परम्परागत नेपाली चित्रकलाका तीन विधा छन् । ती हुन् ः ग्रन्थचित्र, भित्तेचित्र र पौभा चित्र । सामान्यतया कपडाको फलक(canvas) मा लेखिने चित्र ‘पौभा–चित्र’ हो । नेवारी कलाशैलीको एउटा नवीन दृष्टान्त पौभा–चित्र पनि हो । यसकै पनि विकसित नवीन रुप÷शैली ‘तुलापौ’ (Narrative Scroll Painting) हो भनी मान्न सकिन्छ । १ शुरुमा यहाँका नेवार कलाकारहरुले यो आफनो मौलिक शीप शैलीलाई धार्मिक एवं व्यापारिक प्रयोजन हेतु तिब्बतमा समेत भित्राएको देखिन्छ । २ यसरी यहाँको पौभा त्यहाँ पुग्दा त्यो ‘थाङ्का’ नामले प्रसिद्ध रही आएको छ । ग्रन्थचित्र परम्पराकै छहारीमा पौभा (Scroll Painting) र त्यसैगरी तुलापौ Narrative Scroll Painting) फक्रिन पुगेको दृष्टिगोचर हुन्छ । पौभा–चित्रको पूर्व रुप ‘पटचित्र’ हो । ३ कपडामा लेखिने चित्रलाई संस्कृतमा ‘पटचित्र’ भनिन्छ । साझा अर्थमा पौभा र तुलापौ दुबै ‘पटचित्र’ हुन् । तर विचारणीय कुरो के छ भने कपडामै लेखिने चित्र भएता पनि चित्रकलाको नेवार संसारमा मूल अभिप्राय, बनावट, संस्कार आदि दृष्टिले पौभा र तुलापौमा चाहिँ केही भिन्नता देखापर्छ । तैबिसेक पौभा–चित्र र तुलापौलाई ग्रन्थचित्र परम्पराबाट जन्मेका जुम्ल्याहा सन्तान हुन् तथा पटचित्रका दुई भिन्न रुप÷शैली हुन् सम्म चाहिँ भन्न सकिन्छ । पौभाचित्र प्रायः चौकुने कपडामा लेखिएको हुन्छ । तुलापौ चाहिँ लामो कपडामा लेखिएको हुन्छ । लामो हुने भएकोले यसलाई बेह्रेर नराखी सुखै छैन । बेह्रेर राखिने विशेषताकै कारण यसको नेवारी नाम ‘तुलापौ’ रहन पुगेको देखिन्छ । तुलापौ झण्डै विस्केट जात्राको विश्वध्वजा जत्रै एक हात चौडा र विषयवस्तुको आधारमा ३ हात देखि लिएर २०।२२ हात वा सो भन्दा पनि लम्बा हुन सक्छ ।४ सार्वजनिक प्रदर्शनका दृष्टिले पौभाचित्रको तुलनामा तुलापौ बढ्ता सांस्कृतिक–जीवनमुखी देखिन्छ । बाङ्गदेलले देखे–बुझेको पटचित्र शायद तुलापौ थियो । यसैकारण उनले पनि पौभा–चित्र र पटचित्र तुलापौ(?) एउटै हो भन्ने धारणा राखेका छैनन् । उनले यी दुईमा देखेको भिन्नता यस्तो छ । ५
नेपाली पौभा–चित्रलाई नेपालीहरु पौभा–चित्र नै भन्दछन् । तर कसै–कसैले पटचित्र पनि भन्ने गर्दछन् । यही कुरा पाश्चात्य विद्वानहरुले पनि गरेका छन् । अर्थात् पौभा–चित्रलाई नै पटचित्र पनि भनेको देखिन्छ । तर पौभा–चित्र र पटचित्र एउटै होइन कि भन्ने मेरो धारणा छ । तिब्बती शब्दबाट थाङ्कालाई लिएर पौभा–चित्रलाई अंग्रेजीमा ‘टंका पेन्टिङ्ग’ भन्दछन् । माथि र तल काठ राखी झुण्ड्याउन हुने अथवा काठमा बेह्रेर सानो पार्न हुने किसिमको चित्रलाई हामी पौभा–चित्र भन्छौं । तर पटचित्र चाहिँ ३।