केही खवर लेखेर पठाउनु छ
यिनै चिठीबाट
लेख्नु छ हुलाक हराएको खबर
सनाउनु छ गाउँ बिग्रिएको कथा
एक्लिएको थोत्रो देउराली
जीवन छुटेको गोरेटो
यिनै चिठीमा लेख्नु छ
भन्नू छ कथा
दन्त्य फूलहरूको
टिप्न नपाएका साना-साना खुसीहरूको
विधवा गुराँस र मलामी नदीहरूको
तिमीलाई पठाउनु छ
सुर्केथैलीझै खुम्चँदै गरेको
माटोको सुगन्ध
र हराउदै गएको सगरमाथाको रङ
कुहिना टेकेर उभिएको छाना
ऐँजेरू लागेका घरका भित्ताहरू
धमिराले देवल उठाएको ढिकी
मुसाले पनि छाडिगएको ढुकुटी
रित्तो दलान
र लेउ लागेको आँगन
यही चिठीमा लेखी पठाउनु छ तिमीलाई
अन्त्यमा लेख्नु छ
मुस्कुराउन भुलेको ओठ
र तिम्रो बाटो हेरेर बलेसी कुरिरहेका
बूढाबूढी आँखाहरूको कथा ।