मेरो क्षुद्र जीवनमा पाठ्यपुस्तक लेख्ने कामको प्रारम्भ कसरी भयो, त्यसको किस्सा यस्तो छ ।
दार्जिलिङ जिल्लाको पहाडखण्डमा जति पनि प्राथमिक पाठशालाहरू थिए, ती प्राय: मिसनरीहरूका अधीनमा थिए । मिसनरीहरूमा पनि केथलिकहरूभन्दा प्रोटेस्टेन्टहरूकै बढ्ता प्रसिद्धि थियो । गयाबाट पाद्री मेकफर्नेल साहेब यसतर्फ आएका थिए सन् १८७० ईश्वीमा ६ जना नेपाली ठिटाहरूलाई साथमा लिएर । मैले स्कुलको सब इन्सपेक्टरको काम जिम्मा लिउन्जेल सन् १९२१ सम्ममा पुगनपुग २०० प्राथमिक र रात्री पाठशालाहरू खुलिसकेका थिए । तर ती जम्मै पाठशालाहरूमा पढाइको माध्यम थियो हिन्दी ।
म पाठशाला परिदर्शन गर्ने काममा निस्कन्थेँ । आज यहाँ, भोलि वहाँ, पर्सि–निपर्सि अर्कै ठाउँमा पुग्थेँ । कहिले चियाकमानमा, कहिले कृषिप्रधान गाउँमा, कहिले सहरमा अनि कहिले घनघोर जङ्गलमा फरेस्ट प्राइमरी स्कुल परिदर्शन गर्नुपर्दथ्यो । मैले आफूले हिन्दी भाषा लिएर म्याट्रिक पास गरेको थिएँ । यसर्थ ममा हिन्दी भाषा र साहित्यको केही ज्ञान थियो तर पाठशालाका लेप्चा र अरू जातका गुरुहरूले हिन्दी पढाएको देख्दा मेरो चित्त पटक्कै बुझ्दैनथ्यो, अनि म विचलित हुन्थेँ । यी हजारौंका हिन्दी पढ्छन् औ यिनको उद्देश्य छ अङ्ग्रेजी पढेर नोकरी गर्ने । केटाकेटीहरू मरिमरि पढ्छन् तर बुझ्दैनन्, गुरुहरूले मरिमेटेर सिकाउँछन् तर केटाकेटीहरूको गिदीमा कुरा पस्दैन । फलस्वरूप विद्यार्थीहरू बुद्धिमान नभएर बुद्धू हुन्छन् । समय खेर जान्छ, धनको हानि हुन्छ औ बलको बर्बाद हुन्छ । नेपाली भाषामा शिक्षा दिने चाँजो मिलाउने कसरी ? तिनताक ब्रिटिसको राज थियो औ मिसनरीहरू सर्वेसर्वा थिए । म थिएँ एउटा सामान्य सरकारी नोकर । मिसनरीहरूसँग मिलेर यो काम गरे हुन सक्ने थियो तर तिनीहरूको भित्री उद्देश्य थियो धर्मप्रचार गर्ने ।
नेपाली भाषा पाठशालामा पढाउनका निम्ति चाहिन्थ्यो नेपाली भाषाका पाठ्यपुस्तकहरू । सो कसले प्रकाशित गरिदिने ? बाइबलका पाठहरू भएका पुस्तकहरू पाए मिसनरीहरू चम्कीचम्की प्रचार गर्ने, नत्र नगर्ने । मैले नेपालीमा एउटा पहिलो पुस्तक लेखेँ । त्यसमा केही बाइबलका पाठहरू हालेँ । मिसनका अधिकारीहरूलाई देखाएँ । उनीहरूले केही सुझाव दिए । मैले उसबेला थपक्क मानेँ र पुस्तक छाप्न पठाए उनीहरूले नै । लोङ्गम्यान्स कम्पनीले प्रकाशनको भार लियो, तर दसहजार पुस्तक चलाउनैपर्ने सर्त राखियो, नत्र पुस्तकको पैसा तिर्नुपर्ने भयो लेखकले । नेपाली पहिलो किताब भन्ने पुस्तक छापियो । पुस्तक बिक्रेताहरूका पसलमा र विशेष गरी मिसन बुक डिपोहरूमा यो पुस्तक राखियो । बिक्री हुन थाल्यो ।
एक दिन मैले एउटा पत्र पाएँ । लेखेका रहेछन् महानन्द सापकोटाजीले । हिन्दू भएरक्रिस्तान धर्मसम्बन्धी पाठ पहिलो पुस्तकमा लेख्ने नकच्चरो ! यस्तो पत्र पढेर म अक्कनबक्क भएँ । तर गर्ने के ? म विवश थिएँ । यो हो आजभन्दा पुगनपुग ४४ वर्षअघिको कुरो, जुन बेला महानन्दजी दार्जिलिङ हाइस्कुलका छात्र थिए । अनि नेपाली साउँ अक्षर नाम राखेर अर्को पुस्तक लेखेँ र म्याकमिलन कम्पनीलाई छापी प्रकाश गरिदिन अनुरोध गरेँ । तर पुस्तकको पाण्डुलिपि फर्केर आयो । नेपाली भाषाको यस्तो पुस्तकको माग नभएको हुनाले हामी यो पाण्डुलिपि ग्रहण गर्न असमर्थ छौं भन्ने चिठी पनि आयो । अफसोस ।
