लोकगायिका तीर्थ कुमारी थापाको पहिलो एकल सांगीतिक साँझ मंसीर ८ मा हुने भएको छ । ‘तीर्थ कुमारी स्वर्णिम साँझ २०८०’लाई अन्नपुर्ण चेम्बर अर्केस्टाले आयोजना गर्न लागेको हो । आयोजकले उक्त कुराको जानकारी काठमाडौँस्थित काठमाडौँ प्रज्ञा कुञ्ज स्कुल मध्य बानेश्वरमा आयोजित पत्रकार सम्मेलन गराइएको हो ।
५ दशकदेखि लोकसंगीतमा सक्रिय थापाको ‘म त खाँदिनँ कुवाको पानी हो’, ‘ढुङ्गे बगर माया’, ‘झम्के फूली, नाकैमा बुलाकी’, ‘उकालीमा पनि हजुर मोटर जाँदो रैछ’, ‘बारीको डिलमा ओखरबोट’, ‘माछी मार न हे दाइ हो’लगायतका २ दर्जन गीत चर्चित छन् । यही लोकप्रिय गीतलाई थापाले प्रस्तुत गर्नेछिन् । कार्यक्रम राष्ट्रिय नाचघर जमलमा एकल साँझ हुने भएको हो ।
गायिका थापाका छोरा तथा संगीतकार सुरज थापाले एकल साँझलाई भव्य रूपले आयोजना गर्ने तयारी भइरहेको जनाए । ‘यो आमाको सपना थियो, यसलाई पूरा गर्न पाउँदाको खुुसी शब्दमा व्यक्त गर्न सक्दिनँ । हामीले युगल गायनमा आमासँग गाउन सक्ने पुराना गायक नै प्रस्तुत गर्नेछौं । बाँकी केहीमा मैले पनि साथ दिनेछु,’ उनले भने ।
२०२८ मा रेडियो नेपालमा रेकर्डिङ गर्दै गायन यात्रा थालेकी थापाले हालसम्म एक हजार बढी गीत रेकर्ड गरिसकिन् । उनले प्रबल गोरखा दक्षिणवाहु मानपदवी २०५७, वीरेन्द्र ऐश्वर्य सेवा पदक २०५८ लगायत दर्जनौँ सम्मान, पदक र पुरस्कार प्राप्त गरिसकिन् ।