४ हात लामोदेखि लिएर आठ–दश वा बाह्र हातसम्म लम्बाइ भएको लामो कपडामा लेखिएको चित्र हो । यसमा पौभा–चित्रको जस्तो मूल देवी वा देवतालाई बीचमा राखी अथवा मण्डलचित्र जस्तो बीचलाई केन्द्रित पारी लेखिएको चित्र हुँदैन । अंग्रेजीमा यसलाई ‘टंका पेन्टिङ्ग’ नभनी ‘नेरेटीब स्क्रोल पेन्टिङ्ग’ भन्दछन् ।
कपडा पनि नाशवान् वस्तु हो । यसैकारण लिच्छविकालमा कपडामा लेखिएको चित्रको एउटैै पनि नमूना हामीलाई प्राप्त छैन । तेह्रौँ शताब्दीभन्दा अघिको पौभाचित्रको नमूना पाइएको छैन । त्यसैगरी सत्रौँ शताब्दीको उत्तराद्र्धभन्दा अघिको तुलापौ (पटचित्र) को नमूना पनि पाइएको छैन । त्यसो भएता पनि यहाँनिर तुलापौले विशेषगरी काठमाडौंको इन्द्रजात्रा र भक्तपुरको विस्केटको लिङ्गमा फहराइने एकजोडी चित्रमय इन्द्रध्वजा र विश्वध्वजा (वीरध्वजा÷विश्वकेतु) लाई विशेष सम्झाएको छ । भक्तपुरको प्रसङ्गमा स्थानीय जनजीवनमा ‘हलिंपतः’÷हलिपताः भनिने सो विश्वध्वजा पनि एक हात चौडाइ, एक इन्चको मोटाइ र एउटा ध्वजाः विश्वनाथभैरवको प्रतीक÷भाले ३५ हात लम्बा र उनकै शक्ति भद्रकालीको प्रतीक÷पोथी ३४ हात लम्बा हुन्छन् । कपडाले बनेको सो हलिंपतःमा विश्वनाथभैरव, गणेश, वेताल, अष्टमङ्गल, त्रिशूल, कमल, पन्छी, पूmलबूट्टा आदिका सुन्दर चित्र लेखिएको हुन्छ । यस्तै मिल्दाजुल्दा माङ्गलिक चिन्ह इन्द्रध्वजामा पनि देखापर्छन् ।६ विस्केटका मूलदेवता विश्वनाथभैरवलाई विभिन्न कालका शासकहरुले आ–आफ्नो शासनकाल प्रारम्भ हुँदा वा कुनै विशेष अवसरमा वा पहिलेको धेरै पुरानो वा जीर्ण भएमा आदि कारणले नयाँ विश्वध्वजा चढाउने परम्परा पनि रहेको देखिन्छ । लिच्छविकालको अभिलेखमा आएका ‘इन्द्रगोष्ठी’, ‘ध्वजगोष्ठी’ ले लिंगोमा ध्वजा फहराई जात्रा गर्ने चलन (इन्द्रजात्रा, विस्केटजात्रा) त्यसबखत नै लोकप्रिय भइसकेको संकेत मिल्छ ।७ यो कुरा विचारणीय छ । शैली, आकारप्रकार र प्रयोजनका दृष्टिले तुलापौकै एउटा रुप इन्द्रध्वजा, विश्वध्वजा लगायतका अन्य यस्तै परम्परित चित्रमय ध्वजाहरुलाई मान्न सकिन्छ । यताबाट लामो कपडामा चित्र लेखेर प्रदर्शन गर्ने यस्ता प्राचीन परम्पराले वर्तमानमा पनि सांस्कृतिक–निरन्तरता पाइरहेको कुरा निश्चित रुपले ज्ञात हुन्छ ।८
