जुन कोठामा म पुर्याइएँ त्यो ठूलो साइजको नेपाली गलैंचा ओछ्याइएकोले बैठकजस्तै देखिन्थ्यो । त्यसको एकातिरको भित्ताको बीचमा बुद्ध, दायाँ र बायाँ क्रमश: तारा र रिङपोचेको चित्र अङ्कित तीनथान थान्का (पौभा) लहरै झुण्ड्याइएका थिए । कोठामा पस्ने ढोका रहेको भित्ताको कुनामा ठूलो साइजको टेलिभिजनसेट थियो भने सडकतिर पर्ने सामुन्नेको तेस्रो भित्तामा चाहिं बाहिर बार्दलीमा निस्कने ढोकासहितको झ्याल देखिन्थ्यो । चौथो भित्तातिर अलि साँगुरो परेको कुनाको भुईंमै दुईवटा साना तिब्बती गलैंचा ओछ्याइएका थिए भने त्यसकै अघिल्तिर सानी नानी भएको एउटा आधुनिक झोलुंगो पनि राखिएको थियो । ती गलैंचा रहेकै एक कुनामा अष्टमङ्गलका चिन्हहरुसहित तिब्बती भाषामा कुनै मन्त्र अंकित पर्दा टाँगिएको एउटा सानो ढोका देखिन्थ्यो । म कोठामा पस्दा जिब्रो बाहिर निकालिरहेकी सानी नानीले मुस्कुराउँदै स्वागत गरी र मैलै पनि त्यसरी नै जिब्रो देखाउँदा सानी नानी दङ्ग परी । मलाई डोर्याउँदै ल्याउने एकजनाले सानी नानीलाई खेलाउन थाले भने अर्का एक जनाले बैठक कोठाबाट देखिने भान्साखण्डमा हस्याङफस्याङ गर्न थाले । तेस्रा युवक भने बेपत्ता भइहाले ।
ठूलो गलैंचामाथि एउटा होचो टेबुल राखिएको थियो । मलाई त्यही ठूलो गलैंचामा बस्ने अनुरोध गरेर भान्साखण्डमा रहेका आतीथेयले मेरो लागि दूध हालेको चिया लिएर आए । सानसित सुटपैण्टमा डटेर अमेरिका–यात्रामा पुगेको म चाहिँ भुईंमा कसरी थचक्क बस्ने होला भन्ने सोच्दै अलि अग्लो कुनै आसन पाइन्छ कि भनेर कोठामा यताउति नजर दौडाउन लागें । एउटा कुनामा सानो एउटा मेच देखेर त्यसैलाई कोठाको एक छेउमा तानेर बसें । त्यसपछि अमेरिकामा मेरा प्रथम परिचित नेपालीहरुसित फेरि चिनापर्ची गरियो । मैले त मास्कोबाट आएको भनेर आफ्नो परिचय भेट हुनासाथै पहिले नै दिइसकेको थिएँ । मेरो लागि चिया बनाएर ल्याउने तेम्बा नुरु शेर्पा सपरिवार त्यस फ्ल्याटमा बस्दा रहेछन् । बिहीवार जन्मेकी हुनाले फुर्बा नाउँ पाएकी उनकी सानी छोरी अमेरिकाकी जन्मसिद्ध नागरिक बनिसकेकी रहिछन् । नानीकी आमा ङावाङ छेट्टेन चाहिं बिहानै काममा गई बेलुकी मात्र घरमा फर्कंने रहिछन् । आमा घरमा नहुँदा बच्चाको हेरचार पालैशान्ति बुवा तेम्बा र मामा फुर्बा तामाङले गर्ने गरेका रहेछन् । मलाई ढोकैमा भेट्ने तेस्रा श्रेष्ठ थरका युवक भने आफ्नो वासस्थानमा गइसकेको बुझियो ।
