भानुभक्त आचार्यको चर्चा हुँदा अक्सरतया भानुभक्तको रामायणकै चर्चा हुने गर्छ । हुनत: सर्वसाधारणलाई निकै प्रभाव परेकै कारणले वा भाषाको राम्रो प्रयोगकै कारणले पनि यस कृतिको चर्चा भएको हुनुपर्छ । बुढापाकादेखि, बालबालिका र गाउँले
सर्वसाधारणले समेत बुझ्ने सरल भाषाकै कारणले पनि यस ग्रन्थको व्यापक चर्चा भएको हुनुपर्छ । रामायणमार्फत् नै भानुभक्तको राष्ट्रिय पहिचान बनेकोमा दुईमत छैन । २०० वर्ष अघि तनहुँ जिल्लाको एउटा ब्राह्मण कुलमा जन्मेका भानुभक्त आचार्य यही पुस्तकबाट नै सामाजिक, धार्मिक प्रतीकजस्तो भइसकेका छन् । भानुभक्त मेधावी बालकका रूपमा त्यसताका उनका गाउँमा चिनिन्थे । तर पनि उनी २२ वर्षका हुँदा मात्र ‘घाँसी’ सँग सम्वाद भएपछि मात्र ज्ञान खुलेको जस्तो देखाइएको छ । घाँस काटेर बचाइएको पैसाबाट कुवा खन्ने इच्छा घाँसीले बताएपछि भानुभक्त आफू धनी भएर पनि केही सामाजिक कार्यहरू गर्न नपाउँदाका हैरानीहरू कवितामा व्यक्त गरेर मार्मिकता पोखेर आफ्नो संवेदनशीलता देखाएका छन् । अनि कविता लेख्ने आफ्नो दृढता व्यक्त गरेका छन् भानुभक्तले ।
अहिलेसम्म भानुभक्तको रामायण पछिका अन्य रचनाहरूमा ‘भक्तमाला’, ‘बधुशिक्षा’, ‘फूटकर रचना’ का साथसाथै ‘प्रश्नोत्तरमाला’ प्रकाशित छन् । भानुभक्तको कृतिहरूमध्ये सामाजिकता, बौद्धिकता र चिन्तनशीलताका हिसावले उत्कृष्ट लागेर यही ‘प्रश्नोत्तरमाला’ कविताबारे चर्चा गर्न खोजिएको छ । भानुभक्तका रचनाहरू पढेर भन्न सकिन्छ उनी उच्च विचारका भावनाशील कवि हुन् । उनी समाज सुधारमा विश्वास गर्ने कवि हुन् । तत्कालीन समाजका अगुवाहरूले सोच्ने दृष्टि र चिन्तनलाई आधार मानेर यिनले कविता लेखे । नेपालीको जातीय विकासको निम्ति, नेपालको भाषालाई सम्वद्र्धन र संरक्षित गर्नका लागि भानुभक्तले आफ्नो काव्य–कृतिबाट अथक प्रयत्न गरेको देखिन्छ ।
साहित्य लेखन भनेको सचेत, संवेदनशील मनको अभिव्यक्तिपूर्ण लेखाइ हो । अझ काव्य–लेखन त उत्कृष्ट लेखाई र बौद्धिक संरचना मानिन्छ । समाज वृत्तका लागि, देशको अवस्था स्थितिको लागि र मानव जातिका लागि भावनात्मक संवेग पोख्ने दृष्टि पनि साहित्य हो । भानुभक्तले सोचेका र कवितामा लेखेका कुुराहरूले पनि जीवन र जगतका कुराहरू कसरी तरङ्गित हुन्छन् सो को प्रमाण बोल्छन् । लोककै हित गर्ने भावनासहित साहित्यमा प्रवेश गरेका भानुभक्त, लोक कल्याणकारी कार्य नै साहित्य हो सम्झेर कविता लेख्दै आएका भानुभक्तका सबै कवितामा लोकको भलो गर्ने भावना मुखरित छन् । तर पनि; तत्कालीन सन्दर्भ विचारै नगरी क्रान्तिकारी दृष्टि बोकेर भानुभक्तलाई प्राचीन देखाएर उनको दृष्टि र कृतिलाई अपहेलित गर्न खोज्नेहरू पनि नभएका होइनन् ।