प्रकाशमा आएका नमूनाका आधारमा पौभा–चित्रको इतिहास तेह्रौं शताब्दीदेखि प्रष्ट हुँदै आएको पाइन्छ । प्रारम्भका पौभा–चित्रहरुमा बौद्ध विषयकै आधिक्य रहेको देखिन्छ । तापनि तान्त्रिक धर्मको लोकप्रियताले गर्दा शैव शाक्त र वैष्णव विषयका पौभा–चित्रहरुको माग पनि लौकिकजीवनमा बढेर गएको देखिन्छ । दुःखको कुरो छ, ग्रन्थचित्र झैं प्राचीन पौभा–चित्रका नमूनाहरु पनि अब हाम्रो सामु छैनन् । विश्वश्रेणीका ज्ञात अज्ञात कलाकारहरुद्वारा लेखिएका देशको गौरव बढाउने ती दुर्लभ चित्रहरु कहाँ गए होलान् ? बाङ्गदेलकै शब्दमा निम्न उत्तर पर्याप्त लाग्छ ः९
नेपाली प्राचीन पौभा–चित्रहरुको अध्ययन गर्नुपर्दा नेपाली विद्वानहरुले कठिन समस्याको सामना गर्नुपर्छ । त्यो समस्या के हो भने प्राचीन पौभा–चित्रहरु अब नेपालमा पाउन दुर्लभ भैसक्यो । प्राचीन पौभा–चित्रहरुको अध्ययन गर्नुपर्दा अब त हामी पाश्चात्य देशहरुतिर दौडनुपर्छ किनभने यूरोप र अमेरिकाका संग्रहालयमा पुगिसकेका त्यस्ता अनेक महत्वपूर्ण पुराना पुराना नेपाली पौभा–चित्रहरु आज विदेशमा सुरक्षित छ । …दुर्भाग्यवश काठमाण्डौ, भक्तपुर तथा पाटनका राष्ट्रिय संग्रहालयहरुमा जति छन् ती पर्याप्त छैनन् ।
बौद्ध विषयका प्राचीन पौभा–चित्रहरुमा ः रत्नसंभव, अमिताभ, तारा (हरित–तारा), बोधिसत्व अवलोकितेश्वर, चन्द्रमण्डल, वज्रवाराहीसहितका सम्भर, चक्रसम्भरमण्डल, वसुधरामण्डल, अमोघपाश लोकेश्वर आदि तथा हिन्दू विषयका प्राचीन पौभा–चित्रहरुमा ः नवदुर्गामण्डल, विष्णुमण्डल, सूर्यमण्डल आदि उदाहरणस्वरुप छन् ।१०
भक्तपुर राष्ट्रिय कला संग्रहालयमा सोह्रौं शताब्दीदेखिका बौद्ध र हिन्दू विषयका पौभा–चित्रहरु संग्रिहित छन् । वज्रधर, शिव–नृत्येश्वर, लोकेश्वर, काली, षडक्षरी लोकेश्वर, चन्द्रसूर्यमण्डल, पद्मसम्भव, विपश्वी तथागत, शिवपार्वती, मण्डलचक्र, धर्मधातुमण्डल, वसुन्धरामण्डल, महासम्भर, हेरुक, लक्ष्मीदिव्यश्वरी, पद्मपाणि लोकेश्वर, रत्नसम्भव, उन्मत्तभैरव, महाकाल, नीलवर्ण हेरुक, पञ्चबुद्ध आदि उदाहरणस्वरुप छन् ।
वज्रधर ने.सं. ६३३ (वि.सं.१५७०), ८९ह१२३ से.मि., राष्ट्रिय कला संग्रहालय, भक्तपुर
