१. भानुभक्त :
त्यतिबेला नेपाल विभिन्न स–साना भुरे टाकुरे राज्यबाट एकीकृत राज्य बनेको थियो । नेपाल भन्ने देश बने तापनि एउटै राष्ट्रभाषा तय भएको थिएन । साझा भाषा र भेष नहुँदा राष्ट्रिय पहिचान स्थापित हुन सकेको थिएन । विश्व समुदायमा नेपाल भन्ने देशको स्वरुप देखाउने वस्तुहरु कम थिए । मात्र माटोले भूगोलको आकार प्रकारले दिने पहिचान मात्र रहेका थिए । धर्म संस्कृति एवं सामाजिक प्रथा परम्परागत मान्यताहरूमा एकीकरणको खाँचो थियो । मान्छे मान्छेका वीचको बोली वचन व्यवहारमा तादाम्यता आउनु जरुरी थियो । यही अन्यौलपूर्ण वातावरणमा भाषा साहित्यको टुकी बालेर प्रकाश छर्न क्रियाशील बनेका भानुभक्त आचार्य नेपालका आदिकवि बन्न पुगेका छन् ।
२. आदिकवि :
आदिकवि भनेको पहिलो कवि हो । भानुभक्तभन्दा अगाडि पनि नेपाली भाषामा कविता नलेखिएको होइन । उनले लेखेको रचनाले व्यापकता पाएकोले, जनजिब्रोमा समेटिएकोले जनताको अधिकांश हिस्साले त्यस रचनाले दिएको सन्देशलाई ग्रहण गरेकोले र त्यस रचनाले उनलाई जनस्तरमा स्थापित गरेकोले उनलाई आदिकविको उपाधीबाट विभूषित गरेको हो । उनले लेखेको साहित्य जनताले आफ्नो दैनिक जीवनयापनमा स्वीकार गर्यो । उनले लेखेको रामायणका भावनाहरु हिन्दू बाहुल्य नेपालमा मर्यादा पुरुष मानिएका रामको जीवन वृत्तसँग सम्बन्धित छ । राम कथा त्यसभन्दा अगाडिदेखि नै प्रचलित थियो तर यो कथा नेपालीमा भाषामा सबै नेपालीले बुझ्ने रुपमा थिएन । त्यसैले पनि भानुभक्तलाई जनताले खोजेकै भावमा रचना गर्ने सीप ज्ञान भएको बेत्ताको रुपमा लिइयो । सर्वसाधारणले पढ्ने, बुझ्ने र आत्मसात गर्ने विषयको साहित्य नै वास्तविक साहित्य हो । जुन कुराको पहिलो श्रेय प्राप्त गर्न सफल भएका थिए भानुभक्त आचार्य नेपाली भाषाका आदिकवि ।
३. कवि जीवन :
भानुभक्तको जन्म पश्चिम नेपालको गण्डकी अञ्चलको तनहुँ जिल्ला रम्घा भन्ने गाउँमा १८७१ आषाढ २९ गते अर्थात् आजभन्दा करिब २०० वर्ष अगाडि आचार्य थरका विद्वान् पण्डितका परिवारमा भएको थियो । उहाँका बाजेको नाम श्रीकृष्ण हो भने बुबा धनञ्जय । श्रीकृष्णका ६ भाई छोरामध्ये जेष्ठ सुपुत्रका छोरा भानुभक्तले हजुरबुबाकै विशेष सामीप्यता आर्जन गरी शिक्षादीक्षा प्राप्त गरेका थिए । उनले संस्कृत साहित्य व्याकरण र ज्योतिष समेतको अध्ययन गरेका थिए । पढेको कुरा चाँडै आउने हुनाले भानुभक्त मेधावी विद्यार्थी थिए । जीवनभर सुखै सुखले वास गर्दा प्रतिभाको तिख्खारिने शक्तिले सक्रियता नपाउने हुन्छ । उनले सरकारी पदमा २ वर्ष जागिर खाई कागजपत्र बुझाउन नसक्दा उनलाई कुमारीचोकले थुनेको थियो । उनका रचनाको अध्ययनबाट उनी हँसिला, रसिला, ख्याल ठट्टा गर्ने उच्च विचारका शान्त दयालु मान्छेको चित्र आँखा अगाडि झल्कन आउँछ ।
४. रचना गर्भ :