भानुभक्त समग्रमा अध्यात्म चेत बोकेका कवि हुनाका साथै सामाजिक व्यङ्ग्यकार कवि पनि हुन् । यिनी बेथितिका विरोधी छन् । प्रशासनका कर्मचारीहरूले व्यवहारमा देखाउने भोलिवादका यिनी कट्टर विरोधी छन् । अर्थलोलुपहरूका यिनी विरोधी, सामाजिक सचेतना व्याप्त त्यसताकाका चेतनशील युवा भानुभक्तमा संस्कारयुक्त भावना र विचारहरू रहनु आश्चर्यका विषय मान्नु हुँदैन । आफूले भोगेको, देखेको र नराम्रो सम्झेको यथार्थलाई उनी नलुकाइकन व्यङ्ग्य कथेर कवितामा सरल ढङ्गले आफ्नो विचार पोख्दछन् । सरल भाषाका धनी कवि भानुभक्तका कवितामा तत्कालीन समाजका लागि उपयुक्त विचार दर्शन व्याप्त छन् ।
भानुभक्तको चर्चा गर्दा भन्न सकिन्छ उनले नेपाली साहित्य र भाषामा एउटा सुन्दर उल्लेखयोग्य गन्तव्य दिए । यहाँ मैले उल्लेख गर्न खोजेको सन्दर्भ र विषयवस्तु हो; भानुभक्तको चेतनशीलता, विचारमा देखिने उच्चता, सामाजिक भावनामा पोख्दै आएको काव्यात्मक ऊर्जाशीलता र विशेषता उल्लेख गर्न लायक छन् । यही वृत्तमा राखेर भानुभक्तको संवेदनशीलताबारे छलफल गर्न खोजिरहेछु । प्रश्नोत्तरमाला भानुभक्तको विचार श्रृङ्खला जस्तै बनाइएको कविता कृति हो भन्न सकिन्छ । ४८ अध्यायमा विभाजित ४–४ लाइनमा लेखिएको प्रश्नोत्तरमालामा श्रीरामको पाऊ नै मुख्य नाउँ हो भने कविता संप्रेषित छन् । श्रीरामका भक्त भानुभक्त आचार्यले वैराग्यले मानिसलाई बन्धनमा पार्छन् र मुक्तिको लागि वाधा दिन्छन् भन्दै नरक र स्वर्गको तुलना गरेर कविता यसरी लेख्छन् ।
ठूलो नरक कुन् छ भनेर जान्नू ?
यही शरीरै छ भनेर मान्नू ।
कस्तो स्वभाव स्वर्ग भनेर जान्नू ?
तृष्णा छुट्या स्वर्ग भनेर मान्नू ।।३।।
नरक त आफ्नै गतिविधिले पुर्याउँछन्, स्वर्ग पुग्नु भनेको आफ्नो तृष्णा छोड्न सक्नु हो । कविताको भावार्थमा ‘स्वर्ग’ र ‘नरक’ आफूभित्र नै हुन्छन् उनको ठम्याई र दृष्टि छ । ज्ञान नै सबैथोक हो । मान्छेको मोक्ष हुनु र नहुनुमा यही ज्ञानले नै भूमिका खेल्छन्, उनको निष्कर्ष छ; त्यसैले उनी लेख्छन् :
कुन हो सहज मोक्ष गरायिदिन्या ?
ज्ञान् हो अरूको किन नाम लीन्या ।।५।।
सत् असत्को पहिचान गर्न सक्ने मात्र विवेकशील हुन्छन्; उनी कवितामा व्याख्या गर्छन् । शत्रु–मित्र पनि आफैभित्र रहन्छन् । आफ्नो दशै इन्द्रिय शत्रु पनि हुन्, मित्र पनि हुन् । त्यसैले त उनी कवितामा लेख्छन् :
कस्लाई खूब मित्र भनेर मान्नू ?
जीत्या तिनै इन्द्रिय मित्र जान्नू ।।७।।
आदर्श मात्र छैनन् भानुभक्तका प्रश्नोत्तरमालामा व्यावहारिक दृष्टि र विचार पनि संप्रेषित छन् । चारलाइन तल उच्चारण भएका कविता अंशले व्यवहारिक दृष्टि र विचारहरू कविको कस्तो छ स्पष्ट बुुझ्न सकिन्छ । मान्छे कस्तो रहनुपर्छ, कस्तो रहँदा मान्छेको मुहारमा सुन्दरता खुल्छ ? उनी कवितामा मान्छेको सुन्दरताबारे यसरी लेख्छन् :
दरिद्र नाऊँ नरमा छ कस्को ?
विशाल तृष्णा घरमा छ जस्को ।
कुन् हो धनी सब् नरले कह्या को ?
सन्तोषले जो छ खुसी रह्या को ?