चिया खाइसकेपछि अब सुत्ने तरखर गर्नुपर्ला भन्ठानेर मैले यसैबारे सोधनी गरें । ‘राति सुत्ने त यहीं हो । दु:खसुख गरेर बस्नुपर्ला !’ – नानीलाई खेलाइरहेका फुर्बा तामाङले जवाफ दिएँ । ‘के यसै गलैंचामा ? फेरि धूलोको एलर्जी त आप्mनो ठाउँमा छँदैछ’ । मेरो लागि काफ्ले–दम्पत्ति पुनम तथा किरणजीको न्युजेर्सीस्थित निवासस्थानमा बस्ने प्रबन्ध मिलाइएको इमेल पाइएको थियो । प्रवेशाज्ञाका लागि त्यही नै ठेगाना दिएको थिएँ । पछि अधिवक्ता विनोद रोकाजीको निवासस्थानमा बस्ने व्यवस्था मिलाइएको खबर पाएको थिएँ । तर न्यूयोर्कमा सोलोखुम्बुमा वास बस्नुपर्ला भन्ने त सोचिएको समेत थिएन । अमेरिकातिर प्रस्थान गर्नुअघि मैले श्रीमतीसित सुटकेसमा एउटा तौलिया हाल्न भनेको थिएँ । अमेरिकामा पहिलो रात बिताउनका लागि त्यतिखेर एउटा तन्ना र तकिया पनि हाल्न भन्नुपर्ने रहेछ भन्ने समेत मनमा विचार उब्जियो । कल्पनाभन्दा यथार्थ एकदमै फरक पाउँदा म बिखलबन्दमा परें ।
एकाएक मेरा मित्र चन्द्रकान्त आचार्यको इमेलको सम्झना भयो । म न्यूयोर्क आउने समाचार थाहा पाएर उनले आप्mनो पूर्व नियोजित कार्यक्रममा हेरफेर गरी अमेरिकामा केही दिन अरु बस्ने योजना बनाएका थिए र न्यूयोर्कमा सँगै बस्नका लागि ठाउँको पनि व्यवस्था गर्न सकिने उनले आश्वासन दिएका थिए । त्यति मात्र कहाँ र ? उनले मेरी श्रीमतीलाई समेत इमेलमार्पmत् सूचना गरेका थिए ‘कृष्णको अमेरिका बसाईबारे कुनै चिन्ता गर्नुपर्दैन । म अमेरिकामा नै छु र यहाँ निकै असल साथीभाइहरु छन् ।’ मेरो मोबाइलले अमेरिकामै नाति अनन्तलाई फोन गर्दा र मास्कोमा फोन गर्न लाग्दा पनि काम नदिएको हुँदा आतीथेयहरुकै मोबाइल मागें फोन गर्न । सुरुमा चन्द्रकान्तजीलाई नै फोन गरेर रुसी भाषामा न्यूयोर्कमा पहिलो वासको लागि आप्mनो अवस्थाबारे बोध गराएँ र अनन्तलाई पनि रुसी भाषामै यथास्थिति बताएँ । लामो समयसम्म रुसी भाषामा कुरा गरिरहेकोले आतीथेयहरु छक्क परिरहेका थिए । नेपालीमा कुरा गर्दा मेरो असन्तुष्टिबाट आतीथेयहरुको चित्त दुख्ला भन्ने मलाई लागेको थियो । हुन पनि मुखले नभने पनि मनमनै उनीहरुले अवश्य सोच्न सक्ने थिए : ‘मास्कोबाट आएर बडो पूmर्ति लगाउँदो रहेछ । नेपाली भएपछि नेपालीले जस्तै एक रात काट्न सकिन्नथ्यो र ?
जेनतेन एक रात काट्न नसकिने कुरो थिएन, तर ‘एउटा परिवारको एक मात्र कोठामा सँगै कसरी रात बिताउने ? लोग्नेमानिस भएकोले मलाई त लौ लाज नलाग्ला तर ।’ मैले नभने पनि आतीथेयहरुले मेरो कुरा गराइबाटै लख काटिहाले र भने पनि : ‘यहाँ बस्न गाह्रो छ भने मोटेलतिर लाग्ने हो कि त ? उहाँसित गाडी त छ !’
