गाउँकै होनाहार ठिटो । धामी बस्दा सेउली, फुर्काे, लिसो खोजेर जुटाइदिने । बिजुवाको ढोल बजाउने । अर्म पर्म, बाली खाँदादेखि कुखुरोले बिस्कुन खाको निउमा बाझो चल्दा हात मिलाइदिने । बिमारीलाई हेल्थपोस्ट लाने, छोरीलाई जुवाइँ, छोरोलाई बुहारी खोजीदिने । पुराणमा शंख, मर्दा शंख बजाउने उही । पिङ्गो लठारो, बाबियो खर्काे कुचो, घ्याम्पो अड्याउने बिडो, सिमेन्टको बोरा उधारेर दाम्लो, नाम्लो डोरी, बरियो बाटने उही । उधौली, उभ्यौलीमा सिली नाच्ने, माघेसङ्गराटीमा हुर्रा, पैसडी, कौराहा नाच्ने, सेलोमा डम्फु, देउसीमा मादल, भजन, बालनमा खैजडी र झ्याली बजाउने उही । मानौ गाउँको ऊ प्रेरणा हो, तोक्चे, कुलो कुलेसो हो । उसलाई बुढाबुढीदेखि नानीबाबु समेतले खोज्थे । स्कुलमा सरहरुदेखि विद्यार्थीको प्रिय । पढाईमा उस्तै अब्बल ।
ऊ सम्पादक न प्रकाशक न कवि लेखक । गाउँको टिक्टके मोबाइलमा बज्ने एफएमले प्रसार गथ्र्यो उसले लेखेको ’डाँडा घरे’ शीर्षक रहेको कविता । मोबाइलको टर्चलाइट बालेर गीत गाउँदै घरतिर झरेको बुबाको ठाडे भाकालाई टिपोट गर्ने । अझै पनि अगुल्ठो हल्लाउँदै हिँड्ने हलीदाइको कथा लेख्थ्यो । ऊ साहित्यकार पनि होइन । गाउँको धाननाचमा गाउने, घाँसे, दाउरे, गोठालेले गाउने, खेतालाले खेल्ने रामदली, गुनगुनाएर भिडियो बनाउने पोस्ट गर्ने, ऊ गायक पनि होइन । फोटोग्राफर पनि होइन तर आमाले दुहुने दुधेरो, बुबाले खेलाउने फ्याउरी प्यारीले भैंसीको गोबर सोर्दै नाचेको नक्सा, डाँडामा चट्याङले मारेको रुखको रेखाचित्र कोथ्र्यो र डाटा लिएर चलाको फेसबुकमा हाल्थ्यो । ऊ सोच्थ्यो गाउँको अनुहार परसम्म पुगोस् । गाउँमा बाख्रो तुहेको चोट र केन्द्रमा नेता तुहेको चरित्रको खोट हाल्थ्यो टुक्का बनाएर । मुक्तक, हाइकु, टुक्का, छेस्को आदिसँग मिल्दो भावहरु तुको तु सुनाउँथ्यो गाउँलेलाई । ऊ आँशु कवि पनि होइन ।
तर बाह्र पास गरेपछि उसले अरुले झैं विदेशको सपना देख्यो । पैसा कमाएर गाउँमा केही गर्ने । हेला बन्दै गएको गाउँमा चुम्बक राख्ने सोच्यो । त्यो चुम्बकले गाउँले दह्रा पाखुरा र छेपारीलाई अन्यत्र जानबाट रोकोस् । छिमेकी गाउँबाट त्यस्तै खिरिला ज्यान र दुर्दर्शी मस्तिष्क भएका तरुणहरुलाई तान्न सकोस् भन्ने एउटा सपना बुन्यो उसले । त्यो सपना गाउँमा बसेर पूर्ण हुने देखेन । बैंक र सहकारी संस्थाबाट ऋण लिएर सपना बुन्ने सम्भवना पनि देखेन । संस्थाबाट ऋण लिने प्रक्रिया पनि अप्ठ्यारा नै थिए । घरबारी बन्धक राखेपनि उसलाई चाहिने ऋण दिन नसक्ने । एकातिर घरबारी धितो राखेर ऋण झिक्ने सहमति घरबाटै नदिन सक्थ्यो ऋणको शब्दले तर्सने परिवारले ।
