जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अनुवाद

धर्म

हृदयचन्द्र सिंह हृदयचन्द्र सिंह
प्रकाशित ७ आश्विन २०७८, बिहीबार
अनुवाद भित्र
0
धर्म

पछिल्ला दिनहरूमा सर्वधर्म परिषद्को स्थापना भइरहेको छ एवं विश्व धर्म सम्मेलन भइरहेको छ । यस शुभकामनाको काममा विशेष प्रेरक तत्व भएर मुनि सुशीलकुमार आदि शिखरका महापुरुषहरू शिरदेखि पाउसम्मका शक्ति लगाएर पसिना बगाइरहेका छन् र संसारमा शान्तिस्थापनाको जिम्मेवारी पनि आफ्नै काँधमा लिइरहेका छन् । यो राम्रो र हर्षको कुरा हो, यसमा कुनै मतभेद र सन्देह छैन । तर यति हुँदाहुँदै पनि यतिले मात्रै विश्वबाट युद्ध हट्नेछ, तनाव हट्नेछ र शान्ति छाउनेछ भन्ने आशा गर्नु आफ्नो छायालाई साथी सम्झनुजस्तै हो । यस्तो आशा मृगतृष्णामात्र हो । विश्वधर्म सम्मेलनबाट त मानवमनमा धार्मिक सहिष्णुता एवं एकताको जन्म हुनेछ र यसबाट संसारमा साम्प्रदायिक भावना हट्नेछ भन्ने भनाइ छ । के साम्प्रदायिक भावना ‘म–तँ’ हट्नालेमात्र सुखशान्तिले वरमाला पहिराउनेछन् ? के धर्म र सम्प्रदाय मात्र सबै हो ? के धर्म र सम्प्रदायमा सामञ्जस्य स्थापित भएर मात्रै संसारको सङ्कट मेटिनेछ ? कदापि होइन । यो त धेरै कारणहरूमध्ये एउटा मात्र हो, यो नै सम्पूर्ण कारण हुँदै होइन ।

म मान्दछु — धार्मिक वैमनस्य साम्प्रदायिक मतभेद, वादविवाद र वितण्डावाद पनि अशान्तिका कारण हुन् किनभने यिनीहरूबाट काटमार पनि हुन्छ । यस्तो भएको छ, भइरहेको छ, र हुनेछ पनि । असलमा संसारका सबै धर्मको एउटै अभिप्राय छ, त्यो हो—कल्याणकारी भावना, सबैलाई आफ्नै समान सम्झेर सम्मान गर्नु र यथासम्भव अरूहरूनिम्ति आफ्नो तर्फबाट योगदान दिनु तर यति हुँदाहुँदै पनि समान उद्देश्य भएर पनि धर्मलाई लिएर संसारमा प्रशस्त झगडा, गोलमाल र हातपात भइरहन्छ । धर्मलाई लिएर सम्प्रदायको नाममा बारम्बार रगतको नदी बग्दछ । त्यसैले धार्मिक सहिष्णुता, साम्प्रदायिक सौमनस्यको स्थापना र साम्प्रदायिक तनाव एवं असल–खराब हटाउनका लागि यस्ता विश्वधर्म सम्मेलन र सर्वधर्म परिषद्को अत्यन्त आवश्यकता छ । यस दृष्टिले हामीले यी कार्यहरूको स्वागत गर्दुपर्दछ र यी सराहनीय पनि छन् ।