‘उनकोमा मिल्ने भए किन यहाँ छोड्थे र ?
‘एकपल्ट मलाई निम्तो पठाउने भारतीज्यूलाई नै फोन गरौ कि त ? ल्याउनोस् मोबाइल फोन !’
‘नौ बजेपछि फोन गर्नुस् ! अहिले त निकै खर्चिलो छ । नौ पनि त बज्नै आँट्यो अब !’
अहो ! त्यतिका बेर घरपतिहरुकै मोबाइलमा कुरा गरियो । पहिले थाहा भएको भए लामो गन्थन गरिने थिएन क्यारे । तर पछि भारतीजीलाई फोन गर्दा कसैले पनि रिसिभर उठाएन… वाशिंगटनस्थित चन्द्रकान्तजीबाट न्यूयोर्कमा निवासको व्यवस्था मिलाइएको सूचना पाइयो : ‘कृष्णजी, भोलिदेखि हामी सबै एकै ठाउँमा बसौला । मास्कोमा पाभ्लेस्कायाको भन्दा राम्रो व्यवस्था त नहोला, तर एक–दुई दिन त हो नि ? तपाई ट्याक्सी लिएर आजै जानोस् !’ ‘पाभ्लेस्कायामा राम्रै थियो नि, चन्द्रकान्तजी ! यहाँ त परिवारको साथमा एउटै कोठामा मात्र होइन कि सुत्ने खाट समेत छैन ।’
अनन्तले पनि पूर्वनिश्चित दुई दिनपछि मात्र नभई भोलिपल्टै न्यूयोर्क आइपुग्ने जनाउ दिंदै मास्कोमा हजुरआमाले अमेरिकाबाट मेरो फोन पर्खेर बसिरहेको खबर गर्यो र मसँग नै कुरा नगरी चित्त नबुझेको समेत सूचित गर्यो । मैले भने कसै गरे पनि मास्कोमा फोन गर्न सकिरहेको थिइनँ । ‘हजुरबुवा, आज एक रात जसरी भए पनि काट्नोस् ! भोलि दिउँसो म आइपुग्छु !’ – अनन्तले कुरा टुंग्याउँदै भन्यो । अब त्यही बैठकमा रात बिताउने निश्चय गरेर होचो टेबुलमा आफूसँग भएको तौलिया ओछ्याएर पल्टने विचार गरे । तर त्यसमा घरपतिहरुले आपत्ति जनाए । भान्साकोठामा पकाउने तरखर भइरहेको हुँदा खारबाट बच्न म बार्दलीमा निस्किएँ । त्यहाँ दुईटा मेच राखिएका रहेछन् र मौसम पनि मनोरम थियो । त्यहाँ नै दुई मेच जोडेर सुत्ने अठोट गरें, तर राति यसरी बार्दलीमा सुत्न नपाइने नियम भएको थाहा पाएर यो योजना पनि भङ्ग भयो । मनमनै ती दुवै मेच कोठामा ल्याएर पलङ बनाउने सोच बनाएँं ।
अनन्तबाट न्यूयोर्कमा मेरो बिचल्लीबारे मास्कोमा उसकी हजुरआमाले थाहा पाएर गैरआवासीय नेपाली संघ रुसका अध्यक्ष मणिराज पोखरेलसँग गुनासो पोखिसकेकी रहिछ । टेक्सासबाट विजय झाको फोन आउँदा यसको पूर्वसंकेत पाइएको थियो र अन्त्यमा मास्कोबाट नै फोन आयो । अनन्तकी हजुरआमाले ज्यादा चिन्ता नगरोस् भनेर न्यूयोर्कमा सबै कुरा ठीक भएको जवाफ दिएँ । त्यतिञ्जेलसम्म सबैका लागि मासुभातका प्लेटहरु टेबुलमा सजाएर राखियो । मैले न्यूयोर्क