अत: आफ्नो खुट्टोमा उभिनु नै सार्थक सोच्यो र भाषा सिकेर अस्टेलिया जाने जाचोमा लाग्यो । थोत्रो झोला बोकेर शहर झर्यो । शहरमा ठेगिनु लर्तर थिएन । बस्ने कोठादेखि पिउने पानी समेत कन्नुपर्ने । र पनि उसले खोजेर काम गर्दै वैदेशिक भाषा पढ्यो ।
मिहिनेतको प्रतिफल भाषा परीक्षामा उच्च अंक ल्याएर पास गर्यो । अस्टे«लिया जाने बाटो सम्मियो । तर बाटोको खाजा सामल र खर्चको विषय आयो । त्योभन्दा धर्नासो टोक्ने विषय थियो चालिस लाख बैंकमा जम्मा पूँजी देखाउनु पर्ने । बिहान खायो बेलुका के खाने भन्ने स्थितिको घरलाई झनै गिरिराज भालेले घरको धुरी चढ्ने सपना जस्तै भयो ।
यद्यपि ऊ हार्न नजान्ने, कहिल्यै नथाक्ने विशेष शक्तिमान् युवा । घर आएर बाउआमालाई आवश्यक थैलो सुनायो । चालिस् लाख भन्ने वित्तिकै कुनोमा गुन्द्री ओछ्याएर ढल्कन खोज्दै गर्या बुढीबजैले सोधिन् ’चालिस लाख भन्या कति हो नाति ?’ ’झन्डै दुइकोरी तोला सुन, दुइकोरी दुहुनो भैंसी, त्यति नै हलजुरे गोरु बराबर बजै ।’ ’आमामा बोक्न नसक्ने पैसा कहाँबाट ल्याउने ? हाम्रा सबै आफन्तका बेचे पनि पुक्दैन । कस्तो अँगालोले नखाम्ने सपना हेरेको रुपे । फुपू, दिदी, बहिनीलाई नाङ्गेझार गरे पनि पुग्दैन ।’ बजैले सुस्केरा तानिन् । ’हजुरको नातिले अपतेरो सपना देख्यो । चालिस लाख कहाँबाट ल्याउने, के गर्ने आमा । परीक्षामा राम्रो अंक ल्याएको हुनाले भिसा लाग्ने ९९% प्रतिशत सम्भावना थियो ।’ रुपकको बाउले चिरपटले छापेको तलातिर हेर्दै भन्यो । ’खै के गर्ने त ?’ रुपककी आमाले पीडा बिसाइन् ’गरीब हुनु पनि अभिशाप नै रहेछ । तर मेरो छोराले लगाको गुणको फल अब ऋणको रुपमा माग्नुपर्छ गाउँलेसँग ।’ ’एकदुइ हजार होर गाउँलेले ऋण दिन्छन् । यति बेला गाउँले नै आय बिनाका छन् । धेरैजसो परदेश गाका युवाहरु फर्किसकेका छन् कोरोनाको कारण ।’ रुपकको बाउले सिन्कोले भुइँ कोर्दै भन्यो । ‘अघि रुपकले बजैलाई चालिख लाख भनेको दुइकोरी तोला सुन, दुइकोरी दुहुनो भैंसी दुइकोरी हलगोरु भनेको होइन ।’ ‘हो ।’ रुपकले ख्याम्सो मन बनाउँदै भन्यो । ‘छोरो तँलाई प्रत्येक घरको आन्द्राभुँडी थाहा छ, सम्झी त हाम्रा गाउँलेसँग कति सुन र चाँदी होला । कति माउ दुहुनो भैंसी, गाई होलान् । कति हल गोरु, खसी, बोका, बुच्चो सुङुर र ज्याङ्ली होलान् ?’ रुपक बुरुक्क उफ्रन्दै करायो ‘गुड आइडिया आमा । गाउँलेले पत्याए भने पचास लाखै जमा गर्ने रहेछौँ । तर बिक्री गर्ने कसरी । बेच्ने कहाँ ? किन्ने को ? समस्या त छ ।’ उफ्रेको रुपक सम्झेर थचक्क थच्कियो । ‘हामीसँग पो पैसा छैन, पैसा हुनेहरु थुप्रै छन् । भैंसी, गोरु, सुन नपुगे खसी बालगिरीमा ल्याउने पैसावालाकहाँ अधानो राख्ने ।’ ‘बिसासे त ठीक छ, सासे त मर्न सक्ला, बिमार होला । अनि हामी त बालगिरी र अधानो दोहोरो मार्मा पर्ने भयौँ नि रुपककी आमा ।’ रुपकको बाउले भइपरिआउने समस्याको शंका ब्यक्त गरे । ‘जँघार पनि तर्ने खुट्टो पनि कमाएर हुन्छ त । छोरालाई लक्षित देशमा पुर्याउन सक्यौँ, आगामी समस्या छोरोले छाँस्दै जाला । अनि छोरो टुङ्गोमा पुगेपछि धेरैजसो पैसा निकाल्न मिल्दो रहेछ । छोरो नगइन्जेल दोहोरो ब्याजमा पर्ने भइयो । लड्ने मर्ने पर्ने परिरहोस् । हरेक भइपरि आउने समस्यासँग लड्नै पर्छ ।’ रुपककी आमाको दरिलो सुझाउलाई सबैले शिरोधार्य गरे । भोलिपल्ट रुपक, बजै, आमा, बुबा र टाँरको कुनामा स्थापित देवरुपी कुल पितृसँग बल मागेर गाउँतिर लाग्यो । भोलिपल्ट ठूलो साँझमा उज्यालो अनुहार लिएर घर आयो । सबैले सोधे । रुपकले आमाको परिकल्पना अनुरुप काम फत्य भएको सुनायो । सबै गाउँलेले रुपकलाई विश्वास गरेर कसैले नाक, कान, हात, खुट्टा नाङ्गो पारेर सुन चाँदी दिए । सकुशल फर्काउने, दूधको पैसा दिने शर्तमा दूहुनो भैंसी गाई फुकाइ दिने भए । खसी, सुङुर, कुखुरा, परेवादेखि जिन्सी माल समेतले मद्दत गर्ने भए । सुनचाँदीदेखि दुहुना गाई भैंसी केही महिनाका लागि बन्धकी राखेर पैसा दिने आग्रहलाई पल्ला गाउँका हुने खानेले पनि स्वीकारे । दुहुनो गाई भैंसीको साटोमा लाग्ने ऋणको ब्याज नलिने भए, ब्याजको बदलामा दूधबाट असुली गर्ने भए । आदि इत्यादि रुपकबाट सुनेपछि पुरै घरमा रौनकता छायो । बूढी बजै उठेर एकफन्को नाचिन् धपारे भाका गुनगुनाउँदै ।
