इतिहासको थालनी
आदर्शवादीहरुको अवधारणा अनुसार ब्रम्हाजीको सृष्टिलाई मान्ने हो भने उनले पृथ्वीको सृष्टि गरेदेखि मात्र होइन उनको सृष्टिको स्रोत — विष्णुको नाभिको कमलदेखि नै इतिहासको थालनी भएको मान्नुपर्ने हुन्छ । पहिले पश्चिमा मुलुकहरुमा इसाइ धर्म ग्रन्थअनुसारमा ६ दिनमा र इसाइ धर्मगुरु जेम्स इसर (१६५० ई.) का अनुसार २००४ ई.पू. अक्टोबर ६ तारिख विहान ९:०० बजेदेखि थालनी भई केवल ६ दिनमा सम्पूर्ण विश्व ब्रह्माण्डको सृष्टि भएको हो भनी सोचिन्थ्यो । यसलाई मान्ने हो भने नेपाली सन्दर्भमा नागजातीको अस्तित्वको बेलातिर मात्र त्यस्तो भएको हो भन्नुपर्ला । त्यस्तै हिन्दू धर्मअनुसार मान्ने हो भने सृष्टिको समयकाल काठमाडौं उपत्यकाको ललितपुर लूँभूमा कृषिको थालनी गरेताका वा ‘वूश भूमी’ को समयकालमा मात्र सृष्टिको आरम्भ भएको भनी मान्नु पर्ने हुन्छ । यसलाई मान्ने हो भने हामीले बर्दियाका ५ लाख वर्षअघिका, नवलपरासी–दाङका २ लाख वर्षअघिका र बूढानिलकण्ठका ३२ हजार वर्षअघिका मानव र तिनका अवशेष र बुटवलको १.१ करोड वर्ष अघिका वानर र मानवबीचका नरवानर–रामनरवानर ९च्बmबउष्तजभअगक० को दन्त अवशेषलाई नै अस्वीकार गर्नुपर्ने हुन्छ । भौतिकवादी वैज्ञानिकहरुले मानवको इतिहास वा तिनको क्रियाकलाप प्रारम्भ भएदेखिको इतिहासलाई इतिहास भनि मान्ने गर्दछन् । यसले आजभन्दा ४०–५० हजार वर्ष अघिदेखि मानव क्रियाकलापको इतिहासको थालनी भएको मान्नुपर्ने हुन्छ । तर मानव उद्भव नरवानरबाट विकास भई आजभन्दा ३०–४० लाख वर्षअघि भएको, तिनको पुर्खा वानरलाई ३ करोड वर्षभन्दा अघिको र सम्पूर्ण जीवनको पुर्खा ‘अल्गीया’ ९ब्निबभब० लाई आजभन्दा १.५ अरव वर्षअघि उत्पत्ति भएको मानिनाले र हामी रहेको पृथ्वीलाई आजभन्दा ४.५ अरव वर्षअघि उत्पत्ति भएको मानिनाले आदर्शवादीहरुको अवधारणा विल्कुलै मिल्न नआएको कुरा स्पष्ट हुन आउँछ । आजकाल पृथ्वीको सृष्टिदेखिको काललाई नै इतिहासको थालनीको काल भनी मान्ने गरिन्छ ।
नेपालको सन्दर्भलाई लिंदा नेपाल अवस्थित रहेको भूखण्डको निर्माणकाल आजभन्दा ५७ करोड वर्षभन्दा अघिदेखि नै नेपाली इतिहासको थालनी भएको भनी मान्नुपर्छ । अहिलेसम्म नेपालका वंशावली अनुसार चीनको महामञ्जुश्री वा भारतबाट आएका विष्णु वा कृष्णको चक्रले चोभारको डाँडो काटेपछि आवादयोग्य भएको काठमाडौं उपत्यकामा ‘ने’ नामक मुनिले गोपाल वंशको सरदारको छोरालाई राजा तुल्याएपछि (भाषा वंशावली भाग १ पृष्ठ ४४) वा मञ्जुश्रीले गुह्यश्वरीदेखि देवपत्तनसम्म फैलिएको ‘मञ्जुपतन’ नामक शहर