एक दिन मैले म्याकमिलन कम्पनीबाट अर्को पत्र पाएँ । त्यसमा लेखिएको थियो – हाम्रा म्यानेजर दार्जिलिङ जाँदैछन् । अलबर्ट भिल्लामा उनीसित भेट गर्नुभए हामीलाई खुसी लाग्नेछ । मैले पत्र पाएपछि उनीसित भेट गरेँ । रसिला, हँसिला मानिस रहेछन् मिस्टर पार्खस्र्ट । मसितको भेटघाटले उनी प्रसन्न भए । उनका साथमा थिए उनका एकजना आफन्त पल्टनिया साहेब ।
ती दुवैले दार्जिलिङका प्रसिद्ध ठाउँहरू हेर्ने औ मौका परे एकपल्ट सुक्खिम पनि हेर्न जाने इच्छा प्रकट गरे । मैले उनीहरूको इच्छाअनुसार सबै कुराको चाँजो मिलाइदिएँ । धेरै ठाउँमा उनीहरूलाई डुलाउन मैले आफै लगेँ । सुक्खिमको प्रोग्राममा मल्लीसम्म मोटरमा जाने प्रबन्ध गरेँ – पिकनिक मल्लीको पुलनेर हुने भयो । मल्लीको पुलले ब्रिटिस भारत र सुक्खिम राज्यलाई जोर्छ । अङ्ग्रेजहरूले प्रमाङ्गी नपाई सुक्खिमभित्र पस्न पाउँदैनथे । त्यसैले पुलमा पिकनिकको प्रबन्ध गरेँ । वारिपारि पनि गर्न हुने, प्रमाङ्गीको झमेलामा पनि पस्नुनपर्ने । बेसै भयो ।
यो हो सन् १९२२ को कुरा जुन बेला दार्जिलिङमा भाडाका मोटरहरू मनाक थिएनन् । मल्ली पुगेर फर्कनलाई डेढ सय रुपियाँ भाडा ठीक गरी हामी हिँड्यौं कञ्चनजङ्घा र तुमलिङ आदिको मनोहर दृश्य हेर्दै । अनि सिमकुनाको जङ्गल, त्यसपछि पेसोकको चियाकमान । गर्मी सुरु भयो । मैले स्वेटर खोलेँ । पार्खस्र्ट साहेब केही बेरदेखि बोल्न छाडेका थिए । एउटा घुम्तीमा साहेबले आत्तिएझैं गरी हातको सान गरे । मैले मोटर थाम्न लाएँ । साहेबले वान्ता गरे । मैले मेरो स्वेटर थापिदिएँ । त्यसैमा अरू दुईतीनपटक वान्ता गरेपछि साहेबले वाटर (पानी) मागे । वान्ता गरेको केही तल पानी भएको कुरो मलाई थाहा थियो । फेरि गाडी हाँकेर पानी भएका ठाउँमा पुग्यौं । साहेबले हातमुख धोए । मैले स्वेटर धोएँ ।
अब कति टाढा छ मिस्टर प्रधान ?
अब आधा घन्टामा हामी पुग्छौं – मैले जवाफ दिएँ ।
हामी हिँड्यौं । टिस्टाको पुल पुगेपछि मैले मिस्टर पार्खस्र्टलाई यो टिस्टाको पुल हो, बडो प्रसिद्ध छ भनेँ । साहेब मोटरबाट ओर्ले तर फेरि वान्ता गर्न थाले । यस पालाको वान्तामा रगतको फाल्सो देखियो । साहेब डराए । मैले सान्त्वना दिएँ । उनले भने – डाक्टर खोज । भाग्यवश डाक्टर काशीनाथ देखापरे । उनीसित मेरो राम्रो परिचय थियो । मैले मिस्टर पार्खस्र्टले वान्ता गरेको कुरा सुनाएँ अनि रगतको फाल्सो देखाएँ । तिनले भने – केही डर छैन । धन्दा मान्नुपर्दैन । निको छ ।
हामी मोटर चढ्यौं र केही बेरपछि मल्ली पुग्यौं । ती दुई साहेबलाई मैले पुलबाट पारि लगेँ, मल्लीबजार डुलाएँ, केही केटाकेटी भेला गरेर पुलमा ल्याएँ र मिठाइ खुवाएँ । हामीले पनि खायौं । मिस्टर पार्खस्टले उस्तो खाने मन गरेनन्, किनभने तिनको कपाल चड्किरहेको थियो । क्यामेराले दुईचार पिक्चर लियौं र गाडीमा चढ्यौं । फर्कदा पेसोकको उकालो र घुम्ती छल्नलाई सिलगढीबाट फर्कने विचार गर्यौं । ड्राइभरले त्यस्तै सल्लाह दियो । बिस्तारै मोटर हिँडाएर साँझमा दार्जिलिङ पुग्यौं । बाटामा मिस्टर पार्खस्र्ट गजबले निदाए । ती दुईजना साहेबलाई डेरामा पुर्याइराखेर म आफ्नो राजबाडीको घरमा फर्कें । घरमा पुग्दा झन्डै आठ बजेको थियो ।
