२०२३ सालमा एस.एल.सी उत्तीर्ण गरी सके पछि एक/दुई वर्ष कलेज चाहर्दा–चाहर्दै बित्यो । सरस्वती कलेज, त्रिचन्द्र कलेजहरूमा चहारेँ । मन दिएर पढ्न सकिएन । पढ्ने समयतिर नै समाज कल्याणका कुराहरूमा, साहित्य लेख्ने र साहित्यकार बन्ने धुनमा लाग्यौँ । समाजपरक चिन्तनकै प्रभावमा परेको कारणले धेरै खालका अभियानमा लागेकै कारणले पढ्नमा मन बसेन । वाचनालय बनाउने, समाज कल्याणका कार्य गर्ने र कविता लेख्ने/सुनाउने धुनमा लागियो । मचा पुच: गठन गर्नेहरूलाई सल्लाह र सहयोग गर्ने, समाजमा ज्यादती गर्न खोज्नेहरूका विरुद्ध लाग्ने, भारतीय विस्तारवादीहरू कै सानो देश माथि आक्रमण, हेप्ने परिपाटीको जुलुस गराउने र विरोध गर्ने खालका गतिविधिहरू बढ्न थालेकाले मन राखेर पढ्न सकिएन । धेरैजसो समय बाहिर–बाहिर नै बित्थ्यो । बस–सेवाको नाममा बस व्यवसाय चलाएर पेसेन्जरहरुलाई ज्यादती चलाउनेहरूका विरुद्ध हडताल गर्ने, सामाजिक सेवाका नाममा नाफा खोरी चलाएर मनपरी गर्न खोज्नेहरू विरुद्ध दौडाहा टोलीमा उजुरी गर्ने, सीमा क्षेत्रमा हुने भारतीय शासकहरूको ज्यादतीको विरोधमा भारतीय राजदूतलाई विरोध गर्ने लगायत सामाजिक विकृति जस्तो देखिने सबै खालका बेथितिका विरुद्ध लागिरहने स्वभाव बन्यो । सधैँ अलमल सधैँ दौडधुप र सधैँ–सधैँ व्यस्त रहनुपर्ने मेरो सक्रियताले गर्दा क्याम्पस धाउन पनि सकिएन ।
त्यसताका म समाजकै पहरेदार जस्तो भएकोले अरू व्यक्तिगत कामहरूमा र पढ्ने काममा आफूलाई समर्पित तुल्याउन सकिएन । कुनै पार्टीसँग सम्बन्ध थिएन; स्वयं स्फूर्त ढङ्गले सामाजिक क्रियाकलापहरूमा संलग्न थिएँ म त्यसताका । समाजमा लोकप्रिय भएकै कारणले म समाजमा कुदिरहन्थेँ । त्यसताका हाम्रो भेटघाट गर्ने थलो थियो टिकाकृष्ण कायस्थको पसल र बनेपा बुक डिपो नामक पुस्तक पसल । दिनभर घटेका बनेपाका घटना–प्रसङ्गहरू बारे छलफल गथ्यौं । कहिलेकाहीँ केदारनाथ प्रधान, राजभाई प्रधान, रामकृष्ण खाछिभोया, कृष्णचन्द्रसिंह कायस्थहरू पनि सामेल हुन्थे । त्यसताका हामी नक्सलवादी आन्दोलनका समर्थक जस्तै थियौँ ।
समाजमा हुने जुनसुकै कुकृत्यको विरोध गर्ने, सामन्त र पुँजीपति स्वभाव ग्रस्तहरूका विरुद्ध मोर्चा कस्ने सोच हाम्रो भएको कारणले सामाजिक न्यायका लागि हामी सधैँ दत्तचित्त भएर सङ्घर्षमा लागिरह्यौँ । घरको कार्यमा केही वास्ता नगर्ने तर सधैँ समाजमा खटिरहने स्वभाव बन्दै गएको कारणले हामी पारिवारिक प्रश्नमा व्यावहारिक हुन सकेनौँ । एस.एल.सी. उत्तीर्ण गरेपछि २ वष जति त यस्तै–यस्तैमा समाजसँग घुलमिल गरेर नै बित्यो ।