संक्षिप्त विवरण ः तान्त्रिक बौद्ध दर्शनमा शून्यताको प्रतीक मानिने ‘वज्र’ वज्रयानका प्रायः सबै देवताहरुले दाहिने हातमा धारण गरी बायाँ हातमा घण्ट लिएको देखिन्छ । वज्र धारण गरेको हुँदा उनी वज्रधर कहलिएको कुरा जानिन्छ । वज्रलाई वज्रधरको अमोघ अस्त्र मानिन्छ । १०२ वटा कोष्ठहरुमा बौद्ध विषयका विभिन्न आख्यानात्मक दृश्यहरु तथा ती दृश्यहरुलाई सुस्पष्ट पार्न सूक्ष्म प्रकारको कालो रेखापाटीमा स्वर्णमसीले लेखिएका विवरण छन् । यस आधारमा केन्द्रीयदेवता वज्रधर रहेको यस चित्रलाई पटचित्रको श्रेणीमा राख्न सकिन्छ । चित्रको तलतिर नेपाललिपिमा लेखिएको दुई पंक्तिको अभिलेख पनि छ । त्यताबाट यो पटचित्र ने.सं.६३३ मा तत्कालीन कान्तिपुरका राजा रत्नमल्लको पालामा लेखिएको थियो भन्ने ज्ञात हुन्छ । वज्रयानमा चौरासी सिद्ध परम्परा (आठौं–बाह्रौं शताब्दी ई.सं.) चलेको थियो । अतः वज्रयानका प्रसिद्ध चौरासी सिद्धहरुका आकृति एवं तिनका नामसमेत यस पटचित्रमा दिइएको छ । यसले पनि यस पटचित्रलाई अनुपम र अतुल्य तुल्याएको छ । यताबाट यो पटचित्र विशेष महत्वको रहेको कुरा जानिन्छ ।११
चौधौं शताब्दीको उत्तराद्र्धदेखि नेपाली पौभा–चित्रमा केही नयाँ प्रयोग–प्रवाहहरु चल्न थालेको बुझिन्छ । महत्वपूर्ण धार्मिक, सांस्कृतिक अनुष्ठान÷उत्सवहरुमा पौभा–चित्र लेख्न लगाएर राख्दा त्यसको स्मरण पछिसम्म पनि भइरहोस् भन्नाका लागि पौभा–चित्रको तलतिरको लहरमा सो चित्र राख्ने दाता र उनका आफन्त÷परिवार आदिले देवदेवीप्रति भक्तिभाव अर्पित गरिरहेका छवि, तिथिमिति सहितको अभिलेख लेख्न लगाएर राख्ने एउटा नयाँ प्रवाह पनि प्रारम्भ भएको देखिन्छ । यस्तो प्रवाह चौधौं शताब्दीको उत्तराद्र्धदेखि स्पष्ट हुँदै आएको देखिन्छ ।१२ वशुधरामण्डल (ई.सं.१३६७), विष्णुमण्डल (ई.सं.१४२०), अमोघपाश अवलोकितेश्वर (ई.सं.१४६६) का पौभा–चित्रहरु उदाहरणस्वरुप छन् ।
चित्रमा देखिने मुखमण्डलका प्रसङ्गमा पन्ध्रौं शताब्दी अघिसम्मका पौभा–चित्रहरुमा प्राचीन ग्रन्थचित्रकै अर्धमोहडा–शैली चलिरहेको दृष्टिगत हुन्छ । यस विषयमा चित्रकलाका पारखी बाङ्गदेलले बटुलेको अनुभव प्रस्तुत गर्नु प्रसङ्ग प्राप्त लाग्छ । १३
पन्ध्रौं शताब्दीदेखि नेपाली पौभा–चित्रको शैलीमा अनेक नयाँ विधाहरु आएका देखिन्छन् । … पन्ध्रौँ शताब्दीमा लेखिएका मूल देवी–देवताका चित्रमा मोहडा दायाँ वा बायाँतिर फर्केको देखिंदैन अर्थात् अर्धमोहडा भएको चित्र बहुतै कम छ । मोहडा पनि अलिकति लाम्चो, आँखा केही लाम्चा–लाम्चा सिरुपाते किसिमका, पातला ओँंठ र च्यापूचाहिंँ अतिकति गोलो भएर चुच्चिएको देखिन्छ । तलमाथि तथा आसपासका अरु स–साना देवी–देवताका मोहडा भने कतै अर्ध भाग मात्र देखाइएको र कतै तीन चौथाई मात्र देखाइएको हुन्छ अर्थात् तीन चौथाई भन्नाले मोहडाको