भोलिपल्ट बिहान म साढे आठ बजेतिर साहेबको डेरामा पुगेँ । दुवै साहेब ब्रेकफास्टमा बसेका रहेछन् । दुवै प्रसन्न देखिए । मलाई पनि केही खान दिए । हिजोको घटनाको उल्लेख गर्दै मिस्टर पार्खस्र्टले भने – तपाईं नभएदेखि हिजो हाम्रो के हाल हुने थियो हगि ? धन्यवाद छ तपाईंलाई । सिक्किममा खुट्टा टेकेर आयौं । यो हाम्रो जीवनमा एउटा नयाँ कुरा भयो ।
मोटरमा बिरामी परेको पनि ता नयैं कुरा भयो होला नि ! होइन ? भनी मैले ठट्टा गरेँ । दुवै साहेब मरीमरी हाँसे ।
मिस्टर प्रधान ! अब म तपाईंलाई के गुण गर्न सक्छु ? भनी मिस्टर पार्खस्र्टले सोधे । मैले भनेँ – नेपाली पुस्तकहरू छाप्ने तजबीज मिलाइदिनुभए मैले मात्र होइन, हामी जम्मै नेपाली जातिले गुण मान्नेछौं ।
प्राइमरी स्कुलमा चाहिने नेपाली भाषाका जम्मै पुस्तकहरू लेख्न सक्नुहुन्छ र चलाउन सक्नुहुन्छ भने भन्नोस् म मेरो लन्डनको अफिसमा सिफारिस गरी पठाइदिन्छु ।
तपाईंले मेरो एउटा साउँ अक्षरको सानो किताब ता छापिदिनुभएन, झन् जम्मै पुस्तकको कुरा गर्नुहुन्छ ?
हामी लरतरो काममा हात हाल्दैनौं । काम गरेपछि गहकिलै गर्ने हाम्रो ध्येय छ ।
मैले धन्यवाद चढाएँ अनि प्राथमिक पाठशालाका जम्मै विषयका पुस्तकहरूका पाण्डुलिपि तयार गर्न सक्ने आश्वासन दिएँ ।
साहेबले वेट एन्ड सी केही दिन पर्खनोस् भने । मैले हुन्छ भनेँ । अरू दुई दिन डुलेर साहेबहरू कलकत्ता फर्किए । मैले तिनीहरूलाई स्टेसनमा बिदा गरेँ ।
महिना दिन बित्यो । मैले पुस्तकका बारे भएका कुरा प्राय: बिर्सिसकेको थिएँ, किनभने यो लरतरो कुरा थिएन । एक दिन मैले म्याकमिलन कम्पनीको चिठ्ठी पाएँ । त्यसमा लन्डनको अफिसले नेपाली पुस्तकहरू छाप्ने मञ्जुरी दिएको शुभ समाचार थियो अनि पाण्डुलिपिहरू जतिसक्दो चाँडो पठाउने आग्रह थियो ।
मैले चिठ्ठी दोहोर्याई पढेँ । कुरा स्पष्ट लेखिएको थियो । मेरो हर्षको ठेगान भएन । स्टेसनरीको पसलबाट राम्रो राइटिङ प्याड किनेर घर लगेँ अनि नेपाली साहित्यका निम्ति पाठहरू लेख्न बसेँ । कहिले दिनभरि, कहिले रातभरि, उठ्दा, बस्दा, खाँदा, हिँड्दा मगजमा विविध विषयका कुरा खेल्थे नेपाली साहित्यको पाठका निम्ति । कहिले गद्य, कहिले पद्य । कहिले कुकुरका बारेमा ता कहिले केराका बारेमा । यसो गर्दै नेपाली साहित्य दोस्रो, तेस्रोका पाण्डुलिपि तयार भए, कलकत्ता पठाएँ । ब्लकहरू तयार हुन हुन थाले र पुस्तकका प्रुफ आउन थाले । यता नोकरी पनि हुँदैछ, उता पुस्तक लेख्ने काम पनि चल्दैछ । यसरी महिनौं होइन वर्षौं चलिरह्यो, चलिरह्यो । यसरी नेपाली भाषामा पाठ्यपुस्तकहरू लेख्ने कामको श्रीगणेश भयो ।
गुरु गोरखनाथले वान्ता गरेर नेपालको राज्यको वरदान दिएका थिए भन्छन् श्री ५ बडामहाराज पृथ्वीनारायण शाहलाई, म्याकमिलन कम्पनीका म्यानेजर मिस्टर पार्खस्र्टले वान्ता गरेर दिए नेपालीभाषाका पुस्तकहरूको वरदान । यी दुवै वरदान नेपाली जातिको इतिहासमा सुनका अक्षरले लेखिनुपर्ने किसिमका छन् ।
(जन्म : वि.सं. १९५५ साल /
अवसान : वि.सं. २०४२ साल)
जनमतको १०० अंकमा प्रकाशित