बसाली क्षत्रिय धर्माकरलाई राजा तुल्याएपछि (देवमाला, पद्मगिरि वंशावली, स्वयम्भु पुराण) नेपाली इतिहास थालनी भएको गलत अवधारणा पाइएको छ । नेपाली इतिहासका पाठक मात्र होइन नेपालका अधिकांश बुद्धिजीवीहरुमा पनि यस्तै गलत अवधारणाको प्रभाव पाइन्छ । तर तिनीहरु भाषा वंशावलीको प्रथम पृष्ठमा वर्णित सृष्टिको कुरापट्टि पटक्कै ध्यान दिँदैनन् र त्यसमा सृष्टिको संक्षिप्त वर्णनपछि पशुपति ज्योतिर्मय लिङ्गको उत्पत्ति कथाले संकेत गर्ने ब्रह्माजीको हाराहारीको समयपट्टि पनि ध्यान दिँदैनन् । नेपालमा २ करोड वर्षभन्दा अघिका जीवहरुमा अवशेष जनकपुर र दाङमा पाइएका छन्, लाखौं वर्ष अघिका मानवमा अवशेषहरु (मानव हातले बनाएका ढुङ्गाका हतियारहरु) माथि दृष्टि नै दिइँदैन । कतिपय इतिहासकारहरु प्राय इतिहासबारे लेख्दा साखुल्ले वैज्ञानिक वा ऐतिहासिक कालको इतिहासबारे लेख्दा वा बोल्दा आदर्शवादी नै बन्न पुग्छन् । कतिपय विद्वान्हरुले उत्तरबाट मङ्गोलहरु आए, दक्षिणबाट आर्यहरु आए र तिनीहरुबीच समागम भई नेपालमा नेपालीहरु जन्मिए र त्यसपछि नेपाल र नेपालीको सभ्यता र इतिहासको थालनी भयो भनी मान्दछन् । कोही भारतीय वा हिन्दू चश्मा लगाई कोही उत्तरी वा मङ्गोली चश्मा लगाई नेपाल र नेपालीलाई हेर्ने गर्दछन् । तिनीहरुले नेपाली चश्मा भए नेपालका कम्तिमा ५ लाख वर्ष अघिका वर्दिया दानवताल छेउका वर्दिया मानव करीव २ लाख वर्ष लाख वर्ष अघिका दाङ–देउखुरी, सुर्खेत, कास्की र नवलपरासीका मानव, ३२ हजार वर्षअघिका पूर्वदेखि पश्चिम र हिमालय छेउदेखि तराईका समथर मैदानसम्मका नयाँ ढुङ्गे युगका मानिसहरुलाई पनि देख्थे ।
इतिहास लेखनको परम्परा
विश्वको प्रत्येक मुलुकमा इतिहासको लेखन–परम्परा पुराण–महात्म्य इति वृत्तान्तको रुपमा थालनी भएको पाइन्छ । पहिले मानवद्वारा कथित अनुश्रुति वा कथाहरुको आधारमा लेखिएको पुराण–महात्म्यलाई साहित्यको अङ्गको रुपमा मानिन्छ । साहित्यका यी अङ्गहरुमा इतिहास पाइने हुनाले इतिहासलाई साहित्यको एउटा अङ्गको रुपमा पनि लिइन्छ । नेपालमा पुराण–महात्म्यलाई प्रारम्भिक इतिहास मान्न सकिने भन्ने अवधारणा पनि पाइन्छ । ग्रीसमा सबैभन्दा पहिला त्यहाँका विद्वान् हेक्रेटियस ९ज्भअचभतष्गक० (६०० ई.पू.) ले प्रचलित आख्यानहरुको आलोचनात्मक व्याख्या गरी इतिहास (विश्वका पर्यटन र स्थानीय वंशावलीहरुको ग्रन्थ) लेखेका हुन् । स्थलगत अध्ययन र अनुसन्धान गरी सर्वप्रथम वैज्ञानिक पद्धतिद्वारा इतिहास लेख्ने विद्वान् ग्रीसकै हिरोडोटस ९ज्ष्चयमयतगक ४८० ई.पू.) हुन् ।