रामायण रचना गर्नको लागि केही न केही जनतालाई सेवा पुग्ने कार्य गर्नुपर्दछ भन्ने भावना एउटा घाँसीले गरेको अठोटपूर्ण कार्यको बयानबाट आएको देखिएको छ । उनी २२ वर्षको हुँदा एकदिन उनी रुखको छहारीमा बसिरहेको समयमा एउटा घाँसीसित उनको भेट भएको रहेछ । त्यस घाँसीले आपूmले घाँस बेचेर आएको पैसाले आफ्नो घर निर्वाह गरी बचत रकमबाट गाउँमा कुवा खनाएको बयान गरेछ । यसबाट धर्म कार्य हुने र आफ्नो नाम पनि चल्ने कुरा उसले गरेको रहेछ । प्रत्येक ज्ञानबद्र्धक कुरालाई आफ्नो जीवनमा उतार्न लालायित भानुभक्तले यसरी कविता लेखे–
भर् जन्म घाँसतिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्री घरको तर बुद्धि कस्तो
यो भानुभक्त धनी भैकन आज यस्तो ।१।
मेरा इनार न त सत्तल पाटी क्यै छन्
जे धन् र चीज वीज छन् घरभित्र नै छन्
त्यस घाँसीले कसरी आज दिएछ अर्ती
धिक्कार हो मकन वस्नु नराखी कीर्ति ।२।
यसरी भानुभक्तले घाँसीबाट प्राप्त शिक्षा आफ्नो कविता लेखनको पहिलो पाइलाको रुपमा अगाडि बढाए भने सम्पूर्ण पाठकहरुका लागि आदर्शमय ज्ञानको झिल्को । यही सेवाभावको अठोटले नेपाली भाषामा रामायण आउनका लागि रचना गर्भ प्रेरणा प्रदान गर्यो ।
५. आ“सु कवित्व
भानुभक्त सामान्य कवि मात्र होइन कुनै कुरालाई देखेर तत्काल कविता लेख्न सक्ने आँसु कवि नै थिए । उनले घाँसीको भनाईबाट प्रभावित भएर लेखेको उपरोक्त कविता होस् वा पहिलो पटक काठमाडौँ आउँदा बालाजु तथा कान्तिपुरको वर्णन गर्दा लेखेको कविता वा काठमाडौँबाट तनहुँ जाँदा बाटामा तारापति उपाध्याय नाम गरेका मित्रका घरमा बास वस्दा त्यो घरमा, सासु बुहारीको झगडा सुनेपछि लेखेको ३३ श्लोकको वधुशिक्षा नामक कविता होस्, उनमा आँसु कविताको शिल्पी थियो भन्ने बुझ्न धेरै समय लाग्दैन ।
कान्तिपुर
चपला अवलाहरु एक सुरमा
गुनकेशरीका पूmल लि शिरमा
हिँडन्या सखी लिकन वरिपरी
अमरावती कान्तिपुरी नगरी ।
बालाजु
यति दिन पछि मैले आज बालाजु देख्याँ
पृथिवीतल भरिमा स्वर्ग हो जानि लेख्याँ
वरिपरि लहरामा भूली बस्न्या चरा छन्
मधुर वचन बोली मन लिँदा क्या सुरा छन् ।
बास नपाउँदा
गजाधर सोतीकी घरबुढि अलक्षिनकि रहिछन्
नरक् जानालाई सवसित विदावारी भईछन्
गयौँ साँजमा तिन्का घर पिडिँमहा वास गरियो
निकालीन् साँजैमा अलिकपर गुज्रान गरियो ।
वधुशिक्षा
एक्थोक भन्छु नमान्नु दु:ख मनमा हे मित्र तारापनि
तिम्रा इ जति छन् जहानहरुता जुझ्न्या रह्याछन् अति
सुन्याँ दन्त बझान आज घरको कर्कर् गर्याको जसै
भर्रात् जाग्रन भैmँ भयो नकन ता लागेन आँखा कसै ।
यसरी जुन विषयलाई जतिखेर चाह्यो त्यतिखेर नै कवितामा प्रस्तुत गर्न सक्नु उनको अद्वितीय प्रतिभाको द्योतक हो । छन्द कवितामा लय हालेर गाउन मिल्ने, तत्कालीन समयमा मनोरञ्जन र ज्ञानवद्र्धक कुराहरु कम हुँदा श्लोक पाठ गरी विवाह आदि उत्सवमा कविता भाका हालेर गाउने, त्यही कविता कन्ठस्थ गरी दोहोरी जुवारी खेली रमाउने परम्परामा भाषा हाली गाउन सकिने कविता लेख्नुमा भानुभक्तको ध्यान रहनु स्वाभाविकै ठहर्दछ ।
