काभ्रेमा साहित्यिक जागरण ल्याउन, काभ्रेका सर्जकहरू बिचमा सिर्जनाको आदान प्रदान गर्न र साहित्यिक मनहरूमा ऊर्जा थपिदिने उद्देश्य बोकेर ‘काभ्रेली साहित्यिक सङ्गम’ को तदर्थ समितिको गठन २०४७ चैत २ गते मेरो संयोजकत्वमा बनेपा स्थित सरस्वती प्राविको कक्षा कोठामा गठन भयो । उक्त सुरुको भेलामा काभ्रेका साहित्यकारहरू पुष्प सौगात, सुरेश कर्माचार्य, भरत शाही, रत्नप्रसाद श्रेष्ठ, के.जी. बैदार, सुमन वैद्य, सुवर्ण शाक्य, मिलन श्रेष्ठ, टिका श्रेष्ठ, सूर्य रत्न शाक्य, रामशरण खरेल, सरस्वती चिमोरिया, वीरेन्द्र श्रेष्ठ, राजकुमार श्रेष्ठ, अशोक ब्याञ्जु, गोविन्द खड्का, भीमप्रसाद खकुरेल, पङ्कज चित्रकार, कृष्णप्रसाद ब्याञ्जु, केदारनाथ प्रधान, फणीन्द्र पोखरेल, लिला भक्त प्रधान, मोहन दुवाल, सत्यश्वर मकै ‘अशक्त’, राजेशकुमार भुखजु, मुरली रञ्जित, रामशरण लुइँटेल, डी.एस. पीडित, दिनेश सेवाचार्य, राजभाई डङ्गोल, रघु कर्माचार्य उपस्थित रहेको माइन्यूट सुरक्षित रहेकोले जस्ताको तस्तै नाम प्रस्तुत गरेको छु ।
उक्त भेलामा सङ्गमको उद्देश्यबारे मैले नै जानकारी गराएको थिएँ । कविता वाचन गर्नेहरूमा सुरेश कर्माचार्य, राजेशकुमार भुखजु, रामशरण खरेल, भीम ‘अमानव’, अशोक ब्याञ्जु, मिलन श्रेष्ठ, सरस्वती चिमोरिया, डी.एस. पीडित, सुमनकुमार वैद्य, दिनेश सेवाचार्य, लीलाभक्त प्रधानाङ्ग, कृष्णप्रसाद ब्याञ्जु, सत्यश्वर मकै ‘अशक्त’ हरु छन् । केदारनाथ प्रधानले मन्तव्य प्रकट गर्नुभएको उक्त भेलाले मोहन दुवालको संयोजकत्वमा सत्यश्वर मकै सचिव र कोषाध्यक्षमा केदारनाथ अवा र सदस्यहरूमा सरस्वती चिमोरिया, रामशरण खरेल, पङ्कज चित्रकार, रत्नप्रसाद श्रेष्ठ, मिलन श्रेष्ठ, दिनेश सेवाचार्य, केदारनाथ प्रधान, अशोक ब्याञ्जु, भरत शाही, वीना श्रेष्ठ, गोविन्द खड्का, अर्जुन पराजुली, चेतन अभागी रहेको ‘काभ्रेली साहित्यिक सङ्गम’ काभ्रे जिल्ला समिति गठन भएको थियो ।
यस ‘सङ्गम’ साहित्यिक सङ्गठनको निर्माणले काभ्रे भूमिमा साहित्यिक जागरण ल्याउने काम भयो । पनौती र धुलिखेलमा वृहत् कवि गोष्ठीको आयोजना गर्नाका साथै ‘सङ्गम’ कविता सङ्ग्रहको प्रकाशन पनि भयो । धुलिखेल स्थित सञ्जीवनी माविमा भएको वृहत् कवि गोष्ठी र ‘सङ्गम’ को विमोचन कार्यक्रममा काठमाडौँबाट पनि थुप्रै साहित्यकारहरूको उपस्थिति थियो । २०४८ साउन २५ गते भएको उक्त भव्य साहित्यिक कार्यक्रम बनेपामा २०४४ मा भएको ‘अठोट’ विमोचन पछिको भव्य कार्यक्रम थियो । हलमा खचाखच साहित्यकारहरू जम्मा भएको कार्यक्रमको समुद्घाटन साहित्यकार श्यामप्रसाद शर्मा र कवि मोहन कोइरालाले दीप प्रज्वलित गर्नुभएपछि सुरु भएको थियो । प्रगतिशील, प्रजातन्त्रवादी र अन्य साहित्यकारहरूको संयुक्त भेला भएको उक्त साहित्यिक कार्यक्रममा विशिष्ट साहित्यकारहरूको विशेष उपस्थिति थियो ।
