सुवर्ण थापाद्वारा निर्देशित चलचित्र ‘द सेक्रेट्स अफ राधा’ ले नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट फिल्मको अवार्ड जितेको छ। सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ र साइम सदिक (पाकिस्तान) निर्देशित फिल्म ‘जोयल्यान्ड’ ले मानार्थ पुरस्कार प्राप्त गरेका छन्।
सन्तोष दाहालको ‘द मिराज’ उत्कृष्ट लघु फिल्म घोषित भएको छ भने सूर्य शाही निर्देशत ‘ह्वील्स अन द बस’ ले मानार्थ पुरस्कार पाएको छ। त्यस्तै, श्रीष कुँवरद्वारा निर्देशित ‘मेरो बुबा’ वृत्तचित्रतर्फ उत्कृष्ट भएको छ भने भारतका मिधुनजी बाबुको ‘डु डक्स माइग्रेन’ ले मानार्थ पुरस्कार पाएको छ। सनी लियु निर्देशित ‘पियोना म्यान’ र न्यान्सी स्पेस्डेन निर्देशित ‘पासाङ ःद स्याडो अफ एभरेस्ट’ ले उत्कृष्ट फिचर वृत्तचित्रको पुरस्कार प्राप्त गरेका छन्। सचिन घिमिरेद्वारा निर्देशित वृत्तचित्र ‘इन्टु द मिस्ट’ ले मानार्थ पुरस्कार प्राप्त गरेको छ।
अस्कर अवार्डमा नोमिनेसनमा परेको ‘कमिङ आउट विद द हेल्प अफ टाइम मेसिन’ ले इम्पावरमेन्ट अवार्ड प्राप्त गरेको छ भने ‘ह्वेर द विन्डो डाइ’ ले फ्रिडम अफ एक्सप्रेसन अवार्ड हात पारेको छ। निर्णायकहरू अमेरिकाका निना स्ट्राइक, रेबेका बुस्तमान्ते र इरानका फरिद बोजमेरले विभिन्न ११ देशका ३७ फिल्ममध्येबाट विजेता छनोट गरेका हुन्।