नेपालका ख्यातिप्राप्त मुटुरोग विशेषज्ञ अरुण सायमीको जन्म २०१४ जेठ २१ गते काठमाडौंको झोछेंमा भएको हो । माता वसुन्धरा साय्मि एवं बुबा धुस्वाँ साय्मिका कोखबाट जन्मिनुभएका अरुण साय्मिका दुई दाजुहरु (दीपक, प्रा.डा. प्रकाश), एक भाई (अनिल) र एक बहिनी (मिला) छन् ।
सानैमा पाइलट बन्ने लक्ष्य राख्नुभएका अरुण साय्मिले बुबा धुस्वाँ सायमी भारतको दिल्लीस्थित नेपाली राजदूतावासमा शिक्षा तथा स्वास्थ्यसम्बन्धी कुटनैतिक ओहदामा रहँदा अरुण सायमिले नेपालबाट आएका विरामीहरुले सघाउँदा सघाउँदै चिकित्सा क्षेत्रमा क्यारियर बनाउने मन बनाउनुभयो । त्यसैले त क्यानाडा गई पाइलट बन्ने अवसर छोडेर नेपाल फर्की अस्कल क्याम्पसमा साइन्स विषय पढ्न थाल्नु भयो । ३, ४ र ५ को संयोग नै भनौं ३ वर्ष सम्म बोल्न नजानेर धुस्वाँ नाम पाएका उहाँका बुबाले ५ वर्षसम्म बोल्न नजानेका अल्बर्ट आइन्सटाइनको उदाहरण दिँदै ४ वर्षसम्म बोल्न नजानेकालाई अरुण नाम दिनुभयो र ढाडस पनि दिनुभयो । सानोमा गुच्चा, च्याम्पत्ति, तास आदि खेल्न तथा चङ्गा उडाउन माहिर अरुण साय्मिले आमा वसुन्धराबाट घरमै क,ख,ग सिक्न थालेका थिए भने ५ कक्षासम्म महेन्द्र आदर्श विद्यालय र ६ कक्षा देखि आनन्दकुटी विद्यापीठमा पढ्न थाल्नु भयो ।
आनन्दकुटी विद्यापीठमा भर्ना हुँदाको रमाइलो किस्सा छ । ५ कक्षाका लागि प्रवेश परीक्षामा अंग्रेजीमा उल्था गर्नुपर्ने वाक्यांशमा गुलाफलाई रोज भन्ने लेख्न नआएर गुलाफ नै लेखेका कारण कक्षा ५ मा भर्ना बाध्य भएका थिए । यस घटना लगत्तै एक आफन्तबाट ‘अरुणले साय्मि खलककै बेइज्जत गर्ने भयो’ भन्ने शब्दवाणलाई अरुण साय्मिले ईखको रुपमा लिनुभयो । आनन्द विद्यापीठमा ५ कक्षा पढ्न थालेको केही समयपछि लिइएको पहिलो टर्म परीक्षामा प्रथम स्थान हासिल गरेकाले अरुण साय्मिले कक्षा बढोत्तरी पुरस्कार पाएर ६ कक्षामा पढ्न पाउनु भयो । तर यो ईनिङ एसएलसीसम्म पुग्न पाएन । ९ कक्षाबाट आफ्ना एक सहपाठीलाई विना कारण स्कुल निकाला गरेका कारण विद्रोह गरेका अरुण साय्मिले आनन्दकुटी विद्यापीठ छोड्नुभयो र पछि विश्व निकेतनमा पढ्न थाल्नुभयो । यो त्यही स्कुल थियो, जहाँका प्रधानाध्यापक अरु कोही नभएर गम्भीरमान मास्के हुनुहुन्थ्यो । अब भने आनन्दकुटी विद्यापीठलाई जसरी पनि जित्नुपर्छ भनेर ईख पालेका अरुण सायमिले एसएलसीमा बोर्ड सेकेण्डको पोजिसन ल्याउनु भयो ।