अर्को पाटा पनि अलि अलि देखिने हुन्छ । यस्तो चेहराको बक्ररेखामा (यगत ष्लिभ) एकापट्टिको आँखा पूरै देखिन्छ भने अर्कोपट्टिको आँखाको अलिकति भाग मात्र देखिन्छ । तर नाकको रेखा भने मोहडाको बक्ररेखाभन्दा बाहिर आएको हुन्छ । गुजराती ग्रन्थचित्रमा यस्तो शैलीको प्राधान्य देखिन्छ । तर अक्सर नेपाली चित्रमा मोहडाको तीन चौथाई भागलाई भन्दा मोहडालाई अलि अलि एकापट्टि फर्केको देखाई अनुहारमा नेपाली चित्रकारले जुन मानव–आकृतिको सौन्दर्यलाई पराकाष्टामा पु¥याएको छ त्यो न त पूर्वीय हिन्दूस्तानी शैलीमा पाइन्छ, न त पश्चिमी शैलीमा । फेरि यस्तो अनुहारमा नेपालीको चरित्र–कोमलता र मधुरताको ज्यादै राम्रो चित्रण पाइन्छ ।
नेपाली हिन्दू चित्रकलामा पन्ध्रौं शताब्दीपछि भारतीय मुगल–राजपुत शैलीको प्रभाव पर्नथालेको देखिन्छ । यसो हुँदा चित्रमा दर्शाइएका मुखमण्डलहरु अर्धमोहडा र सपात अर्धमोहडाका देखिन्छन् । चित्रमा छायाँको प्रयोग पनि पन्ध्रौँ शताब्दीदेखि हुँदै आएको देखिन्छ । त्यस्तै चौधौ शताब्दीसम्म देवी देवताका पाश्र्वभागमा देखिने सादा किसिमको प्रभामण्डलमा पन्ध्रौँ शताब्दीपछि ज्वालाको प्रयोग अभिन्न रुपले बढेर आएको देखिन्छ । सत्रौँ शताब्दीदेखिका पौभा–चित्रमा तिब्बती र चीनीया शैलीको प्रभाव पनि परेको देखिन्छ । यसो हुँदा आँखालाई आनन्द दिने नेपाली सुकोमल र मधुर रङ्गहरुको सट्टा भड्किला रङ्गहरुको प्रयोग भएका तथा तान्त्रिक मतको प्रभावका कारण नेपाली सुकोमल अनुहारका ठाउँमा भयावह र वीभत्स देखिने विचित्रका अनुहारले प्रधानता पाएका पौभा–चित्रहरु पनि देखापरे । त्यसैगरी नेपाली पौभा–चित्रको पृष्ठभूमिमा पहाड, बादल, ठूलठूला पात भएका पूmल, मन्दिर, स्तूप आदि दृश्य देखाउने प्रवाह पनि सत्रौँ शताब्दीदेखि तिब्बती परम्पराकै सिकोमा चलेर आयो । उन्नाइसौं शताब्दीसम्म चित्रकलाको परम्परा कुनै न कुनै प्रकारले पुरानै शैलीबाट चल्दैरह्यो । तर बीसौं शताब्दीदेखि शिथिलता आयो ।१४
पटचित्रको केही चर्चा माथि पनि भइसकेको छ । हालसम्म प्रकाशमा आएका प्रारम्भिक नमूनाहरु र तिनमा परेको राजस्थानी (राजपूत–शैली) र मुगल–शैलीप्रभावका आधारमा नेपाली पटचित्रको परम्परा सत्रौं शताब्दीको उत्तराद्र्धदेखि छर्लङ्दिै आएको देखिन्छ ।
