नियात्रा समाज नेपालले गत वर्षदेखि प्रदान गर्दै आएको ‘पवन आलोक नियात्रा पुरस्कार–२०७८’ नियात्राकार डा. दामोदर पुडासैनी ‘किशोर’द्वारा लिखित कृति ‘ग्रीष्मको नीलो बतास’लाई प्रदान गर्ने घोषणा गरेको छ । पवन आलोक नियात्रा पुरस्कार कोष र नियात्रा समाज नेपालबीच भएको सम्झौताबमोजिम पुरस्कारको घोषणा गरिएको हो ।
प्रारम्भिक छनोटमा परेका पाँच कृतिको सूचीमध्येबाट ‘नेपालका क्षेत्रगत विशिष्टता बोकेका विभिन्न पर्यटकीय गन्तव्यहरूप्रति दर्शाइएको उच्च सम्मान, आन्तरिक पर्यटन प्रवर्द्धनमा पुर्याउन सक्ने योगदान, ती क्षेत्रहरूको शाब्दिक पथप्रदर्शन र भूगोल तथा विकास प्रक्रियाको सुन्दर विम्बात्मक संयोजन’ गरी नेपाली नियात्रा साहित्यमा विकासको खोजी गर्ने स्रष्टा ‘किशोर’द्वारा लिखित ‘ग्रीष्मको नीलो बतास’लाई पुरस्कार प्रदान गर्न सिफारिस समूहले सिफारिस गरेको जनाइएको छ ।
सिफारिस समूहका संयोजक एवं नियात्रा समाजका अध्यक्ष प्रतीक ढकाल, नियात्राकार श्रीओम श्रेष्ठ रोदन र पुरस्कार कोषका प्रतिनिधि पवन आलोकले विज्ञप्ति जारी गर्दै उक्त पुरस्कार आउँदो माघ १२ गते वसन्त पञ्चमीका दिन प्रदान गरिने जनाएका छन् ।