तर धर्मबाट संसारको उन्नति तथा प्रगति हुनेछ, धार्मिक सहिष्णुता, सौमनस्य र सहअस्तित्वबाट नै संसारमा शान्तिको स्थापना हुन सक्छ; यस्तो भन्नु बिडम्बनामात्र हो । धर्मका अगुवा अधिकारी र ठेकेदारहरूको यो कुरा तिनीहरूको कुरैमात्र हो । हुनत धर्मको उद्देश्य, परिभाषा र मनसाय मङ्गलशान्ति हो र यी सम्पूर्ण राम्रा गुण एवं तŒव हुन्, फेरि पनि यी सबै हुनदिनुमा र यिनको क्रियान्वयनमा धर्म निष्क्रिय र पङ्गु छ किनभने धर्ममा दया र करुणाको वाञ्छनीयता र आवश्यकता बढी छ । बस, दया र करुणाको वाञ्छनीयता र आवश्यकता नै मान्छेलाई दैत्य बनाउने उत्पे्ररणा र आकर्षण हो । दया र करुणाद्वारा संयोगवश तिनको व्यवहार गर्ने व्यक्ति देवता भई नै हाल्थ्यो भने पनि त्यसको वंश अन्तत: उनकै मिलिभगतबाट दैत्य बनेरै छाड्नेछ किनभने त्यो दया र करुणाको वाञ्छनीयता र आवश्यकता सुस्तसुस्त शासनसूत्र बन्नेछ । तब दया र करुणा गर्नेचैँ शासक वा मालिक हुनेछ र जसलाई दया र करुणा आवश्यक छ त्योचैँ शासित वा दास अथवा मजदुर बन्नेछ । अर्थात् दया र करुणाको दाताचाहिँ नचाहेरै पनि तिनकै आडमा आकाशमा चढ्नेछ । थाहै नपाई र अनुमानै नगरी उनीहरू बिस्तारैबिस्तारै अनुनय, विनय र खुसामदको भोको बन्नेछन् र त्यसको उपभोक्ता अर्थात् जसलाई दया र करुणाको आवश्यकता छ, तिनीहरू दया र करुणाका वितरकहरूको गोडा मल्न थाल्नेछन् । यही दया र दयनीयता नै कालान्तरमा आज अशान्ति, युद्ध र अधिकांशत: हिंसा इत्यादि बनेर हामीसित रहिरहेका छन् । यही दयाबाट नै आज दुनियाँमा दानवताको सृष्टि भइरहेछ । प्रजा राजाको दया चाहन्छ, स्त्रीलाई पुरुषको प्रेम नभएर दयाको आवश्यकता हुन्छ; भिखारी दाताको करुणाको आशामा नै बाँचिरहन चाहन्छ; फेरि कोही कसैलाई खास दया र करुणा गर्छ, गर्न चाहन्छ । तर दया र करुणा पाएर तथा दया करुणामा रहेर को तृप्त भएको छ र कसको उद्धार भएको छ ? के एउटा दधीचि, एउटा हरिश्चन्द्र, एउटा बलि, एक शिवि यस्तै एकदुई अरू दाता, दयालु र दानवी हुनुमात्र यति ठूलो संसारका लागि पर्याप्त छ ? के एउटा सुदामा यस्तै र यति नै विशाल विश्वको दयनीय वा दयाको पात्र हो ? यति ठूलो संसारमा घुमेर पत्ता लगाउने कुनै आवश्यकता छैन; आफ्नै देश, प्रदेश, प्रान्त, नगर, गाउँ, टोल, छिमेक र परिचित व्यक्तिहरूबाटै कति दयनीय छन् र कति दयावान् छन् भन्ने कुरा पत्ता लगाउन सकिन्छ । कतिलाई दयाको आवश्यकता छ र दया एवं करुणाको हैसियत वाला भएर दया गर्नेहरू कति छन् तथा दयाकरुणाको आडमा मान्छे के बन्दछ ? तपाईं के देख्नुहुन्छ भने जसमा दयाको आधिपत्य छ त्यो दैत्यको रङ्गमा रङ्गिँदै जानेछ र जसलाई दयाको आवश्यकता छ त्यो दयनीयताको खाल्टोमा खस्दै जानेछ एवं त्यसको वंश त्यसै दयनीयताको खाल्टाको नागरिक हुँदै जानेछ । वस्तुत: आज संसार यस्तै दयनीय नागरिकहरूले भरिँदै छ र दया गर्नेचाहिँ महँगो हुँदै गएको छ । तपाईं के पनि देख्नुहुन्छ भने समाजमा वा जुन घरपरिवारमा दया र करुणाको आवश्यकता छैन, जो दयाबाट टाढा छन्, दयामा कुनै आश्रित छैनन्; त्यस समाज र घरपरिवारको हरेक मान्छे, प्रत्येक व्यक्ति मानवताको साक्षी छ तथा सुखी, सुन्दर, शान्त र विशाल छ ।