पछि शासक वर्ग र समाजमा धामी–पुरेतहरुबीच गाढा सम्बन्ध कायम भएपछि शास वर्गको निर्देशनमा धामी–पुरेतहरुले इतिवृत्तान्त वा वंशावलीको रुपमा इतिहास लेख्न थालेको हो । इतिहासलाई दैवी योजना र शासकलाई ईश्वरको अवतार मानी पुरेतहरुले युरोप, अरब, एशिया, अफ्रिका आदि देशहरुमा इतिहास लेखेको पाइन्छ । त्यसपछि मध्यकालमा युरोपमा राज्य र चर्चको मिलिमतोमा पुरेत–पादरीद्वारा इति वृत्तान्तको रुपमा इतिहास लेखिन थाल्यो । नेपालका वंशावलीहरु पनि शासक वर्गको निर्देशनमा पुरेत वा सामन्तहरुले लेखेका हुन् । आधुनिक कालमा आएपछि राज्यको निर्देशन र धर्म तथा ईश्वरको प्रेरणामा लेखिएको भनिने इतिहासको विरोध हुन थाल्यो । प्रत्येक कुरामा समाज र मानवको भूमिकाको परिणाम भनी मान्न थालेपछि उन्नाइसौं शताव्दीदेखि पुरातात्विक अन्वेषण र उत्खननको आधारमा राज्य र चर्चदेखि स्वतन्त्र र आधुनिक पद्धतिको आधारमा इतिहास लेखिन थालेको हो । साथै भौतिकवादी दृष्टिकोणको विकास माक्र्सवादको प्रादुर्भाव भएपछि भौतिकवादी वा ऐतिहासिक विकासवादी चिन्तनको आधारमा इतिहास लेखिन थालेको हो ।
इतिहास लेखनको परम्परामा पूर्वी जगत् पश्चिमा जगत्भन्दा कम थिएन । वृहस्पति, भृगु, अङ्गिरा, व्यास, तुलसी, वाल्मिकी, वाणभट्ट आदिले भारतमा पुराण–महात्म्य लेखे । त्यसपछि मध्यकालमा विल्हण, नन्दिन आदिले इति वृत्तान्तको रुपमा इतिहास लेखेको पाइन्छ । नेपालको अभिलेखमा नै शासक वंशको वंशावली ४५४ ई. को चाँगुनारायणको अभिलेख पाइएकोले त्यसै बेलादेखि वा सोभन्दा अघिदेखि सम्भवत: इति वृत्तान्तको रुपमा इतिहास लेखिए । ७३३ ई. को पशुपतिको अभिलेखमा पनि लिच्छवी शासकहरुको वंशावली दिइएको छ । यी प्रमाणले प्राचीनकालदेखि नै नेपालमा इति वृत्तान्तको रुपमा इतिहास लेखिएको हुनसक्ने देखिन्छ । अनुपरम र बुद्धकीर्ति जस्ता सुन्दर काव्य लेख्ने कविहरुले इतिहासको क्षेत्रमा तिनीहरुका आस्था क्रमश: हिन्दु र बौद्ध धर्म अनुसार लेखे होलान् । हुनसक्छ ती ग्रन्थहरु पछि नष्ट गरिए वा हुन गए । मध्यकालमा नेपाल आएका इसाइ पादरीहरुले पनि हजारौं ग्रन्थ नष्ट गरेका थिए, कैयौं ग्रन्थ विदेश लगिए । त्यसपछि पनि बाहिर चोरी निकासी भई कैयौं सामग्रीहरु पुगेका छन् । नेपालमा हालसम्म प्राप्त प्रमाणअनुसार चौधौं शताव्दीमा इति वृत्तान्तको रुपमा ‘गोपालराज वंशावली’ लेखिएको थियो । स्थितिमल्लको निर्देशनमा लेखिएको यो ग्रन्थका लेखक कुनै धामी–पुरेत वा शासककै परिवार वा सामन्त होलान् । चीन र भारतीय सन्दर्भमा यस्तै पृष्ठभूमिका लेखकहरु पाइएका छन् ।