भारतकै सन्दर्भमा नेपालमा पनि पन्ध्रौं शताब्दीदेखि उन्नाइसौंं शताब्दीको प्रथम चरणसम्म सांस्कृतिक पुनरुत्थानको युग थियो भनी मान्न सकिन्छ । धर्म, वास्तु, संगीत, साहित्य आदि सबै क्षेत्रमा नयाँ–नयाँ शैली–प्रयोग लिएर बहुमुखी उन्नतिले समृद्ध भएको युग थियो त्यो । चित्रकलामा पनि विशेषगरी वैष्णववादको कृष्ण–भक्ति र प्रेमको धारालाई माध्यम बनाएर लौकिक विषयलाई ९ँयपि ब्चत० समेत चित्रण गरी अघि बढेको राजस्थानी शैली र त्यसैगरी व्यक्ति (व्यक्ति–चित्रकला–एयचतचबष्तगचभ) र घटनालाई (इतिहासवृत–कला–ऋजचयलष्अभि० चित्रण गरी दरबारी कलालाई ९ऋयगचत ब्चत० लिएर उँभो लागेको मुगल शैलीको मिश्रित प्रभाव–प्रयोग सत्रौं शताब्दीदेखिका नेपाली पटचित्रमा मात्र नभएर ग्रन्थचित्र ९ःष्लष्बतगचभक०, व्यक्तिचित्र ९एयचतचबष्तक०, भित्ति–चित्र ९ँचभकअयभक० आदिमा पनि त्यत्तिकै दृष्टिगोचर हुन्छ ।१५
चित्रबाटै कथावस्तु छर्लङ्ग बुझाउनु पटचित्रको मूल अभिप्राय एवं खास विशेषता रहेको देखिन्छ । यसकारण पनि पटचित्र लौकिक–सांस्कृतिक–जीवनमुखी देखिन्छ । यसो हुँदा बौद्ध लोकजीवनमा समेत पटचित्र परम्परा अत्यन्त लोकप्रिय रहेको पाइन्छ ।१६
शैव पटचित्रको प्राचीन नमूना (सत्रौ शताब्दीको मध्यकालतिर लेखिएको) भक्तपुरबाट भेटिएको छ । सम्भवतः भक्तपुरमै लेखिएको अर्को पटचित्र नायिकाभेद (सत्रौं शताब्दीको मध्यकाल) पनि हो । त्यस्तै ई.सं. १६४९ मा लेखिएको पटचित्रलाई पनि बौद्ध विषयको प्राचीन नमूनाको रुपमा लिन सकिन्छ । यी दुर्लभ पटचित्रहरु अब हाम्रो माझमा छैनन् । सबै विदेशमा पुगिसकेको हुँदा मूल प्रतिबाट अध्ययन अवलोकन गर्नबाट वञ्चित भएका छौ ।१७ जे होस् भारतमा राजस्थानी शैली विकसित भइरहेको स्थितिमा नेपालमा पनि सोही शैली प्रभाव–प्रयोग चलिरहेको छनक ती पटचित्रहरुले दिएका छन् । राजस्थानी शैलीकै एक नमूना ललितपुरको संग्रहालयमा रहेको सत्रौं शताब्दीको कृष्णलीला सम्बन्धी पटचित्र पनि हो ।
भक्तपुर राष्ट्रिय कला संग्रहालयमा प्रदर्शित ने.सं. ६३३ (ई.सं.१५१३) मा लेखिएको ‘वज्रधर’ लाई पटचित्र अन्तर्गत राख्ने हो भने हालसम्म प्रकाशमा आएका बौद्ध विषयको सर्वप्राचीन नमूना यसैलाई मान्न सकिन्छ । कागतमै लेखिएको भएतापनि ‘इन्द्र’ तथा कपडामा लेखिएका ‘कृष्णलीला’ र ‘गोरखा दरबार’ यस संग्रहालयमा प्रदर्शित अठारौं शताब्दीतिर लेखिएका पटचित्रका नमूनाका रुपमा देखापर्छन् ।