म मान्दछु, धर्मको व्यञ्जना र व्यापकता धेरै मानिन्छ, त्यसको विस्तार र निश्चिन्तताको सीमा छैन, त्यसका रूप र अस्तित्व अविलम्बित छन्, त्यसको परिभाषाको कुनै सीमा छैन र सबै राम्रा कामहरू त्यसको घेरामा आउँछन् तर म के भन्न चाहन्छु वा मेरो भनाइ के छ भने यी सबैका लागि सम्पूर्ण राम्रा काम र भावनाका लागि ‘धर्म’ शब्दको प्रयोग गर्ने कुनै आवश्यकता छैन । धर्मको अर्थ ‘राम्रो’ पनि हो भने त्यस ‘राम्रो’ वा राम्रोपनलाई धर्म नै किन भन्नुपर्दछ ? यस्ता कतिकति ‘राम्राकुरा’ लाई त सौजन्य, सद्भावना, भद्रता, मानवता इत्यादि यस्तै योग्य वा उचित अनेक शब्द प्रयोग गर्न सक्छौँ । कुनै लडेको मान्छेलाई उठाउनु मानवता हो, हराएको कुनै कुरा मिल्यो भने दिनु वा खोजिदिनु सौजन्य हो, कसैका बारेमा पनि नराम्रो नसोच्नु र भलाइमा आनन्दित हुनु सद्भावना हो । फेरि पनि सबै राम्रा कामहरूलाई नै व्यापक रूपमा ‘धर्म’ र समस्त खराब कामहरूलाई ‘पाप’ भन्ने हो भने त्यति आपत्ति पनि छैन । तर धर्म र पाप भन्ने भनाइमा फेरि पनि सम्प्रदायको केही न केही गन्ध आई नै हाल्दछ, मान्छेको एउटा भिन्नपनको झलक देखिई नै हाल्दछ र छेउ लागेर चल्ने प्रवृत्ति अथवा आँखामा पट्टी बाँध्नमा मज्जा आउने बानी परी नै हाल्छ ।

धर्म र संसारलाई बनाउन सक्दैन
धर्मलाई म सहसा खराब र अवाञ्छनीय भन्न सक्दिनँ । ‘पाप’भन्दा त ‘धर्म’ अवश्य नै राम्रो कुरा हो । ‘पाप’ले मानिसलाई सहजै रुवाउँछ, दु:ख पुर्‍याउँछ, तर धर्मले कसैलाई दु:ख दिन्न, यसबाट मान्छेमा सुखको नै अनुभव हुन लाग्दछ । त्यसैले यो प्राय: सबैलाई प्यारो र मीठो लाग्दछ । फेरि पनि मलाई के विश्वास छ भने धर्मले संसारलाई बनाउन सक्दैन, अगाडि बढाउन सक्दैन र तन्दुरुस्त पार्न सक्दैन किनभने धर्ममा उत्पादनशक्ति छैन; यसको शक्ति विवरणसम्म मात्रै सीमित छ । त्यसैले संसारलाई सन्तुलनको स्थितिमा राख्न पनि यो समर्थ हुनेछैन । यो मात्र आँसु पुछ्ने र पीडा मेटाउने भावनाकेन्द्री दबाई मात्र रहन जान्छ । आँखामा आँसु आउन नदिनुमा, आँसु हुन पनि नदिनुमा र बिमारी हुनै नदिएर मानिसहरूलाई स्वस्थ राख्नमा यो असमर्थमात्र छैन, असचेत पनि छ ।

मेरो विचारमा धर्मको सृष्टि नै मूलत: दया, करुणा र सहानुभूतिका लागि हो र दया, करुणा, सहानुभूति सबै शोषण, उत्पीडन र दरिद्रताकै स्वीकृति हुन् । दयाको आवश्यकता नै नभए धर्मको आवश्यकता पनि हुँदैनथ्यो किनभने दया दीनहीनको दबाई हो । त्यसैले भन्ने गरिन्छ— धर्मले अप्रत्यक्ष रूपमा दीनहीनलाई स्वीकार गर्छ । धर्मले भलै हीनता र दीनस्थितिलाई स्वीकार नगर्दो होला तर के कुरा पक्कै हो भने यसले दीनता, हीनता र शोषणउत्पीडनहरूसँग सङ्घर्ष गर्न सक्दैन, मात्र पीडितहरूप्रति सहानुभूतिशील भएर रहन्छ । अतएव यसले तिनीहरूको समस्या समाधान गर्न कहिल्यै सक्नेछैन । वास्तवमा धर्मले पीडकप्रति कहिल्यै रोष प्रकट गर्दैन, न पीडनलाई नै जन्म नदिन सङ्घर्ष गर्नेबारे सोच्छ । यो त पीडामाथि सहानुभूति गर्दै खालि मलमपट्टी लगाउँदै घुम्छ । धर्म खालि कर्तव्यपालक छ । कर्तव्यपालन गर्नु नै यसको आदर्श हो । नपिट्नु र नपिटाउनुमा यो त्यति समर्थ छैन । पिटिएको खण्डमा यसले धेरै सेवा गर्न सक्छ । त्यसैले धर्मलाई के भन्न सकिन्छ भने यो ‘सुरक्षासङ्घ’ वा ‘प्र्रबन्धपरिषद्’ जस्तो केही होइन बरु ‘रेडक्रस सोसाइटी’ वा ‘परोपकारसंस्था’ मात्र हो । के हामी रेडक्रस सोसाइटी वा परोपकारसंस्थाको निन्दा गर्न सक्छौँ ? त्यस्तै, हामी के रेडक्रस सोसाइटीबाट युद्ध र यस्तै अरू कुनै अनिष्ट नहुने कुराको आशा गर्न सक्छौँ ? के परोपकारसंस्थाबाट कुनै पनि अनाथ, विधवा तथा दरिद्र नहुने आकाङ्क्षा राख्न सकिन्छ ? कहिल्यै सकिन्न । यी त त्यस्ता घटना भइसकेपछि सहायताका निम्ति आउने संस्था वा कुरामात्र हुन् ।