भोलिपल्ट गाउँका दुहुनो वस्तुहरु एकदुई महिनामा फर्काउने बाचाबन्धनमा पल्लो गाउँमा रुपक र उसका साथीहरुद्वारा डोर्याउँदै लान थाले । देख्ने र कुरा सुन्ने बटुवाहरु छक्क परे । विषयलाई उदाहरण बनाएर प्रेरणाको रुपमा भेला हुने स्थानतिर सुनाउन थाले । साँच्चै ख्यालख्यालैमा सुदूर गाउँमै ठूलो थैलो जम्मा भएर रुपक अस्टे«लिया उड्यो । अस्टे«लियामा रुपकले पढाइको साथै उब्रेको समयमा काम गरेर पैसा कमायो । छोटै समयमा गाउँका वस्तुभाउ र गरगहना, प्रत्येक दातालाई चित्त नदुखाई फर्काउन सफल भयो । त्यसपछि घरमा आवश्यक खर्च बाहेक एककन्चो पठाएन । भाइ बहिनीको आइफोन, बुबाको सदरमुकाम झर्ने, आमाको गाउँका महिलाका भन्दा ठूलो छट्के तिलहरी भिरेर तीजमा सगुनी र माघ्यामा ठूलो सिरफूल लगाएर हुर्रा नाच्ने सपना अधुरै रहे । कति साथीहरुले क्यामरा, मोबाइल, घडी मागे तर पठाएन । त्यो बेला सहयोग गर्ने कतिपयले स्वार्थी समेत भने । गाउँमा हावा चल्थ्यो ‘रुपक त एउटी अघोषित श्रीमती लिएर बस्छ अरे ।’ कसैले सिरेटो हान्थे ‘रुपकको पैसा खाने त अर्धनग्न भइ नाच्ने रओसेनी पो छ’ रे ।’ यदाकदा भुमरी चल्थ्यो ‘भाइमाराले पाँच करोड लुकाको छ’रे ।’ कहिले हुरी बेगिन्थ्यो ‘उतैको नागरिक भएर सेतो महल किनेर मोज जोत्दै छ’ रे । आदि इत्यादि । साँच्चै रुपक एउटी सुन्दरी केटी साथीको रुपमा फसेर होइन पैसा बचाउने आशयले एउटै कोठामा बसेका छन् । बिस्तारै रुपकले लख काट्यो उसको कोठे साथी त औंलो दिदा डुडुलो निल्ने प्रवृत्तिको रहिछे । एकदिन त भरै सँगै सुतौँ है भन्ने प्रस्ताव राख्यो कोठे मित्रले । ‘बिहे नभइ सँगै सुत्नु पाप लाग्छ अरे ।’ रुपकले गम्भीरतापूर्वक भन्यो । ‘कसले भनेको ?’ रुपक छेउमै टाँसिन आइ साथी । रुपकले अलिक पर सर्दै भन्यो –’गाउँकी गोथी लठेप्रीले भनेकी । त्यति मात्रै हो र बिहे नभई एक अर्काका जीउ हेर्न पनि पाप लाग्छ अरे ।’ ‘उँ त्यो पाखे लठेप्रीलाई के थाहा लाइफको महत्व । अरे यार कुमारीत्व, अस्मिता, इजत अनि बिहे सबै वाइयात हुन् । श्रीमान् श्रीमती र बाउ आमा बन्ने कुरो धेरै पछिको कुरो हो । अमूल्य लाइफ इन्जोय गर्नुपर्छ । हामीले इच्छाएको हरेक कुरोको पुर्ताल गर्र्छाै । तर हाम्रो यौन इच्छालाई चाहिँ किन संस्कारको डोरीले पाता फर्काएर राख्ने ? त्यसैले मोज गरौँ रुपक । तिमी र म उमेर पुगेको तरुणी तन्देरी । पछि विचार मिले बिहे गरौँ, नमिले आ–आफ्नै बाटो छँदै छन् । अनि गाउँमा जस्तो चियोचर्चाे कसले गर्ने यहाँ ? कोठाबाट निस्केपछि गाउँले भाषामा पवित्र हुन्छौँ ।’ रुपक छक्क पर्दै भन्यो ‘कति स्वतन्त्र सोच । तर मैले यो जीवन त्यो सुदूर गाउँमा घाँस जाँदा डोको बोकी दिने, खेतालो हिँड्दा कोदोलो बोकीदिने, कचियाले हात काट्दा रुदिलो माडेर लगाई पछेउरीको छेउ च्यातेर बाँधिदिने, मलाई भन्दा धेरै दुख्नेलाई जुठो र खोट नपारी यो तन समर्पित गर्ने पस्टन खाको छु, त्यो तारे भीरलाई साक्षी राखेर ।’ ‘ह्या रुपक तिमी उन्नाइसौं शताब्दीको कुरो नगर न । यार युग कहाँ पुग्यो । उसैलाई पार्टनर बनाउने भए पनि चोखै छु भन्नु क्या । कसले परीक्षण गर्ला जुठो कि चोखो भन्ने ।’ ‘सरी !! म उसलाई धोका दिन चाहान्न । आज म द्विविधामा परेँ, फस्ट डिभिजनले बाह्र पास् गर्ने बाठी कि आठ कक्षामा फेल भएर अघि बढ्दै गरेकी ठँस्स घुर गन्हाउने बाठी । ऊ अर्काको पसिना सित्तैमा खाँदा मर्दा पार नहुने कुरो गर्छे । तिमी म, ढाक्रेको छोरोबाट दुहुनु मात्रै खोज्छौ । म त्यति छिट्टै दूध नपघार्ने लात्ती हान्ने गाई परेँ । नत्र मेरो सपनाका पात जति तिमी जस्ती सुन्दरी झुस्लेहरुले खाएर डाँक्लो मात्रै राख्ने थिए । अत: कृपया भोलिदेखि हामी अलग अलग बस्ने ल । तिमी खोज इसारामा घुम्ने बचेरो, हेर म कहिल्यै भुल्दिन घाँस काटेर, भारी हालेर, बोकाएर अघि लाउने गाउँकीलाई ।’ ‘ओके !! पाखे पाखे नै हो । मैले बिहे गरौँ भन्या हो र । मान्छेको जुनी वान टाइम, इन्जोय गरौँ भनेर र पो । मन्जुर, भोलि कोठा खोजेर सिफ्ट हुन्छु । सर्गमले बोलाउँदैथ्यो, त्यो ओबर ड्रिंक र स्मोक गर्छ र डिनाई गरेँ थेँ । अब तिमी नो भन्छौ मैले लभ यू भनेर भएन । हुन्छ मनपरेको मान्छे हुटिट्याउँ निस्के पछि सोच्न त पर्यो ।’ ‘पूजा सरी ल ।’ पूजा जवाफ नदिनै फन्केर बुङ्बुङ् हिँड्दै, घुम्ती काटेर ओझेल परी । पूजा गएपछि एक्लैले कोठा भाडा तिर्न निकै नै हम्य पर्यो रुपकलाई । तर छिट्टै एकजना पश्चिमतिरको भाइ भेटेर सँगै बस्न थाले । समय सापेक्ष बन्दै गयो । थुप्रैले पीआरको लागि दर्खास्त गरे । तर ऊ नेपालमै जन्मेको माटोलाई खोस्रँदै बाँच्न चाहन्थ्यो । आठ वर्षपछि रुपक गाउँ फर्कियो । पुरै गाउँ रमाए हाम्रो अभियन्ता आइपुगे भन्दै । घरका परिवार भने त्यति खुशी थिएनन्, उनीहरुले कल्पेको इच्छाएको सामान नपाउँदा । घर आइपुगेको सातादिनमा पुरै गाउँलाई डाकेर बर भञ्ज्याङ्मा भेटघाटको कार्यक्रम गर्यो । अग्रजलाई खुट्टो छोएर, बराबरीकालाई हात मिलाएर, सानोलाई अँगालो मारेर सम्मान गर्यो । अलिक पर्तिर ठूल्ठूला खर्कुडा र डेक्चीमा मासु, चाम्रे, खीर, पुरी बनिन्दै थियो । गाउँभरि चर्चा थियो परदेशबाट आएको खुशीमा पल्लो गाउँले