सन्तोषम् परम सुखम्का हिमायती देखिन्छन् उनी । तृष्णा हुनेहरू नै दरिद्र हुन्छन् । जो सन्तोषले बाँच्न जान्छन् उनीहरू त हुने हुन् धनी भन्छन् उनी । विचारमा विशालता रहनुले नै भानुभक्तको गहनता आँकलन गर्न सकिन्छ । मलाई लाग्छ; भानुभक्त समाजमा चेतना संप्रेषित गर्न रूचाउने व्यावहारिक कवि हुन् ।
प्रत्येक कविता अंशमा व्यावहारिकता झल्किन्छन् । त्यसैले उनी लेख्छन्, कवितात्मक भावनामा यसरी कविताका हरफहरू ‘जिउँदै मर्याको भनि नाउँ छ कस्को ? उद्यम् विना बित्तछ काल जस्को ।’ कवितामा आफैले प्रश्न गर्छन् र कवितामा आफै जवाफ लेख्छन् अनि यस्तै कवितालाई उनी ‘प्रश्नोत्तरमाला’ को नाम दिन्छन् । उनी ‘प्रश्नोत्तरमाला’ कवितामा लेख्छन्—कामदेवको वशमा रहनेहरू सबैको दृष्टिमा तुच्छ रहन्छन् । हितको उपदेश दिनेहरू त गुरूहरू हुन्; उनको दृष्टिमा अपयश भनेको मृत्युतुल्य हुन्छ । सेवा गर्नेहरू नै शिष्य कहलिन्छन्; जन्मनु भनेको नै मर्नु पनि हो त्यसैले उनी कवितामा लेख्छन् —“संसार हो जन्मनु मर्नु पन्र्या ।” शीलस्वभाव नै मान्छेको आभूषण हो । तीर्थ भनेको शुद्ध मन हो । मानवीय स्वभावलाई उत्कण्ठा दिन र मान्छेमा सत्–निष्ठाका विउ–विजन हुर्काउन प्रश्नोत्तरमालामा भानुभक्त कविले निकै उच्च कोटीका ज्ञान–संज्ञान संप्रेषित गरेका छन् । ‘पापमा अगाडि कहिल्यै नसर्नू ।’, ‘स्वधर्म थामीकन शास्त्र पढ्नु’, ‘सबदेखि सानो म छु भन्नु जुन् हो’ आदि–आदि अमृततूल्य भाव–दृष्टिहरू कवितामा लेखेका छन् ।
सबैजसो कविता–अंशहरूमा व्यावहारिक ज्ञानका चेतना बाँड्न अथक प्रयत्न गरेको देखिन्छ । ‘विद्या नभएका मूर्खहरू उनका दृष्टिमा पशुतूल्य हुन्छन् । खत–पापि–निच्का नगिचै नपर्नू सज्जनहरूको कर्तव्य हो उनी कवितामा औंल्याउँछन् । सत्–धर्म नै मानवीय कर्म हो । उनी ‘प्रश्नोत्तरमाला’ मा व्याख्या गर्छन् । भानुभक्तका कवितामा सत्–ज्ञान व्याप्त रहेको कविता मानिन्छ यो ‘प्रश्नोत्तरमाला’ । ‘धनमा लागेर मतिभ्रष्ट गर्नेहरू छोटाहरू हुन् । जुनसुकै घटनामा र बखतमा पनि चूप लागेर बस्छन् उनीहरू नै लाटाहरू हुन् । सज्जनहरूको सुचरित्र नै उत्तम गुण हो । विद्या नै गहना हो । प्राणीको हित् गर्नु सत्य हो ।’ यी आदि खालका खत्–वाणी/वचनहरूले व्याप्त छन् ‘प्रश्नोत्तरमाला’ कविता ।
जीवनमा देखेका, भोगेका र अनुभूत गरेका कुराहरूलाई भानुभक्तले कवितामा उनेका छन् । कुनै पनि घटना–प्रसङ्गमा उल्लेख गर्न लायकका विषयवस्तुहरू कविता बनाइएका छन् । कवितामा जीवन कथ्न सक्नु, कवितामा विचार–दृष्टि फिँजाउन सक्नु र कवितामा आफ्नो भनाई सरल भाषामा राख्न सक्नु कवि भानुभक्तको विशेषता हो । ‘प्रश्नोत्तरमाला’ यस्तै सरल कविता भएर पनि आफ्नो विचार–दृष्टि राख्न सफल कविता–कृति हो । भानुभक्त फैलिनु र जनजनमा भिजिनुको एउटा कारण हो, उनको कविताको भाषा सरल रहनु पनि हो । अन्त्यमा केही कविता–अंशहरू उच्चारण गर्दै भानुभक्तको ‘प्रश्नोत्तरमाला’ कविताको छलफलमा बिट मार्न चाहन्छु :
रात्दिन् निरन्तर कतातिर चित् धर्नू ?
संसार अनित्य बुझि तत्व–विचार गर्नू ।
तत्वै–विचार छ सबको सब पाप हर्र्या
ज्ञान् जान्नलाई सबले यहि चित्त धर्र्या ।।