नेपाली साहित्यमा विगत साढे चार दशकदेखि विभिन्न विधामा कलम चलाउँदै आउनु भएका साहित्यकार हुनुहुन्छ, गोविन्द गिरी प्रेरणा । थुप्रै विदेशी भाषाका पुस्तकहरू नेपाली भाषामा अनुवाद गरेर आफूलाई अनुवादकका रूपमा समेत परिचय बाँड्न सफल उहाँ कविता, कथा, उपन्यास, निबन्ध, नियात्रा, समीक्षा लेखनमा स्थापित व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। विगत डेढ दशकदेखि अमेरिकामा बसोबास गरिरहनु भएका प्रेरणाले मैनाली कथा पुरस्कार, वासु शशी स्मृति पुरस्कार, नारायणी वाङ्मय पुरस्कार प्राप्त गर्नु भएको छ । साहित्य विधाको खोजी, अनुसन्धान र अध्ययन गर्ने रुचाउने गोविन्द गिरी प्रेरणासँग पुस्तकको सेरोफेरोमा रहेर गरेको कुराकानी :
१, यतिखेर कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
मैले भर्खरै प्रख्यात भारतीय लेखिका ममता कालिया( साहित्यकार रवीन्द्र कालियाकी पत्नी) को “जिते जी ईलाहावाद” पढिसकेँ र भारतीय अर्की प्रख्यात लेखिका मन्नू भण्डारी( साहित्यकार राजेन्द्र यादवकी पत्नी) को “एक कहानी यह भी” पढ्दै छु । यी दुवै संस्मरणात्मक कृति हुन् र तिनका लेखनले झङ्कृत भइरहेको छु । अं, राजवको “काफ्काको काम सकियो” पनि पढिसकेँ ।
२, नेपाली, अङ्ग्रेजी र हिन्दी भाषाका मन पर्ने एक एक वटा पुस्तकको नाम लिनुपर्दा ?
अहिले झट्ट सम्झँदा नेपालीमा लीला बहादुर क्षेत्रीको “बसाइँ”, अङ्ग्रेजीमा ग्रेग्रोरी डेभिड रोवर्टस्को “शान्ताराम” र हिन्दीमा ममता कालियाको “रविकथा” हुन् ! तर यी पुस्तकहरूको छनौट स्थायी होइनन् ! समयको क्रममा यी परिवर्तन भइरहन्छन् ।
३, तपाईँको लागि लेखपढको उपयुक्त समय कुन हो ?
मेरो लागि कुनै पनि वेला उपयुक्त हो । बिहान, दिउँसो, साँझ राती, बस यात्रामा, विमान यात्रामा, कफी सपमा कतै पनि पढ्न लेख्न सक्छु म !
४, साहित्यका विविध विधामध्ये अलि शक्तिशाली विधा तपाईँलाई के लाग्छ ?
सबै विधा शक्तिशाली लाग्छन् मलाई ! शक्तिशाली विधाको कारणले हुने होइन, रचना शक्तिशाली हुने हो । रचना शक्तिशाली भएन भने त्यो विधाको त्यो रचनालाई कसरी शक्तिशाली मान्ने ?
५, सानोमा कस्ता पुस्तकहरू पढ्न पाउनु भयो ?
मेरो पठन २०३१ सालमा एसएलसी परीक्षा माघ महिनामा दिएपछि त्यसको रिजल्ट नहुन्जेल असारसम्म अत्यधिक भयो । म परिपक्व भएपछि पाठक र लेखक भएको हुँ । मैले त्यतिखेर युधिर थापाका सबैजसो उपन्यास खारेको हुँ । हेटौडाको मङ्गल पेपर मार्टमा उपलब्ध सबैजसो पुस्तक पढिसकेको थिएँ ! दैनिक एउटा किताब पढि भ्याउंथें ।
६, कस्ता पुस्तकहरू पढ्न बढी मन पर्थ्यो ?
निःसन्देह कथा उपन्यास नै बढी पढ्न मन पर्थ्यो । आख्यानको शक्तिले आकर्षण गरेको होला भन्ने ठान्दछु, आज यसो सोच्दा खेरी ।
७, तपाईँले कुन उमेर समूहमा बढी पढ्नु भयो ?
मैले एक झमट हेटौडामा १६ वर्षको उमेरमा, दोस्रो झमट नेपाल कमर्स क्याम्पस मीन भवनमा पढ्दा १७/१८ वर्षको उमेरमा, तेस्रो झमट २०३६ सालदेखि २०४६ सम्म अत्यधिक पडेँ । तर त्यसपछि पनि नित्य निरन्तर पढिनै रहेको छु । लेख्न भन्दा पढ्न जरूरी छ भन्ने मेरो मान्यता हो ।
८, धेरै पटक दोहोर्याएर पढेका पुस्तकहरू कुन कुन हुन् ?
मैले पूर्ण रूपमा सिङ्गै पुस्तक आजसम्म दोहोर्याएर पढेको छैन । एकपल्ट आद्योपान्त पढेको पुस्तक आद्योपान्त दोहोर्याएर पढ्नुको कुनै तुक देख्दिन । न पहिलोपल्ट पढ्दाको रोचकता हुन्छ न कुनै उत्सुकता नै बाँकी हुन्छ ! हो, कुनै घत लागेको अंश हेर्नु वा कुनै सान्दर्भिक समयमा कुनै पृष्ठ पल्टाउनु बेग्लै कुरा हो ! त्यो चाहिँ म गरिनै रहेको हुन्छु ।
९, पुस्तक पढिरहँदा त्यसका पात्र, लेखक र परिवेशले कतिको पछ्याउँछ ?
लौ, यौटा जीवन्त कृतिको जीवन्त पात्रले त पछ्याई रहन्छ नि ! २ वर्षअघि भारतीय लेखिका अजित कौरको उपन्यास “गौरी” पढेको थिएँ! “गौरी” त्यो दिनदेखि मेरो मन मस्तिष्कबाट अझसम्म हटेकी छैन । त्यो उपन्यास नेपालीमा अनुवाद गरेँ । त्यसपछि त गौरी मेरो मनमस्तिष्कबाट कदापि हट्ने देख्दिन । ध्रुवचन्द्र गौतमको अलिखितको तराईको परिवेश आज पर्यन्त भुलेको छैन ! यस्ता धेरै छन् ! अहिले झलक्क सम्झेको मात्र उल्लेख गरेको हुँ ! अविस्मरणीय पात्रहरूको बारेमा लेख्ने हो भने त यौटा लेख नै पो बन्ला ।
१०, तपाईँको विचार पढ्नु केका लागि हो ?
पढ्नु पाठकीय हिसाबले बौद्धिक “रिफ्रेसमेण्ट” हो ! आनन्द हो । समय कटनी हो । लेखकीय हिसाबले साहित्यसँग निरन्तर संवाद र सरोकार हो शब्द शक्तिलाई जीवन्तता दिनु हो ।
११, कस्ता पुस्तकले जीवनमा बढी सघाए ?
मैले पढेका सबै पुस्तकले मलाई जीवनमा सघाएकै छन् भन्ने लाग्छ । उत्कृष्ट कृतिका उत्कृष्ट विचार, विषयवस्तु, शैली, प्रस्तुति, भाषाले त यसै पनि सघाउने नै भयो । सामान्य, कर कापले, विभिन्न कारणले पढ्न नचाहेका तर पढ्नु परेका पुस्तकले पनि न्यूनतम भए पनि सघाएकै छन् ।
१२, पाठकलाई १० वटा पुस्तक पढ्नको लागि सिफारिस गर्नुपर्दा ?
यसो गर्दा पाठकलाई अन्याय हुन्छ । मैले यी किताब नपढी हुन्न भनेर दबाबको सिर्जना गरेको जस्तो हुन्छ । मेरो सिफारिस मेरो अनकूलताको, मेरो मानसिकताको फ्रेम अनुसारको हुन्छ । यो त पाठकलाई थोपर्नु जस्तो हुन्छ । अतः म यो सजाय दिन चाहन्न पाठकलाई १० वटा पुस्तकको सूचि दिएर ।
१३, तपाईँसँग कति जति पुस्तकहरूको कलेक्सन होला ?
नेपालको मेरो निजी पुस्तकालयमा पुस्तक पत्रिका सबै मिलाउँदा १५ हजारको हाराहारीमा होलान् । तिनीहरू नेपाली, अंग्रेजी, हिन्दी तिनै भाषामा छन् । अमेरिकामा पनि ५ हजारको हाराहारीमा होलान् । अमेरिकामा अंग्रेजी पुस्तक बढी, त्यसपछि नेपाली र हिन्दी चाहिँ थोरै छन् !
१४, पढ्न चाहेर पनि पढ्न नपाएका कुनै पुस्तक ?
त्यस्तो त खासै छैन । नेपालमा नेपाली पुस्तक कुनै पनि उपायले चाहेको पढियो ! अमेरिकामा नपाउने भन्ने केही छैन, महँगो होला, त्यो बेग्लै कुरा ।
१५, मन परेका ५ जना स्वदेशी र विदेशी लेखकहरूको नाम लिनुपर्दा ?
यो परम्परागत प्रश्न भयो । मलाई लेखक होइन लेखन मन पर्छ । यौटा लेखकको कुनै कृति मन पर्नुको मतलब उसका सारा कृतिहरू मन पर्नु होइन । फेरि कृति मन पराउनु लेखक मन पराउनु पनि होइन ।
१६, अध्ययन र लेखाई बाहेकका रुचिहरू के छन् ?
भ्रमण । म घुम्न अति मन पराउँछु । धेरै साहित्यकारहरूसित हेलमेल गर्न रुचाउँछु ! साहित्यिक छलफल र साहित्यका विविध पाटा र पक्षहरूवारे बहस गर्न मन पराउँछु, तर मसँग “वेवलेन्थ” मिल्ने त्यस्ता मित्रहरूको चाहिँ सर्वथा अभाव छ ।
१७, नयाँ पुस्तालाई नपढी नहुने पुस्तकको रूपमा कुन–कुन पुस्तकहरू सिफारिस गर्नुहुन्छ ?
मलाई त्यस्तो नपढी नहुने “बुटी” वा “ जन्तर मन्तर” जस्तो कुनै पुस्तक होला भन्नेमा विश्वास छैन ! मन परेको विधाका पुस्तक सक्दो धेरै पढ्ने । जुन लेखकको लेखनले तान्छ त्यो पढ्ने ।सक्दो धेरै पढ्ने । आफ्नो मनले सिफारिस गरेको लेखकको पुस्तक पढ्ने ।
१८, तपाईँको पछिल्लो साहित्यिक योजनाहरू के–के छन् ?
म यौटा महाउपन्यास लेख्ने योजनामा छु । १००० पृष्ठभन्दा बढी हुनेछ त्यो । मस्तिष्कमा त्यसको खाका कोरिसकेको छु, लेख्ने साइत हेर्दैछु ।
१९, स्रष्टा र सिर्जनाको सम्बन्धलाई तपाईँ कसरी हेर्नुहुन्छ?
स्रष्टा र सिर्जनाको सम्बन्ध त मान्छे र मुटु, शरीर र प्राण जस्तै हो । यौटा सच्चा सर्जकले आफ्नो मुटु र मस्तिष्कले लेखेको हुन्छ । तर त्यो रचना प्रकाशित भइसकेपछि भने त्यो उसको निजी रहँदैन, सार्वजनिक हुन्छ, पाठकको हुन्छ । त्यसलाई पाठकले जसरी बुझ्छन्, जे अर्थ लाउंछन् त्यही हुन्छ । उसले अर्थ्याई रहनु पर्दैन भन्दा पनि अर्थ्याउने जरुरतै पर्दैन । न उसले अर्थ्याएको पाठकले मान्नै पर्ने अनिवार्यता हुन्छ। बिहे गरेर गएकी छोरी वा आफ्नो हिसाबको जिन्दगी सुरु गरेको छोरो जस्तो हो ! सन्तान आफ्नै हो, रगत आफ्नै हो तर स्वतन्त्र आफ्नो संसारमा छन् । स्रष्टा र सिर्जनाको सम्बन्ध पनि यस्तै हो ।
२०, तपाईँको जीवनमा सानैदेखि कोही रोल मोडेल छ, जसले जीवन यात्रामा निरन्तर सकारात्मक प्रेरणा दिएको होस् ?
यो रोल मोडेल भन्ने कुरा स्थायी हुँदो रहेनछ । कहिले मुनामदन जस्तो कृति लेखौँ र देवकोटा जस्तो बनौँ भन्ने लाग्थ्यो । कहिले शङ्कर लामिछानेको जस्तो भूमिका लेखौँ र शङ्कर लामिछाने जस्तो होऊँ भन्ने लाग्थ्यो । तर समयको क्रममा ती रोल मोडेल हराइसके । अव त आफैंलाई “रोल मोडेल” मान्दिए हुन्थ्यो भन्ने लाग्छ, यद्यपि यो मैले चाहेर हुने कुरा पटक्कै होइन ।
७ अगस्त २०२२, फल्स चर्च, भर्जिनिया !