इन्द्रसभा, अठारौं शताब्दी, राष्ट्रिय कला संग्रहालय, भक्तपुर । संक्षिप्त विवरण ः माथि ः अष्टलोकपालहरुका लहरमा प्रमुख स्थान ओगटेका स्वर्गका राजा देवराज इन्द्र राजछत्रले सुशोभित सिंहासनमा रवाफिलो ढङ्गले विराजमान भएका छन् । उनको पाश्र्वभागमा उनका पार्षद्हरुले सेवा सुश्रुषा गरी राजभक्ति दर्शाइरहेका छन् । उनको सामुन्नेमा एक हूल अप्सराहरु बाजा बजाउँदै नाच्दै आइरहेका छन् जसले इन्द्रसभाको वातावरण (संगीत+नृत्य+ वाद्य+गीत)ले गुञ्जायमान भइरहेको प्रतीत हुन्छ । तल ः झण्डै साँढे र सिंहजत्रै अजङको मुसामा आरुढ श्वेतवर्णका चतुर्बाहु गणेश, साँढेमा सवार श्वेतवर्णका चतुर्बाहु शिव र त्यसैगरी सिंहमा चढेकी, श्यामवर्णकी पार्वती उक्त इन्द्रसभामा (इन्द्रको निम्तो मानेर) भाग लिन गइरहका छन् । चम्किला ताराबुट्टाहरुले सजिएको मधुर रङ्गको कालो पृष्ठभूमिले स्वर्गको मनमोहक रात्रिकालीन समयको आभास गराएको छ ।
तान्त्रिक कामकला र लौकिक रतिलीला एउटै जस्तो देखिएता पनि पृथक विषय र अभिप्रायका हुन् । तान्त्रिक कामकला ईश्वरीय लीलाको प्रदर्शन हो, जहाँ अनेक आसनबाट अनेक वीजमन्त्र उद्वार हुने मान्यता तान्त्रिक परम्परामा देखिन्छ । लौकिक रतिलीला चाहिँ कामशास्त्रमा वर्णित दाम्पत्य जीवनका विधान हुन् ।१८ सम्भ्रान्त लौकिक कलालाई मुख्य आधार बनाएर विकसित भएको राजस्थानी शैलीले अठारौं शताब्दीको चरमोत्कर्षमा आपूmलाई पु¥याउँदा कलाका अन्य विधा र चित्रकलामा तान्त्रिक कामकला सँगसँगै लौकिक रतिलीलाका विषयलाई पनि लिएर अघि बढेको देखिन्छ ।१९ त्यही परम्पराको प्रभाव नेपाली कलाका अन्य विधाका साथै चित्रकलामा पनि दृष्टिगत हुन्छ । भक्तपुर राष्ट्रिय कला संग्रहालयमा प्रदर्शित कामसूत्रका चित्रहरु (सत्रौं शताब्दी) पनि यस कुराको पुष्टिका केही उदाहरण हुन् ।
लक्ष्मी दिव्यश्वरी ः सत्रौं शताब्दी, १२१ह९० से.मि., राष्ट्रिय कला संग्रहालय, भक्तपुर । संक्षिप्त विवरण ः आफ्नै अधिपतिदेवलाई आसन बनाएर उनकै काँधमाथि आरामपूर्वका पलेँटी कसी बसेकी लक्ष्मी दिव्यश्वरीको यस अद्भुत, अतुल्य, दिव्य–भव्य चित्रले पनि मल्लकालीन कला मात्र नभएर प्रयोगात्मक शाक्ततन्त्र एवं तन्त्रप्रधान नेवाः धर्म संस्कृति कति लोकप्रिय एवं समृद्धिको सीमाभन्दा पनि कति उपल्लो तहसम्म पुगेको रहेछ भन्ने कुराको छनक मिल्छ ।
रक्तवर्णको ज्वालावलीमय घेराभित्र श्वेतवर्णकी मूलदेवी लक्ष्मी दिव्यश्वरी पहेँलो, हरियो र नीलो रङ्गको किनारा भएको रातो वस्त्रमा सजिएकी छिन् । तिनका सहस्र भुजा छन् । ती भुजाहरु फैलिएर मण्डलाकार रुप लिनपुगेको छ । आफ्नो शरीरको मध्यभागका बीस भुजाहरुमा तिनले खड्ग, त्रिशुल, पाश, परशु, खट्वाङ्ग, सर्प, कलश, पात्र, पुस्तक, ढाल, घण्ट आदि