धर्मको स्थिति पनि यही हो । यस्तै परिस्थितिमा धर्मको पूजा हुन्छ र पूज्यका निम्ति आदरणीय पनि छ ।

म धर्मलाई खराब भन्न सक्दिनँ र यसलाई धिक्कार्ने काम गरिरहेको पनि छैनँ । धर्मले हामीलाई पाप गर्न दिँदैन, यसले हामीलाई पापबाट बचाउँछ, बचाउने प्रयास गर्छ, त्यसैले धर्म राम्रो छ । तर पाप हुनै नदिनुमा यो सक्षम छैन अर्थात् कंश आदिको जन्म भइरहने थिएन, न चोरी, डकैती, लूट आदि नीच र जघन्य कर्म गर्न नै कसैले मन पराउँथ्यो । धर्ममा पाप हुन नदिने क्षमता नभएका कारणले त्यसबाट सुरक्षित हुन, त्यसको सङ्गतिमा नजान र त्यसका साथ सङ्घर्ष वा सामना गरिरहनमा मान्छेको जीवन र सुखको संयोग बित्छन् र निस्कन्छन् । त्यसैले धर्म मन हो । माक्र्स होइन, महर्षि रमण त हुन् तर महात्मा गान्धी होइनन् । यस्तो पनि भन्न सकिन्छ— धर्म युधिष्ठिर–दधीची हो तर कृष्ण होइन । अझ स्पष्टताका लागि यस्तो भनियो भने पनि फरक पर्दैन— धर्म एक राम्रो सल्लाहकार हो तर पिता होइन, यो संरक्षक हो तर पालक वा व्यवस्थापक होइन र खतराको घण्टी हो, निर्माणको यन्त्र होइन ।
धर्म एकतामा फाटो हो (एकतामा दरार हो)
यति हुनुको कारण धर्ममा केही नहुँदानहुँदै पनि त्यो राम्रो छ, राम्रोमा गनिन्छ र संसारमा यसको स्वागत हुन्छ, आदर हुन्छ । तर यतिमात्र सर्वश्रेष्ठता होइन, यही मानेर शान्ति र कल्याण कहिल्यै हुन सक्दैन । यद्यपि कुनै पनि धर्मको उद्देश्य खराब हुन्न, सबै धर्म, दुनियाँका तमाम धर्महरू राम्रै उद्देश्य राख्छन् । कुनै पनि धर्म शान्ति र अहिंसा, करुणा एवं मानवतादेखि टाढा छैनन् । वास्तवमा व्यापक रूपमा धर्मको स्वरूप एउटै भएर पनि, उद्देश्य एउटै भएर पनि आश्चर्यको कुरा के छ भने विभिन्न धर्मावलम्बीहरूमा सौमनस्य छैन, एकअर्काप्रति सद्भावना छैन । आज मानवसंसारमा विशेषत: भारतवर्षमा धर्म नै एकतामा दरार साबित भइरहेको छ । धर्मबाट मानिसमानिसको सम्बन्धविच्छेद मात्र होइन, यसको नामबाट धेरै रक्तपात पनि भइसकेको छ । धर्म र सम्प्रदायको नाममा जति रक्तपात भएको छ त्यति अरू कुनैबाट भएको छैन । यो कुरा भारतका लागि मात्र नभएर सारा संसारकै लागि हो भनियो भने पनि कुनै अत्युक्ति हुनेछैन । ‘तिमी को हौ ?’ ‘तिम्रो धर्म कुन हो ?’ यस्ता प्रश्नका उत्तरबाट नै नजिकका व्यक्तिहरू टाढिन्छन्, नजिक हुँदाहुँदै पनि दूरीको र साथमा रहँदारहँदै पनि अलगअलग भएको अनुभव गर्छन् । मित्रताको भावनामा हाँसिरहेका दुई व्यक्ति तुरुन्तै सतर्क भएर एकअर्काप्रति दुस्मनीको भावनामा पुग्छन् । धर्मको भिन्नताले पराईको मूर्ति नै आएर खडा हुन्छ । यतिमात्र होइन, बाहिरदेखि वा भित्रदेखि नाक खुम्च्याउन थाल्छन् ।

