प्रसिद्ध गायक स्वर्गीय प्रेमध्वज प्रधानका नाममा प्रतिष्ठान उहाँको पहिलो स्मृति सभाको अवसरमा स्थापना गरिएको छ ।
औपचारिक कार्यक्रमबीच गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानको उद्घाटन गरिएको हो । नेपालको सांगीतिक क्षेत्रमा उहाँले गर्नुभएको अमूल्य योगदानलाई स्मरण गराउने लक्ष्यका साथ प्रतिष्ठान गठन गरिएको हो ।
प्रतिष्ठानको संरक्षक एवं अध्यक्ष प्रेमध्वज प्रधानकी जीवन संगीनी किरण प्रधान रहनुभएको छ । प्रतिष्ठानले गायक प्रधानको जीवनी, सांगीतिक यात्रा, संघर्ष एवं योगदान आदिका बारे बृहत् स्रोत केन्द्रका रूपमा अगाडि बढाइने भएको छ ।
प्रधानको सम्झनामा विभिन्न रचनात्मक कार्य गर्नुका साथै नेपालको सांगीतिक क्षेत्रका अमूल्य योगदान दिनु हुने कलाकारलाई क्रमश: सम्मान एवं पुरस्कृत गर्ने प्रतिष्ठानको उद्देश्य रहेको उपाध्यक्ष प्रसन्नध्वज प्रधानले बताउनुभयो ।
प्रतिष्ठानले वार्षिक वा दुई वर्षमा नेपाली संगीत क्षेत्रमा समर्पित कलाकारलाई गोल्डन भ्वाइस प्रेमध्वज प्रधान संगीत सम्मान प्रदान गर्ने भएको छ ।
प्रतिष्ठानको सल्लाहकार समितिमा अग्रज सर्जकहरु बच्चु कैलाश बस्नेत, किरण खरेल, योगेश वैद्य, शम्भुजित बासकोटा, र मञ्जु कुमार श्रेष्ठ रहेका छन् भने कार्यकारिणी समितिमा संरक्षिका तथा अध्यक्ष श्रीमती किरण प्रधान, उपाध्यक्ष प्रसन्नध्वज प्रधान, सचिव कविरध्वज प्रधान, कोषाध्यक्ष भूवन मास्के ‘मुस्कान’ र सदस्यहरुमा मनराजा नकर्मी, जुगल डङ्गोल, राजु वैद्य र एरिना श्रेष्ठ रहेको छ ।
समारोहमा यादव खरेल, दुर्गालाल श्रेष्ठ, राजेन्द्र थापा, दिनेश अधिकारी, दीपक जंगम, मदनकृष्ण श्रेष्ठ, शम्भुजित बासकोटा, तिर्थकुमारी थापा, दीप श्रेष्ठ ,तारा थापा,संगीता शाक्य, उन्नती बोहरा शिला, भीम तुलाधर,जेम्स प्रधान, सुगम पोखरेल,निर्णय श्रेष्ठ, यमन श्रेष्ठ आदिको उपस्थिति थियो ।
औपचारिक कार्यक्रम पश्चात लाइभ म्युजिकको साथमा उदेश श्रेष्ठले प्रेमध्वज प्रधानको केही कालजयी गीतहरुको प्रस्तुति दिएका थिए । कार्यक्रम नरेश भट्टराईले सञ्चालन गरेका थिए । गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानका उपाध्यक्ष प्रसन्नध्वज प्रधानले धन्यवाद दिएका थिए ।