१. पिण्ड
पिताको निधनपछि ऊ कोरा बसेको थियो । किरियाकर्मको दोस्रो दिन, ऊबाटामा गयो अनि पिताको लागि पिण्डमा तील र जल चढाएर फर्कियो । अर्को दिन पनि ऊ त्यही बाटामा गयो । तर, उसको आँखा न पिण्डमा पर्यो, न तिल र जल नै देख्यो । ठान्यो – पिताजीले पिण्ड खानुभो ।
अर्को दिनदेखि उसले घ्यु, मह, तथा दूधको मात्रा बढाएर मीठो र ठूलो पिण्डबटार्यो । पिण्ड र जल बाटामा राखेर फर्कियो । अन्तिम संस्कारको अन्तिम दिनसम्म यो प्रक्रिया नित्यनिरन्तर चलिरह्यो ।
तेह्रौँ दिनमा धेरै कामहरु भएकोले पिण्ड र जल दिने काम ढिलो भयो । “पिताजीलाई भोक र तिर्खा खुब लागे होला,” उसको मन अधिर भयो । त्यसपछि ऊ पिण्ड र जल लिएर बाटोमा गयो । उसले पिताजीको अनुहार सम्झँदै पिण्ड र जल अर्पण गर्यो ।
निकै दिन पछि पो चाल पायो – छिमेकीको लुते कुकुर मोटाएर बङ्गुर जस्तो भएको रहेछ ।
२. कलम र बन्दुक
विद्यालयमा हुने साप्ताहिक वादविवाद प्रतियोगितामा “कलम ठूलो कि बन्दुक ?” भन्ने विषयमा ऊ र म वादविवाद गथ्र्यौं । म कलमको पक्षमा हुन्थेँ । ऊ बन्दुकको पक्षमा हुन्थ्यो । समय एक सय ८० डिग्रीमा फनक्क घुम्यो । अहिले मेरो हातमा बन्दुक छ । उसको हातमा कलम । गाउँको नामुद फटाहा धनपतिलाई तह लगाउने टुंगोमा पुग्यौँ हामी ।
“कलमभन्दा बन्दुक ठूलो, म त्यसलाई तह लगाउँछु,” म जिद्दिन्थेँ ।
“बन्दुकभन्दा कलम ठूलो, म त्यसलाई तह लगाउँछु,” ऊ पनि कहाँ कम थियो र !
अर्को दिन मेरो बन्दुक हरायो । उसको कलम बेपत्ता भयो ।
हाम्रो गह्रौँ खल्तीभित्र रहेको धनप्रसादले हाम्रो दुर्दशा देखेर गिज्यायो – “अब त थाहा पायौँ होला नि, को ठूलो रहेछ ?”
३. युवा पुस्ता
“देशमा धेरै वाद र तन्त्र परिवर्तन भइरहेका छन् तर जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन भएको छैन । यी बुढा नेताले दोस्रो पुस्तालाई जिम्मेवारी सुम्पिने हो भने देशले छिट्टै समृद्धिको यात्रामा फड्को मार्ने छ,” हजुरबाले बुबासँग बरोबर भन्नुहुन्थ्यो ।
समय अघि बढिरहेको थियो ।
बुबाले भन्नुभयो –“यी दोस्रो पुस्ताका नेता बूढा भए । पैसा, शक्ति, भक्ति, आशक्तिमा यिनीहरु लिप्त भए । लुटतन्त्र र गुट राजनीतिले देश धेरै पछि पर्यो । युवालाई नेतृत्व, बुढालाई पितृत्व दिएपछि तेस्रो पुस्ताले नेपाललाई स्विट्जरल्यान्ड बनाउने छन् ।
समय बेगवान छ ।
मैले छोरालाई भनेँ –“बाबु ! अहिलेका बूढा नेताले देश र जनताको पक्षमा सिन्को भाँच्दैनन्, कमाउने र रमाउनेमै देशलाई कङ्गाल बनाए । अब चौथो पुस्ताले नेपाललाई सिङ्गापुर बनाउनेछ । युवा पुस्तामा सपना र दृष्टिकोण हुन्छ ।”
समय बित्दै जाँदा म बुढ्यौलीले ओछ्यान परें ।
छोराको कोठाबाट मेरो ओछ्यानमा आवाज आयो —“हेर बाबु ! चिन्ता नगर्नू ! चौथो पुस्ताका बुढाले केही गरेनन् । विकास गर्ने इच्छा र प्रयास नै छैन । भ्रष्टाचारले देश चुर्लुम्म डुब्यो । युवा पुस्तालाई नेतृत्व दिने हो भने नेपाललाई जापान बनाउनेछन् ।”
४. सवारी
ऊ सानो हुँदा बाँसको आँख्लामा टेकेर अग्लो भएर हिंड्ने गथ्र्यो । यसरी हिंड्दा उसलाई लाग्थ्यो – आहा !
उमेर बढ्दै जाँदा उसले साइकल किन्यो । साइकलमा टिंगटिंग घन्टी बजाउंदै हिंड्दा उसलाई लाग्थ्यो, आहा !
सानोतिनो प्रगति गरेपछि उसले मोटरसाइकल किन्यो । मोटरसाइकलमा हुइकिंदा उसलाई लाग्थ्यो – आहा !
उसलाई राजनीति निकै फाप्यो । देशमा सेवा गर्ने भन्दा मेवा खाने राजनीति फैलिएको थियो । ठेक्का, टेन्डर, कमसल काम आदि गर्दा उसले कुस्त पैसा कमायो । उसले नयाँ कार किन्यो । कारमा सुलुलुलु बग्दा उसलाई लाग्यो – आहा !
मनि र मसलको प्रयोगले उसले चुनाव जित्यो । केही महिनामै उसले करोडको गाडी किन्यो । करोडको गाडीमा पाँचतारे होटेलमा हुंइकिंदा उसलाई लाग्यो – आहा !
नेतालाई केही करोड, कार्यकर्तालाई केही करोड, मतदातालाई केही करोड अनि नेतालाई पुन केही करोड दिएपछि उ मन्त्री बन्यो । मन्त्रीको कालो गाडीमा अगुवा र पिछुवा लगाएर हिंडदा उसलाई लाग्यो – आहा !
केही वर्षपछि उसलाई अचानक छाति दुख्यो, शरीरबाट खलखली पसिना आयो, नाकबाट रगत बग्यो । एम्बुलेन्स आएर उसलाई अस्पतालतिर हुँइकियो । एम्बुलेन्सको धिपधिप बत्ती र आकस्मिक साइरन सुन्दा उसलाई लाग्यो – अया !
उपचारको क्रममा उसको निधन भयो । उसको शरीरलाई शवबाहनले आर्यघाटतर्फ लिएर गयो । यो पटक उसलाई लाग्यो – न आहा, न अया !
उसको शवलाई दुर्लभ सवारी साधनमा राखेर आगोको चितामा राखियो । उसको आत्माले भन्यो – आखिरमा चाहिने सवारीसाधन हरियो बाँस नै रहेछ ।