काठमाडौँ, भक्तपुर, ललितपुर र अन्य ठाउँबाट सहभागी हुनुहुने साहित्यकार व्यक्तित्वहरूमा कमलराज रेग्मी, रामहरि पौड्याल, चूडामणि रेग्मी, श्यामप्रसाद, वैरागी काइँला, मोहन कोइराला, कृष्णभक्त श्रेष्ठ, मोहन हिमांशु थापा, धुस्वां सायमी, केदारमान व्यथित, विजय बजिमय, जीवनाथ धमला, दिनेश अधिकारी, डा. भीष्मराज प्रसाईँ, गेहेन्द्र भूषण पोखरेली, वासु रिमाल यात्री, रामप्रसाद पन्त, तेजप्रकाश श्रेष्ठ, घनश्याम कँडेल, नकुल सिलवाल, रवि प्राञ्जल, विदुर गौतम, महेश रेग्मी, उदय निरौला, विश्व विमोहन श्रेष्ठ, कृष्णप्रसाद पराजुली, जनकप्रसाद हुमागाईँ, लाल गोपाल सुवेदी, रामप्रसाद दाहाल, रत्ननिधि रेग्मी, रमेश पौडेल, यलुङ किरात, यज्ञनिधि दाहाल, वासुदेव अधिकारी, नीलकमल, किशोर पहाडी, कपिल घिमिरे, भीष्म उप्रेती, देवप्रकाश त्रिपाठी, कमला सरुप, बाबा बस्नेत, सुनिल पुरी, प्रमोद स्नेही, युवराज नयाँ घरे, वसन्तप्रकाश उपाध्याय, श्रवण मुकारुङ, वियोगी बुढाथोकी, ज्ञानुवाकर पौडेल, आमोद भट्टराई, सानु राजा श्रेष्ठ ‘अन्जान’ आदि छन् । उपस्थित साहित्यकारहरू आ–आफ्नो क्षेत्रमा विशिष्टता कायम गर्न सफल साहित्यकारहरू हुन् ।
यस सङ्गमको आयोजनामा भएको वृहत् कार्यक्रममा चर्चित साहित्यकारहरूलाई काभ्रे जिल्लाको सदरमुकाम धुलिखेलमा स्वागत मैले गर्न पाएका सुख र गौरव सम्झिन लायकका साहित्यिक घटनाका प्रसङ्गहरू हुन् । जुन साहित्यिक भेलाले मेरो साहित्यिक यात्रामा ऊर्जा थप्ने काम भयो । राष्ट्रका थुप्रै साहित्यकारहरूका आँखा र मनमा म आफूलाई पनि परिचय गराउन पाइयो । साहित्यिक ऊर्जामाथि ऊर्जा थपिन गयो । बनेपामा भएको ‘अठोट’ को विमोचनपछि भएको ‘सङ्गम’ को विमोचन र कवि गोष्ठीले मेरो सम्पर्क फराकिलो हुन थाल्यो । आफ्नो परिवेशमा र जिल्लाभित्र सीमित भइरहँदा जति चर्चा र ग्राह्यता पाउनुपर्ने हो सो पाउन नसकिने रहेछ । काभ्रेबाट भएका तर राष्ट्रिय गतिका रूपमा चर्चा पाउनुपर्ने कार्य काभ्रेली साहित्यिक सङ्गमबाट पनि भयो । काभ्रे जिल्लाभरका साहित्यकारहरूसँग सम्पर्क, क्रियाकलाप र गोष्ठी/सङ्गोष्ठी भयो त्यो नै उपलब्धिमूलक भयो सङ्गम गठन गर्न पाउँदा स्मरण गर्न सकिन्छ ।
काभ्रे जिल्लाको बनेपामा रहेर १४–१५ वर्षका छँदा देखि साहित्य सिर्जना गर्दै आएको र साहित्यिक अभियान गर्न पाउँदा गौरव वोध गर्दै बाँचेको जीवन भएकोले साहित्य मेरा लागि जीवनकै क्रम भयोे । ‘फसंपुगुलप्ते’ र ल्हाकायोमाय्न’ का हस्तलिखित बोकेर ‘बिगुल’, ‘वेदना’, ‘जनमत’, ‘उत्साह’, पूर्व एक नम्बर, सङ्गमका साहित्यिक मर्महरूमा आफूलाई प्रवाहित तुल्याउँदै यात्रामा लम्किरहेछु । ‘अठोट’ मा कृष्णप्रसाद पराजुलीसँग भएर, ‘सङ्गम’ मा सत्यश्वर मकैको साथ पाएर काभ्रेको साहित्यिक जगत्मा ऊर्जा थप्न पाएर दङदास भएको विगत इतिहासहरू मेरा पुराना साहित्यिक बाटाहरू हुन् ।