अचम्मको कुरा के भने धर्मको अभिप्राय राम्रो हुन्छ र त्यसमा विश्वन्धुत्वको भावना रहन्छ, शान्तिका लागि त यो एक प्रमुख कारण नै हो, फेरि पनि यसले व्यवहारमा मानिसहरूका बीचमा झगडाको कारण बनेर सौमनस्यको घाँटी थिचेको छ र वैमनस्य बढाइरहेको छ । यसलाई लिएर मान्छे नै मान्छेको शत्रु बनिरहेको छ र एकअर्काको घाँटी निमोठ्नसम्म पाउ बढाइरहेको छ ।

धर्म जीवनदायी किन होइन भने यसको उन्मुखता परलोकमा छ
यस्तो किन ? यस्तो त्यत्तिकै भएको होइन । यसको कारण छ । कुनै पनि कुरा या चीजबाट त्यत्तिकै गडबड हुने गर्दैन । गडबड त्यति वेलामात्रै हुन्छ जतिवेला त्यस कुरा वा चीजमा नै गडबड हुन्छ । त्यसको कारण छ । प्रथमत: धर्म नामको कुरा वा चीज नै झूठोछ, त्यसको आधार नै असत्य छ, यो कल्पना र मृगधारणामात्र हो । दोस्रो कुरा धर्ममा सत्य समाज र संसारप्रति उदासीनता छ र असत्य परलोक र काल्पनिक ईश्वरप्रति मोह र उत्सुकता छ । अर्थात् धर्ममा समाज र संसारप्रतिको झुकाव थोरै छ र कल्पनाजन्य ईश्वर एवं परलोकतर्फ उन्मुखता धेरै छ । यसको सक्रियता पनि अधिकतर ईश्वर र परलोकमा नै रहन्छ । त्यसैले समाज तथा संसारप्रति यसबाट चुहिँदै रहने कल्याणकारी भावना सामाजिक एवं सांसारिक क्षेत्रहरूमा अलिकति पनि स्थिर हुन पाउँदैन । वास्तविकता र वस्तुस्थितिबाट टाढा हुनाले गर्दा र त्यसको उन्मुखता र मोह भूmटो ईश्वर र परलोकप्रति हुनाले धर्ममा रहेको लोकहितको भावना पनि क्षीण भएको छ । के यसमा केही सशक्तता छ ? केही पनि छैन किनभने यसको लोककामना गौण हो, प्रधान त ईश्वर र परलोकवाद हो ।

धर्म र पापको स्मरणमात्रले नै आँखासामु स्वर्ग र नर्क खडा हुन्छन् । त्यसैले स्वर्गसुखको कामनामा मान्छेले धर्म गर्छ, धर्मको बाटो खोज्छ र धर्म पाउनका लागि यता र उता भौँतारिइरहन्छ । कोही दान गर्दछ, कोही तीर्थ घुम्दछ, कोही पूजाप्रार्थना गर्दछ, कोही यज्ञ र कोही सेवा वा यस्तै केही न केही काम गरिरहन्छ, बढीभन्दा बढी धर्मप्राप्तिका लागि । यी धर्म गर्नेहरू कुनै द्वैतवादी छन्, कुनै अद्वैतवादी, कुनै निर्गुणवादी छन्, कुनै सगुणवादी, कुनैले के मान्छन् कुनैले के, केही ठेगान छैन । यी धर्म मान्नेहरू धर्मको तात्पर्य राम्रो सम्झेर आफ्नोआफ्नो विचार, विश्वास र सिद्धान्तअनुसार चुपचाप चल्छन् भन्ने कुरा होइन, आफ्नो मुख र आफ्नो बखानका साथसाथ अरूका विचार, विश्वास र सिद्धान्तलाई सदैव खराब भनिरहन्छन् । तब खण्डनमण्डन आदि वितण्डावाद हुँदाहुँदै हाथापाई सुरु हुन्छ । त्यसैले भन्न सकिन्छ— धर्म राम्रो कुरा हुँदाहुँदै पनि धर्मको कुन कर्म र क्रिया उत्तम वा खास छ भन्ने निश्चित छैन । यी सबै गडबड र अनिश्चितताका कारण हुन् । परलोकवाद सरासर झूटो छ, काल्पनिक छ । परलोक असत्य भएकै कारण परलोकवादीहरूका विश्वास र धारणाहरू फरकफरक भएका हुन् । यद्यपि थोरै मात्रामा धर्मबाट पनि लोकहित पनि हुन सक्छ र हुन्छ पनि, फेरि पनि ध्रुवसत्य के हो भने धर्मको सोझो सम्बन्ध परलोकसित नै छ; यसका क्रियाकलापहरू परलोककै लागि हुन् । परलोककै लागि धर्म गर्ने गरिन्छ र मान्ने गरिन्छ । धर्मको सबैभन्दा ठूलो दुर्बलता नै यही हो । साँचो भन्ने हो भने धर्म यस लोकको विषय नै होइन, यो विशेष गरी परलोककै विषय हो । यसलाई परलोकको सुखकै लागि साधन मान्ने गरिन्छ ।

