार्यको २०४६ मंसिर १९ गते आवाजै खोसियो। स्रोताका लागि मात्रै हैन, नेपाली संगीत क्षेत्रकै लागि त्यो दुर्भाग्यको दिन थियो।
त्यसको ठिक वर्ष दिनपछि २०४७ मंसिर १९ मा स्वरसम्राट नारायणगोपालको निधन भयो। त्यही कारण संगीत पारखीहरु मसिर १९ लाई संगीत क्षेत्रको कालो रात पनि भन्छन्।
उनको गायन यात्रामा विराम लाग्यो। घरको मुली नै ढलेपछि परिवार नै लथालिङ्ग र भाताभुङ्ग भयो। दुई छोरा सत्य-स्वरुप सानै थिए।
२०४९ सालमा जिब्रोमा खटिरा देखिएको थियो, त्यसको एक वर्षपछि त्यो क्यान्सर भएको पुष्टि भयो र अन्तत: जिब्रो नै काट्नुपर्यो । जिब्रो काटिएपछि उनीहरुको घरमा हार्मोनियम, तानपुरा मात्रै होइन, गीत नै बजाउन रोकियो। संगीतको झंकारवाट सन्नाटामा पुग्यो, आचार्य परिवार।
भक्तराजको त्यो अवस्थामा सबैभन्दा बढी प्रभावित भइन् उनकी श्रीमती। श्रीमानको त्यो अवस्था। सबै हेर्नुपर्ने, अस्पतालदेखि स्याहारसुसारसम्म। अनि दुई छोराको पढाइ, पालनपोषणसम्मको जिम्मेवारी।
यदि भक्तराज आचार्यको त्यो दिन घटना नघटेको भए नेपाली संगीत कस्तो अवस्थामा हुन्थ्यो होला? स्वरुप भन्छन्, ‘यो संगीत नै कहाँ पुग्थ्यो पुग्थ्यो नि। सुर र तालका पक्का, शब्द छनोटमा अब्बल गीतहरु अहिलेको समयमा हुन्थ्यो होला। सस्तो वाहवाही गीतहरु आउँदैनथे होला। बेथितिको संगीत हुँदैनथ्यो होला। राम्रो गीत सुन्ने बानी पनि पर्थ्यो। बुबाले गाइरहनुभएको भए त्यो स्वर्णिम युग त्यति छिटो सकिंदैनथ्यो होला।’
भक्तराजको स्वरको जादु भारत र पाकिस्तानी गायक-गायिकामा पनि थियो। नेपालमा गुलाम अलीको कार्यक्रममा भक्तराजले गीत गाउँदा उनी जुरुक्क उठेर ‘नेपालमा पनि तपाईं जस्तो गवैया रहेछ’ भनेर स्टेजमा अँगालो मारेका थिए।
साई भजनका चर्चित गायक रविराज नासेरी नेपाल आउँदा घरमै आएर खुट्टा ढोगेर गएका थिए। उता भारतमा भजन गाउँदा भक्तराजका भजनहरु पनि गाउने रहेछ। अहिले पनि भारत र पाकिस्तानका राम्रा गायकहरुले भक्तराजलाई रुचाइरहँदा नेपाल सरकारले भक्तराज र उनका परिवारलाई भने सम्झिएको छैन।
गायक तथा संगीतकार आचार्य भौतिक रुपमा त अब हामीमाझ रहेनन् । तर उनका दुई छोरा सत्यराज र स्वरुपराज आचार्यले उनको विरासतलाई पछ्याउँदै नेपाली सांगीतिक क्षेत्रमा आफ्नै पहिचान बनाएका छन् ।
भजन शिरोमणी भक्तराज आचार्य प्रति हार्दिक श्रद्धान्जली