अस्कल (अमृत साइन्स क्याम्पस) पढ्दाताका उहाँका रुममेट त्यसबेलाका ठूलो दादा (अचेलको भाषामा डन) भुपेन्द्र कार्की थिए । अस्कल छँदै आफ्ना एक साथीलाई आफ्नै छातीको एक्सरे खिचेर दिई एमबीबीएस पढ्न जान सघाएका थिए । नत्र ती साथीको छातीको एक्सरेमा दाग देखिएका कारण पढ्न जान नपाउने स्थिति आई लागेको थियो । अस्कल क्याम्पसबाट आई.एस.सी (प्रथम श्रेणी)को पढाईपछि भारतको जवलपुरमा एमबीबीएस पढ्न जानुभयो । त्यहाँ पनि कहाँ शान्त बस्नुभयो र ? बाबुराम भट्टराईको अध्यक्षतामा गठित अखिल भारतीय नेपाली विद्यार्थी संघको सम्मेलनपछि साहित्यिक सचिव बन्नुभयो । बाबुराम भट्टराई र अरुण साय्मि सम्पादकद्वय रहेर जनमानस मुखपत्र (सन् १९७७ देखि सन् १९८० सम्म) प्रकाशनमा ल्याउनु भयो ।
आफुभन्दा जुनियर रीता लामाबाट प्रेरित भई साहित्य रच्न थालेका अरुण साय्मिले २० वर्षको उमेरमै मिसा उपन्यास लेखिसक्नुभएका आफ्ना बुबालाई साहित्य क्षेत्रमा जित्नुपर्छ भन्ने भावले १९ वर्षको उमेरमै नेपालभाषामा हाकुताँ उपन्यास लेख्नु भयो । आपूm भारतमा पढ्न जानु अगाडि भेटघाट गर्न जाने क्रममा प्रसिद्ध कवि दुर्गालाल श्रेष्ठले ‘तिमीभित्रको लेखकलाई बचाइराख्नु’ भनेको वाक्य अहिलेसम्म बिर्सनु भएको छैन । अरुण साय्मिले अहिले सम्म हाकुताँ (सन् १९७६), वँचुमिला (सन् १९७९) एवं ह्याउँस्वाँ (सन् १९८६) (नेपालभाषामा) का साथै मर्दीको किनारमा (सन् १९९१), रातो टीका (२०४९ साल) र आस्था (सन् १९९७) (नेपालीभाषामा) उपन्यास लेखिसक्नु भएको छ ।
सन् १९८२ मा एमबीबीएस (अनर्स) सकेर नेपाल फर्केपछि चिकित्सा शास्त्र अध्ययन संस्थानमा सहायक प्राध्यापकमा नियुक्ति पाएतापनि वीर अस्पतालमा काम गर्न थाल्नुभयो । त्यहाँ डा. सच्चेकुमार पहाडी र डा. ईश्वरलाल आचार्यको छत्रछायाँमा राम्रो काम गर्नुभयो । त्यसपछि निकै दु:खकष्ट गरि बंगलादेशको ढाकास्थित इन्स्टिच्युट अफ कार्डियोभास्कुलर डिजिजबाट मुटुरोग विषयमा एफसीपीएस (मेडिसिन) पूरा गर्नुभयो । उहाँ युनिभर्सिटी प्रथम नै हुनुभयो । विशेषज्ञता स्तरको पढाईपछि नेपाल आएर मुटुरोग विशेषज्ञका रुपमा काम गर्न थाल्नुभयो । यसै सिलसिलामा सन् १९९८ मा कार्डियक सोसाइटी अफ नेपाल गठन गर्नुभयो भने सन् २००२ देखि २००६ सम्म अध्यक्षका रुपमा काम गर्नुभयो । सार्क कार्डियक सोसाइटी गठनताका संस्थापक सदस्यका रुपमा रहनु भएका अरुण साय्मि २००२ देखि २००६ सम्म महासचिवका रुपमा रहनुभयो । सन् २००२ मा सार्कस्तरीय मुटुरोग विशेषज्ञहरुको सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निभाउनु भयो । उहाँ एसिया प्यासिफिक सोसाइटी अफकार्डियोलोजीको उपाध्यक्षको रुपमा रहिसक्नु भएको छ ।