‘सङ्गम’ २०४८ साउनमा प्रकाशित काभ्रेली कविहरूको कविता सङ्ग्रह हो । सत्यश्वर मकैको साथ र सहयोगी सम्पादनमा पाएको उक्त पुस्तकमा मैले सम्पादकीयमा यसरी लेखेको थिएँ– ‘अठोट’ काभ्रेली कविहरूको कविता सङ्ग्रह पछिको यो दोस्रो कविता सङ्ग्रहका रूपमा ‘सङ्गम’ प्रस्तुत भएको छ । ‘अठोट’ ले जस्तै व्यापकता अँगाल्न नसके पनि नेपाली साहित्यको निरन्तर सेवा गरिरहने भावना स्वरुप यस सङ्ग्रहको पनि जन्म भएको हो । काभ्रेमा भाषा र साहित्यका क्रियाकलाप भई नै रहून् भन्ने चाहना स्वरुप सबै साहित्य प्रेमी साथीहरूको अथक परिश्रम र सहयोगले नै यो ‘सङ्गम’ प्रकाशित भएको छ ।” उक्त सम्पादकीयमा अगाडि लेखिएको छ – “राजधानीसँगै जोडिएको यस काभ्रे जिल्लामा साहित्यिक जागरणको लहर ल्याउने क्रमलाई अझ गतिशील पार्ने प्रयासको आवश्यकता छ । त्यसैले सङ्गमले साहित्यिक जागरणका निम्ति राजधानीबाहिरबाट पनि राष्ट्रिय तथा जिल्ला स्तरीय रूपमा केही न केही क्रियाशीलता देखाइ रहनु पर्ने अनुभव गरेको छ ।”
“साहित्यमा सक्रियता देखाइरहन मन परेकै कारणले ‘काभ्रेली साहित्यिक सङ्गम’ को जन्म गराइएको हो । यस संगम मार्फत् जिल्लाका साहित्यकारहरूको सम्पर्क गर्ने र गोलबन्द गरी साहित्यिक अभियानमा लगाउने हाम्रो उद्देश्य र चाहना थियो ।” २०४८ सालमा नै साहित्यिक क्षेत्र साझा थलो हुनुपर्ने सोचले बनेको उक्त सङ्गमको उद्देश्यमा लेखिएको थियो– “साहित्यकारका माझमा साझा थलोका रूपमा एउटा संस्थाको निर्माण होस् भन्ने चाहना स्वरुप ‘साहित्यिक सङ्गम’को उदय भएको र त्यसैको पहिलो कृतिको रूपमा यो पुस्तक प्रस्तुत गर्न पाउँदा हामी सबैलाई विशेष खुसी लाग्नु स्वाभाविकै हो ।
‘सङ्गम’ कवितासङ्ग्रहको सार्वजनिक साहित्यिक कार्यक्रम विशेष समारोहका साथ धुलिखेलमा भव्य रुपले सम्पन्न भएको थियो । ‘सङ्गम’ कविता सङ्ग्रहमा काभ्रेका कविहरूमा पङ्कज चित्रकार, आशाकाजी सेवक, कृष्णप्रसाद पराजुली, जनकप्रसाद हुमागाईँ, केदारनाथ अवा, केदारनाथ प्रधान, मोहन दुवाल, के.पीे. ब्याञ्जु, नेपाल सुधार भैल, गोविन्द खड्का, भीमप्रसाद खकुरेल ‘अमानव’, दिनेश सेवाचार्य, अतीत उदास, अर्जुनप्रसाद पराजुली, बलराम बञ्जारा, भरत शाही, बलराम तिमिल्सिना, सत्यश्वर मकै ‘अशक्त’, मिलन श्रेष्ठ, डी.एस. पीडित, रामहरि बुढाथोकी, रत्नप्रसाद अनामणि श्रेष्ठ, रामशरण खरेल, राजेशकुमार भुखजु, अशोक ब्याञ्जु, सरस्वती चिमोरिया, शुभलक्ष्मी मानन्धर, उषा मानन्धर गरी २८ जना प्रकाशित छन् । यस सङ्ग्रहमा धुलिखेल, बनेपा, भमरकोट, बल्थली, चलाल गणेश स्थान, खरेल थोक, मण्डन, पनौती, ढुङ्खर्क, बाँसडोल, साँगा, नाला, सस्र्यूंखर्क, बालुवाका कविहरूका ७५ वटा कविताहरू समेटिएका छन् । यो मेरो निम्ति र मेरो सक्रियतामा भएको एक खालको उल्लेखयोग्य साहित्यिक अभियान हो । इतिहास खोज्नु भनेको नै गर्नेहरूको कार्य उत्खनन गरेर प्रकाश पार्नु हो ।