समेतलाई भोज दिंदै छ । जिल्लाबाट कृषि विज्ञसँगै पालिकाका वडाका अध्यक्ष लगायत विज्ञ कर्मचारी समेतको उपस्थिति थिए । परिचय सकिनासाथ रुपकले ठूलो कृषि उत्पादक भूमि खोजीको कुरो राख्यो । त्यो फाराममा केही युवाले जागिर पाउने र हरेक महिनाको शनिवार निशुल्क कृषि तालिम दिने कुरो राख्दा अति हर्षको ताली बज्यो । रुपकको जयगानले गुञ्जायमान बन्यो । गाउँलेहरुले पनि आफ्नो श्रम नपाएर बाँझिएको जग्गा न्यूनतम वार्षिक भाडामा दिने प्रण गरे । भेलामा पालिकाको अध्यक्ष वडाका प्रतिनिधि समेतले सकेसम्म सहयोग गर्ने, बजार व्यवस्थापनको लागि अन्य पालिका सँगै नगरपालिकाहरुसम्म पहल गर्ने वचन दिए । रुपकले त्यो गाउँको मुहार फेरिदियो । सक्रिय श्रमजीवी पाखुरो र छेपारीलाई आधुनिक कृषितिर आकर्षित बनायो । वरपरका उपभोक्ताहरुलाई सजिलो भयो । बेमौसमी सब्जी, नसुनेको नदेखेको फलहरु खान पाए । विदेश जा भन्ने अभिभावकहरु रुपकले जस्तो घरमै बसेर आफ्नै खेतबारीमा खुशी फलाउ भन्ने सुझाव दिन थाले । दुइतीन दिनदेखि सबैले घाम सोचेको रुपकको अनुहारबाट उज्यालो निभेको देखे । धुम्धुम्ती बसेर पारी पाखातिर टोलाई रहेको रुपकलाई ४ नम्बरको वडा अध्यक्षले सोध्यो –‘के भयो भाइ ?’ ‘चोट लाग्यो ।’ ‘कसले चोट दियो ?’ ‘तपाईंहरूले ।’ ‘हामीले’ अध्यक्ष झस्कियो ‘कसरी ?’ ‘समयमै मलको व्यवस्था गर्न नसकेर । हेर्नाेस् त मकै पहेँलिए, धान पहेँलिए युरिया नपाएर । यसरी कृषिप्रधान देश हुन्छ ? केही गर्न युवा कसिन्छन्, मौसमी प्रतिकूलता र राज्यको डारु पनिउँ समात्नेका अदूरदर्शिताको कारण फेरि रुँदै युवा अर्काकै हली बन्न विदेशै ताक्न विवश हुन्छन् । उफ् ! कहिले जाने देशबाट पर निर्भरता । आतेस लाग्छ पोर पनि घाटा लाग्यो । यस्पाली पनि ढुसी पर्ने भो मेरो सपनामा । फेरि विदेश जा भन्ने बुबाको घन ठोकाई शब्द दोहोरिने भयो ।’ ‘त्यो केन्द्र सरकारको कमजोरी हो भाइ ।’ ‘खै स्थानीय सरकारले जनता पीडा बोलेको । केन्द्रले जसो गर्यो त्यसै मान्ने ?’ ‘तीनै नेताका कृपाले पाएको टिकट । हामी विवश छौ भाइ । भावनाले राजनीति हुँदैन ।’ ‘बाटो उस्तै, खानेपानी त्यस्तै, तेलको महँगाई, समानले हेरेका आकाश, देउतालाई चढाउने फूल त अरुकै पसिना । ऊर्वर भूमिमा बाटो घर बजार ………थ्यत् भोलि के हुने हो देशको हालत’ भन्दै बुङ्बुङ् हिँड्यो पल्लो छेउतिर । अध्यक्ष ट्वाल्ल परेर हेरिरह्यो रुपक गएकोतिर ।