पेशागत जीवनमा उहाँले बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र तथा त्रिवि शिक्षण अस्पताल परिसरमा मनमोहन कार्डियोथोरासिक भास्कूलर तथा ट्रान्सप्लान्ट सेन्टरको स्थापनामा क्रमश: संस्थापक अध्यक्ष तथा संस्थापक बोर्ड अध्यक्षका रुपमा महत्वपूर्ण जिम्मेवारी निभाउनु भयो । २०६४ कार्तिक २२ गते त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानको डिनमा नियुक्त हुनु भएको अरुण साय्मिको दोश्रो कार्यकाल भने त्यति सुखद रहेन । उहाँको कार्यकालमा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान मातहतमा ४ वटा मेडिकल कलेज (किस्ट, चितवन, गण्डकी तथा आर्मी) लाई सम्बन्धन दिने, मेडिकल क्षेत्रमा पिएचडी सरहको डीएम, एमसीएच पढाई शुरुवात गर्ने, अनुसन्धान केन्द्रको स्थापना गर्ने, मेडिकल एजुकेशन डिपार्टमेन्टको विस्तार गर्ने, नाक कान घाँटी विभागको लागि नयाँ भवनबाट सेवा बिस्तार गर्ने तथा शिक्षण अस्पताल परिसरमा गणेशमान सिंह, मनमोहन अधिकारी र मोइन शाहको प्रतिमा स्थापना गर्ने राम्रा राम्रा कार्य भएपनि पछि अख्तियार दुरुपयोगको चक्करले मानसिक तनाव खेप्नुपर्यो ।
नेपालमा पहिलोपटक पीएचडी गर्ने नारायणबहादुर मानन्धरका नाति एवं प्रसिद्ध साहित्यकार धुस्वाँ सायमिका छोरा अरुण सायमिले चिकित्सा क्षेत्रमा महत्वपूर्ण योगदान दिइरहनु भएको छ भने तत्कालीन प्रधानमन्त्रीहरुका निजी चिकित्सकका रुपमा पनि काम गर्नुभयो । हाल उहाँ गंकी धुस्वाँ–बसुन्धरा प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ भने मुटुरोग विशेषज्ञका रुपमा क्लिनिकल एवं प्राज्ञिक सेवालाई निरन्तरता दिइराख्नु भएको छ । आफ्नो पहिलो उपन्यास हाकुताँ पढेर प्रभावित भएकी जमुना ताम्राकारसँग २०३९ सालमा विवाह बन्धनमा बाँधिनुभएका अरुण सायमिका मतिना र अरुणा गरि दुई छोरी छन् ।
माथि उल्लेखित उपन्यास बाहेक उहाँले अन्य चिकित्सकहरुसँग मिलेर चिकित्सासम्बन्धी पुस्तकहरु म्यानुअल अफ सीसीयू एण्ड आईसीयू र कार्डियोलोजी एण्ड क्रिटिकल केयर पनि लेख्नुभएको छ । कलेज छँदै कविता र गीत रचनामा पनि उत्तिकै सिपालु अरुण साय्मिले लेख्नुभएको तथा नविन के. भट्टराईले गाउनु भएको ‘ए झरी …’ निकै चर्चित छ । प्रायस: रङ्ग सम्बन्धित शीर्षक राखेर रचना रच्न चाहनुहुन्छ अरुण सायमि । र, सबैभन्दा पहिला नेपाली भाषामा लेखेको कविताको शीर्षक ‘रातो सूर्य’ थियो । अरुण (कवितासङ्ग्रह) तथा तिमीलाई शीर्षकको म्युजिक एल्बम पनि निकाली सक्नुभएको छ ।
