यसै गरी पुरिएको छ देश,
यस्तै धुलोमा –
जसरी पुरिन्छ सडकको खाल्डाखुल्डीमा – राजधानी, र
सम्भावना र सन्देहको दोछायाँमा पुरिन्छ नयाँ प्रधानमन्त्रीको अनुहार !
यात्रामा उकालो लाग्दा जसरी पुरिन्छ-
मुस्ताङे धुलेले यात्रीहरूको शरीर, आँखा र कपाल
सुख्खा हावाको वेगमा उडेको बालुवाले केहि बेरमै
जसरी छोपिन्छ पुरा जीउ र आक्कल झुक्कल देखिने बस्ती
यो दूरको बाटोमा ‘मुस्ताङ’ सँगै
तर्पायाँ परेको उकालो बाटोमा
धुलोले छोपिन्छ – सिङ्गै शरीर र मन, आँखा र कपाल
कहिले तुरिन्छ? यो बाटो
‘मुस्ताङ’ को – एक नम्बरको गियर
यो यात्रा –
टुक्चे, थाक खोला
जोमसोम, कागबेनी
पातलो बस्ती, फाट्टफुट्ट देखिने मान्छेहरू
हिनहिनाएर ओरालो झरेको घोडाको आवाज
सिङ्गै पहाड बगाउँला झैँ बग्ने काली नदीलाई
काठे पुलमा तरेर हिँड्दा
यो धीमा गतिमा, मुक्ति यात्रा कसरी पार गरिसकुँला ?
मान्छेहरू भन्छन् – उकालोमा अक्सिजनको अभाव छ,
लेक लागेर बाटो हिंडि नसक्नु हुनेछ
हरियो, परिलो केही देख्नु छैन बाटोमा
उराठलाग्दो दिनको अभिव्यक्ति मात्रै हुनेछ यात्रा,
व्यर्थ हुनेछ –
जसरी शान्ति यात्राको जम्बो जेट हुलासको ‘मुस्ताङ’ ले उछिन्न सक्ने छैन !
सुख्खा बाटोमा उकालो लाग्नु अघि
सहयात्रीहरूका सुझावले,
प्रतिपक्षीहरूका विरोधले
शुभचिन्तकहरूको मायाले – तर अघि बढ्न खोजेकोमा बढी ईर्ष्याले
पर्दा पछाडिको निन्दाले
जसरी मेरो कान भरिएको छ
त्यसै गरि भरिएको हुनुपर्छ निन्दाको रागले
तेर्सिएको हुनुपर्छ तगारो – मुलबाटोमै
आत्थु पारेको हुनुपर्छ घाइतेहरूको पीडाले
र बुँदा बुँदामा विभक्त सहमतिले
ढिलो चल्ने ‘मुस्ताङ’ लिएर, तर छिटो छिटो ‘नयाँ’ साँघु तर्न खोज्ने मुख्तियारलाई !
‘मुस्ताङ’ चढ्छ उकालोमा
मुख्तियारको थकित अनुहार
यसरी उभिन्छ मेरो अघि !