उत्रनुभन्दा आधा घण्टा पहिले हवाईजहाजमा दिइएको खाना टन्न खाइसकेको थिएँ, तर अतिथिहरुले मेरै आगमनको उपलक्ष्यमा भोजनको आयोजना गरेको चाल पाएर खान अस्वीकार गर्न सकिनँ । मास्कोबाट आएको पाहुनाका लागि तयार पारिएको मासुभात खाने वेला घरपतिनी ङावाङ पनि कामबाट फर्किसकेकी थिइन् र बेपत्ता भएको श्रेष्ठ थरको केटो पनि टुप्लुक्क आइपुग्यो । श्रेष्ठको नाताले नै भए पनि केही कुराकनी गर्नु त परै जाओस्, मेरो कुनै वास्ता नै नगरी बेपत्ता भएकोमा म उसित मनमनै मुर्मुरिइरहेको थिएँ । त्यसैले व्यङ्ग्य गर्दै भनें : ‘म मास्कोबाट यहाँसम्म आइरहेको छु । राम्ररी चिनापर्ची नै नगरी यसरी बेपत्ता हुने हो त ?’
‘चिनापर्ची भइसक्यो नि !’ – उसले झन् ठाडो जवाफ फर्कायो । खाँदाखाँदै मैले उसको बारेमा निकै कुरा थाहा पाएँ । उसको नाम तिलक रहेछ र ऊ गाउने पनि गर्दोरहेछ । अनुकूल मिलेको खण्डमा उसैको वासस्थानमा रात बिताउनुपर्ला भन्ने मनमनै सोच्तै म उसको सामु विभिन्न प्रश्नहरु तेस्र्याउँदै उसको यथार्थ अवस्था बुझ्ने प्रयास गरिरहेको थिएँ । त्यसैले ऊ एक्लो छ कि परिवारसहित अमेरिकामा बसेको छ भन्ने बुझ्न नै म परोक्ष र प्रत्यक्ष खालका प्रश्नहरु सोधिरहेको थिएँ । अन्त्यमा उसको अन्तर्जातीय परिवार नेपालमै भएको र जहानपरिवारलाई न्यूयोर्कमा ल्याउने विचार गरिरहेको थाहा पाइयो । यसरी ऊ न्यूयोर्कमा एक्लै भएको पत्ता लागेपछि भुइँमा नै भए पनि हरसम्भव उपायले उसकै वासस्थानमा रात बिताउने निष्कर्षमा पुगेको थिएँ म ।
शेर्पा–दम्पत्तिको पाहुना बनेर रातको खाना टन्न खाइसकेपछि म तिलक श्रेष्ठलाई ‘लौ हिंड, तिम्रो वासस्थान देखाऊ’ भनेर भन्ने उपयुक्त बेला पर्खिरहेको थिएँ । त्यत्तिकैमा तिलकले स्वयं मलाई भन्यो : ‘दाजु, तपाईं थाक्नुभएको होला । हिंड्नोस्, अब आराम गर्नोस् !’ के खोज्छस् काना ? आँखा ! मैले बोल्नै परेन । आतिथ्यसत्कारी शेर्पा–परिवारलाई सधन्यवाद शुभरात्रिको कामना गर्दै म तिलकको पछि लाग्दै उसको कोठामा पुगें ।
कोठा उति ठूलो थिएन । भित्र पस्ने ढोका रहेको भित्तामा त्यस्तै अरु दुई खापाहरु हालिएका देखिन्थे । बीचको खापा उघारेर मेरो कोट आदि राखियो । दायाँतिर भुईंमै पंखा चलिरहेको थियो भने त्यसै कुनामा मालसामानहरु मिलाएर राखिएका थिए । त्यहीं नै मेरो सुटकेसले पनि स्थान पायो । भ्mयालनेर तन्ना, तकिया र कम्बलसहितको पलङ सजाएर राखिएको थियो । पलङनेरै एउटा सानो टेबुल थियो जसमा केही किताबहरु र नेपालको सानो राष्ट्रिय झण्डा सजाएर राखिएको थियो । त्यसकै मुनि भुइँमा खाटकै समानान्तर एउटा डसना ओछ्याइको थियो जसको सिरानतिर एउटा नोटबुक (कम्प्युटर) पनि राखिएको थियो । यस्तो चिटिक्क परेको कोठा देखेर म आनन्दविभोर भइरहेको थिएँ । भित्ताको तेस्रो ढोकातर्पm संकेत गर्दै ‘अर्को भित्री कोठा हो कि ? भनी जिज्ञासु भावले सोध्दा त्यो कोठासँगै जोडिएको बाथरुम भएको थाहा पाइयो । खोलेर हेर्दा बाथरुम पनि सजाएरै राखिएको पाएँ । तौलिया रुमाल समेत आप्mनो ठाउँमा मिलाएर राखिएको थियो । पलङमा पल्टिहाल्नुभन्दा पहिले हलुका स्नान गर्ने विचार गरी आप्mनो तौलिया आदि लिएर बाथरुमको पनि उपयोग गरिहालेँ ।
तिलक भुइँकै डसनामा थुचुक्क बसेर कम्प्युटर खोली मधुरो स्वरमा गीतको धुन बजाएर सुन्दै थियो । म नुहाईवरी पलङमा लम्पसार परें । तिलकले भन्यो : ‘दाजु, नेपाली साहित्य सम्मेलनमा सांस्कृतिक कार्यक्रम पनि राख्ने भनेर मैले एक महिनादेखि एउटा गीत छानेर गाउन तयार पारेको थिएँ । तर अन्त्यमा यो प्रोग्राम काटियो । दाजुलाई नै त्यो गीत सुनाउन पाएपछि मेरो परिश्रम सार्थक हुने ठान्छु । गाउँ कि ?’ मेरो सकारात्मक उत्तरका साथै कम्प्युटरमा बजेको धूनसँगै तिलकले ख्ुबै तन्मयताका साथ गाउन थाल्यो :
बाटो हेरे हुन्छ आमा, म त आउँदै छु
माफ रहोस् सानो कुरा, साथी ल्याउँदै छु ।
कस्तो साथी भन्नु होला, तराईको मान्छे ।
‘कलेजोमा पोको पारी लैजाऊ पहाड’ भन्छे ।
तिलकको स्वर निकै मीठो लाग्यो । यो शम्भु राईले गाएको गीत हो भन्ने थाहा लागेपछि तिलकको स्वरको तारिफ गर्दै सोधें : ‘आप्mनै रचना पनि छ कि ?’
तिलक एक गायक मात्र नभई गीतकार पनि रहेछ । उसले त्यसपछि मेरो अनुरोधमा आफूले रचेका केही गीतहरु पनि गाएर सुनायो । म पलङमा पल्टेर आँखा चिम्लीकन उसको सुमधुर कण्ठको स्वर सुनिरहेको थिएँ ।
…परदेश जाँदा भन्थ्यौ तिमी ‘छाडेर नजानू !
धनको लोभमा यो दु:खीलाई चटक्कै नभुल्नू !’
कहाँ गए ती बाचा ? कहाँ गयो त्यो तिम्रो माया ?
निको नहुने घाउ लाग्यो दिलको दायाँ–बायाँ ।
…तिमीलाई भनी ल्याएको कोसेली साँचेर राखेको छु ।
तिम्रै यादमा हरदिन हरपल रोएरै बाँचेको छु ।
तिलक एकपछि अर्को गीत गाउँदै थियो । कुन्नि, कुन बेला हो, म भुसुक्कै निदाएछु ?