२०२५ सालतिर मात्र हो साथी भाईहरु सँगको सर सल्लाहमा जागिर खाने धुन बस्यो । लोक सेवा आयोगमा हाम्रा थुप्रै साथीहरुले परीक्षा दियौँ । त्यसताका परीक्षा दिनेहरूमा नारायण प्रसाद तौजले, मोहनकृष्ण श्रेष्ठ, लम्बोदर कायस्थ, राजभाई प्रधान, श्यामकृष्ण राजवंशी लगायतका हामी थियौँ । परीक्षामा हामी सबै उत्तीर्ण भयौँ । नारायणप्रसाद तौजले र मोहनकृष्ण श्रेष्ठले कृषि विकास बैङ्कमा नियुक्ति पाए । हामीहरू राजभाई प्रधान, लम्बोदर कायस्थ, श्यामकृष्ण राजवंशी र म टिम्बर कर्पोरेसन अफ नेपालको केन्द्रीय कार्यालय, हेटौँडामा नियुक्ति पायौँ । हेटौँडामा जाने हाम्रो निर्णय भयो । हेटौँडामा सम्पर्क भयो; कोठाको व्यवस्था पनि मिलाइयो । नाति दाई हेटौँडामा व्यापार–व्यवसायमा संलग्न बनेपाका दाइ हुनुहुन्थ्यो । हेटौँडामा हामी पुग्यौँ उहाँ सँग हाम्रो सम्पर्क भयो ।
कहिले कतै नगएको, जीवनमा जागिर के हो, केही पनि थाहा पत्तो नभएको मेरा लागि हेटौँडामा जागिर खान जाने कुरो सपना जस्तै थियो । तर पनि हामी चार जना बनेपाका साथीहरूसँग हेटौँडामा जागिर खाने टुङ्गो लगाइयो । हेटौँडा बजारमा बनेपाका नातीदाईको पसल थियो भन्ने कुरा हामीलाई थाहा थियो । उहाँसँग सम्पर्क गरेर बस्ने कोठा मिलायौँ । कहिले कतै नगएको, घरमा पनि कान्छो छोरा भई खाएको र व्यवहारमा त्यति खाँटी नभएकोले मलाई कस्तो–कस्तो अप्ठ्यारो महसुस त्यसताका भएको थियो । तर पनि लोकसेवा बाट उत्तीर्ण भएको जागिरलाई त जोगाउनु थियो । यही कारणले हामी चार जना राजभाइ प्रधान, लम्बोदर कायस्थ, श्याम राजवंशी र म सल्लाह मिलाएर २०२५ भदौ १० गते गुन्टा बोकेर जागिर जोगाउने/खाने दौडमा हेटौँडा पुग्यौँ ।
भोलिपल्ट रक्सौलसम्म घुम्ने हाम्रो रहरलाई बोकेर हामी रक्सौल पुग्यौँ । कहिले पनि भारतीय भूभागमा नपुगेका हामीहरू रक्सौलका त्यसताकाका अव्यवस्थित नगरको जन–हूलमा मिस्सिन पुग्यौँ । अनौठो लाग्यो रक्सौल । भारतीयहरूको ठेलम ठेला हूल, काला–काला मान्छेहरूको ताँती, कल्याङमल्याङ आवाज देखेर–सुनेर हामी हैरान भोगेर फर्केको सम्झना आइरहन्छ । यो नै मेरो भारतमा भएको जीवनको प्रथम यात्रा हो । बरफ खाँदै, गर्मी भोग्दै एक दुई थोक किन्ने रहर बोकेर रक्सौल बजार घुम्दा म मात्र बिस वर्षको युवक थिएँ । दुइटा रिक्सा चढेर हामी चार जना भर्खरको युवा जोस बोकेर घुमेको यो रक्सौल यात्रा आनन्ददायक नै महसुस भयो । भोलिदेखि कार्यालयमा पुग्नुपर्ने भएकोले हिजो र आज हामीहरू हेटौँडा, वीरगन्ज र रक्सौलको ठाउँ–ठाउँमा घुम्यौँ । राती बास बस्दा नातीदाई आउनुहुन्थ्यो र हामीलाई हौस्याएर केही न केही व्यावहारिक कुराहरू गरेर जानु हुन्थ्यो । दुई तीन दिनमा नै नातिदाई सँग हाम्रो घनिष्ठता बढ्न थाल्यो ।