६. रामायणको कथा संक्षेप
भानुभक्त भाषाभक्त र रामभक्त थिए । उनले नेपाली भाषा साहित्यलाई माथिल्लो उचाईमा पुर्याउन रामको जीवन लिलालाई माध्यम बनाएका थिए । रामायण संस्कृत भाषामा थियो । आम नेपाली जनतालाई संस्कृत साहित्यको अध्ययन कठिन थियो । नेपाली बोल्नेहरुको यो समस्यालाई मध्यनजर गरी उनले रामायणलाई नेपाली भाषामा लेख्ने काम गरेका थिए । नेपाली जातिका लागि आदर्श पात्र लिएर आएको रामायणका हरेक श्लोकहरु आम नेपालीका ओंठ ओंठमा झुण्डिनु उसको लेखन क्षमताको पहिचान हो । उनका काव्य कृतिहरु छपाएर प्रकाशमा ल्याउने काम मोतिराम भट्टले गरेका हुन् । भनिन्छ मोतिराम भट्टले प्रकाशित नगरेका भए भानुभक्त आदिकवि भनेर सुपरिचित हुन सम्भव थिएन । भानुभक्तको रचनाको रामायण बालकाण्डमा १३९, अयोध्याकाण्डमा १२३, अरण्यकाण्डमा १२२, किस्किन्ध काण्डमा १४३, सुन्दर काण्डमा १५४, युद्ध काण्डमा ३८१ र उत्तर काण्डमा २५७ श्लोक छन् ।
रामायणको पहिलो खण्ड बालकाण्ड हो । यस खण्डमा रामका विषयमा लेखिएको रचनाका मुख्य पात्र रामलाई सम्पूर्ण संसारका पाप नाशक उद्धारकर्ता मानिएको छ । यो रामायणको कथा भाव ब्रह्माले नारदलाई बताएको देखिन्छ । राममा भक्ति गर्नेले यसका भाव अनुसरण गरेमा प्राप्त गर्ने पूरा बखान नै गर्न नसकिने छ, यसको एक श्लोक मात्र पनि अध्ययन गर्दा पाप गरेको छुट्कारा हुन्छ भनिएको छ । एकचित्त गरी सँधै पाठ गरेमा नर जीवनबाट मुक्ति भई इश्वर समान बन्दछन् भनिएको छ । यसरी रामायणको धार्मिक महत्व दर्शाइएको छ । रामायण कसरी लेखियो कैलाशमा शिवलाई पार्वतीले प्रश्न गरेको र शिवले राम यस किसिमका रामायणको कथा बताएको देखिन्छ । यो जगतमा अन्याय अत्याचार, दुराचार, भ्रष्टाचार जस्ता जघन्य प्रकृतिका दुष्कर्म बढेको अवस्थामा त्यसलाई हटाउन वा घटाउन विष्णुले रामको अवतार लिएको, देवताहरुले अन्य मानिस भई जन्म लिएको दर्शाएको पाइन्छ । यो संस्कृतमा प्रचलित हिन्दू धर्म ग्रन्थभावलाई भानुभक्तले नेपालीकरण गरेका हुन् । कथा अगाडि बढ्ने क्रममा दशरथ राजाको पुत्र नभएको अवस्थामा उनले यज्ञ गरी प्रसाद ग्रहण गरी ३ वटी पत्नीबाट ४ वटा छोरा भएको, जेठा राम भएको, उनले शिवको धनुष सजिलै उचाली जनकपुरमा सीतासँग विवाह गर्ने चुनौती पूरा गरेको, विधि विधानपूर्वक ४ भाइको विवाह भएको देखिन्छ । अयोध्याकाण्डमा राजा दशरथले रामलाई राज्य दिने योजना बनाउंदै गर्दा सौतेनी आमा कैकेयीले आफ्नो छोरा भरतलाई राजा बनाउनु पर्छ भनी राजासँग शर्त राखी वचन गिराई भरत राजा बन्छन् भने राम वन जान तयारी गरी त्यतातर्फ प्रस्थान गर्दछन् । भरततर्फ शत्रुघन र रामतर्फ लक्ष्मण पर्दछन् ।
