पहाडलाई हेर्छु—
निधारमा सप्तरङ्गी बतासको टिका छ
आकाशलाई हेर्छु—
गलामा मखमली ताराहरूको माला छ ।
नदी हुन् क्या हो मेरा चेलीहरु ?
फर्किएर आउँदैनन् माइतीघर मुहानसम्म
उताबाट चेलीहरूको गुनासो सुन्छु—
पहाडजस्तै छन् हाम्रा माइती राजैहरू
बग्दैनन् नदीझै सम्झनाको किनारा छोएर !
—पहाडलाई सम्झन्छु
—आकाशलाई सम्झन्छु
—नदीलाई सम्झन्छु
हरेक भाईटिकामा तर म आफूलाई चाहिँ बिर्सन्छु ।