२०२५ भाद्र १३ गतेको नियुक्ति थम्याइ दियो ‘दि टिम्बर कर्पोरेसन अफ नेपाल ली. हेटौँडाले हाम्रा हातहरूमा । सहायक लेखापालमा लोकसेवाबाट उत्तीर्ण भएका हामीहरूलाई नियुक्ति पत्रमा ‘लोकसेवा आयोगको सिफारिस भई आए अनुसार तपाईँलाई यस करपोरेशनको सेल्स शाखा तर्फको सहायक स्तर तृतीय श्रेणीमा मिति २०२५/५/१३ देखि ६ महिनाको परीक्षण कालमा हाल नियुक्ति गरिएको छ । तपाईंको तलब स्केल सहायक स्तर तृतीय श्रेणीले पाउने रु.२००–९–२९० ई. बि. १२।– ३५०।– हुने र मिति २०२५/५/१३ का दिन देखि मासिक रु.२०० (दुई सय) पाउनुहुने भएकाले सूचित गरेको छु ।” भनी मेरो नाममा तेजबहादुर सिंह महतको सही छाप भएको नियुक्ति पत्र बुझाइदियो । र हामी दुई जना श्याम राजवंशी र मलाई फिस्कल शाखामा पठाई दियो । अर्डरमा आएकाहरूलाई बिल अनुसार काठको नाप तौल गरी रजिस्टर्डमा चढाउने र काठ चलानी गरी दिने हाम्रो काम भयो । हामीलाई काम चित्त बुझेन किनभने हामीहरू लेखापालमा परीक्षा दिएर उत्तीर्ण भई गएका हौँ । लेखाको काम दिएनन् हामीहरूलाई । हामीहरू त काम नगर्ने भयौँ भनी एकाउन्ट शाखामा रहेका राजभाई प्रधान र लम्बोदर कायस्थलाई भन्यौँ । उनीहरू पनि हामी सँग जागिर छोडेर आए र हामीहरू चारै जना लोकसेवामा बुझ्न जान्छु भनी बुझी लिएका सामानहरू बुझाएर हामीले अफिस छोड्यौँ र बाहिर निस्क्यौँ ।
जागिरमा चित्त बुझेको, तलब पनि भनी पठाए अनुसार नभएको, काम पनि काठ नाप्ने पो दिए भनी नाति दाई लगायत अरू साथीहरूलाई बताइयो । नातिदाईले त प्वाक्कै भनी हाले – “कमाउने ठाउँ त काठ नाप्ने नै हो । तर तपाईँहरू घरमा केही नगरेर घुमेर खाएकाहरू पर्यौ । तपाईँहरूले हेरि गर्नुस्”हामी फर्कने निधोमा नै पुग्यौँ । लोकसेवामा बुझ्न जान्छु भनी हेटौँडाका साथीहरूलाई भन्यौँ । भोलिपल्ट गुन्टा कस्न लगायौँ र जीवनमा पहिलो चोटि जुरेको जागिर छोडेर घर–घरमा पुग्ने धोको बोकेर फर्क्यौ । लोकसेवामा गुनासो पनि पोख्यौँ – अन्य ठाउँमा मिलाई दिने वचन दिनुभयो तर ताकेता गर्दागर्दै हैरान भयौँ र हामीहरू कोही पनि लोकसेवामा उत्तीर्ण भएको सह–लेखापाल जागिर पुन:खान गएनौँ । जीवनमा जागिर नखानु नै लेखेको रहेछ भनी सन्तोष गरियो । ०००