अरण्यकाण्डमा राम सीता र लक्ष्मण वन प्रस्थान गरेको, रामले वनमा नै विभिन्न राक्षसहरुलाई मारेको, रावणले सीतालाई हरण गरी लङ्का पुर्याएको व्यहोरा उल्लेख छ । किष्किन्धाकाण्डमा वाली र सुग्रिवका बारेमा बयान गरिएको छ । बाली र सुग्रिवको लडाईमा रामले सुग्रिवलाई सघाई बाली मारेको, सुग्रिवका सेना रामलाई सहयोग गर्न तयार बनेको, बाली पत्नी तारालाई रामले अर्ति दिएको लगायत सीताको खोजी कार्य निरन्तर रहेको देखाएको छ । सुन्दर काण्डमा रावणको दरबारमा थुनेर राखेकी सीतालाई हनुमानले भेटेको, हनुमानले लङ्कामा विध्वंस गरेको, विध्वंस बापतको कारबाहीमा पुच्छरमा आगो बालि छोडि दिँदा लङ्का भष्म गराएको, युद्ध काण्डमा सीताको हालखबर लिएर हनुमान राम भएको स्थानमा पुगेको, हनुमानले लङ्का दरबारको वस्तुस्थिति आँकलन गरी लडाईलाई सूचना ल्याएको, रावणका भाई विभीषण रामको पक्षमा आएको, रामको फौज समुद्र तरेर लङ्का पुगेको, राम र रावणको भीषण युद्ध भएको, अन्तत: रामको जित भै विभीषणलाई राज्य दिएको, सीतालाई रावणको पञ्जाबाट मुक्त गरेको, अयोध्या फर्किएको र अयोध्यामा रामराज्य चलाएको बयान छ । अन्त्यमा उत्तरखण्डमा राम कसरी त्यो राज्य छोडेर फर्किए भन्ने सम्बन्धमा बयान गरिएको छ । जसको राज्यमा कोही बुढा भएनन् न कहिल्यै बालक मरे । यस्तो राज्य १० हजार वर्ष गरेको, उनीहरुका २ वटा छोरा भएको व्याख्या छ । साथै सीताको सतित्वमा जनस्तरमा शङ्का भै अग्नि परीक्षा हुँदा धर्ती फाटेर सीता अलप भएको, ११ हजार वर्ष राज्य गरी राम स्वर्ग जान्छन् भन्ने कथा उतारिएको छ ।
७. रामायणमा उल्लेखित छन्दहरु :
भानुभक्तले रामायाणमा प्रमुख रुपमा शार्दुल विक्रीडित छन्द प्रयोग गरेको देखिएको छ । छन्द प्रयोग गर्दा व्याकरणतर्फ ह्रस्वलाई दीर्घ गराएका छन्, यसरी छन्द भङ्ग गरेका उदाहरण प्रशस्त पाइन्छन् । आजभन्दा करीव १७० वर्ष अघि भाषामा शुद्धताभन्दा भाषालाई जनबोलिमा स्थापित गराउनु नै मुख्य आवश्यकता थियो । यसर्थ रामायण छन्दमा बिशुद्धताभन्दा भावमा स्पष्टताको ख्याल गरेको अनुमान गर्न सकिन्छ ।
शार्दुलविक्रीडित छन्द :
ख्वामित् ई दुइ पाउको अति असल् धूलो जसैमा पर्यो,
पत्थर् हो त पनी मनुष्य सरिको सुन्दर् स्वरुपै धर्यो
त्यस्तै पाठ यहाँ भयो पनि भन्या डुंगा स्वरुप् धर्दछन्
डुंगाले पनि रुप् धर्या यदि भन्या हाम्रा जहान् मर्दछन् ।
(बाल काण्ड ९७)
वसन्ततिलका छन्द :
भ्रम् हो भनूँ पनि भन्या सब चेत छ भेरा
स्वप्ना कसो गरिभनूँ निद छैन मेरा
जो हो र वात कहन्या उ अगाडि आई
अम्रित् वचन ति सब आज भनोस् मलाई ।
(सुन्दर काण्ड –६०)
मालिनी छन्द :
घर पनि सुनकै छन् गल्ली जो छन् सुनैका
मणि जडित हुनाले झन् असल छन् कुनैका
घुमि घुमिकन हेर्याँ सब बगैचा तलाउ
सहजसित कसैको केही लाग्दैन दाउ ।
(युद्धकाण्ड – ११)
इन्द्रबज्रा छन्द:
इश्वर तिमी हौ रघुनाथ इ भाइ
लक्ष्मण त शेष् हुन् करुणा जनाई
