मानव जीवनलाई राम्रो गर्ने नियम पालना गरेर मनाइने गुँला पर्व बिहीबार शुरू भएको छ। यो पर्व काठमाडौँ उपत्यकामा विशेष रूपमा मनाइन्छ।
नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म धर्मकर्म एवं राम्रो काम गरेर मनाउने पर्व विधिवत् शुरू भएको हो। नेपाल संवत्अनुसार दशौँ महिनालाई गुँला भनिन्छ। गुँको अर्थ गुण गर्ने, राम्रो एवं गुनिलो काम, अरूको उपकार गर्ने कामलाई जनाउँछ ।
पञ्चशीलमा तीन शील थपेपछि अष्टशील हुन्छ । अग्लो खाटमा नसुत्ने, मनोरञ्जन नगर्ने र समयमै भोजन गर्ने यसलाई समेत थपेर अष्टशील भनिन्छ। यसमा दुई कुरा थपेपछि दशशील हुन्छ। आभूषण ग्रहण नगर्ने र ब्रह्मचर्यमा बस्ने यतिसम्म नियम पालना गर्नुलाई दशशील भनिन्छ ।
यो महिनामा क्षमताअनुसार भित्री मनदेखि दान दिने गरिन्छ। महिनाभर स्वयम्भू महाचैत्यमा विशेष मेला लाग्ने गर्छ। राजधानी शहरका विभिन्न भागबाट गुँला बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजनको प्रत्येक वर्ष यो महिनामा भिड लाग्छ। वर्षभर निधन भएका व्यक्तिको नामबाट श्रृंगभेदी अर्थात् भैँसीको सिङबाट बनेको बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजन पनि धेरै हुन्छन्।