धर्मले धर्मात्मालाई जन्माउन सक्दैन
धर्मको अर्थ जस्तो लगाइन्छ त्यसलाई हेर्दा धर्म कुनै खराब चीज हो भन्ने देखिन्न, बरु राम्रै वस्तु मान्न सकिन्छ, तर धर्मको द्रष्टाको दृष्टिकोण अलौकिक भएर अधिकतर पारलौकिक र व्यक्तिगत भई सङ्कुचित हुनाले असल मानिस हुने नभई मात्र बन्नेहरूको हतियार भएको छ र अध्यात्म नभई खालि सम्प्रदाय रहन पुगेको छ । धर्म यद्यपि मान्छेलाई पवित्र बनाउने राम्रो कुरा हो तर यो वैज्ञानिक पटक्कै छैन । यस्तोमात्र भावना भावनात्मक साधन वा तत्वले कति मानिसलाई धर्मात्मा बनाउन सक्छ ? त्यसैले चाहेर पनि यो मान्छेहरूमा फैलिन र विकसित हुन सकेन । अन्तमा धर्म दु:खीहरूको दुहाईमात्र रहन गयो । धर्मको प्रभाव र आकर्षणले सायद कोही धर्मात्मा बन्न सक्छ तर यसले धर्मात्मा जन्माउन सक्दैन । अर्थात् धर्मले धर्मात्मा हुन्छ तर जन्मन्न । त्यसैले धर्मबाट पाप निर्मूल हुन सक्दैन । धर्मलाई मान्यता दिएर शिरमा चढाउने हो भने पाप पनि खुट्टा घिसार्दै रही नै रहनेछ । साँचो अर्थमा पापलाई संसारबाट उखेलेर फाल्नु छ भने परलोकको तिर्सना त्यागेर धर्मनिरपेक्षको सुव्यवस्था खोज्नुपर्नेछ । आफ्नो यस लोकको अवहेलना गरी परलोकमा सुख खोज्नुको सट्टा यसै जीवित लोकमा सुखको कामना गर्नुपर्नेछ अनिमात्र, हामीलाई आफ्नै जीवनमा सुख मिल्नुका साथै हामी भावी सन्तान र मानिसहरूसम्मको सुखमा सहभागी हुन सक्नेछौँ ।

साँच्चै भनूँ भने धर्मको सदुद्देश्यसित मेरो कुनै शत्रुता छैन तर यसको दुष्परिणामबाट मलाई धेरै दु:ख छ । त्यसैले धर्म राम्रो कुरा हुँदाहुँदै पनि खराब परिणामहरूका कारण यससित विद्रोह गर्नको विवशतामा म परिरहेको छु ।