अरुण सायमिले राष्ट्रिय दैनिकमा राजदरबार हत्याकाण्डको पोष्टमार्टम (१९ जेठ २०५८ पछि), डाक्टरको रोडम्याप, कृष्णमोहन तिमीलाई मेरो अन्तिम सलाम, नारायणप्रसाद पोखरेल: समाज–सेवाका बादशाह, मिसिसिपीदेखि बाग्मती किनारसम्म झल्किएको नेपालको माया, बाबुरामलाई पत्र (कलम समाउ बाबुराम), मेरा आँखामा जन आन्दोलन–२०६३, दुई ब्यालेट चौतर्फी आक्रमण एवं दरबार हत्याकाण्डदेखि जनविद्रोहसम्म जस्ता चर्चित लेखहरु पनि लेख्नुभएको छ । कतिपय यी लेखहरु त्यसबेला हटकेक एवं राज्यविद्रोहको रुपमा रहेका थिए । यसै प्रसङ्गमा उहाँका बुबा धुस्वाँ साय्मिले भन्नुभएको थियो ‘तिम्रो कलम उपन्यास, गीत, कवितामा चले पनि तिम्रा समसामयिक लेखहरु बढी सशक्त छन् । त्यसले सारा नेपाली जनताको र मेरो आवाज पनि प्रतिनिधित्व गर्छन् ।’ पद्मकन्या क्याम्पसमा एमए (२०५९ सालमा) गरिरहेकी संगीता सुवेदीले अरुण सायमिको व्यक्तित्व र कृतित्व माथि शोधपत्र गरेकी थिइन् ।
दक्ष चिकित्सक एवं साहित्य अनुरागीका रुपमा सेवा पुर्याउँदै आउनुभएका अरुण साय्मिले हालसम्म स्वर्ण पदक (एसएलसी बोर्ड सेकेण्ड भए वापत प्रधानमन्त्रीबाट), शिक्षा पुरस्कार, सुप्रबल जनसेवाश्री, नातिकाजी सङ्गीत विशेष सम्मान, राष्ट्रिय युवा प्रतिभा पुरस्कार, कोइलीदेवी प्रतिष्ठान सम्मान पुरस्कार, फेलो अफ अमेरिकन कलेज अफ कार्डियोलोजी, फेलो अफ कलेज अफ एसिया प्यासिफिककार्डियाक सोसाइटी जस्ता सम्मान र पदक प्राप्त गरिसक्नु भएको छ ।
उहाँले हालसम्म भारत, बंगालदेश, पाकिस्तान, श्रीलंका, थाइल्याण्ड, इन्डोनेसिया, सिंगापुर, ताइवान, चीन, मंगोलिया, माल्दिभ्स, मलेसिया, स्वीडेन, फिलिपिन्स, जापान, दक्षिण कोरिया, युएई, बहराइन, नर्वे, अमेरिका, क्यानाडा, बेलायत, फ्रान्स, जर्मनी, स्वीट्जरल्याण्ड, अष्ट्रेलिया, साउथ अफ्रिका, फिनल्याण्ड, डेनमार्क, इटाली आदि विदेश भ्रमण गरिसक्नु भएको छ ।
हालै मात्र विमल भौकाजीको सम्पादनमा गंकी धुस्वाँ–बसुन्धरा प्रतिष्ठानबाट अरुण सायमिको जीवनी माथि मेरो जीवन–कथा (आत्मकथा) पनि प्रकाशित भएको छ । चिकित्सा क्षेत्रका साथै साहित्य क्षेत्रमा पनि उत्तिकै मन दिइरहनु भएका अरुण सायमिको कलम पछिल्लो समय अलि सुस्ताएपनि आगामी दिनमा पनि गहकिला साहित्य रचनाको अपेक्षा राख्न सकिन्छ ।