आयुधहरु लिएकी छिन् । ती बीस भुजामध्येका पनि मुख्य दुई भुजाका मुद्राले ‘अभय’ र ‘वर’ प्रदान गरिरहेकी छिन् । शान्त, स्थिर, सौम्य र अटलभाव झल्कने तिनका दिव्य मुखाकृति भएका शिरहरु तह–तह गरी आठ तहमाथिसम्म उठेको छ । पहिलो तहमा, दायाँ ६ वटा र बायाँ ६ वटा र बीचको मूल शिरसमेत गरी १३ शिर (६+१+६) छन् । यही क्रमले, दोस्रो तहमा ११ शिर (५+१+५) शिर, तेस्रो तहमा ९ शिर (४+१+४), चौथो तहमा ७ शिर (३+१+३), पाँचौं तहमा ५ शिर (२+१+२), छैटौं तहमा ३ शिर (१+१+१), सातौ तहमा १ शिर र शीर्षभाग अर्थात् आठौं तहमा पनि १ शिर गरी कुल ५० शिरले लक्ष्मी दिव्यश्वरी सुहाएकी छिन् । त्यसैगरी तिनका पाँचजोर पाउ छन् । त्यसदेखि सबभन्दा तल दायाँपट्टि महादेवका वाहन साँढे र बायाँपट्टि लक्ष्मी दिव्यश्वरीका वाहन सिंह छन् । ती दुबै वाहन पनि श्वेतवर्णका छन् ।
साँढे र सिंहआसनमाथि घोप्टो परेका तर अत्यन्त भक्तिभावले माथितिर टाउको फर्काइ महादेव पार्वतीलाई हेरिरहेका नग्नावस्थाका प्रेत छन् । महादेव उनै पे्रतको आङमा दुबै खुट्टाले टेकेर राजलीलासन मुद्रा कसी, प्रेतासनमा बसेका छन् । महादेव पनि श्वेतवर्णका छन् । उनले आफ्ना शक्ति लक्ष्मी दिव्यश्वरीलाई काँधमा बोकी शान्त एवं उस्तै स्थिर र सौम्य भावले आफ्ना दुबै हत्केलामा लक्ष्मी दिव्यश्वरीका पाँचै जोर पाउलाई राखेर थामिरहेका छन् । महादेवको शिर पनि तीन तहमा उठेको छ । पहिलो तहमा चार शिर, दोस्रो तहमा तीन शिर, तेस्रो तहमा पनि तीन र सबभन्दा माथि एक शिर गरी कुल ११ शिर छन् । यहाँ यिनका यी एघार शिरले हामीलाई यिनको एकादश रुद्रको दर्शन मिल्छ । यिनका बाह्र भुजा छन् । ती भुजाहरुमा यिनले त्रिशुल, डमरु, पात्र, जपमाला आदि आयुध लिएका छन् । यिनको अगाडिका चार हातहरुमध्ये माथिका दुई हात स्थापनी मुद्रा र तलका दुई हातले योनीमुद्रा धारण गरेका छन् ।
लक्ष्मी दिव्यश्वरीको यस चित्रमा माथि दायाँ कुनामा नीलवर्णका अष्टभुज मसानभैरव छन् । अन्य कुनाहरुमा सम्बन्धित देवगण एवं अनुचर छन् । त्यसैगरी लक्ष्मी दिव्यश्वरीको चारै दिशा चार कोणमा बौद्ध, शैव दिप÷मसान छन् । समग्रमा बहुअर्थीय, प्रतीकात्मक दार्शनिक भाव समेत झल्कने लक्ष्मी दिव्यश्वरीको यो दिव्य चित्र हेरेर यस्तो प्रतीत हुन्छ मानौ स्वर्ग, मत्र्य र पाताल वा भनौं सम्पूर्ण चराचर जीवजगत्, देवता, दानव, मानव, ब्रम्हाण्ड सबै नै लक्ष्मी दिव्यश्वरीमय छ, उमामहेश्वरमय छ, अर्धनारीश्वरमय छ, शिवपार्वतीमय छ ।