हँ, धर्म राम्रो चीज हो भने भन्न सकिन्छ यो मान्छेका लागि एक शुभकामना मात्र हो, सक्रिय सहयोग वा प्रयास होइन । शुभकामनालाई नराम्रो भन्न को सक्छ ? तर शुभकामनामात्रले मान्छेको हालत–स्थिति राम्रो र बलियो भएर सुध्रन सक्दैन । त्यसका लागि सक्रियता अर्थात् ठोसपनाको सशक्त आवश्यकता छ । धर्म मानिसको वरदानका लागि बनेको हो तर परिणाम अभिशाप भइरहेको छ । धर्ममा यी सबै सम्भावना हुन्छन्— विश्वास अन्धो हुने, भावना असत्य र अज्ञातको खोजमा दगुर्ने, चिन्तन परलोकको र कामना स्वर्गको वा मुक्तिको अर्थात् आफ्नै उद्धारको मात्र गर्ने । धर्मको अध्ययन र अनुसन्धानमा मैले के पाएँ भने धर्म मान्छेका लागि विकास र सभ्यतामा वरदान बनेर सिर्जिएको थियो तर आज मान्छेको प्रगतिमा अभिशाप भएर रहेको छ । धर्मले सुरुमा जीवनलाई जगाएजस्तो गर्छ तर अन्त्यमा यसले जीवनलाई अन्धो तुल्याएर छाडिदिन्छ । त्यसैले धर्म भूतको जीवन हो भने भविष्यको मृत्यु हो ।

धर्मले मान्छेहरूलाई अलग्याउँछ
आज धर्मले हिन्दू र मुसलमान, हिन्दू र इसाई, इसाई र इस्लाम, आदि सिमाना खडा गरेर मान्छेमान्छेबीच भिन्नता अर्थात् परकीयताको भावमात्र उत्पन्न गरेको छैन, साथमा हिन्दूहिन्दू, इस्लामइस्लाम, इसाईइसाई आदिमा पनि परस्पर दरार उत्पन्न गरी मानवता कमजोर बनाउँदै छ, नष्ट गर्दै छ । हिन्दूहरूका शैव, वैष्णव, शाक्त आदि परस्परमा के एकअर्काका शुभेच्छुक छन् ? बौद्धका हीनयान र महायानमा एकअर्कालाई जथाभावी भन्ने कुरामा के कुनै कम छ ? इस्लामका सिया र सुन्नीको भेटघाटमा के सन्चोबिसन्चोको प्रश्नोत्तर हुन्छ ? इसाईका क्याथलिक र प्रोटेस्टेन्टमा के तँ–तँ, म–म कम हुने गर्छ ? यी सबै आफन्त मान्छेहरू एकअर्काविरुद्ध मुड्की उठाउन तयार हुन हिच्किचाउँदैनन् । यतिमात्रै होइन, रक्तपात हुनुसमेत सामान्य भएको छ । अलिकति भेदका कारण स्वधर्मी आफन्तहरूबीचमै यस्ता कुरा हुन्छन् भने भिन्नभिन्न धर्मीहरूबीच एकअर्कालाई पूर्णत: शत्रुभन्दा बाहेक के ठान्न सकिन्छ ?

सबै मानिसहरू एउटै जातिका नस्ल भएर पनि भिन्न धर्म र भिन्न धर्मी भएका कारण मानवता र एकता त मान्छेको हृदयमा प्रकट नै हुन सकेन । भिन्नताको रङ देखेर एकअर्काको टाउको फोर्नमा तल्लीन भएका छन् । यस्तो हुनुको एकमात्र कारण हो धर्म । धर्मको विश्वास एकता र एकात्मकताबाट टाढा छ अर्थात् यसको विश्वास सत्य र वास्तविकतादेखि टाढा छ । वास्तवमा धर्मले परलोक र ईश्वरमा विश्वास गर्छ । यिनैको विश्वमा विश्वस्त भएर यिनैलाई पछ्याएर बाँच्न चाहन्छ तर यसको विश्वास पूर्णत: असत्यमा आधारित भएकाले मर्ने गर्दछ । वस्तुत: परलोक र ईश्वर दुवै कति असत्य छन् भने यिनीबराबरको असत्यको त कल्पना पनि छैन । सत्य नहुँदानहुँदै पनि कल्पनामा सत्यताको आभास पाउन सकिन्छ तर परलोक र ईश्वरमा सत्यको त्यस्तो आभास पनि पाइन्न भन्दा अत्युक्ति हुनेछैन । परलोक र ईश्वर असत्य हुनाले नै तिनमा विश्वास गर्नेहरूको मत भिन्न छ; बाटा अलग भएका छन् । अन्तत: ‘तेरोभन्दा मेरो ठीक’ को वितण्डावाद खडा भएर ‘ईंटको जवाब पत्थर’मा मान्छे पुगेका छन्, मानवतामा आगो लगाएर संसारका सुखशान्ति भस्मीभूत भइरहेका छन् । यिनै परलोक एवं ईश्वरको विश्वाससम्बन्धी विभिन्न कुराहरूको धर्मबाट नै हामी एउटै मानिस हिन्दू, मुसलमान, इसाई आदि भएर फुटिरहेछौँ; क्षीण र हीन भइरहेछौँ ।

