कवि गीता खत्रीको खण्डकाव्य ‘आमा हुन् आमा’ मा आधारित रहेर अशेष मल्लको निर्देशन तथा परिकल्पनामा गीति नाटक ‘सपना अनेक–अनेक’ बिहीबारदेखि कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन भइरहेको छ । चार दशक लामो इतिहास बोकेको सर्वनामले पहिलोपटक गीति नाटक प्रस्तुत गरेका हुन् ।
नाटकले ‘आमा’ शब्दलाई केन्द्रमा राखेर सिंगो मुलुक र महिला पात्रलाई उठान गरेको छ । जहाँ विदेशिन बाध्य युवापुस्ता, तिनिहरूले राख्ने देशप्रेम, युवाहरू विदेश पलायन भएपछि मुलुक, समाज, परिवारको अवस्था, आफ्नो सन्तानलाई बाबुको परिचय दिन नपाई मृत्यु अंगालेका कुमारी आमाहरूको कथा नाटकमा छन् । यी कथाका भावहरूलाई दर्शकले संगीतको धुन, गीतको लय र कलाकारको शारीरिक अभिव्यक्ति तथा बिम्बात्मक रुपमा प्रस्तुत भएको छ ।
नाटकमा समग्र कथालाई बुझाउन संगीतकार राजु सिंहले संगीतको धुन भरेका छन् भने बानिका प्रधान र सत्यराज आचार्यले स्वर दिएका छन् । मुलुकको समकालीन समय र परिवेशलाई सांस्कृतिक तथा लोक परम्परामा ढाल्न कोरियोग्राफर प्रमिला कार्की उप्रेतीले कलाकारहरूको शारीरिक चाललाई घाँटु, चरिया, भरतनृत्य, नेपाली लोकनृत्यको ताल संयोजन गरेकी छन् ।