१८५८ ई.मा प्रकाशित कर्कप्याट्रिकको ग्रन्थलाई नेपाली इतिहासको पहिलो ग्रन्थ मानिन्छ । पछि ह्यामिल्टन, हाँग्सन, राइट, बेन्डाल, लेवी, पेटेक, टुची, ल्याण्डन आदिले नेपाली इतिहासका ग्रन्थ लेखेका छन् । नेपालका प्रशस्ति–गायकहरुले इतिहास भन्दा पनि स्तुति–काव्यहरु– ‘राम शाहको जीवनी’, ‘पृथ्वीन्द्र विजय’, ‘पृथ्वीनारायणोदय’, ‘त्रिरत्नसौन्दर्यगाथा’ आदि लेखेका छन् । भीमसेन थापाको समयकालमा इतिहासमाथि प्रकाश पार्ने काव्यहरु लेखिनुको साथै अभिलेखको अध्ययन गरी सुन्दरानन्द बाँडाले इतिहास लेख्ने प्रयत्न गरेका थिए । स्वतन्त्र चिन्तन र लेखनमा लाग्दा बाँच्न समेत मुश्किल भएपछि सुन्दरानन्दले शासकको प्रशस्तिमा पनि काव्य लेखे तर स्वतन्त्र चिन्तक र अपार बौद्धिक प्रतिभा भएका यिनी बौद्ध धर्मावलम्बी हुनाले यिनले प्रोत्साहन पाएनन् र आफ्नो प्रयासलाई पूरा गर्न सकेनन् । राणाकालमा पनि शासकहरुको गुणगान नै इतिहासको मुख्य आधार थियो । ल्याण्डनले राणाहरुबाट ठूलो धनराशी हात पारेका थिए । पहिलेका नेपाली लेखकहरुले भारतमै बसी नेपाली इतिहासका ग्रन्थहरु लेखेका थिए । सम्भवत: प्रथम नेपाली लेखक मानिने अम्बिकाप्रसाद उपाध्याय पनि प्रवासमा लेखेर पनि शासकहरुको गुणगानबाट बच्न सकेका थिएनन् । बालचन्द्र शर्मा र डिल्लीरमण रेग्मीले राणाहरुको विरोधमा आफूलाई केन्द्रित गरे । १९६० ई. यता इतिहास संशोधन मण्डल जस्ता संस्थाहरु खोली नेपाली इतिहासको अध्ययन र लेखनमा संस्थागत प्रयास पनि भएको पाइन्छ । प्रारम्भमा बाबुराम आचार्य, बालचन्द्र शर्मा, डिल्लीरमण रेग्मी, सूर्यविक्रम ज्ञवाली जस्ता इतिहासकारहरु देखिए भने पछि नयराज पन्त, धनबज्र बज्राचार्य, तुल्सीराम वैद्य, ज्ञानमणि नेपाल, जगदीशचन्द्र रेग्मी, त्रिरत्न मानन्धर आदि देखिए । पाठ्यपुस्तक लेखकहरुले इतिहासका विविध विषयहरुमा पुस्तकहरु लेखेका छन् । वैज्ञानिक इतिहासको पक्षमा नवोदित लेखकहरु निरीश नेपाल, कृष्णबहादुर थापा, प्रेम खत्री, पेशल दाहाल, हरिप्रसाद श्रेष्ठ, शिवकुमार श्रेष्ठ आदि पनि देखिएका छन् । तर आजसम्म नेपालको समग्र इतिहास वैज्ञानिक ढङ्गले लेखिन भने सकेको छैन ।
इतिहास लेखनका कमीहरु
नेपाली इतिहासको लेखनमा अनेकौं कमीहरु रहेका छन्, जसको परिणाम अहिलेसम्म वैज्ञानिक इतिहास छैन । यस धारणालाई इतिहास क्षेत्रका सबैजसो कर्मीहरु स्वीकार गर्दछन् तर पूर्ण तथा वैज्ञानिक इतिहास लेखनमा लगनशीलता र सामूहिक प्रयासको थालनी हुन सकेको छैन । सबै कर्मीहरु आपसमा आलोचना–प्रत्यालोचना र टिकाटिप्पणी गर्छन् तर सबै एकै ठाउँमा बसी, कुनै विषयमा मन्थन गर्न रुचाउँदैनन् । तल इतिहास लेखनमा विद्यमान कमीहरुबारे संक्षिप्तमा चर्चा गर्ने प्रयास गरिन्छ ।
नेपाली इतिहासका स्रोत सामग्रीहरु कतिपय खोज गर्न बाँकी छन्, कति विदेशतिरका सरकारी तथा निजी संग्रहालयहरुमा राखिएका छन् (अमेरिका, फ्रान्स, बेलायत, जर्मनी, रुस, भारत आदि) । मध्यकालमा आएका इसाइ पादरी, ब्रिटीश दूतावासका कर्मचारीहरु र त्यसपछि नेपालका ठूलाबडाको संरक्षणमा अझै पनि बाहिर जाने क्रम कायमै छ । यस्ता कार्यमा संलग्न स्वदेशीहरु पैसाका लागि र विदेशीहरु पैसाका साथै कतिपयले नेपालको इतिहासलाई लुकाइराख्न वा पूर्ण रुपमा प्रकाश हुन नदिन पनि गरेका हुन सक्छन् । चीन र भारतका सामग्रीहरु पनि यस्तै ढङ्गले विदेशतिर लगी नष्ट समेत गरेको पाइन्छ । नेपालमा पाइएका सामग्रीको निक्र्योल हुन बाँकी छ र प्रकाशमा ल्याइएका विषय पनि हतारले गर्दा विवादास्पद बनेका छन् । सकारी निकायहरुमा रहेको कतिपय सबै अन्वेषकहरुले पाउन पनि मुश्किल छ । विदेशीहरु वा सरकारी निकाय वा त्रिभुवन विश्वविद्यालयका उच्चपदस्थ अन्वेषकहरु ती सामग्री प्राप्त गर्न सक्षम हुन्छन् र तिनीहरु ‘स्तरयुक्त’ र ‘विशिष्ट’ विद्वान् बन्न पुग्छन् । तर स्थापित पत्रिकाहरुमा लेख–रचना प्रकाशन गर्ने अवसर नपाएका स्वतन्त्र ओहदामा नरहेका अन्वेषकहरुका निम्ति ती अनिकालका बीउ सरह हुन्छन् । साथै तिनीहरुले अन्य स्वदेशी व्यक्ति सरह आर्थिक सुविधा पाउँदैनन् र नेपालको लागि सहयोग स्वरुप प्राप्त रकमबाट विदेशी विद्वान्हरु नेपालमा ‘विशिष्ट’ विद्वान्हरुभन्दा कैयौं गुणा आर्थिक सुविधा प्राप्त गर्दछन् । यस्तो अवस्थामा स्वदेशी विद्वान्हरु हीनताबोध भई कुण्ठित बन्न पुग्छन् र विदेशी विद्वान् सरह विशिष्ट बन्न सक्तैनन् ।
इतिहास–लेखन क्षेत्रमा वैज्ञानिक दृष्टिकोणको अभाव वा अस्पष्टता पनि रहेको छ । नेपालको प्राग् इतिहासको सम्बन्धमा वैज्ञानिक दृष्टिकोणले सोच्ने र त्यसपछिको इतिहासको सम्बन्धमा आदर्शवादी दृष्टिकोणले सोच्ने पद्धति अधिकांश इतिहासकारहरुमा रहेको पाइन्छ । कोही–कोही लेखक वैज्ञानिक र आध्यात्मिक दुई दृष्टिकोणको बीचमा बसी निष्पक्ष र तटस्थ बन्न खोज्छन् । तर यसरी सोच्दा आफू कसैको पनि नहुने र वैज्ञानिक इतिहास लेख्न नसकिने बारे ध्यानै दिंदैनन् । अनुश्रुतिहरुको विश्लेषण र मूल्यांकन, नेपालका जाति विशेष, धर्म र इलाका विशेषको सम्बन्धमा पुर्वाग्रही सोचाइ उत्पन्न हुने जातीय, धार्मिक र इलाकीय साम्प्रदायिकता, नेपाली