धर्म जिउनका लागि नभई मर्नका लागि हो—
प्राय: सबै धर्मको परलोक छ, ईश्वर छ । सबै धर्म के मान्दछन् भने पापपुण्यको फल भोग्नका लागि परलोक एउटै छ, भिन्न छैन; ईश्वर एउटै छ, ऊ सबैको पिता हो, सबै उसका पुत्र हुन् तर धर्मका दावेदारहरूका भावना र व्यवहारबाट के थाहा हुन्छ भने अलगअलग धर्मावलम्बीहरूका आफ्नै परलोक छन्, अलगअलग ईश्वर छन् । यस्तो फरक यी सबै धर्म असत्यमा आधारित भएकाले नै भएको हो र हुन्छ । असत्यको अवलम्बन गरेर जय तथा कल्याण एवं सुख र शान्ति कहाँबाट सम्भव हुन सक्छ ?

परलोकको भावना र त्यसमाथिको विश्वासले मान्छेको सोच बाँचेको समयतिरभन्दा पनि मरेपछिका बारेमा व्यग्र हुन थाल्यो । परलोकप्रति आशक्ति हुनाले जीवनजगत्बाट विरक्ति त स्वभावत: भई नै हाल्छ । परलोकमा सुगति पाउने अभिलाषाले मनको कपट धोएर हृदय पवित्र राख्दै यथाशक्ति अन्य प्राणीहरूप्रति करुणा, सहयोग, सहानुभूति, कृपा गरिन्थ्यो भने अन्य केही उन्नतिप्रगतिका कामहरूमा लागेर समाज र संसारलाई योगदान नदिँदानदिँदै पनि त्यस्ता केही मान्छे केही मात्रमा वाञ्छनीय हुन सक्थे तर यस्ता व्यक्ति सयमा मुस्किलले तीन निस्कनेछन् । परलोकगतिका इच्छुकहरूबाट राम्ररी छानबिन गरेर हेर्ने हो भने सन्तानब्बे प्रतिशत त खालि जप, पूजापाठ, प्रार्थना आदिमा व्यस्त भेटिनेछन् । तिनीहरूको जीवनका सम्पूर्ण क्षण र समय मन्दिर, मस्जिद र गिर्जाघरमा दगुर्नमा एवं आँखा बन्द गरेर अज्ञातलाई खोज्नमा लागेका छन् । धर्मवादबाट उत्पन्न यही परलोकभावनाको आधिक्यका कारण नै संसारमा प्रगति आउन ढिलो भयो । भारतवर्ष त विश्वमा पछि नै पर्‍यो र अहिलेसम्म पनि त्यही निद्रामा हाईहाई गरिरहेको छ ।


Tags: जनमतधर्महृदयचन्द्र सिंह
अघिल्लो पोष्ट

भ्रम र धोका

पछिल्लो पोस्ट

बधशालामा देश

हृदयचन्द्र सिंह

हृदयचन्द्र सिंह

सम्बन्धित पोष्टहरू

अभिशप्त
अनुवाद

अभिशप्त

१ श्रावण २०८१, मंगलवार
बिहेघर
अनुवाद

बिहेघर

९ चैत्र २०८०, शुक्रबार
कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : ४
अनुवाद

कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : ४

२८ फाल्गुन २०८०, सोमबार
कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : २
अनुवाद

कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : २

२३ माघ २०८०, मंगलवार
पछिल्लो पोष्ट
बधशालामा देश

बधशालामा देश

आजका लघुकथाको अनुगमनात्मक अध्ययन

आजका लघुकथाको अनुगमनात्मक अध्ययन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

केही मुक्तक

केही मुक्तक

४ जेष्ठ २०७९, बुधबार
विमल नेपालको पहिलो उपन्यास ‘पीपला’ 

विमल नेपालको पहिलो उपन्यास ‘पीपला’ 

४ जेष्ठ २०८०, बिहीबार
निर्भीकजंगको कविताकृति ‘त्यसरी त कहिल्यै सोचिएन’

निर्भीकजंगको कविताकृति ‘त्यसरी त कहिल्यै सोचिएन’

५ जेष्ठ २०८१, शनिबार
मन र मुटुका पूजक डा. अरुण सायमी

मन र मुटुका पूजक डा. अरुण सायमी

४ जेष्ठ २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक