रमेश खतिवडाद्वारा लिखित समालोचनात्मक पुस्तक ‘परिचर्चा’ विमोचन कार्यक्रम इच्छा कामना– ३, चुम्लिङटारमा सम्पन्न भएको छ । १० ओटा कृतिमाथि केन्द्रित रहेर तयार गरिएको समालोचनात्मक पुस्तकमा विविध विधाका १२ ओटा समालोचनात्मक लेखहरू समेटिएका छन् । पुस्तकको विमोचन कवि कृष्णप्रसाद पोखरेल, गोविन्दप्रसाद पौडेल, एकराज शर्मा, अनिल श्रेष्ठले गर्नुभयो । गोविन्दप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि कवि कृष्णप्रसाद पोखरेलले युवा समालोचक रमेश खतिवडा सानै उमेरमा नेपाली साहित्यका विविध विधामा कलम चलाउने व्यक्तित्व रहेको टिप्पणी गर्नुभयो । परिचर्चा समीक्षा सङ्ग्रहमाथि टिप्पणी गर्दै समालोचक तेज विलास अधिकारीले समालोचनात्मक पुस्तकले युवा कवि एवम् कथाकार रञ्जन घिमिरेदेखि स्थापित छन्द कवि कृष्णप्रसाद पोखरेलको कृत्तित्व र व्यक्तित्वलाई समेत उजिल्याउँदै स्रष्टाहरूका सृजनात्मक चेतलाई मसिनो ढङ्गले केलाएर कृतिपठनबाट नयाँ ढङ्गको बहस विवेचनाको थालनी गर्नुभएको बताउनुभयो । कार्यक्रममा बाल कविहरू आयाम अधिकारी, प्राप्ति पोखरेलले बाल कविता प्रस्तुत गर्नुभयो भने नारायण पौडेल, रामनाथ त्रिपाठी, श्रीरेन्द्र प्रकाश पोखरेल आदि स्रष्टाहरूले कविता वाचन गर्नुभयो । नारायण पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा समालोचक रमेश खतिवडाले आफ्नो समालोचना यात्राका बारेमा विचार राख्नुभयो । कार्यक्रममा लेखकलाई माधवप्रसाद खनाल, एकराज शर्मा, श्रीरेन्द्र प्रकाश पोखरेल, अनिल श्रेष्ठ, विष्णुप्रसाद सापकोटा, शिव पौडेल, नारायण भट्टराई, रामप्रसाद पौडेल, हिमलाल अधिकारी, रामकृष्ण पौडेल, सङ्गीता पोखरेल आदिले शुभकामना व्यक्त गर्नुभयो । धादिङ, तनहुँ, चितवन र गोरखाका तीन दर्जन स्रष्टा र साहित्यानुरागीहरूको उपस्थिति रहेको सो कार्यक्रममा ईश्वर विलास अधिकारीले स्वागत मन्तव्य र वैकुण्ठप्रसाद पौडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।