पागल डफ्फा : कारागारमा पागल डफ्फा भनिने अर्को एक विभाग पनि हुन्छ । कारागारमा थुप्रै पागलहरु हुन्छन् नै । उनीहरुको वासस्थान अरुको भन्दा बेग्लै हुन्छ । उनीहरुमाथि निगरानी राख्नका लागि बिहान एउटा र साँझ एउटा सिपाही खटाइएको हुन्छ । यस्ता पागल कैदीको निगरानीका लागि केही मानिसहरु खटाइएका हुन्छन् । कतिपय अवस्थामा सद्दे अवस्थामा जेल परेका कैदी जेलभित्रै पागल हुन पुग्छन्, किनभने जेलको जीवन सहनु निकै कठिन कुरा हो । कतिपय भने नजिकका आफन्तको हत्या गरेका कारण मानसिक सन्तुलन गुमाउन पुग्छन् । उनीहरुको मानसिक अवस्था सामान्य नहुञ्जेल उनीहरुको मामिलाउपर कुनै पनि सुनुवाइ हुँदैन । फरिदपुरमा एकजना प्रहरी जवानले आफ्नी श्रीमतीको वफादारीमाथि शङ्का भएकै कारण श्रीमती र छोराछोरीको हत्या गरेछ । उसलाई आजीवन कारागारको सजाय भयो । तर उसले जेलमा मानसिक सन्तुलन गुमाएछ । कतिपय भने जेलबाहिरै पनि सन्तुलन गुमाउँछन्, तर पनि न्यायाधीशको आदेशले जेल चलान हुन्छन् । यस्ता पागल मानिसमध्ये कतिपय पछि ठीक पनि हुन्छन्, तर कतिपयको अवस्था भने पहिलेको भन्दा नराम्रो पनि हुन्छ । संसारमा रहेका असङ्ख्य प्रकारका पागलहरुबारे जान्नलाई जेल नै पुग्नुपर्छ । मचाहिँ भाग्यमानी मध्येको एक हुँ कि अभागीहरुमध्येको, त्यो म भन्न सक्दिनँ । तर अहिले मलाई जुन कोठामा राखिएको छ, त्यो पागल कैदीहरु राखिएको कोठाको नजिकै छ । जब रात पर्छ, यी पागल झनै पागल भएजस्तो गर्छन् । उनीहरुलाई ४० नम्बरको कोठरीमा राखिएको छ । यसभित्र पनि सबैलाई स–साना छुट्टाछुट्टै कोठरीमा थुनिएको छ । धेरैजसो चुपचाप रहन्छन् तर अरु रातभर गीत गाउँछन् — सबै प्रकारका गीत । यसलाई पागलहरुको सङ्गीत भन्न सकिन्छ । बेलाबेला खाना खाने थाललाई बाजा बनाएर बजाउँछन् र कहिलेकाहीँ दैलोको पल्ला ठोक्छन् । र बेलाबेला, केही केही पागल भने गाली गर्दा गर्दा रातै बिताउँछन् । यस्तो फोहोरी भाषामा सधैँ कसलाई गाली गर्दा हुन्, कुन्नि …?
