६ जना स्रष्टा/कलाकारलाई नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ प्रदान गरिएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले मंगलबार उपराष्ट्रपति कार्यालय लैनचौरमा आयोजित एक समारोहमा ६ जना स्रष्टा कलाकारलाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ दिइएको हो ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो १३औँ वार्षिकोत्सवका अवसरमा नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ का लागि मनोनयन गरेको स्रष्टाहरुलाई मंगलबार उपराष्ट्रपति रामसहायप्रसाद यादवले पुरस्कार प्रदान गरेका हुन् ।
लोक संगीत विधाबाट लोकगायक नवीनकिशोर राई, संगीत विधाबाट गायक, संगीतकार तथा गीतकार गणेश रसिक, परम्परागत तथा शास्त्रीय संगीत विधाबाट विजयकुमार श्रेष्ठ नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ बाट सम्मानित भएका छन्
त्यसैगरी रङ्गमञ्च विधाबाट रङ्गकर्मी भैरव क्षेत्री, नृत्य विधाबाट नृत्य निर्देशक कुलमान नेपाली र नाट्य विधाबाट नाट्य अनुसन्धाता रामचन्द्र पोखरेल नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ बाट सम्मानित भएका छन् । सम्मानित ६ जना स्रष्टा कलाकारलाई जनही एक लाख एक रुपैयाँ नगद सहित ताम्रपत्रले सम्मान गरिएको थियो ।