(युद्धकाण्ड – १९४)
दु्रतविलम्बिीत छन्द :
अम्रत वर्ष त राज प्रभुको भयो
सकल ताप् दुनियाहरुको गयो
(युद्धकाण्ड – ३७६)
शिखरिणी छन्द :
तहाँ सीताराम्का चरण तलमा शिर पनि धरी
अयोध्यै लैजान्छु भनिकन ठुलो मन्सुव गरी
भरत विन्ती गर्छन् किन रघुपति आज वनमा
हजूरले आयाको मकन अति ताप् हुन्छ मनमा ।
(अयोध्याकाण्ड – ९३)
इन्द्रवज्रा र उपेन्द्रवज्रा उपजाति छन्द :
यस्तो भरतले जव जिद्दि लाया
उत्तर प्रभुले पनि फेरि दीया
फर्कन्न भैया तिमि फर्कि जाऊ
पिताजिलाई पनि दोष नलाउ ।
(अयोध्याकाण्ड –१०२)
स्वगता छन्द :
धन्य हुन् इ हनुमान् इ सरिको
कोहि छैन अरु भक्त हरिको
भक्ति खुब गरि त काख् पनि पाया
लोकमा अधिक अन्य कहाया ।
(सुन्दरकाण्ड – १५३)
८. रामायणमा आदर्श व्यक्तित्व :
रामायणमा आदर्श पात्र कति छन् कति । स्वयं श्रीराम आदर्श राजा हुन् । सीता पतिले दु:ख पाए दुखै खप्न स्वीकार्ने आदर्श पत्नी हुन् । भरत आदर्श भाई हुन् जसले पाएको राज्य पनि दाजुको खराउ सिंहासनमा राखी राज्य गरे । लक्ष्मण अर्का आदर्श हुन् जसले १४ वर्ष नसुती दाजु भाउजुको निकटता देखाए । राजा दशरथ आफ्नो वचनमा अडिग राजा हुन् । हनुमान स्वामीभक्तिमा प्रख्यात छन् । स्वयं रावण अर्काकी श्रीमती हरण गरेर पनि थप दूव्र्यवहार नगर्ने आदर्श व्यक्तित्व हुन् । विभीषण दाजुको पक्ष छाडेर पनि सत्य न्यायको पक्षमा लाग्ने व्यक्ति हुन् । वशिष्ठ, विश्वामित्र, वाल्मिकी, अगस्त्य जस्ता ऋषिहरु जो आफ्नो आफ्नै विशिष्टता सहित निरन्तर बाँचेका छन् । यस्तो आदर्श विषयमा कलम चलाई नेपाली भाषालाई सुम्पिएकाले नै रामायणसँगै भानुभक्त अमर बनेका छन् । यस्तै रामायणमा जनक, कौसल्या, सुग्रिव आदि एक से एक आदर्श व्यक्तित्व छन् । साथै वानर जातिलाई आफ्नो सेना बनाउन सक्ने सीप कौशल पनि आदर्श व्यक्तिकै लक्षण हुन् ।
९. रामायण आदिकविको अमर कृति :
कुनै पनि विषयमा पहिलो पाइला नै कोशेढुङ्गा हो । त्यहाँ जगको काम त्यसैले गर्छ । भाषाको क्षेत्रमा पहिले कलम चलाई अरुलाई मार्गदर्शन गर्नु गुणस्तर कार्य हो । अरुको पछि लागेर नक्कल त सुगाले पनि गर्छ । तर अरुलाई नयाँ गोरेटो दिनु मौलिक कार्य हो । नेपाली भाषा साहित्यलाई भानुभक्तले नयाँ गोरेटो प्रदान गर्नुभएको छ । त्यसमा अत्यन्त जनप्रिय, लोकप्रिय, कर्णप्रिय रामायण नै हो । रामायण पढ्दा राम सीता आदि धार्मिक पात्र हुन् कि साहित्यिक काल्पनिक मात्र उनीहरुको दु:ख बाधा, सङ्घर्षमा पढ्दा पढ्दै आँसु चुहिने भाषा प्रस्तुति यसमा छ । उनीहरुको जितमा ताली बजाउने स्थिति छ । यस्तो साहित्य सधैं बाँच्दछ सधैं पाठकले मन पराउँछन् । भानुभक्तको रामायणका पात्र हिन्दू जगतले पूजा गर्छ सम्मान दिन्छ, आदर्शको रुपमा लिन्छ । त्यसैले रामायण श्रेष्ठ छ । रामायणसँगै यसलाई नेपालीमा ल्याउने भानुभक्त आचार्य अजर अमर छन् ।