धेरै रात उनीहरुको होहल्लाले म सुत्नै सकिनँ । पागलहरुले उनीहरुले सक्दो ठूलो आवाजमा रातभरि होहल्ला गरेपछि को निदाउन सकोस् एउटा पागल बूढो थियो, जो बेलाबेला अनियन्त्रित हुन पुग्थ्यो । ऊ पागल भएर कराइरहँदा उसले अक्सर प्रयोग गर्ने दुई शब्द थिए: अल्लाहु अक्बर (अल्लाह महान छन्) र जिन्दावाद, जसलाई ऊ रात नबित्दासम्म बारम्बार दोहोर्याइरहन्थ्यो । कोही चाहिँ बिँडी खान पाइन्छ कि भनेर सिपाहीलाई बोलाउँथे । भन्थे, “मालिक, यता आउनुस् न ।” यसरी धेरैबेर सिपाहीलाई बोलाइरहन्थे, तर जब धेरैपल्ट बोलाउँदा पनि कोही आउँदैनथ्यो, “मालिक” को सट्टा तिनै सिपाहीको आमा वा दिदीबहिनीका नाममा गालीको कुनै अपशब्द प्रयोग गर्न थाल्थे । उक्त ४० नम्बरको कोठरीका दुवैतिर ससाना अन्य कोठरी थिए । मैले कतिपल्ट गार्डहरुलाई धेरै नै पागल भएकालाई चाहिँ यी साना कोठरीमा राखिदिन अनुरोध गरेको थिएँ । तर यो भन्न गाह्रो थियो — बाँचेका मध्ये कतिले कुन बेला मानसिक सुन्तुलन गुमाउने हुन् र होहल्ला गर्न थाल्ने हुन् । एउटा कराउन थाल्दा अर्को सुतिरहेको हुन्थ्यो । बिहान, दुवैलाई स्नान घर लगिन्थ्यो र पालैपालो नुहाउन लगाइन्थ्यो । पागलहरु नुहाउने मामलामा अत्यन्तै अल्छी हुन्छन् । त्यसैले उनीहरुलाई बलजफ्ती पानीभित्र ठेलिन्छ र चोबलेर नुहाउन बाध्य पारिन्छ । कतिपय पागल भने बाठा हुन्छन् । यसरी चोबलिनुभन्दा अगाडि नै धारामा गएर आफैँ नुहाइहाल्छन् ।
एक दिन मैले उभिएर एउटा पागलले नुहाएको हेरेँ । यसबेलासम्म अर्को पागलले नुहाएर सकेको थियो । घाममा आफैलाई सुकाउन खोजिरहेको ऊ अझै काँपिरहेको थियो । अन्य केही कैदीहरुको अर्को एक पागललाई गलहत्याएर नुहाउन बाध्य पारिरहेका थिए । मेरो छेवैमा घाम तापेर बसेको पागलले एक्कासि भन्यो, “देखिस् यी सबै मान्छे पागल छन् । सधैँ अनौठा अनौठा काम गरिरहन्छन् ।” म खूब हाँसेँ । उसले यो भुलेछ, ऊ आफैँ पूर्ण रुपमा पागल थियो ।
सन् १९५४ मा मैले एउटा यस्तो पागल भेटेँ, जसले त्यसअघि पनि मानसिक सन्तुलन गुमाइसकेको रहेछ । त्यसै बेलादेखि म उसलाई चिन्थेँ । वर्षमा एघार महिना उसको व्यवहार ठीकठाक हुन्थ्यो, तर अन्त्यमा अनियन्त्रित हुन पुग्थ्यो । सामान्य अवस्थाको जीवन बाँचिरहेको बेला ऊ पूरा सज्जनजस्तो लाग्थ्यो । पछिल्लोपल्ट मैले उसलाई देख्दा अन्य मानिसहरु उसलाई हिँडाएर कतै लिएर जान लागिरहेका थिए । मैले आफूले पहिले देखेको पागल मान्छेलाई चिनिहालेँ । उसको नाम काफिलुद्दिन थियो । मैले सोधेँ, “कस्तो छ, काफिलुद्दिन” उसले भन्यो, “म ठीक छु, तर मलाई यिनीहरु छोडिरहेका छैनन् । तिनीहरु मलाई छोड्दै छोड्दैनौ । तिमी फेरि यहाँ आइपुग्यौ” मैले केही भनिनँ र ऊ अगाडि बढ्यो । यसअघि मेरो सामुबाट हिँड्दा ऊ सदैव मलाई अभिवादन गथ्र्यो । ऊ यस दौरान सधैं जेलमै थियो । अझ उसले कति यहीँ बस्नुपर्ने हो, म त्यो भन्न सक्दिनथेँ । यस्तै अर्को पागल बूढो थियो जो मलाई देख्यो कि अङ्ग्रेजी बोल्न थाल्थ्यो । पछि सोधेपछि मैले थाहा पाएँ, ऊ विगतमा गाउँको एउटा अङ्ग्रेजीको शिक्षक रहेछ । तर कसोकसो उसले दिमागको सन्तुलन गुमाउन पुगेछ ।
एक दिन जब म श्रीमतीलाई भेट्न कारागारको प्रवेशद्वारतिर गइरहेको थिएँ, मैले अन्य सबै पागललाई थुनिएको एउटा कक्षको ढोकामै एउटा पागल कैदीलाई देखें । मलाई देख्नासाथ उसले भन्यो, “मलाई एउटा पनि सिग्रेट नदिई तिमी कसरी सिग्रेट पिइरहन्छौ” मैले भनेँ, “आऊ न, म दिइहाल्छु नि ।” फर्कंदा देखें, उसलाई अघि नै अन्य पागल कैदीहरुसँग थुनिसकेछन् । ऊ रिसाएको बेला सबैलाई सताउँथ्यो र मानिसहरुलाई पिट्थ्यो पनि । एकपल्ट ऊ कुदेर एउटा सिपाहीले ड्युटी गरिरहेको ठाउँमा पुग्यो र सिपाहीले बोकेको लाठी खोस्यो । अनि त्यही लाठीले उक्त सिपाहीलाई पिट्न थाल्यो । परिणामस्वरुप सिपाहीको निधारमा गहिरो चोट आयो । उसले भने कसोकसो आफूलाई बचायो । पछि अन्य सिपाही र कैदी कुदेर आए र उसको हातबाट लाठी खोसे । करिब एक घण्टा जति त कसैले उसको छेउ पर्न सकेको थिएन । यस्ता कतिपय पागल कैदी छन्, जो कुनै विशेष सिपाहीलाई देख्यो कि जाइलागिहाल्छन् । यस्तो अवस्थामा पागलहरुको कक्षको वरिपरि त्यी सिपाहीलाई खटाइँदैन । कुनै पागललाई रिस उठाउनु वा उसका विरुद्ध गाली गलौजका शब्द प्रयोग गर्नु भनेको उसलाई झनै पागल तुल्याउनु हो । यस्तो बेलाको एकमात्र औषधी भनेको पानी हो । यस बेला उनीहरुलाई भोलिपल्ट पानीमा चोबल्छौँ भन्ने डर देखाउन सकियो भने चुप लाग्छन् । म भने यी पागलहरुलाई बेला बेला बिँडी किनिदिन्थेँ र मसँग खुसी रहन्थे । तर यसपालिको जेल बसाइमा भने मैले यसो गर्न सकेको थिइनँ किनभने मलाई राखिएको कोठाबाट बाहिर जाने अनुमति थिएन र बाहिर अरुसँग बोल्ने पनि अनुमति थिएन ।
अर्को डफ्फा हो शैतानको कल अर्थात् डेभिल्स इन्जिन डफ्फा । यो के रहेछ भने मैले जब सोधेँ, मलाई भनियो, यो कम्बल फेक्ट्री हो । ढाका जेलमा यस्तो एउटा फेक्ट्री छ, जहाँ गुणस्तरीय कम्बल बनाइन्छ । कैदीलाई हिउँदका लागि तीनवटा र बर्खाका लागि दुईवटा कम्बल दिइन्छ । ढाका कारागारभित्रको यस फेक्ट्रीले देशभरका सबै कारागारमा चाहिने कम्बलको आपूर्ति गर्छ । यहाँ, बाहिरबाट किनिएको ऊन र कपाससहित कैदीहरुलाई काममा लगाइन्छ । कारागारमा लामो समयदेखि रहँदै आएका कैदीलाई फेक्ट्रीमा काम गर्न सिकाइन्छ । यहाँ बनेका कम्बललाई बाहिर बेच्ने पनि गरिन्छ । मैले एकपल्ट एक कैदीलाई सोधेँ, “किन यस फेक्ट्रीलाई शैतानको कल भनेको” उसले भन्यो, “सर, जब कपास उडेर, हाम्रो कपाल, अनुहार, लुगा – सबैतिर बस्छ, तपाईंले हामीलाई चिन्नै सक्नुहुन्न । सबै धुलो र कपासको भुवाले भरिएका हुन्छन् । बेलुका नुहाएपछि मात्रै खाना खान सकिन्छ । हामीले नुवाइधुवाइ गरेनौँ भने र अनुहार सफा गरेनौँ भने हामीलाई कसैले चिन्दैन । कपाल, अनुहार र शरीरभरि कपासको भुवा हुँदा हामी शैतानजस्तै देखिन्छौँ । त्यसैले यसलाई शैतानको कल भनिएको हो ।”
दर्जी खाटा (सिलाइ विभाग) : ढाका जेलमा निर्माण गरिने धेरै सामग्रीमध्ये कम्बल, कैदीका लागि लुत्ताकपडा, टेबल, मेच, पलङ र सोफा पनि पर्छन् । यी ठूलो शाखा हो । पुलिस विभागका कर्मचारीका लागि पोसाकको उत्पादन पनि यहीँ गरिन्छ ।
मोची खाटा (छाला विभाग) : यस विभागमा जुत्ता बनाइन्छ । यहाँ आधुनिक मसिन राखेर तथा कामदारको ज्याला बढाएर गुणस्तरीय उत्पादन गर्न सकिन्छ । कैदीहरु काम गर्न त्यति रुचाउँदैनन् । उनीहरु जसोतसो कामबाट भाग्न चाहन्छन् । एक दिन बित्यो, दुई दिन बित्यो भनेर दिन गन्नेमात्रै हुन् । यदि उनीहरुलाई बढी काम गरे बढी पैसा आउँछ भन्ने कुरा बुझाउन सक्ने हो भने काम गर्छन् ।
म अब केही घटना सुनाउँछु, जसमा खाना कम भएकै कारणले आफ्नी श्रीमतीसँग सम्बन्ध विच्छेद गर्न तयार केही कैदीहरुका कुराको घटनासँग सम्बन्धित छ । जेलजीवनबारे भन्नलाई एक दुईमात्रै होइन, सयौं कथा छन् । जब म पहिलोपल्ट जेल परेँ, धेरै कुरा बुझ्न गाह्रो भयो । उदाहरणका लागि, पहिलो दिन एउटा गार्डले आएर मलाई भन्यो, “मलाई बिरामी मान्छे भेट्न जानु छ ।” मैले केही नबुझेर उसलाई केहीबेर हेरेँ । अनि मैले सोधेँ, “को हो त्यो बिरामी मानिस भनेको” उसले भन्यो, “यो भनेको औषधि पाउने ठाउँ हो । मलाई औषधि लिन त्यहाँ जानुपर्ने छ ।” मैले बल्ल बुझेँ, कारागारमा आफ्नै प्रकारको शब्दावली हुँदो रहेछ । सुरु सुरुमा मैले भाषाको यस प्रकारको प्रयोग बुझ्दै बुझिनँ ।
श्रेणी दिइएका कैदीमध्ये बारिसालका बारी र वाहब पनि थिए । हामी सबै एउटै क्वार्टरमा थियौँ । बारी अस्पतालमा लेखकको रुपमा कार्यरत थिए, र वाहब यसै पदमा कुनै उद्योगमा कार्यरत थिए । उनीहरु मामाफुपूका छोरा थिए । दुवैलाई जन्म कैदको सजाय सुनाइएको थियो । हालसम्म उनीहरुले कारागारमा आठ वर्ष बिताइसकेका थिए । जमिनको विवादमा उनीहरुलाई यो सजाय सुनाइएको रहेछ । वाहब यहाँ आउँदा घरमा सानो छोरो छोडेर आएका रहेछन् । उनी देख्नमा साह्रै सुन्दर एक जवान पुरुष थिए । घरमा उनकी बिधवा आमा रहिछन्, जो उनी जेल परेको एक वर्षपछि स्वर्गे भइछिन् । अब श्रीमती र छोरोमात्रै रहेछन् । उनी जेल पस्दा छोरो एक वर्षको मात्रै थियो रे, र त्यसपछि उनीहरु भेट भएकै थिएन रे । बारीका भने एक छोरो र छोरी रहेछन् । उनी जेल परेपछि छोरीको बिहे भएछ । उनी सदैव तनाबमा देखिन्थे । उनी केही बोल्दैनथे र अरुले सोधेको कुराको जवाफ पनि दिँदैनथे । उनी कुनै पनि लफडाबाट टाढै रहन्थे । आफ्नै सुरमा बस्थे । अर्कोतिर वहाब भने जिद्दी स्वभावका थिए, र रिसाएको बेला केही पनि गर्न सक्थे । एक दिन उनीहरु कामबाट फर्केपछि “बिरामी मानिस”को बारेमा सोधे । बारीले भने– “बिरामी मानिस” भनेको जेलको अस्पताल हो । कैदीहरु यसलाई यस्तै भन्छन् ।
यसरी, अन्त्यमा मैले यी शब्दको अर्थ पत्ता लगाएँ ।बङ्गबन्धु शेख मुजिबुर रहमान
भूतपूर्व राष्ट्रपति : बंगलादेश
(अनुवादक : महेश पौड्याल)