१.
मेरा बाबु घाँस काट्न वन गएका थिए
भीरबाट लडेर मरेछन्
उनलाई कसैले शहीद भनिदिएन;
मेरा दाजु भारी बोक्न बेँसी झरेका थिए
खोलामा बगेर मरेछन्
उनलाई कसैले शहीद भनिदिएन;
मेरी दिदी छोराछोरी पाउन नसकेर
सुत्केरी व्यथाले मरिछन्
उनलाई पनि कसैले शहीद भनिदिएन;
कठै ती बिचराहरू!
राजनीतिको गन्धभन्दा निकै टाढा थिए
त्यसैले त उनीहरूलाई कसैले शहीद भनिदिएन।
२.
त्यतिखेर समय पनि त अर्कै थियो
आजको जस्तो सजिलै शहीद हुन पाउने
भाग्यवान्हरू त्यहाँ थिएनन्;
हिजो शहीद हुनका लागि
धेरैधेरै तपस्या गर्नु पर्थ्यो;
व्यक्तिगत स्वार्थभन्दा माथि
सामूहिक आस्था, दृण प्रतिज्ञा र उच्च मर्यादा हुनु पर्थ्यो;
सत्य, न्याय र इमान्दारीका साथ
सधैँ कर्तव्यनिष्ठ सिद्धान्तवादी भएर उठ्नु पर्थ्यो;
लड्दै, भिड्दै र संघर्ष गर्दै
क्रूर अन्यायीहरूबाट बलिदान भएर
धर्तीभरि, मनभरि र मान्छेभरि भएर जानु पर्थ्यो;
यसरी जानेहरू नै त्यहाँ अमर हुन्थे
मरेर जाँदा पनि कहिल्यै नमर्ने शहीद हुन्थे;
ती नै अमर शहीदहरूका निम्ति
थोरै मरेर धेरै बचाउने शहीदहरूका निम्ति
लोभलालच र व्यक्ति स्वार्थको विवादभन्दा माथि
समष्टिमा पुगेर बाँच्ने र बचाउने शहीदहरूका निम्ति
शहादत प्राप्त व्यक्तिहरूको मर्यादा हुन्थ्यो,
इज्जत हुन्थ्यो
शहीद भन्नासाथ अहिले पनि
म त्यस्तै व्यक्तिको कल्पना गर्छु
वास्तवमा शहीद भन्नु नै त्यस्तै व्यक्ति हुन्
हो, त्यस्तै व्यक्तिहरू हुन्।
३.
यति वेला परिस्थिति अर्कै भएर बदलिएको छ
यहाँ राजनीतिको रङ्ग बदलिएको छ;
राजनीतिसँगै समाजको ढङ्ग पनि बदलिएको छ,
कसले, कसलाई, कतिबेला शहीद घोषणा गरिदिने हो
भन्न नसके पनि
कुनै वेला कोही पनि शहीद बन्दोरहेछ भन्ने कुरा
हामी निकै बुझ्न थालेका छौं;
भीरबाट लडे पनि शहीद बन्दोरहेछ
खोलामा बगे पनि शहीद बन्दोरहेछ
भीडमा ढुंगा हान्न जाने मान्छे
भीडमै किचिएर मरे पनि शहीद बन्दोरहेछ;
डाँका गरेर भागे पनि
पुलिसले मारेपछि शहीद बन्दोरहेछ;
चोरी गरेर भागे पनि शहीद बन्दोरहेछ;
अरू त परै जाओस्
विष खाएर मरे पनि शहीद बन्दोरहेछ
फगत राजनीतिको वरदान भए पुग्दोरहेछ
फगत राजनीतिको वरदान।
४.
मेरा परिश्रमी बाबु
तिमीले राजनीतिका कुरासम्म सुनिदिएका भए?
मेरा मिहिनेती दाजु
तिमीले दलमा नाउँसम्म लेखाइदिएका भए
मेरी अभागिनी दिदी
तिमीले कुनै संगठनको नाउँसम्म सुनिदिएकी भए
आज तिमीहरू पनि शहीद बन्ने रहेछौ;
हामी पनि शहीदका परिवार बन्न पाउने रहेछौँ;
फगत् तिमीहरूले पनि
राजनीतिको गन्धसम्म सुँघिदिएका भए।
५.
मेरा मान्यवर पूर्वजहरू !
तिमीहरू सबैले मलाई परिश्रमी बन्न सिकायौ;
मिहिनेती बन्न सिकायौ र इमानदार बन्न सिकायौ;
आफ्नै हात र पाखुरीहरू बजारेर
नङ्ग्रा र पैतालाहरू खियाएर, पसिना बगाएर
सँधै कर्मशील बन्न सिकायौ;
कर्तव्यनिष्ठ बन्न सिकायौ;
कामचोरहरूबाट टाढै रहेर
सँधै साँचो अर्थमा लगनशील बन्न सिकायौ;
बञ्चक राजनीतिभन्दा धेरै पर
देशभक्त र इमान्दार बन्न सिकायौ।
६.
मेरा आदर्श पुर्खाहरू !
आज तिमीहरूले पढाएको पाठ पढेर
मलाई बाँच्न पनि निकै कठिन भएको छ;
आजका मेरा शिक्षित बन्धुहरूसँग
मैले कुममा कुम जोडेर हिँड्न नसकेकोमा
उनीहरू मलाई कमजोर, काँतर र पछौटे सम्झलान्
म उनीहरूलाई के भनेर सम्झाऊँ?
हाम्रा पूर्वजहरू अशिक्षित भए पनि
उनीहरू देशभक्त र इमान्दार थिए;
बहुविद् राजनीतिज्ञ नभए पनि
शुद्ध, बुद्ध र आदर्श थिए;
जता मल्खु उतै ढल्कुको सिद्धान्त त्यहाँ थिएन,
मन, वचन र कर्मले
उनीहरू आदर्श थिए, अनुकरणीय थिए,
दलगत राजनीतिको छुच्चो स्वार्थमा फसेका थिएनन्
लासको राजनीति गर्न पनि जानेका थिएनन् उनीहरूले;
उनीहरूभन्दा पनि उच्च, महान् र आदर्श थिए
उनीहरूका शहीदहरू ।
७.
आज ती नै देशभक्त इमान्दार शहीदहरूका ताँतीमा
भीरबाट लडेर मरेको मान्छेलाई पनि
शहीद भनिदिएको सुन्दा
खोलामा बगेर मरेको मान्छेलाई पनि
शहीद भनिदिएको सुन्दा
भीडमा किचिएर मरेको अकिञ्चनलाई पनि
सिद्धान्तवादी शहीद भनिदिएको सुन्दा
दलगत किचाघानमा पसेर तँछाड, मछाड गर्दै
एकले अर्कालाई आरोप लगाएर
लासमाथिको राजनीति गरेको देख्ता
धरोधर्म मलाई मेरा पुर्खाहरूको
अवमूल्यन भएजस्तो लाग्छ,
मलाई मेरै आदरणीय शहीदहरूको
अवमूल्यन भएजस्तो लाग्छ;
शहीद, मलाई तिम्रो अवमूल्यन भएजस्तो लाग्छ।