इतिहासलाई विश्व इतिहासको अंग नमान्ने जस्ता प्रवृत्ति पनि रहेका छन् । यस्ता कुराहरुको सम्बन्धमा वैज्ञानिक दृष्टिकोण अनुसार खोज र अनुसन्धान गर्ने र कुनै पनि पूर्वाग्रही अवधारणालाई नछोडेसम्म वैज्ञानिक इतिहासका हिमायती भनी जुनसुकै ढोल पिटे तापनि वैज्ञानिक इतिहास लेखिन सक्तैन । त्यस्तै दृष्टिकोणमा स्पष्टता नआइकन हालसम्म जनताको इतिहास लेखिएको छैन र अब लेखिनु पर्छ भन्दैमा जनताको इतिहास लेखिन सक्दैन । नेपालका विभिन्न जातिहरु तिनको संस्कृति र परम्पराको साथै तीसित गाँसिएका अनुश्रुतिहरुको योजनाबद्ध रुपमा संकलन गरी वैज्ञानिक दृष्टिकोणको आधारमा विश्लेषण र मूल्यांकन नगरी नेपालको पूर्वप्राचीन र आदि इतिहास एवं प्राग् इतिहासबारे सही रुप प्रकाशमा ल्याउन सकिंदैन ।
उपर्युक्त अवस्थितिहरुमाथि विचार गर्दा नेपालको पुरातत्व विभागले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका इतिहास, संस्कृति विभागहरु र नेपाल एशियाली अनुसन्धान केन्द्रसित मिली योजनाबद्ध ढङ्गले खोज र अनुसन्धान तीव्र ढङ्गले गर्नुपर्छ । त्यस्तै इतिहासकारहरु र अनुसन्धानदाताहरुबीच संयुक्त रुपमा छलफल र प्रयासका निम्ति तिनीहरुको एउटा स्वतन्त्र र साझा सङ्गठनको निर्माण हुनु जरुरी छ । सरकारी वा कुनै पनि निकायबाट इतिहासकार वा अनुसन्धाताहरुमाथि कुनै पनि विषयलाई लिएर नियन्त्रण र निर्देशन नगरी स्वतन्त्रपूर्वक खोज–अनुसन्धान र प्रकाशन गर्न दिनुपर्दछ । अहिलेको स्थितिलाई ध्यानमा राख्दा पुरातत्वलाई सकारी भन्दा स्वतन्त्र निकायको रुपमा छुट्टै इन्ष्टिच्यूट खडा गरी त्यसमा त्रिभुवन विश्वविद्यालयका सम्बन्धित विभागहरुलाई समेत मिलाई नयाँ ढङ्गले योजना बनाउन सके निश्चय पनि आजको अन्यमनस्क र अस्पष्ट स्थितिबाट इतिहास–लेखनको परम्परालाई अघि बढाई वैज्ञानिक इतिहास प्रकाशमा ल्याउन मद्दत मिल्ने कुरामा शङ्का लिनु नपर्ला ।
इतिहास–लेखनको निम्ति लेखकले आजको युगमा भूगर्भ विज्ञान, नृ:तत्वशास्त्र, समाजशास्त्र, जीव विज्ञान, मनोविज्ञान आदि पनि जानकारी लिनुपर्नेमा नेपाली इतिहास जगत्मा यस किसिमको प्रवृत्तिको विकास भएको छैन । दोस्रो विश्वयुद्धपछि विश्वमा दुई विचारधारा अनुसार इतिहास लेख्ने परम्पराको पनि थालनी भएको छ । त्यस्तै देशभित्र पनि सत्तापक्ष र प्रतिपक्ष बीचको विपरित आस्थाले पनि इतिहास लेखनमा प्रभाव पार्न थालेकोले इतिहास वस्तुवादी हुन कठीन भएको पाइन्छ ।
जन्म : वि.सं. २००३ वैशाख ७
बनेपा, काभ्रे
अवसान : वि.सं. २०५१ साउन ६
art – hariprasad sharma